scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

शक्तिशाली प्रधानमन्त्री ओलीको कमजोर कुटनीतिक अभ्यास

कञ्चन झा

नेपाल–भारत सम्बन्ध अन्योन्याश्रित रहेको यथार्थ कोही कसैबाट लुकेको छैन । आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धमा गाँसिएका नेपाल–भारत सम्बन्ध इतिहासका विभिन्न कालखण्डबाट गुज्रिएका छन् र अघि बढिरहेको छ । कहिले भारत परस्त त कहिले भारतको घोर बिरोधका आयाममा सम्बन्ध अघि बढिरहेको यथार्थ हामीसामु छर्लङ्ग छ ।

तैपनि केही अभिनय, केही नाटक र केही असत्यका पुलिन्दामा यो सम्बन्ध अघि बढिरहेको थियो । तर नेपालमा वाम गठबन्धनले प्राप्त गरेको प्रचण्ड जनमत र उत्तरी छिमेकी चीनको बढ्दो प्रभावले यो ‘रोटी–बेटी’ को सम्बन्धले नयाँ उचाई प्राप्त गरेको थियो । दुई तिहाई भन्दा बढी बहुमतका साथ सरकारको नेतृत्वमा पुगेका केपी शर्मा ओलीको सरकारलाई गठन अगावै भारतले बरियतामा शीर्ष तीनमा रहेका मन्त्रालयमध्ये एक परराष्ट्र मन्त्री सुष्मा स्वराजलाई नेपाल पठायो ।

एसिया प्रशान्तमा खस्किँदै गएको प्रभावले खतरामा परेको भारतले कुनैपनि अवस्थामा नेपालमा आफ्नो पकड गुमाउन चाहँदैन थियो । श्रीलंका र मालदिभ्समा प्रभाव शुन्यमा पुगेको भारतले कट्टर शत्रुता राख्ने देशको छिमेकीलाई उसकै पोल्टामा सुम्पिनु भनेको भारतमा प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र भारतीय नेहरु सिद्धान्तको हार थियो ।

भारतले नेपाली राजनीतिक नेतृत्वलाई फकाउनु र सुमसुमाउनुको विकल्प थिएन । उसले एक कदम पछि हट्दै नेपालसँग सम्बन्ध बिस्तार गर्‍यो । यसले कठोर नाकाबन्दीमा भारतको घोर निन्दा गर्ने ओली एकाएक पल्टिए र उड्नु अघि भारतीय सञ्चार माध्यममा भनाईयो- ‘नाकाबन्दी’को पीडा भुलेर नयाँ आयाममा सम्बन्ध बिस्तार हुनेछ ।

कञ्चन झा

भारतले नेपाली पक्षसँग जे चाहना राखेको थियो त्यो केही हदसम्म पूरा भयो । ओलीको स्वागतमा प्रधानमन्त्री मोदी आएर बहुमतको नेपाल सरकारलाई बराबर हैसियत दिने सम्भावना राजनाथ सिंह आएसँगै समाप्त भयो ।

प्रधानमन्त्री ओलीले नागरिकलाई सम्बोधन अगावै परम्पराको निरन्तरतामा भारत भ्रमण रोज्दा भारतलाई धेरै टाउको दुखाउने र मिहेनत गर्नु परेन । भारतका सबै दल, प्रशासन र जनता राष्ट्रिय सवालमा एक छन् । नेपालसँगको सम्बन्धमा समेत भारतीय नेता र बुद्धिजिबीले त्यही अपनाए । जसमा जानेर होस् वा अन्जानमै नेपाल चुकेको हो । नेपालको विदेश नीति चुकेको हो ।

बहुमतको एकल सरकारका लागि यसपटक भारत भ्रमणमा विन–विन (win-win) को सिद्धान्तको सुरुवात गर्ने मौका र अवसर भ्रमणको निर्णयसँगै कम्तिमा यसपटकका लागि समाप्त भएको छ । ओलीले आफुलाई सच्चा राष्ट्रवादीका रुपमा स्थापित गर्ने अवसर गुमाएका छन् । नेपाल र नेपालीले रोटी–बेटी र ठूलो दाई र सानो भाइभन्दा दुई राष्ट्रका बीचको सम्बन्ध स्थापित हुनसक्ने मौका र मान गुमाएका छन् ।

भ्रमणकै सुरुवातमा देखिएको यस कमजोरी अब सच्चाउने मौका भनेको प्रधानमन्त्री ओलीले कडा शब्दमा भएका सम्झौता कार्यान्वयन नभएर बाहिरीन आग्रह गर्न सक्नु हो । यस्तै, चीन र भारत नेपालका लागि समान छिमेक रहेको नीति स्थापित गरेर फर्कन सक्नु हो ।
अन्यथा त ‘आप भी वही खेतकी मुली’ भन्दा फरक हुनेछैन । प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधी मण्डलको भ्रमण सफल होस् । शुभकामना ब्यक्त गर्दछु । जय नेपाल, जय मधेश, जय प्रगति ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob