scheduleआइतवार बैशाख ९ गते, २०७५

जहाँ भोकाएका बालबालिकालाई गोली र बम प्रहार भइरहेको छ …

युजु खालिङ

समाचार टिप्पणी/काठमाडौं, १४ फागुन । कठोर विद्रोहीहरुले कब्जा गरेको भूमि बाहिर सैनिक घेराबन्दी । छिनछिनमा वर्षिरहेने बमबारीको आतंक । र, शीरमाथि मडारिरहेको मृत्यु अनि त्यसबाट भाग्नका लागि शरीरभरी चोट लिएर सुरक्षित आश्रयस्थल खोज्दै वामे सरिरहेका बालबालिकाहरु । आफ्ना कोपिला सन्तानको सुख र मुक्तिका लागि पूर्वी गोटाका प्रत्येक आमाहरु अहिले मृत्युको कामना गर्छन् ।

मृत्युभन्दा पनि अधिक पीडादायी र असह्य अवस्थामाबाट गुज्रिरहेको सिरियाको गोटामा हालसम्म १५० भन्दा धेरै कोपिलाहरुको जीवन फुल्न नपाउँदै चुढिसकेका छन् । बमबारीले र हवाई हमलाले ढलेका भवनका भग्नावशेषभित्र डरले काँप्दै, मृत्युबाट लुकेर बसिरहेका बालबालिकाहरु प्रत्येक क्षण सरकार र विद्रोहीको आतंकको निशानामा परिरहेका छन् ।

घेराबन्द गरेर बमबारी भैरहेको अवस्थामा जन्मिएका नवजात जुम्ल्याहा मोहम्मद र अमारको पहिलो रोदनको आवाजलाई शीरमाथि उडिरहेको सैन्य जहाजको र बमबारीको गर्जनले छेडिरहेको थियो । क्यान्सर पीडित उनीहरुको सुत्केरी आमा आफ्नो अन्तिम समयमा आफ्ना जुम्ल्याहा सन्तानहरुलाई युद्ध र भोकबाट बचाइदिन गुहार गरिरहेको एकजना सिरियाली अभियानकर्ताले बताएकी थिइन् ।

समय अगावै जन्मिएका ती नवजात जुमल्याहाहरु गोटाको एउटै मात्र बाँकी रहेको इन्क्युबेटरमा थिए । अन्य अस्पतालहरु हमलाको निशानामा परेर ध्वस्त भैसकेको गोटा मेडिकल सेन्टरले बताएको थियो ।

त्यस्तै आफ्ना दुई अपाङ्ग सन्तानलाई भोकले तड्पिएको देखिरहेकी एकजना महिला पेटको शान्तिका लागि मृत्युको कामना गरिरहेकी थिइन् ।

उनी त एकजना प्रतिनिधि पात्र मात्र हुन् युद्धबाट बुवाआमा गुमाएका कति व्यावारिसे बालबालिकाहरु त्यहाँ भोक र गोलीको शिकार भैसकेका छन् । अनियन्त्रित हवाई हमलाहरुको बीच मृत्यु त्यहाँको दिनचर्या नै बनिसकेको छ ।

मानव संकटको चरम अवस्थामा पुगेको सिरियामा पढ्न, लेख्न र भविष्यको सुन्दर कल्पना गर्ने उमेरमा बालबालिकाहरु युद्धका निशस्त्र सिपाही झै अमानवीय ढंगले मारिइरहेका छन् । आत्म सुरक्षाको ज्ञान नभएका, निशस्त्र बालबालिकाहरु बिना कुनै गल्ति सरकारी फौजले र विद्रोहीको ब्यारेल र सेल्समा भुटिरहेका छन् ।

चार लाखभन्दा धेरै फसिरहेको उक्त पूर्वी गोटा क्षेत्रमा बालबालिकासहित सबै नागरिकहरु खाद्य, ‌औषधी र मानवीय सहयोगका लागि आकुल व्याकुल छन् । तर लगातार युद्धका कारण बाहिरी दुनियाँबाट अलग्गिएका त्यहाँका सम्पूर्ण नागरिकहरु गोली खाँदै भोकले तड्पिदै मर्न बाध्य छन् ।

विगत् आठ वर्षदेखि चलिरहेको सिरियाली द्वन्द्वमा हालसम्म ३ लाख ४० हजारभन्दा धेरैले ज्यान गुमाइसकेको आँकडा छ । मान्छे मर्नु दिनचर्या बन्दा पनि विद्रोही र सरकारबीचको संघर्षले मानव संकटको परकाष्टलाई स्वीकार्न सकेको छैन । संयुक्त राष्ट्रसंघको युद्धविरामको आग्रहलाई लत्याएर नागरिककै हत्या गर्न उद्दत सिरियाली सरकारले अझैपनि मानव क्षतिको तथ्यांकलाई बढाउँदै लैजाने स्पष्ट देखिएको छ । आमाहरु मृत्युको कामना गरिरहेको र बालबालिकाहरु मृत्युको मुखबाट भाग्नलाई घिस्रिरहेको दृश्य सामान्य बन्दै गैरहेको अवस्था सिरियामा कायमै छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC