scheduleशनिवार जेष्ठ १२ गते, २०७५

‘अब सिण्डिकेट तोड्ने पालो ट्याक्सीको’

काठमाडौँ, ११ वैशाख ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् ।

‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो’, सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित गर्छौँ ।’

साक्षात्कारमा उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार त्यही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौँ, अन्तिममा आएर बस व्यवसायीहरुलेपनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ ।’

‘अहिले नेपालमा कतै सिण्डिकेट छैन । पहिला थियो । तर, यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ । आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौँ’, सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने, ‘मात्रै उहाँहरूलाई नवीकरण गर्ने सवालमा कम्पनी ऐनमा आउन हामीले यो असार मसान्तसम्म समय दिएका छौँ । कम्पनी दर्ता गर्न समय चाहिन्छ ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरू नआए आफूहरूले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । महासेठले भने, ‘सरकार आफैँ बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरूले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौँ, हामी पर्‍यो भने नयाँ बस ल्याउन सक्छौँ।’

कम्पनी ऐन अन्तर्गत व्यवसायीहरू आउँदा बसका असली मालिकहरूलाई फाइदा हुने उनको भनाई थियो । उनले भने, ‘कम्पनी अनुसार आउँदा कर्मचारीहरूको रोजगारीको सुनिश्चितता् हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेन्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरूलाई मात्रै फाइदा छ।’

उनले कम्पनी ऐन अन्तर्गत आउने काम सम्पन्न भएसँगै आफूहरूले सवारीमा डा«इभरेको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरूको लागि छुट्टै सिटको व्यवस्था गरिनेपनि जनाए । उनले भने,‘अहिलेपनि यो काम भइरहेको छ, अझै थप व्यवस्थित् र प्रभावकारी रूपमा कार्यान्वयन गर्नेगरि सरकार अघि बढ्छ।’

सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र सङ्घले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् नि भनेर सोधेको प्रश्नमा मन्त्री महासेठले भने, ‘सिन्डिकेट हटेपछि यातायात समिति र सङ्घले धमाधम पैसा झिक्न थालेको जानकारी प्राप्त भएको छ, पैसा झिकेर कोही पनि उम्किन पाउने छैनन्।’

उनले अघि भने, ‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरूलाई छानबिनको दायरामा ल्याएर छाड्छौँ, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौँ।’

सिण्डिकेट हटाउनेबारे सरकारले एकलौटी निर्णय गरेको भनेर व्यवसायीहरू आरोप लगाएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा मन्त्री महासेठले आफूहरूले यातायात क्षेत्रमा पैदा भएका सबैखाले विकृति र विसंगतिहरुलाई हटाएको दाबी गरे ।

उनले भने,‘विकृति र विसंगति हटाउनको लागि कसैलाई सोध्नुपर्छ र ?’ उनले सिण्डिकेटको बारेमा अब कुनै सम्झौता नहुने जिकिर गरे । ‘सरकारले गरेको निर्णय अब कुनै पनि हालतमा फिर्ता हुँदैन्’ मन्त्री महासेठले भने,‘तपाइहरू पुर्णरुपमा ढुक्क हुनुहोस् ।’

उनले आफू व्यवसायीहरूलाई सुविधा दिन तयार रहेको बताए । उनले थपे, ‘हामी उहाँहरूलाई सुविधा दिनेबारे लचिलो छौँ, तर सिण्डिकेट र कम्पनी ऐनअन्तर्गत आउने कुरामा व्यवसायीहरूप्रति मेरो कुनै सहानुभूति हुँदैन ।’

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउन काँग्रेस र मधेशवादी दलहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ ।

आफूहरूले समग्र यातायात क्षेत्रलाई व्यवस्थित् र सुधार गर्नको लागि मन्त्रालय अन्तर्गत सुधार तथा सुझाव समिति गठन गरेर काम गरिरहेको जनाउँदै उनले भने,‘सर्वोच्च अदालतले हिजो आयोग गठन गर्न निर्देशन दिएको छ, हामी सम्मानित अदालतको निर्देशन बमोजिम अघि बढ्छौँ।’

सवारी कर तिर्न अब सरकारले बैंकिङ् प्रणालीको सुविधा प्रदान गर्ने उनले विश्वास दिलाए । उनले भने,‘हामी यातायात व्यवसायीहरूलाई सुविधा दिन्छौँ, उहाँहरूले नियम अनुसार कर तिर्नुपर्यो।’ उनले आफूहरू छिटोभन्दा छिटो निर्देशिका जारी गर्ने तयारीमा रहेको बताउँदै उक्त निर्देशिका जारी भएसँगै सरकारी बैङ्क अन्तर्गत र स्थानीय बैङ्किङ उपलब्धतताका आधारमा पैसा बुझाउने व्यवस्था गर्ने जनाए ।

अझैपनि सिण्डिकेट फर्किन्छ कि भन्ने डर, त्रास र शङ्का नपाल्न आमजनतालाई आग्रह गर्दै मन्त्री महासेठले भने,‘ढुक्क हुनुहोस्, अब सिण्डिकेट फर्किँदैन, सदाका लागि अन्त्य भइसकेको छ, यो खारेज भइसकेको छ।’

उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिइरहेका बस व्यवसायीहरूको सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारले पूर्ण रूपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौँ।’ अन्नपुर्णपोस्टमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC