scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

सपनामा फुरेको ‘आइडिया’ विपनामा कार्यान्वयन– क्या गज्जब !

सन्दीप कपूर

भनिन्छ नि– तँ चिता म पुर्‍याउँछु भन्छ रे दैवले । त्यसो भन्दैमा सबैले चिताएको कहाँ पुगेको छ र ? चिताउन पनि त जान्नु पर्‍यो ! निदाएका बेला त धेरैले सपना देखिहाल्छन् नि । विपनामै देखेर त्यसलाई कार्यान्वयन गर्न सक्ने पो सक्ने त । त्यसो गर्न त कडा परिश्रम र महत्वाकाङ्क्षा पनि हुनैपर्‍यो । के महत्वाकाङ्क्षा र कडा परिश्रम गरे सपनामा फुरेको ‘आइडिया’ विपनामा कार्यान्वयन गर्न सकिएला ? यदि सकिँदैन भन्ने लाग्छ भने बुझ्नुस्– तपाइँलाई गलत लाग्यो । यस्तै भएको छ– माइक लिन्डेलको जीवनमा ।

अमेरिकाका माइक लिन्डेललाई सपनामा फुरेको आइडियाले आज २००० करोड डलर मूल्यको कम्पनीको मालिक बनाइदिएको छ । यसैले उनी अहिले ‘पिल्लो किङ’ का नामले परिचित छन् ।
माइक लिन्डेलको जन्म अमेरिकाको मङ्कतो, मिनेसोटामा भएको हो । तर उनको जीवनभने चस्का शहरमा बित्यो । माइक सुत्दाखेरी सिराने अप्ठ्यारो भएका कारण व्याकुल हुन्थे । बडो हैरान हुन्थे । यता सारे पनि मिल्दैन, उता सारे पनि मिल्दैन– केही गरे पनि नमिल्ने । सिराने आरामदायक नभएका कारण उनको निन्द्रा पुग्दै नपुग्ने । उनी एक दिन मध्यरातमा अचानक ब्युँझिए । जुरुक्क उठे र एउटा भित्तामा लेखे– माइपिलो । यहीबाट सुरु भयो– उनको व्यापार।

माइकलले सोचे यो सानो चिजले मलाई यति धेरै अप्ठ्यारो हुन्छ भने अरुलाई पनि निश्चय नै हुँदो हो । यस्ता मानिसको संख्या पक्कै पनि धेरै हुनुपर्छ । सोचेको त यति मात्रै हो । अब उनको दिमागमा एउटै कुरा घुम्न थाल्यो– सजिलो सिराने बनाउन पाए त के के हुन्थ्यो के के हुन्थ्यो । यही विचारले आज उनलाई सारा संसार पिल्लो किङ अर्थात् “सिराने राजा” भनेर चिन्छन् ।
बाटो यति सजिलो पनि थिएन !


यी सबै कुरा सुन्न जति सहज लागिरहेको छ वास्तवमा त्यस्तो सजिलो चाहिँ छैन । माइ पिल्लो कम्पनीले सफलता पाउनु अघि माइकको जिन्दगीमा अनेकौं उतारचढाव आए । लिन्डेलले आफ्नो पढाइ खर्च जुटाउनकै लागि दुई दुईवटा जागिर खानुपर्ने समय पनि आएको थियो । त्यसबेला उनलाई लाग्यो– मैले बेकारमा पढ्ने नाममा आफ्नो समय खर्च गरिरहेको छु । यो विचारले उनका मनमा दह्रै किलो गाडिसकेको हुँदा पढाई छाडेर जागिर खान थाले । एक दिन जागिर खाइरहेको कम्पनीका प्रबन्धक (म्यानेजर) सँग झगडा पर्‍यो । अब प्रबन्धकसँगै झगडा गरेपछि उसले किन राख्थ्यो– जागिरबाट तुरुन्तै गलहत्याई दिएछ । स्वाभाविक छ– लिन्डेलले बेइज्जति भएको महसुस गरे । यो बेइज्जतिले उनलाई लाग्यो– मैले आफ्नै एउटा मुकाम खडा गर्न सक्नुपर्छ ।

गरे धेरै काम– हात लाग्यो शून्य
जागिरबाट निकालिदिएपछि लिन्डेलले धेरै वटा व्यापारमा हातगोडा चोबे । यसक्रममा कार्पेट क्लिनिङदेखि सुँगुरपालनसम्मको व्यापार चहारे । कुनै पनि व्यापारले उनलाई तैरिनसम्म पनि दिएन । त्यतिमात्र कहाँ होर ! उनीसँग रहेभएको पैसोसमेत डुबाए । अब उनीसँग केही उपाय नै भएन– उनले एउटा बारमा ‘बारटेन्डर’ को रुपमा जागिर खान सुरु गरे । यो बारमा रहँदाबस्दा उनी ड्रग्सको लतमा फस्न पुगे ।

ड्रग्सको लतले पार्‍यो बर्बाद
बारमा जागिर खाने क्रममा लिन्डेल ड्रग्सको नशामा वशीभूत भइसकेका रहेछन् । उनी दिनरात त्यसैमा हराउन थाले । यही कारणले उनकी पत्नसँग पारपाचुके समेत भयो । त्यतिमात्र होइन भएको एउटा घर पनि गुमाए । यी सबै कर्तुतपछि मात्र उनले चेते र यसबाट मुक्त हुन उनलाई १० महिना लाग्यो । सन् २००९ मा भएको एउटा पार्टीमा लिन्डेलले अन्तिम पटक ड्रग्स सेवन गरे । यसपछि उनले कोकिन र मदिरा सदाका लागि बाइबाइ भने र आफ्नो व्यापारप्रति सम्पूर्ण ध्यान केन्द्रित गरे । सन् २०११ मा एक स्थानीय समाचार पत्रले लिन्डेलको कम्पनीका बारेमा समाचार प्रकाशन गर्‍यो । त्यसपछि एउटा स्टोरले उनलाई आफ्नो रिटेल स्टोर खोल्न अनुरोध गरिरह्यो । आफूसँग पैसा नभएका कारण उनले कहीँबाट १५ हजार डलर ऋण लिएर पहिलो स्टोर खोले ।

६ वर्षमा २ हजार करोडको हुनपुग्यो– कम्पनी ‘लिन्डेल’
कम्पनी सुरु गर्दा पाँच जना कर्मचारी थिए तर अब कर्मचारीको संख्या ५०० पुगिसकेको छ । उनको कम्पनी “माइपिलो” ले वार्षिक करिब तीन करोडको सिराने बेच्दछ । अहिले कम्पनीको वार्षिक टर्नओबर करिब दुई हजार करोड भन्दा बढी पुगिसकेको छ ।

यसका अतिरिक्त उनले लोक कल्याणका लागि लिन्डेल फाउन्डेशनको स्थापना गरेका छन् । लिन्डेल फाउन्डेशन अहिले त्यस्तो मञ्च बन्न पुगेको छ जहाँबाट समाजका हरेक मुद्दाका बारेमा आवाज उठाउन सकिन्छ ।

(साभारः केनफोलिओस, ठमनाथ घिमिरेद्वारा अनूदित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob