scheduleआइतवार बैशाख ९ गते, २०७५

उच्च माविको गुरुदेखि ‘गाडीको गुरुजी’ बने टंक, भन्छन्- बल्ल श्रमको मूल्य थाहा पाएँ

माधव दाहाल

टोरन्टो, २९ चैत/होचो कद, छरितो जिउडाल, लामो कपाल अनि फरासिलो अनुहार भएका एक व्यक्ति टोरन्टोको सडकमा बिहानको छ बज्दा नबज्दै निस्कन्छन् । उनी आफ्नो साथमा रहेको आईप्याड खोल्छन्, जसमा उनले आफ्ना दैनिक कार्यहरुलाई प्राथमिकताका आधारमा लेखेका हुन्छन् । भेट्नु पर्ने व्यक्तिलाई फोन लगाउँछन् र आफु जानुपर्ने स्थानको योजना तय गर्छन् । टोरन्टो एउटा अत्यन्त व्यस्त शहर हो जहाँ विगत पाँच बर्षदेखि कुनै एक नेपालीको दैनिकी यसैगरी बितिररहेको छ ।

उनी कि त कक्षामा विद्यार्थीहरुलाई सवारी साधन चलाउनको निम्ति चाहिने सैद्धान्तिक ज्ञान दिईरहेका भेटिन्छन् अथवा ती विद्यार्थीहरुलाई सडकमा प्रयोगात्मक सिप दिन ओर्लिएका हुन्छन् । विद्यार्थीहरु माझ सवारी साधन चलाउँदा अबलम्वन गर्नुपर्ने नियम, हाईवे एक्टको जानकारी, साधनको प्राविधिक पक्षको ज्ञान अनी सम्भाबित दुर्घटनाबाट बच्न अपनाउनु पर्ने उपायका बारेमा आफ्ना ज्ञान बाँडिरहेका भेटिने उनी प्रशिक्षणका क्रममा ‘रोड टेस्ट’ गराउन समेत आफैं स्टेरिङ समात्छन् र सडकमा ओर्लन्छन् । जिजिबिसाको निम्ति विदेशी भूमिमा यस्तो योजना बनाउन व्यस्त रहने उनी कुनै जमानाका नेपालको एक उच्च माविमा जनसंख्या तथा वातावरण शिक्षा प्राध्यापन गर्ने शिक्षक थिए भन्ने कुरा चाहिँ सायदै थोरै व्यक्तिलाई मात्र जानाकारी हुनसक्छ ।

पोखरा विश्वविद्यालयबाट जनसंख्या तथा विकास बिषयमा स्नातकोत्तर गरेका ती भद्र व्यक्ति आफ्नो कामलाई सगर्व माया गर्छन् र भन्छन्, ‘मैले स्वाभिमान साथ जुन काम गरिरहेको छु यसप्रति मेरो कुनै गुनासो छैन बरु गर्व गरेको छु ।’

भूकम्पको बेला नेपाल पुगेका टंक दोरङ्गा ।

प्राध्यापनबाट प्रशिक्षक गुरुजी बनेका स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका स्थायी घर भई हाल क्यानाडाको टोरोन्टो शहरमा बस्दै आएका टंक दोरङ्गा ‘लोक ड्राईभिङ टु सक्सेस’ नामक ड्राईभिङ ईन्स्टिच्युटका मालिक हुन् । उनको हरेक दिनको दैनिकी आफुसँग ड्राईभिङ सिक्न आउने स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई कसरी सवारी चालन सिप सिकाउने, यहाँको प्रोभिन्सियल ड्राईभिङ परीक्षामा उनीहरुलाई कसरी पास गराउने, अनि नेपाली कम्युनिटीमा आफुले जानेको सिपका आधारमा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने योजना बनाउँदा बनाउँदै बित्छ । उनी भन्छन्, ‘जबसम्म मेरा विद्यार्थीहरुको हातमा ड्राईभिङ लाईसेन्स पर्दैन तबसम्म मेरो अध्यापन कार्य सकिदैन र म त्यसैका लागि हरदम दत्तचित्त भैरहन्छु । म मेरो सम्पूर्ण अनुभव यसैका लागि खर्च गर्छु ।’
नेपालमा हुँदा चक र डस्टर समाउने उनका ती हातहरु हिजोआज कक्षामा गरिने प्रशिक्षणका अलाबा सडक मै गरिने प्रशिक्षणका निम्ति पनि स्टेयरिङ समात्न पिर मान्दैनन् ।

नेपालको एक उच्च माविमा अध्यापन गर्ने व्यक्तिले विदेशी भूमिमा अबलम्बन गरेको फरक पेशाका सम्बन्धमा उनी भन्छन्, ‘हामीले न त श्रम गर्न जान्यौं न त अरुको श्रमको सम्मान नै गर्न जान्यौं । यदि हामीले श्रम गर्ने बानीको विकास गर्‍यौं भने अनि अरुले गरेको श्रमको सम्मान गर्न सिक्यौं भने हाम्रो मुलुक आफैं बन्छ । यसमा हामी धेरै चुकेका छौं ।’ उनी अगाडि थप्छन्, ‘म नेपालमा रहँदा प्राध्यापन पेशामा थिएँ, यहाँ आए पछि प्रशिक्षक भएँ । यसमा मलाई रत्तिभर ग्लानि छैन । मैले श्रमको मूल्य थाहा पाउन मात्र पनि विदेशी भूमि नै टेक्नु पर्‍यो । यो मेरो लागि ठूलो सिकाई हो ।’

उनी गर्वका साथ भन्छन्, ‘मेरो पेशा परिवर्तनले ममा स्वाभिमानको विकास गराएको छ ।’ कुराकानी कै क्रममा उनले भने, ‘नेपालमा व्यक्तिको आर्थिक र सामाजिक हैसियतलाई इन्डिकेटर मानेर उसको सतही मुल्याङ्कन गर्ने प्रचलन छ जहाँ श्रम गर्नेको कुनै मूल्य रहँदैन । त्यो साँचो अर्थमा सामन्ती र पश्चगामी सोचाई हो । हामी पछाडि पर्नु भित्र यो पनि एउटा प्रमुख कारण हो जस्तो लाग्छ मलाई ।’

हालसम्म विभिन्न मुलुकका करिब दुईहजार भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिईसकेका उनी क्यानाडाका अधिकांश नवआगन्तुकहरुका पथप्रदर्शक पनि हुन् । उनी भन्छन्, ‘जीवन भोगाई हो, अध्ययन हो, सिकाई हो अनि जीवन नयाँ आयाम र पद्धति पनि हो ।’ उनको बुझाईमा जीवनका हरेक रङ्गहरु मिठा र जीवन्त हुन्छन् अनि हामीहरु जीवनका यिनै रङ्गहरुसँग अभ्यस्त हुन सक्नुपर्छ । उनी भावुक हुँदै थप्छन्, ‘विगतमाथि रोमाञ्चित हुने वर्तमानसँग दुःखी हुने प्रवृत्ति हामीले त्याग्नुपर्छ । त्यसैले वर्तमानमा म जे छु, जहाँ छु र जे गर्दै छु त्यसमा म खुशी छु ।’

उनका हरेक कुरा सुन्दा लाग्छ उनी आफ्नो काम प्रति एकदमै दत्तचित्त अनि खुशी छन् । यसरी नेपालमा रहँदा क्याम्पसका विद्यार्थीलाई किताबी ज्ञान बाँडेका उनी विदेशमा आएर पनि जीवनयापनका निम्ति आवश्यकीय आधारभुत सिप बाँढ्न व्यस्त छन् । आफ्नो पेशाप्रतिको सन्तुष्टिलाई इङ्गित गर्दै उनी भन्छन्, ‘मैले नेपालमा रहँदा पनि आफुले जानेको ज्ञान आफ्ना शिष्यहरुलाई बाँढेकै हो भने यहाँ आए पछि पनि आफुमा भएको सिप अरुलाई बाँढ्न मलाई कुनै अप्ठ्यारो छैन । यो मेरो क्षमता हो र यसमा मैले गर्व महसुस गरेको छु ।’

उनी थप्छन्, ‘बरु नेपालमा हुँदा नेपाली विद्यार्थीहरुलाई मात्र मैले प्राध्यापन गर्थेँ भने यहाँ त त्यो दायरा झन ठूलो भएको छ । मैले डाक्टर, ईन्जिनियर, वकिल, नर्स, व्यापारी, विद्यार्थी तथा नवआगन्तुक सबैलाई आफ्नो ज्ञान बाँढेको छु। म यसमा सन्तुष्ट छु ।’

क्यानाडाको टोरन्टो स्थापना भएको एनसिसियस नामक पुरानो सामाजिक संस्थाका उपाध्यक्ष रहेका उनी ड्राईभिङ परीक्षाका सम्बन्धमा सोधिएको प्रश्नमा भन्छन्, ‘ड्राइभिङ विदेशी भूमिमा काम गर्ने हरेक व्यक्तिको निम्ति अत्याधिक आवश्यकीय सिप हो । यहाँ व्यक्तिको प्रमुख परिचय भनेकै उसको ड्राईभिङ लाईसेन्स हो । ड्राईभिङ सिपको अभावमा व्यक्ति अपाङ्गता भएजस्तै बन्ने गर्छ । यसको अभावमा व्यक्तिले भने जस्तो काम पाउन सक्दैन । त्यसैले ड्राईभिङ यहाँको पहिलो र अत्यावश्यकीय सिप हो ।’

क्यानाडाको ड्राईभिङ प्रणालीका बारेमा उनको बुझाई छ, ‘यहाँ ड्राईभिङमा तीन चरणको परीक्षा हुने गर्छ र म ती सबै चरणमा आफना विद्यार्थीलाई सहयोग पुर्‍याउँछु ।’ क्यानडामा ड्राईभिङ टेस्ट दिने परीक्षार्थीहरुले पहिलो चरणमा ‘लिखित’, दोस्रो ‘जी टु’ र तेस्रो ‘जी’ परीक्षामा पास गर्नुपर्ने हुन्छ । उनी ती सबै तहका परीक्षामा सैद्धान्तिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिने गर्छन् । यसरी विदेशी भूमिमा किताबी ज्ञानले मात्र जीवनयापन गर्न नसकिने र यसका अलावा व्यक्तिमा ड्राईभिङ जस्तै जीवन उपयोगी अन्य सिपहरु पनि सँगसगै हुनुपर्ने उनी बताउँछन् ।

कुराकानीको क्रममा उनी आफ्नो विगतप्रति नोस्टाल्जिक बने । उनको पारीवारिक पेशा शिक्षण रहेछ । उनका पिताले त हालसालै मात्र विद्यालयमा अध्यापन कार्य छाड्नुभएको रहेछ । उनले भने, ‘मेरो बुबा केहि समय अगाडिसम्म विद्यालयमा पाठ पढाउनु हुन्थ्यो, म चाँहि गाडीमा बसेर विद्यार्थीलाई सडक र यसका आयमहरुका बारेमा पढाउँछु । मेरा परिवारका अन्य सदस्यहरु चक र डस्टर लिएर कक्षामा पस्नुहुन्छ भने म कक्षा कोठामा प्रदान गरिने सैद्धान्तिक ज्ञानका अलाबा सवारी चालन व्यवहारिक ज्ञानका लागि गाडी र चाबी लिएर सडकमा ओर्लन्छु । समग्रमा हामीहरु सबै आआफ्नो क्षेत्रमा आफुले जानेको ज्ञान र सिप नै अरुलाई बाँड्छौं र यसैमा हामीले आत्मसन्तुष्टि प्राप्त गरेका छौं ।’

जीवनलाई गहिरोसँग बुझेका टंकका लागि जीवन कमाउनु मात्र होइन । जीवन त परोपकारसँग पनि जोड्नुपर्छ । उनी यही बुझाईलाई जीवन व्यवहारमा उतार्दै परोपकारको काममा पनि जोडिएका छन् । भूकम्पमा परी दिवङ्गत भएका आफ्ना दाइको सम्झनामा स्थापित ‘गंगाराम दोरङ्गा मेमोरियल ट्रष्ट’ नामक संस्थाका माध्यमबाट बिगत तीन बर्षदेखि आफ्नो कमाईको केहि हिस्सा सामाजिक कार्यमा समेत खर्च गरिरहेका छन् टंक । उनी हरेक बर्ष सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्ने गरेको कुरा सुनाउँछन् । उनी भन्छन्, ‘नेपालमा गरिने सानो सेवाले पनि मलाई ठूलो आत्मसन्तुष्टि मिल्छ । म चाहन्छु अझ सकिन्छ भने यो भन्दा पनि बढी सहयोग गर्न सकूँ ।’

यो पनि पढ्नुहोस्–
बालुवाटारको ‘बर्थ–डे केक’ले यसरी मोड्यो वाम एकताको भविष्य

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC