scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

भाषाप्रविधिका एकासी वर्ष र नेपाली कम्प्युटिङमा खोलाको गीत

भाषा प्रविधि र भाषाप्रविधि

सम्पूर्ण पाठकवृन्दमा संवत २०७५ को शुभविहानीमा विक्रम संवतभन्दा छ वर्ष जेठो भाषाप्रविधिको इतिहास सहितको शुभकामना । मार्क टुरिनको टुरिन टेस्टका असी वर्ष बितेछन् । भाषा प्रविधिको इतिहास बृद्ध भइसक्यो । तर नेपाली भाषा र नेपालका अन्य भाषाको हकमा चाहिँ जन्मिएर पनि कुँजो लङ्गडो भएर बालापन गुजार्दै छ । हेपिएको, दलिएको वा मूलधारबाट पछाडि पारिएको अवस्थामा कुनै चिसो छिडीमा पीडाका रोदनहरू अलाप्दै होला ।

व्यक्ति वा नागरिक, समुदाय, समाज र सामाजिक सङ्गठनहरू सक्षम पार्नका लागि सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, सूचना र सञ्चार प्रविधि (आइसिटी) को वैश्विक परिदृश्यमा नेपाल निम्नकोटिमा पर्दछ । विश्वमा आइसिटीमार्फत उपलब्ध हुने सूचना तथा सन्देशको बाढी नै आएको अवस्था छ भने हाम्रो सन्दर्भमा नेपाली वा नेपालका राष्ट्र भाषामा विद्युतीय सामग्री नगन्य वा सून्य मात्रामा छ । भएको सामग्री पनि मानक पद्धतिमा छैन । पुरानो परम्पराको टिटिएफ फन्टको सामग्री र नयाँ चलनको ओटिएफ फन्टको सामग्रीको मिसावट हेर्दा त वागमतिको फोहोर भन्दा बढी सामाजिक सञ्जालमा नेपाली भाषाको फोहोर थुप्रिएको छ भन्नुपर्छ । यस्तो किसिमको सामाजिक सञ्जालको पाठसङ्ग्रहबाट स्वचालित तबरले विषयवस्तु उत्खनन (डाटा माइनिङ) गर्न सकिँदैन ।

डा. लक्ष्मीप्रसाद खतिवडा

भाषा कम्प्युटिङमा मानक नीति ज्यादै महत्त्वपूर्ण घटक हो । भाषा मानक नीति वा भाषाप्रविधि नीति आइसिटी नीतिमा समावेश हुनुपर्छ। भाषाप्रविधि नीतिले सन्दर्भ अनुसारको सामग्रीको विकासलाई सम्बोधन गर्नुपर्छ । आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिमा काम गर्न भाषाको आवस्यकता पर्छ । सूचना प्रविधिमा राष्ट्र भाषा र सरकारी कामकाजको भाषाको व्यवस्थापन भएन भने विदेशी भाषा र संस्कृतिको हस्तक्षेप बढ्छ र निश्चित समयक्रममा नेपाल भाषिक र सांस्कृतिक उपनिवेशमा परिणत हुन्छ । स्कुल र कलेजका नाम ६३ प्रतिशत नाम, वनस्पति र बिषादीका नाम ७० प्रतिशत भन्दा बढी वैदेशीकरण भइसकेको छ भने भौगोलिक नाममा २७ प्रतिशत, व्यक्तिको नाम र थरमा २१ प्रतिशत गल्ती पाइएको छ । यो तथ्याङ्क नेपाल सरकारको वन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र पञ्जिकरण विभाग अन्तर्गतको सरकारी अभिलेखमा प्रविष्टि भएको तथ्याङ्क हो ।

नेपालले प्रविधि हस्तान्तरण नीतिमा ध्यान दिन सकेको छैन । फलस्वरुप सूचना प्रविधि प्रयोग गर्ने क्षमतामा बढोत्तरी हुन सकेको छैन। सूचना प्रविधि नीतिमा भाषाप्रविधि नीतिसमेत समायोजन गरी अन्तर्राष्ट्रिय रुपमै नेपाल सरकारले आइसिटीहरूका उत्तम अभ्यासहरूसँग साझेदारी गर्नुपर्छ। भाषाप्रविधिमा काम गर्ने हो भने यो भन्दा अर्को विकल्प छैन ।

सामाजिक विकासको क्षेत्रमा आइसिटीको उदय अङ्ग्रेजी भाषाले कम्प्युटरमा काम गर्न सक्ने क्षमताको विकास भएपछि मात्र सम्भव भएको हो । जर्मन, जापानी, स्पेनिश, चिनियाँ र फ्रेन्च भाषाहरूमा प्रविधि साक्षरता र शिक्षामा आइसिटीहरूको प्रयोग अनिवार्य भएपछि ती ती देशले प्रविधिमा फड्को मार्न सफल भएका हुन् ।

समाजमा सूचना प्रविधिको परिदृश्य परिवर्तन हुँदैछ। सूचना प्रविधिले सङ्गठनात्मक र व्यक्तिगत उत्पादकत्वमा वृद्धि गर्छ । समाज विकासका लागि सूचना प्रविधिलाई एक महत्वपूर्ण उपकरणको रूपमा हेर्ने चलन स्थापित भइसकेको छ । तर नेपालको हकमा भाषाप्रविधिमा सून्यताको स्थिति छ भने सूचना प्रविधिमा परजीवीको स्थिति कायम छ । नेपालको सूचना र सञ्चार प्रविधि नीतिले स्थानीय सामग्रीको भूमिकाको महत्त्वलाई सम्बोधन गरेको छैन । स्थानीय सामग्रीको विकासलाई सम्बोधन गर्नका लागि आइसिटीमा भाषा कम्प्युटिङ मानकको सुनिश्चितता हुन जरुरी हुन्छ ।

नेपाल एक त अतिकमविकासित राष्ट्र त्यसमा पनि दूर्गम ग्रामीण क्षेत्रको बाहुल्यता । त्यसैले नेपालका ग्रामीण क्षेत्रहरूमा ठूलो आवादी आइसिटीको प्रयोगबाट बञ्चित छ। यसको मुख्य कारण कम्प्युटरको मातृभाषा अङ्ग्रेजी हो भन्ने गलत सोच नै हो । कम्प्युटरले काम गर्न सकेको अङ्ग्रेजी भाषा बुझेर नै हो । तर कम्प्युटरले अङ्ग्रेजी इतर भाषामा पनि काम गर्न सक्छ । कतिपय विकासशील देशहरुले आइसिटीको उपयोग आफ्नै देशका स्थानीय भाषामा गर्न थालेकाछन् ।

आइसिटीको प्रयोग स्थानीय भाषामा गर्न भाषाप्रविधि नीतिको आवश्यकता पर्छ । स्थानीय भाषामा आइसिटी सुविधा प्रदान गर्न भाषाप्रविधि अनुसन्धान सञ्चालन गर्नुपर्छ । नेपाली भाषा कम्प्युटिङ टेक्नोलोजीको विकास हुन नसक्नु र अङ्ग्रेजीमा कम्प्युटर चलाउन बाध्य हुने परिस्थितिबाट मुक्ति पाउन निम्न बाधाहरूले अवरोध पुर्‍याएको छ ।

१‍. ग्रामीण क्षेत्रमा बस्ने सम्भावित प्रयोगकर्ताहरूले आइसिटीको विकासलाई गति प्रदान गर्न सक्दैनन् किनभने कठिन ग्रामीण सामाजिक परिस्थिति, गरीबी, रोग र प्रविधि साक्षरताको कमीले अङ्ग्रेजीमा कम्प्युटर साक्षरताको विकास हुन कठिन छ ।
२. प्रविधि शोधकर्ता, शैक्षिक संस्थाहरु र सरकारसमेत स्थानीय भाषामा आइसिटी अनुसन्धान गर्ने गराउने मनस्थितिमा देखिँदैन ।
३. नेपाली भाषा प्रयोगकर्ता समुदायका लागि विदेशी भाषा वा अन्तर्राष्ट्रिय भाषामा कम्प्युटरमा काम गर्न सजिलो छैन ।
४. स्थानीय भाषा र सांस्कृतिक सामग्री विकास गर्न भाषिक र सांस्कृतिक समावेशीताको भाषाप्रविधि नीतिको अभाव छ ।
५. राजधानीको प्रशिक्षित जनशक्तिले नेपाली र अन्य भाषाको उत्थानका लागि भाषाप्रविधिमा काम गर्नुपर्छ भन्ने मासिकता बनाउन सकेको देखिँदैन ।

नेपाली वा अन्य राष्ट्रषामा कम्प्युटर चलाउनका लागि निम्न प्रश्नको उत्तर खोज्न जरुरी छ ।
१. आइसिटीमा नेपाली भाषाको स्थिति किन कमजोर छ ?
२. आइसिटी एकीकरणको दिशामा नेपाली भाषा कम्प्युटिङका बाधाहरु के के हुन् ?
३. देश गणतन्त्र र सङ्घीयतामा गइसके पछि पनि नेपाली भाषा मात्रै घोकेर बसिरहनु पर्छ र ?
४. नेपाली र अन्य राष्ट्रभाषाको परिदृश्यमा आइसिटी एकीकरणको नीति कस्तो हुनुपर्छ ?

आइसिटी क्षमता निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उपकरण भनेको भाषाप्रविधि नै हो । अङ्ग्रेजी भाषा प्रविधिसक्षम छ । सम्पर्क भाषाका रुपमा रहेको नेपाली भाषा प्रविधिसक्षम बनाउन सके अन्य राष्ट्र भाषामा काम गर्न सजिलो हुन्छ । कम्तीमा नेपालीमा भएको डिजिटल सामग्रीले अन्य भाषामा काम गर्न सामग्रीको आपूर्ति गर्छ । नेपाली र अङ्ग्रेजीमा प्रविधि क्षमता वृद्धि गर्न सके दूरदराजका जनसमुदायमा समेत आफ्नो भाषामा कम्प्युटरमा काम गर्न सकिन्छ भन्ने हिम्मत बढ्छ र विशिष्ट सामाजिक, शैक्षिक आवश्यकताहरूमा मानिसको ध्यान केन्द्रित गर्दछ। अङ्ग्रेजी, जर्मन, फ्रेन्च, जापानी, चाइनिज, हिन्दी आदि भाषाको आइसिटी एकीकरणको स्थितिलाई अवलम्बन गरि नेपाली र नेपालका भाषाहरुमा भाषाप्रविधिको सम्भावनाको खोजी गर्न, आइसिटीमा नेपाली र नेपालका भाषाको अनुप्रयोग र आवेदनसँग सम्बन्धित चुनौतीहरू पहिचान गर्न वा स्थानीय भाषामा आइसिटी एकीकरणका स्रोतहरूको निर्धारण गर्न शैक्षिक संस्था र देशका प्राज्ञिक संस्थाले अग्रसरता देखाउनु पर्ने हो । सरकारलाई झकझक्याउनु पर्ने हो । तर देशका प्राज्ञिक संस्थाको आँखामा मोतिविन्दु लागेको छ । सही र गलत परिदृष्य ठम्याउन सक्ने अवस्थामा छैनन् । नेपालमा भौगोलिक पर्यावरण, विविध सांस्कृतिक र भाषिक सम्पदामा विविधता समृद्धता भएता पनि राज्यको स्पष्ट नीति र समन्वयको अभाव, राजनीतिक अस्थिरता, प्रभावकारी आइसिटी उपकरण निर्माण र स्थानीय भाषाको ज्ञानभण्डारको अभावले गर्दा आइसिटी एकीकरणमा काम हुन सकेको छैन ।

इलेक्ट्रोनिक लेनदेन ऐन (२००८, अर्थात २०६३) ले ज्ञान र अवधारणा वा निर्देशनहरूको प्रस्तुतीकरण, कम्प्युटरमा प्रयोग हुने शब्द, छवि, आवाज, छविचित्र वा कम्प्युटर सञ्जालद्वारा उत्पादन गरिएका एकाइलाई इलेक्ट्रोनिक डेटाबेस भनेको छ । तर व्यवहारमा चाहिँ ती ती भाषिक र पराभाषिक एकाइको मानक बनाएको छैन । कानुन बनाएको १० वर्षसम्म पनि कानुनले तोकेका एकाइहरुको मानक नबनाउनु भनेको कानुनको परिभाषा खण्डसमेत लागु भएको छैन भन्ने अवस्था हो । यसले प्रमाणित गर्दछ कि नेपाली र नेपालका भाषाहरुमा मानक र आधिकारिक इलेक्ट्रोनिक डाटाबेसको अभाव छ । यसको अर्थ राष्ट्रियस्तरमा अहिलेसम्म हामीसँग आधिकारिक इलेक्ट्रोनिक डाटाबेस छैन ।

कम्प्युटरमा स्थानीय भाषा इन्फेसेसन एक शक्तिशाली उपकरण हो जसले स्थानीय समुदायमा स्थानीय भाषा र संस्कृतिलाई सक्षम बनाउँछ । तर नेपालका सङ्गठित र सरकारी निकाय, शैक्षिक संस्था, अनुसन्धान संस्थाहरुले स्थानीय भाषामा कम्प्युटर इन्टरफेसको आवश्यकता महसुस गरेको देखिँदैन । अहिलेको समय भनेको पेपरबेस कार्यप्रणालीबाट पेपरलेस कार्यप्रणालीतर्फ अगाडी बढिरहेको समाज हो । केही दशकभित्र पूर्ण रूपमा अनलाइनबेस वा पेपरलेस लेखन परम्पराको कार्यप्रणाली सुरु हुन्छ । पेपरबेस भनेको भण्डारणका लागि वा पुस्तकालयका लागि चाहिने सामग्रीमात्र हुन्छ । दैनिक कारोबार पेपरलेस पद्धतिमा जान्छ ।

स्थानीय भाषामा इन्टरफेस नहुँदा हाम्रो कार्यप्रणालीसमेत विदेशी भाषामा गर्नुपर्ने हुन्छ । हाम्रो भाषामा टेक्नोलोजी पहुँच नहुँदा डिजिटल सामग्रीहरू जस्तै इन्टरनेट, एसएमएस, इमेल, बोलपत्र, अदालतको तारिक आदिको इन्टरफेस चाहिँ अङ्ग्रजीमा र आधाउधि सन्देश अङ्ग्रेजीमा र चौथाइ सन्देश टिटिएफ सङ्केतनमा नेपाली वा नेपालका अन्य भाषामा र एक चौथाइ सन्देश ओटिएफ सङ्केतनमा हुन्छ । अर्थात सञ्जाल पृष्ठ गार्वेज वा फोहोरको थुप्रो बन्छ । यस्तो फोहोरको थुप्रोको सामाजिक सञ्जाल पृष्ठ स्वत: पाठसम्पादन (पाठसम्पादन वा प्याराफ्रेजिङ) का लागि अयोग्य हुन्छ । अनि नेपाली र नेपालका भाषामा कम्प्युटरमा काम हुन सकेन भनेर अङ्ग्रेजीलाई नै सूचना प्रविधिको आधिकारिक भाषा भनेर नेपाल सरकारले घोषणा गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ ।

हालको विश्व परिदृश्यमा सूचना प्रविधि प्रभावकारी उपकरणको रूपमा विकसित हुँदैछ। विकासशील देशका ग्रामीण क्षेत्रहरूमा ठूलो आवादी आइसिटीको लाभबाट बञ्चित छ । भाषा इन्जिनियरिङ वा प्राकृतिक भाषा अध्याहारबेगर नेपाली भाषा वा नेपालका भाषामा कम्प्युटरमा पहुँच पुग्न सक्दैन । कम्प्युटर अनुप्रयोगहरू जस्तै स्थानीय भाषामा इन्टरनेट सञ्जाल पृष्ठ, स्थानीय सामग्री व्यवस्थापन, ज्ञान व्यवस्थापन, ब्राउजिङ, नेभिगेटिङ, सन्देश फिल्टरिङ, इमेल सन्देश आदानप्रदान साथसाथै प्राविधिक कि बोर्डिङ र सहायक अनुप्रयोगहरू विकास गर्न र नागरिकलाई स्थानीय भाषामा प्रविधिसक्षम बनाउन नसके यसले भाषा समाप्त पार्छ र भाषासँगै संस्कृति पनि समाप्त पार्छ ।

सामाजिक सञ्जालको स्थानीय सामग्री भनेको समाजको प्रतिविम्ब हो । सूचनाको अधिकार अर्थात राइट टु इन्फरमेसनको तात्पर्य भनेको नागरिकले सूचना पाउने अधिकार जुन सूचना राष्ट्रिय कानुन अनुसार वैधानिक हुन्छ र राष्ट्रले आफ्ना नागरिकलाई प्रदान गर्छ । युनेस्को र नेपाल सरकार घोषणा गर्दछन् कि स्थानीय भाषामा सूचनाको पहुँच स्थानीय समुदायको हक हो । तर नेपाल सरकार देशको बजेटको ९८ प्रतिशत खर्च हुने सरकारी बोलपत्र सञ्जालमा नेपाली र नेपालका राष्ट्रभाषाको एक शब्द पनि राख्दैन । नेपालमा यस्तो देखिन्छ कि सञ्जालको भाषा भनेको अङ्ग्रेजी भाषा हो किनभने इन्टरनेटको शक्तिशाली अङ्ग्रेजी भाषालाई जित्न सकिँदैन । त्यसो हो भने अङ्ग्रेजीलाई सरकारी कामकाजको भाषा घोषणा गर्नु र सबै शैक्षिक संस्था, विद्यालय आदिमा नेपाली र नेपालका भाषा चलाउन बन्देज गरिदिए नेपाली र नेपालका भाषा कम्प्युटिङमा सक्षम बनाउन नीति, योजना, कार्यक्रम, लगानी केही पनि चाहिँदैन । सरकारी ढिकुटी पनि बच्ने उल्टै अङ्ग्रेजी मातृभाषी देश बढ्ने हुनाले डलर पाउन झन सजिलो हुने वातावरण पनि बन्छ ।

विश्व बजारमा उत्पादित सफ्टवेयरको ठूलो अनुपात अङ्ग्रेजीमा छ। विकासशील देशहरूमा कम्प्युटर भाषा प्रवीणता उच्च छैन। यसले विश्वव्यापी वेबमा गम्भीर असर पार्दैछ । बेलैमा सोचेर नीति नियम, मानक, आइसिटी एकीकरणका कार्य नगरे बहुभाषिक, बहुसास्कृतिक मुलुकको आफ्नोपन गुम्ने खतरा रहन्छ । स्थानीय संस्कृति, भाषालाई निरन्तरता दिने मूल कारक विद्युतीय सञ्जालको स्थानीय सामग्री हो । विश्व व्यापार सङ्गठनका अनुसार फोरजी अवलम्बन गरेका देशको ४० प्रतिशत स्थानीय सञ्जाल सामग्री र ६० प्रतिशत विदेशी वा अङ्ग्रेजी सामग्री भएमा त्यस देशको भाषा संस्कृति जोगाउन सकिने हुन्छ नत्र आइसिटी भन्ने अजिङ्गरले कमजोर देशको भाषा र संस्कृति निलिदिन्छ । नेपालको हकमा स्थानीय सञ्जाल सामग्री २ वा ३ प्रतिशत मात्र छ । यही अवस्था रहिरहने हो र स्थानीय भाषा संस्कृतिलाई प्रविधिसक्षम बनाउन नीति, रणनीति नबनाउने हो भने अब नेपाली र नेपालका भाषाको आयु २८ देखि ३५ वर्ष हो ।

टालटुले नीति बनाउने हो भनेपनि ७० वर्ष धान्छ । कम्प्युटरले अङ्ग्रेजी भाषाका ए बी सी डी चिनेको ८१ वर्षको अवधिमा देखिएको सञ्जाल पद्धतिको विश्लेषण गरेर निकालिएको तथ्याङ्क हो यो । हचुवाका भरमा अनुमान गरेको होइन । एकासी वर्षे विश्व भाषाप्रविधि र लङ्गडो वा जन्मदै अपाङ्ग नेपाली र नेपालको भाषाप्रविधि अनीतिलाई पुनश्चः नमन ।

यो पनि पढ्नुहोस्-
भाषा कम्प्युटिङ र अरण्य रोदनः गुहार गुहार भन्नुपर्ला जस्तो छ
नेपालमा भाषा कम्प्युटिङ र कल्पनाको लड्डू
भनीसाध्य छैन भाषाको समस्या

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob