scheduleशनिवार जेष्ठ १२ गते, २०७५

‘एकता चिनीमा पानीको घुलनजस्तै गुट र समूहको अन्त्य गर्नेगरी हुनुपर्छ’

देवेन्द्र पौडेल 'सुनिल', कार्यालय सदस्य, नेकपा माओवादी केन्द्र

दुईटा पार्टीको एकता लामो समयसम्म अल्झिरहेको छ । के छ यसको अहिलेसम्मको प्रगति ?

अस्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको झण्डै दुई घण्टा लामो वार्तापछि अल्झिएका विषयहरुले एउटा आकार लिएर टुंगो लगाउने मोडतिर अघि बढेको अनुभूति गर्न सकिन्छ ।

पार्टी एकताको कुरा चल्दा प्राय: कम्युनिष्टहरुले पहिला विचार त्यसपछि संगठन भन्छन् तर अहिले संगठनमा बढी अल्झिएको भन्ने चर्चा चलिरहेको छ नि बजारमा ?

अहिले, पहिला र भविष्यमा पनि कम्युनिष्ट पार्टी र समाजवादी विचार दृष्टिकोणको कहीँ न कहीँ नेतृत्व गर्ने पार्टीहरुको मुख्य लक्ष्य भनेको वैचारिक प्रश्नहरुको प्रष्टतासहित राज्य निर्माणमा उत्पीडित वर्गको पक्षधरताको अभिव्यक्ति कसरी गर्ने भन्ने प्रधान र प्रमुख हुन्छ । त्यसकारण अहिले पनि वैचारिक कुरा नै प्रमुख र प्रधान हो । र, वैचारिक कुरामा हामीले टुंगो लगाएको अहिलेको प्रसंगमा के हो भने दुई पार्टीका बीचमा रहेका विवादित विषयहरुलाई महाधिवेशनको डेट निर्णय गरेर हामी महाधिवेशनमा छलफल गरेर टुंगो लगाउने गरी दुइटै पार्टीले लिएका विचारहरुलाई अब बन्ने पार्टीले स्वामित्व लिने र महाधिवेशनमा छलफल गरी टुंगो लगाउने निर्णय गरेका छौं ।

जे-जे विषय सहमति हुन सक्छन् र साझा विषयहरु छन् अहिले र हाम्रा आवश्यकताका रुपमा पार्टी एकतासँगै वैचारिक विषयहरु जोडिएर आएका छन्, ती विषयहरुलाई हामीले प्रतिवेदनको रुपमा पार्टी एकता समन्यवन समितिलाई बुझाएका छौं । यो प्रसंगसँगै संगठनात्मक विषय दोस्रो सहायक विषय हो । यो विषयको टुंगो नलगाईकन लिएको विचारको स्वामित्व लिएर त्यसलाई कार्यान्वयन गर्ने एउटा प्रणाली बन्न सक्दैन । त्यसकारण संगठनात्मक संरचना, संगठनात्मक समायोजन र संगठनात्मक रुपमा देखा परेका समस्याहरुलाई सुल्झाउने कुराले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ र त्यसमध्येका ठोस मुर्त भन्दा नेताहरुको जिम्मेवारी, नेताहरुको व्यवस्थापन र नेताहरुको कार्यविभाजनको प्रसंगले दोस्रो र सहायक पक्ष हुँदाहुँदै पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यो विषय नै यतिबेलाको एकताको टुंग्याउनुपर्ने बाँकी विषय थियो, सोही विषयलाई नै गम्भीरतापूर्वक कुराकानी गरेर टुंगो लगाउनेतिर गएको छ ।

बजारमा पार्टी एकताको कुरा चलिरहँदा रुपान्तरणको पक्ष चाहिँ अलि पछाडि पर्‍यो, खाली प्राविधिक कुराहरु मिलाउने कुरा मात्रै अगाडि आयो भन्ने आरोप आइरहेको छ । हिजो पञ्चायतकालमा सुधारिएको पञ्चायती व्यवस्था भन्थे अहिले शक्तिशाली दुई पार्टीको शक्तिशाली सिन्डिकेट मात्रै हुन्छ कि दुईटा पार्टी मिल्दा रुपान्तरणको पक्ष, कम्युनिष्ट आन्दोलनको पक्ष, सहायक पर्छ कि भन्ने ?

अब यी चाहिँ प्रयोग गर्ने शब्दहरु हुन् । र, शब्दको अभिव्यक्ति भन्दा फरक ठाउँमा नेपाली समाज पुगेको हामीले महसुस गरेका छौं । यद्यपि वैचारिक विषयहरुले महत्व लिने कुरा त छँदै छ । तर, फेरि पनि यो रुपान्तरणको कुरा, कतिपय सुदृढिकरणका कुरा हामीले पहिले प्रयोग गर्दै आएका थियौं । हिजो राजतन्त्रको अन्त्य गर्ने आन्दोलनको प्रसंगमा यस्ता विषयहरु बढी प्रयोग हुने गर्थे । अहिले हामीले अर्कै अध्याय र च्याप्टरमा प्रयोग गरेको हुनाले वैचारिक रुपमा कहाँ कता के पुग्यो पुगेन भन्दा पनि हामीले समाजवादी देश निर्माण गर्नका लागि आवश्यक पर्ने विषयहरुमा नै बढी केन्द्रित हुनुपर्छ । त्यसकारणले नै दुईटा पार्टी बीचको एकता, दुई पार्टी बीचको खाली एउटा संयुक्त मोर्चाको अर्थको रुपमा मात्रै होइन कि चिनी र पानीको घुलनसँगै  दुइटै पार्टीको पक्षधरताहरुको गुटहरु र समूहहरु अन्त्य गरेर  साँच्चिकै नयाँ पार्टी निर्माण गर्ने अभियानमा लाग्नुपर्छ । त्यसका लागि आम जनताको निगरानी, खबरदारी र सक्रियताको आवश्यकता रहेको हुन्छ ।

अहिले कम्युनिष्ट केन्द्र बनाउने कि समाजवादी केन्द्र भन्ने पनि छ । एमाले अध्यक्ष ओलीले कम्युनिष्ट ब्रान्ड मात्रै हो, समाजवादी केन्द्र बनाउनुपर्छ भन्ने अभिव्यक्ति पनि दिएका थिए । तपाईंको बुझाई के हो ?
जसरी विगतमा सर्वहारावर्गको अधिनायकत्व अर्थात् संसारभरीका उत्पीडित वर्ग एक हौं भन्ने प्रकारको नाराले झण्डै झण्डै दुई सय वर्षसम्म त्यही वर्गको पक्षधरताको अडानमा कम्युनिष्ट पार्टीहरुले र श्रमिक वर्गका पार्टीहरुले भूमिका निर्वाह गरेका थिए । अहिले त्यसको विकास र परिमार्जनका साथै नयाँ शिराबाट पुनव्र्याख्या गरेर अगाडि बढ्नुपर्ने आवश्यकता हामी सबैले महसुस गरेका छौं । नेपालको सन्दर्भमा पनि हिजो जसरी कम्युनिष्ट पार्टीहरुले परम्परागत शब्दावलीहरुको प्रयोग गरेर करिब करिब डेढ दुई सय वर्ष पहिलाको भावनात्मक पक्षहरुलाई अबका दिनमा लागू गर्न सकिन्छ कि ? भन्ने गरी कतिपय विषयहरु उठान गर्ने गर्दछन् । परिस्थिति, समाज, विचार र अहिलेको विकास त्यस कुरालाई इंकित गर्दैन । नाम चाहिँ कम्युनिष्ट नै रहन्छ तर पनि यो पार्टीको लक्ष्य भनेको संविधानमा उल्लेख गरिएको समाजवादउन्मुख राज्यप्रणाली निर्माणको लागि विकास, समृद्धि र सुशासनका साथै श्रमिक वर्गको हितसाधन गर्ने एउटा समाजवादी राज्य प्रणाली निर्माण गर्ने हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टी बाहेकका वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरुलाई यो पार्टीमा समेट्नुपर्छ भन्ने प्रसंग चलेको छ ।

एमाले र माओवादीकै एकता प्रक्रिया अलमलिइरहेको बेला अन्य पार्टीहरुसँग पनि एकताको लागि वार्ता चलेको बजार हल्ला छ । तपाईं वार्ता प्रक्रियामा पनि हुनुहुन्छ । खास कुरा के हो ?
सानातिना पार्टी गठन गरेर त्यसमार्फत जनतालाई अनावश्यकरुपमा भ्रम दिनु त्यति राम्रो पनि हुँदैन । नेपालमा तीनवटा राजनीतिक धार छन् । एउटा राजावादीहरुको धार थियो, त्यो करिब करिब समाप्त भइसकेको अवस्था छ । बाँकी रहेको पनि परिस्थिति फेरिएकोले त्यसले आकार लिनसक्ने अवस्था रहँदैन । त्यसपछि बाँकी रहेको एउटा अलि वामपन्थी, प्रगतिशील, समाजवादी, कम्युनिष्ट जे भने पनि यी धारहरुको प्रतिनिधित्व गर्ने जनमत छ । अर्कोतिर यो धारसँग विमति राख्दै यसलाई गैरप्रजातान्त्रिक हो भन्दै मैदानमा अस्तित्व जोगाइरहेको अर्को विचार छ, जसले आफूलाई लोकतान्त्रिक धार भन्न चाहन्छ । यी दुईटा धारहरुको तलसम्म ग्राउण्ड छ । अरु छरिएर रहेका पार्टीहरु तिनै दुई धारको वरिपरि गोलबन्द हुनुपर्छ । एउटाले सशक्त प्रतिपक्षको भूमिका र एउटाले सशक्त संस्थापन अथवा जिम्मेवार भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्न आवश्यक छ । यसर्थ, अन्य पार्टीहरुसँग पनि एकताको लागि गम्भीरतापूर्वक छलफल अगाडि बढिरहेको छ । कम्युनिष्ट पार्टीहरुसँग त यसैपनि अपिल छ । त्यसबाहेकका प्रगतिशील र समाजवादी पार्टीहरुसँग पनि संयुक्तरुपमा सके पार्टी एकताको लागि सँगै अगाडि बढौं, नसके संयुक्त मोर्चा बनाएर अगाडि जाऔं भन्ने वार्ता चलिरहेको छ ।

लेनिन दिवस टर्‍यो, मार्क्स दिवस आज टर्दैछ । एकताको लागि अर्को मिति कहिले घोषणा हुन्छ ?
कुरा मिलिसकेपछि मिति तोकिन्छ । शुभदिन मात्र हेरेर भएन । कुरा पनि शुभरुपमा मिल्नुपर्छ । कुरा टुंगो लाग्न केही विषयहरु अझै पनि बाँकी रहेका छन् । करिब करिब वैशाखभरीमा एकता गर्नेगरी छलफलहरु सघनतापूर्वक चलिरहेको छ । यसरी यही अर्थमा बुझौं ।

यहाँ ध्रुवीकरण ध्रुवीकरण भन्नुहुन्थ्यो । दुई पार्टी ध्रुवीकरणको गृहकार्य गरिरहेका छन् । निष्कर्षमा पुग्ला यो प्रक्रिया ?
परिस्थिति अब यो दिशातर्फ जान्छ भन्ने कुरा हामीले संविधानमा थ्रेसहोल्डको व्यवस्था गरेपछि स्वतः बुझ्न र महसुस गर्न सकिने कुरा भयो । किनकी राष्ट्रिय पार्टी हुनका लागि संविधानमा जुन थ्रेसहोल्ड प्रतिशतको व्यवस्था गरियो, त्यसको मात्राले स्वभाविकरुपमा पार्टीको मात्रा खुम्च्याउँथ्यो । त्यसको साथसाथै जनताको अपैषा र चाहना संविधान कार्यान्वयन गरेर यसका बाँकी कार्यभारहरु जस्तो संशोधन गर्नुपर्यो भने त्यसलाई टुंग्याउँदै अगाडि बढाउने र अलिकति जनताको दैनिकीमा, आँगनमा, घरमा लोकतन्त्रको प्रत्याभूति दिलाउने अथवा जीवनमा परिवर्तन ल्याउने कुराको जनताको छ । यस्तो बेला विद्रोही चेना, विद्रोही राजनीति र विद्रोहका निम्ति संगठित गरिएका हिजोका कतिपय संरचनाहरुको पछिल्ला विकासहरुले स्वतः निषेध गरेको छ । यसर्थ, स्वभाविकरुपमा आधारभूतरुपमा विचार मिल्नेहरुबीच ध्रुवीकरणको आवश्यकता थियो । हामीले समयमै त्यो कुरा उठायौं । मलाई व्यक्तिगतरुपमा खुसी लागेको छ । सबै मेरै पहलमा भयो, म भन्दिनँ । देशको निम्ति यो परिवर्तन आवश्यक थियो, त्यो कुरा हामीले बुझेर नै उठाएका थियौं । शीर्ष नेताहरुकै पहलमा यो भूमिका अगाडि जाओस् भन्ने चाहना थियो । आंशिकरुपमा सफल हुँदै गएकोमा म व्यक्तिगतरुपमा खुसी छु ।

अन्तिममा, मार्क्स दिवसको उपलक्ष्यमा केही सन्देश छन् ?
२००औं मार्क्स जयन्ती सम्झँदा मात्रै पनि आफैंमा गर्व महसुस हुन्छ । बीबीसीको एक सर्वेक्षणले पनि मार्क्सलाई सहश्राब्दी पुरुष हुन् भन्ने निष्कर्ष निकालिएको थियो । पछिल्लो एक हजार वर्षमा मासिनले सबैभन्दा रुचाएको मानिसका रुपमा उनी चिनिन्छन् । आज माक्र्सलाई सम्झँदा उनको दुःख, उनले विचार प्रतिपादन गर्नको लागि गरेको लगानी मानव जातिको लागि साँच्चिकै प्रेरणादायी छ । त्यो स्तरको मानिस त हामी हुन सक्दैनौं । तर उनले श्रमिक उत्पीडित वर्गको हितसाधनको निम्ति गरेका कामलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न सके मार्क्सप्रतिको सम्मानमा बढोत्तरी हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC