scheduleसोमवार आषाढ़ ११ गते, २०७५

उपत्यकाको ट्राफिक व्यवस्थापन तत्काल गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडौं, २९ फागुन । बढ्दै गएको उपत्यकाको ट्रफिक व्यवस्थापन तत्काल गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमै बोलाएर उनले तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति सयम लाग्छ सोहीअनुरुपको खाका बनाई जनताले महशुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।

बादलले भने, ‘ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउनुहोस् ।”

गृहमन्त्री थापाले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको छानबिन हुन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै यातायात क्षेत्रमा ‘सिण्डकेट’को दबदबा रहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जनताको अभिलाषा सुरक्षित यात्रा’ भन्ने नारासहित सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियान शुरु गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सरकारी पदाधिकारीले सरकारी संयन्त्रबीच समन्वयको अभाव, ठेकेदारको लापरबाही, राजनीतिक हस्तक्षेप, जनशक्ति र आर्थिक अभावलगायतका कारणले ‘ट्राफिक जाम’ र सडक निर्माणमा ढिलाई भइरहेको जानकारी गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob