scheduleआइतवार बैशाख ९ गते, २०७५

नेपाल विश्वका धनी २५ मुलुकमध्येको एक हो, पत्याउनुहुन्छ ?

रवीन्द्र भट्टराई

कसैले “नेपाल विश्वका धनी २५ मुलुकमध्येको एक हो” भन्यो भने पत्यार लाग्छ ? सुरुआतको यो वाक्यमा धेरैले नाक खुम्च्याउनुहोला र भन्नु होला हैन अप्रिल लागिसक्यो र ? अप्रिल फूल पनि हैन र यो वाक्य असत्य पनि हैन । तर मनोवैज्ञानिक रूपले स्वाभिमान र आफ्ना सम्पदागत सम्पन्नताको आत्मबोधका दरिद्र मात्र हैन टाटै पल्टेको हाम्रो वर्तमान नेपाली सामाजिक मानस यस्ता कुरा पत्याउन नसक्ने भै सकेको छ । हामी वर्तमानमा संसारका सबैभन्दा कमजोर, पछौटे, निर्धन, सानो मुलुकका नागरिक रहेकामा खिन्न छौँ । तर त्यसो होइन माथिको वाक्य सरासर साँचो हो, हाम्रो गर्वको विषय हो ।

आर्थिक तथा भौतिक विकास, जीवनस्तरलगायतका समृद्धिका आलोकबाट विकासोन्मुख तहको मुलुकमा उक्ल भनेर संयुक्त राष्ट्रसंघले भन्दा हैनहैन हामीलाई विकासशील नभन, हामी अतिकम विकसित नै हौँ र यही हैँसियतमा राखिदेऊ भन्ने राज्यका नागरिक हौँ । त्यसैले विश्वका पच्चीसौँ धनी मध्येका हामी पनि एक हौँ भन्नमा हामीलाई कुरिकुरी लाग्नुअनौठो रहेन । तथापि हामी धनी छौँ यो साँचो हो, पत्यार गरे पनि अहिलेसम्म यही साँचो हो नपत्याए पनि अहिलेसम्मको साँचो हो ।

कुलचन्द्र गौतमको स्मृति संस्था र कुलचन्द्र–जनार्दन संस्कृत अध्ययन मण्डलले केही साता गरेको एउटा अन्तरक्रिया कार्यक्रमका प्रस्तोताले त्यस्तो एक सत्यताको दाबी गरे । चैत १० गतेको सो कार्यक्रमको छलफलको विषय थियो: वानस्पतविज्ञान र नेपाली संस्कृति । कार्यक्रमका प्रस्तोता थिए- त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका प्रमुख प्राध्यापक डा. मोहनबहादुर सिवाकोटी । उनले प्रस्तुति दिँदै भने संसारका सबैभन्दा धनी २५ देशभित्र पर्छ नेपाल । नेपाल वानस्पतिक धनाढ्य मुलुक हो ।

रविन्द्र भट्टराई

भौगालिक हिसाबले नेपालले विश्वको कूल भभागको ०.०३ भाग ओगट्छ । तर जैविक विविधताका हिसाबले नेपालमा ०.९ प्रतिशत प्रजातिका वनस्पतिको वासस्थान हो । नेपालमा ७००० प्रजातिका फूल हुन्छन् जुन संसारभरि हुने फूलको ३.१० प्रतिशत हो । सल्लो जातका रूख मात्र नेपालमा २६ प्रजातिका पाइन्छन्, जुन संसारभर पाइने सल्लोका प्रजातिहरूको पाँच प्रतिशत हो । नेपाल सबैभन्दा धनी चाहिँ झ्याउमा छ जुन विश्वभर पाइनेको १० प्रतिशतका हाराहारीमा पाइन्छ । नेपालका स्तनधारी जनावरले विश्वभरका स्तनधारी जनावरको ५.२ प्रतिशत भाग ओगट्छन् भने विश्वभरका चराचुरुङ्गीको ९.२ प्रतिशत चरा नेपालले पाल्छ । प्राध्यापक सिवाकोटीले नेपाली मुलुकको जैविक विविधताको सम्पन्नताको यस्तो तुलनात्मक सांख्यिक चित्र प्रस्तुत गरेका थिए ।

नेपालको वनपैदावार जैविक विविधताको दृष्टिले विश्वमै उत्कृष्ट स्थानमा छ । फूल फुल्ने वनस्पतिका ६५०० प्रजाति नेपालमा पाइन्छन् । फूल नफुल्ने वानस्पत्य ४४६२ प्रजातिका नेपालमा पाइन्छन् । औषधिजन्यजडीबुटीका दुई हजारभन्दा बढी प्रजाति नेपालमा रहेका छन् भने अन्य उपयोगी गैरकाष्ठ वनपैदावारका रूपमा २५०० प्रजातिका साथ नेपाल सम्पन्न छ । गैरकाष्ठ वनपैदावार र जडीबुटीजन्य पैदावारको उत्पादन र निर्यात गर्ने हिसाबले नेपाल दक्षिण एसियाको प्रमुख मुलुक हो । नेपालले जति अन्य दक्षिण एसियाली मुलुकले तिनको निर्यात गर्ने ल्याकत राख्दैनन् । अहिलेसम्म ३५९ प्रजातिबाट ४३८ उत्पादन नामका जडिबुटी नेपालबाट बाहिर जाने गरेका छन् ।

प्राध्यापक सिवाकोटीले बताएअनुसार सन् २०१४ सम्मको दस वर्षको तथ्यांकको विश्लेषणबाट नेपालबाट वार्षिक रूपमा ३२ हजार टनदेखि ६२ हजार टनसम्म गैरकाष्ठ वनपैदावारको निर्यातमूलक व्यापार हुने गरेको छ । यसबाट वार्षिक औसत पाँच अरब ६० करोड मूल्य बराबरको व्यापार हुने गरेको छ । यो व्यापारमा ४०.८५ प्रतिशत भाग जडीबुटीजन्य उत्पादनले ओगट्छ भने ५९.१५ प्रतिशत गैरजडीबुटी गैरकाष्ठ वनपैदावारले ओगट्छ । मूल्यका हिसाबले जडीबुटीले झन्डै ७० प्रतिशत भाग लिन्छ भने गैरजडीबुटी गैरकाष्ठ वन पैदावारले खालि ३० प्रतिशत खण्डमात्र ओगट्छ ।

प्रजाति, वासस्थान र वंशाणुक्रमिक विशेषताका आधारमा निर्धारित रहेको विश्वको जैविक सम्पदाको यो नेपाली सम्पन्नता अत्यन्त जोखिमपूर्ण मोडमा छ । बसोबासको बन्दोबस्ती, भौतिक निर्माण, भूखण्डीकरण र जलवायुउपरको अतिक्रमणका कारण दिनानुदिन यो सम्पन्नता ओरालो लाग्दो गतिमा छ । जैविक सम्पदाको वासस्थान धेरै संकटमा छ । दिगो उपयोगको सट्टा उन्मूलनमुखी उपयोग र व्यापारीकरणले धेरै जैविक प्रजाति अस्तित्वका हिसाबले लोपोन्मुख छन् । यार्सागुम्बा, चिराइतोजस्ता जैविक सम्पदा तिनको उत्पादनका लागि चाहिने प्राकृतिक परिवेश र समयचक्र पूरा नभई काटिने वा टिपिने कारणले केही वर्षमै लोप हुने अवस्थामा पुग्ने खतरा आसन्न छ ।

जलवायुमा आउने परिवर्तनसँगै नेपालको यो सम्पत्तिमा ह्रास ल्याउने अर्को कारणचाहिँ मिचाहा प्रजातिको उदय र विस्तार हो । मिचाहा प्रजातिले रैथाने प्रजातिका जैविक सम्पदालाई औपनिवेशिक शैलीमा प्रतिस्थापन गर्दै लैजान्छ । अर्कातिर, कृषि तथा वानस्पतिक क्षेत्रको विकासका नाममा गरिने कामहरूले पनि नेपालको जैविक विविधता दिनानुदिन ह्रासोन्मुख हुँदै गएको छ । रसायनिक मल तथा विषादिको प्रयोग जैविक अस्तित्वका लागि अर्को खाले खतराका घन्टीका रूपमा रन्किरहेका छन् । बढी उत्पादन गरी आर्थिक समृद्धि हासिल गर्नका लागि गरिने गैररैथाने उन्नत नश्लको खेती रउन्नत प्रजातिको विकासका नाममा गरिने वंशसम्मिश्रणले मौलिक रैथाने प्रजाति र नश्लको अस्तित्व क्रमशः विलुप्त भइरहेको छ ।

हाम्रो कृषि तथा जैविक विकासको सोचमा आएका उतारचढाव यस फाँटलाई गम्भीर संकटतर्फ धकेल्नका लागि मूल रूपमा जिम्मेवार छ । विकास भन्ने नाउँ लिएर पश्चिमी मुलुकका शैलीको नक्कल र उपदेशहरूको अनुकरणका कारण हामी अत्यस्तै अन्योलपूर्ण परिवेशमा छौँ । हाम्रो पुस्तौँपुस्ता अगाडिदेखि व्यावहारिक रूपले सिक्दै र सर्दै आएका परम्परागत ज्ञान आधुनिक शिक्षाले नामेट पार्दै लगेको छ । खाद्यपदार्थ वा औषधोपचारका रूपमा प्रयोग हुने गरेका कतिपय जैविक प्रजाति आधुनिक औषधिको प्रयोगसँगै विस्थापित भएका छन् । परम्परागत रूपमा पितापुर्खाले धान्दै आएको प्राङ्गिक उत्पादनप्रणालीलाई हामीले विषादि र रसायनिक मलको प्रयोगद्वारा ध्वस्त पारिसकेका छौँ । त्यसले पूरै जैविक चक्र विथोलिइसकेको छ । उदाहरणको लागि, तोरीबारीमा प्रयोग गरिएको मल र विषादिको असर तोरीको तेलमा मात्र सीमित छैन, तोरीको फूलको उपभोक्ता रहने मौरीमा परेको छ । दुषित जीवन बिताइरहेको त्यो मौरीबाट उत्पादन हुने महमा त्यसको असर अरू गहिरो भएको छ । महका उपभोक्ता रहने सर्प, काला, लोखर्के, मानिस सबैमा पुगिराखेको छ ।

नेपालमा २०१६ सालतिरबाट खास गरी वन तथा वन्यजन्तुको संरक्षणका लागि सरकारी तवरबाट केही कामको सुरुआत भए पनि जैविक विविधताको संरक्षणको आवश्यकताका हिसाबले नेपाल सरकारको ध्यान निकै पछि मात्र यसतर्फ गएको देखिन्छ । २०२९ सालमा वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको स्थापना भएपछि वन्यजन्तु र वन पैदावारका फाँटमा संरक्षणका लागि केही प्रयास भए पनि वास्तविक रूपमा मानवजीवनका लागि समेत अत्यन्तै आवश्यक रहने जैविक विविधताको संरक्षणका लागि हुनुपर्ने वैज्ञानिक र व्यवस्थित प्रयास अद्यापि हुन सकेको छैन ।

मुलुकका विभिन्न विश्वविद्यालय खुले पनि जैविक विविधताको संरक्षणसँग सरोकार गाँसिएका वानस्पत विज्ञान, कृषिविज्ञान, जीवविज्ञानजस्ता विषयको पढाइमा जैविक विविधताको सन्दर्भ जोडिएर पढाइ निकै कम हुने गरेको छ । अझ, यो विषयसँग जोडिएर शिक्षा हासिल गर्ने महाविद्यालय त त्रिभुवन विश्वविद्यालयमै सीमित रहेका छन् भन्न सकिने अवस्था छ । यसले आगामी दिनमा यस क्षेत्रमा चुनौती थपिँदै जाने पक्का छ ।

सन् १९९२ मा पारित भएको जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र यसको उपआलेखले जैविक विविधता र जैविक प्रजातिको जीवनचक्रको अक्ष्क्षुणता काम राख्नका लागि राज्यहरूले गर्नुपर्ने प्रयासको सालाखाला स्वरूप निर्देश गरेको छ । नेपाल पनि सो महासन्धिको पक्ष राष्ट्र बनेको छ । पक्ष बने पनि पक्षराष्ट्रले गर्नुपर्ने भनिएका तत्सम्बन्धी कानुनी, प्रशासनिक र व्यवस्थापकीय क्रियाकलाप सरकारको प्राथमिकताभन्दा बाहिरका विषय बन्दै आएका छन् ।

यो परिप्रेक्ष्यमा जैविक विविधताको संरक्षणको विस्तृत र दीर्घकालीन योजना अत्यावश्यक छ । सो योजनाले जैविक प्रजातीय अस्तित्व बचाउने मात्र हैन तिनको दिगो उपयोग तथा प्रतिफलमूलक दिगो उत्पादनचक्रको सुनिश्चितता, प्रशोधनयोग्य जैविक उत्पादनको प्रशोधन र प्रशोधित उत्पादनको बजारीकरण, दिगो उचित उपयोग, तिनको संरक्षण गर्नेलाई तिनबाट प्राप्त हुने लाभको हिस्सेदारीजस्ता कुरा सुनिश्चित गर्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC