scheduleशनिवार जेष्ठ १२ गते, २०७५

माअाेवाददेखि लुम्बिनीसम्मकाे निर्वाण यात्रा

ज्योति दनुवार

हुनुपर्ने कुरा भयो । माओवादको विघटन अश्वयम्भावी थियो । पुष्पकमलले हवन गरिदिए । फाल्गुण ७ गते रात्रिकालको समयमा माओवादी केन्द्र नेकपा एमालेभित्र विलिन भयो । माओवादी केन्द्रसंग यो भन्दा अर्को उत्कृष्ट विकल्प पनि थिएन । त्यसैले पुष्पकमल र टीमलाई बधाई तथा शुभकामना ।

यो कार्य संविधान जारी भए लगत्तै भएको भए संभवतः आजभन्दा पनि बढी नाफामा हुने थियो दुवै पार्टीका सरोकारवालाहरु । खासमा माओवादी केन्द्र प्राविधिक जीवन बाँचिरहेको थियो । मोहन वैद्य र बाबुरामको बर्हिगमनपछि यसभित्रका हंस र आत्मा पलायन भएकै हो । मोहन वैद्यरुपी हंस जंगलमा फेरी भौंतारिन खोज्दैछन् भने बाबुरामरुपी आत्मा लुम्बिनीमा निर्वाण प्राप्त गर्दैछन् । पुष्पकमललाई थाहा थियो, जर्जर भैसकेको माओवादी केन्द्ररुपी बडीलाई जति डेन्टिंग पेन्टिंग गरेपनि अपरेशनल भैरहनसक्ने सामर्थ्य थिएन यसभित्र ।

मुख्य कुरो विचार र आत्मा हो । यी दुवै कुरा बाबुरामसँग छन् । त्यसैले उनले नयाँ शुरुवात गरेका छन् । उनले अर्को नयाँ कुराको पनि शुरुवात गरेको देखिन्छ । त्यो हो ‘मुल्यको राजनीति’ । उनले आफ्नो विश्वासको जगमा उभिएर ‘व्यवहारहरु’ गरेका छन् । अनावश्यक राजनीतिक आडम्बर र लप्फाजीहरु गरेका छैनन् । सपनाका ठुला ठुला महलहरु खडा गरेका छैनन् । गफ दिएर अलौकिक संसारको काल्पनिकी खडा गरेका छैनन् । धरतीमा खुट्टा टेकेर उभिने प्रयास गरिरहेका देखिन्छन् । यो कुरा आम नेपाली जनताले बुझ्न थालिसकेका छन् । त्यसैले बाबुराम भरोसाको केन्द्र बन्दैछन् ।

ज्योति दनुवार

ओलीले देखाएको आशा र सपना टुट्ने नै हो । यसको कुनै प्रमाणिकता थिएन र छैन । कालो धनलाई सेतो बनाउने मनसाय, मार्सी चामलको भात र सुष्मासँगको भतेरले यथेष्ट संकेत गरिसकेका छन् । माओवादी केन्द्रसँगको मिलन ‘लखनऊ लुट’को लागि संगत हो, जसका टोटल बेनेफिसियरी नेपालका ‘क्रोनी क्यापिटलिष्ट’हरु हुने हुन् । यसै पनि ओलीले गर्न चाहेको विकासको डिस्कोर्षमा कहीं पनि आम मानिस देखा पर्दैनन् । घरघरमा ग्याँस पाईपलाईनको लाभग्राही त्यै काठमाडौंका संभ्रान्तहरु त हुने हो नी । अथवा, नेपालको पानी जहाज स्वदेशी पुँजीपतिको सपना त होला नी । त्यसैले ओलीले वा कथित वामपन्थी सरकारले नेपालमा ल्याउने भनेको निराशा र डिप्रेशन नै हो । समृद्धि र खुशीयाली ल्यायो भने त्यसको लागि साधुवाद हुनेछ । तर, सम्भावना न्युन छ भनेर एकिनसाथ भन्न सकिन्छ ।

यसै बीचमा बाबुरामले खेलेको एक्लो प्रतिपक्षको भुमिकालाई काविले तारिफ भन्न सकिन्छ । उनले आम मानिसको कुरा गरेका छन् । आम मानिसको मनको कुरालाई आवाज दिएका छन् । जवाफदेही प्रतिनिधित्वको उदाहरण गोरखाबाट शुरु गरेका छन् । शासन सत्तामा नभएपनि आम मतदाताको सुख दुःखमा र समृद्धिको सपनामा सहभागी भएका छन् । यी कुराहरु अहिले सानातिनाजस्ता लाग्लान् तर बाबुरामले आफ्नो यस्ता व्यवहारबाट ठुला कुरा भनेका छन् । सिंगो कांग्रेस मष्तिष्कघातबाट गुज्रिरहेको अवस्थामा बाबुरामका साना साना तत्परताहरुले आशा र भरोसा जगाएको भन्न सकिन्छ ।

आजदेखि लुम्बिनीमा नयाँ शक्तिको कुम्भ मेला शुरुवात भएको छ । मेरो विचारमा त्यहां भेला हुने हरेक प्रतिनीधिहरु एक्काईशौं शताब्दीका नयाँ वागीहरु/क्रान्तिकारीहरु हुन् । यिनीहरु घायल शेरहरु हुन् । अहिले यिनीहरु कमजोर देखिन सक्छन् । स्वर सानो देखिनसक्छन् । तर जनयुद्ध लडिसकेका र दुनियाँलाई देखाईसकेका यी बारुदहरुले कुनै कुरा सावित गर्नुपर्दैन होला । यिनीहरुलाई थाहा छ, आकार प्रकार अस्थायी कुरा हो । मुख्य कुरा डिटर्मिनेशन हो । मेरो शुभकामना छ उहाँहरु सबैलाई । त्यहाँ छलफल होस् देश, समाज, रुपान्तरण र बाँकी कार्यभारका सम्बन्धमा । न कि पलायनको सम्बन्धमा ।

यहाँ नेपालको आगामी राजनीतिक ध्रुवीकरण र नयाँ शक्तिको दायित्वको बारेमा केही चर्चा गर्नु सान्दर्भिक होला । सत्ताधारी कथित् वामपन्थीहरु सपनाको खेती गरिरहने देखिन्छ । तर राजनीतिको खुला बजारमा उनीहरुको हावादारी सपना धेरै दिन बिक्ने सम्भावना दखिँदैन । डेलिभरी गर्न नसकेपछि र रिजल्ट ल्याउन नसकेपछि यिनीहरु पनि जाने भनेको डिप्रेशनमा नै हो । अन्त्यमा सत्ताधारी वामपन्थी परिवार पालनपोषण परियोजनाहरु यत्रतत्र सर्वत्र हुने सम्भावना अत्यधिक देखिन्छ । लोकतन्त्र वा समाजवादका आधारभुत सैद्धान्तिक कुरामा यिनीहरुको कुनै अडान रहने छैन । वैचारिकरुपमा यिनीहरु पतन हुने बाटोतिर उन्मुख हुनेछ ।

आगामी दिनहरुमा मुख्य सैद्धान्तिक चुनौति खडा गर्ने सम्भावना कांग्रेसको तर्फबाट देखिन्छ । र त्यो भनेको अग्रगमन र पश्चगमनबीचको द्वन्द्व नै हो । कांग्रेसले आफ्नो अस्तित्व संकटबाट जोगिनको लागि भए पनि पश्चगमनको बाटो रोज्नसक्ने सम्भावना प्रवल देखिन्छ । र, फेरी पनि बहसको केन्द्रमा हुनसक्छन्, ‘गणतन्त्र भर्सेज संवैधानिक राजतन्त्र’ । त्यो बेलामा संविधानको जतिसुकै ठूलो मालिकत्व दावी गरेपनि सत्ताधारी वामपन्थीहरु रक्षात्मक बन्नेछन् ।

हो, यहींनेर बाबुराम बाँकी अरु सबै भन्दा बढी महत्वपूर्ण बन्न पुग्दछन् । अहिले कोईलीको बच्चालाई कागहरुले स्याहारे पनि परेको बेलामा पछि यी कागहरु धोका दिनसक्छन् । त्यसैले आगामी दिनमा एउटा ठूलो बहस र अभियानको लागि नयाँ शक्तिले आफुलाई तयार गर्नु आजको आवश्यकता देखिन्छ । संक्रमणकाल अन्त्य भयो भन्नु एउटा भ्रम हो । आजको तीब्र रुपले बदलिंदो विश्वमा सबै कुरा संधै नै संक्रमणमा नै रहन्छ । संक्रमण शास्वत सत्य हो । यो चलिरहने प्रकृया हो । जड केही कुरा पनि छैन । नदीसँग स्वभाविकतामा बग्ने प्रक्रिया अवलम्बन गर्नु आवश्यक छ ।

बाबुरामले कुनै समयमा सिंगो माओवादीलाई एजुकेट गरे । संविधान निर्माण र जारी गर्ने बेलासम्म सम्पूर्ण देशलाई नै एजुकेट गरे र कन्भिन्स गरे । संविधानका कन्टेन्टहरु उनैका लेखिए, लागु भए । बुझ्नेहरुले केही कन्टेन्टहरु बुझेनन् वा बुझ्न चाहेनन् । तर कुनै बेला समय अपेक्षा भन्दा अगाडि नै टुप्लुक्क सामुन्ने आईपुग्छ । बाबुराम र नयाँ शक्तिका अगाडि समय आएर ठिंग उभिदिए जस्तो छ आज । मानौं, समयले बाबुरामसँग समयको हिसाब मागिरहेको छ । जनयुद्ध, हत्या, हिंसा, त्याग, बलिदान, समर्पण र जनजाति, दलित, दमित र छेउमा फ्यांकिएकाहरुको रातदिनको निद्रा र आंशुहरुको मुल्य मागिरहेको छ ।

आवश्यकता छ, फेरी एउटा नयाँ बाटो कोर्नुपर्‍यो । सबैलाई साथमा लिनुपर्‍यो । एउटा नयाँ डिस्कोर्षको शुरुवात गर्नुपर्‍यो । एउटा नयाँ जोश र जांगरका साथ फेरी पनि विकल्पकै कुरा गर्नुपर्‍यो । राष्ट्रिय पार्टी भनाउँदाहरुको बाहेक पनि संसार छ । सबैसँग सार्थक बहस थाल्नुपर्‍यो । सबाल्टर्नहरुको नयाँ ध्रुवीकरण गर्नुपर्‍यो । फेरी पनि अन्तिम पल्ट बाबुरामले सबैलाई एजुकेट गर्नुपर्‍यो ।

(लेखक सामाजिक र राजनीतिक विश्लेषक हुन् ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC