scheduleशनिवार जेष्ठ १२ गते, २०७५

‘राष्ट्रिय पुँजीको विकास कापीमा लेखेर वा भाषण गरेर हुँदैन’

कृष्ण आचार्य, अध्यक्ष- पिपुल इनर्जी लिमिटेड

कृष्ण आचार्य नेपाली राजनीति र व्यावसायिक क्षेत्रमा परिचित नाम हो । नेपालमा पहिलोपटक चाउचाउ (रारा) भित्र्याएका आचार्य विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित छन् । २०२८ सालदेखि कम्युनिष्ट पार्टीको सदस्य रहेका आचार्य हाल नेकपा माओवादी केन्द्रका सल्लाहकार समेत छन् । उनै आचार्य पछिल्लो समय जलविद्युत क्षेत्रमा सक्रिय छन् । आचार्यसँग आर्थिक क्षेत्र, समृद्धि र खासगरी जलविद्युत क्षेत्रसँग सम्बन्धित रहेर साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश-

लामो समय राजनीतिक आन्दोलन र औद्योगिक परियोजना सञ्चालनमा समय गुजार्नुभयो । अहिले जलविद्युत क्षेत्रतिर क्रियाशील देखिनुभएको छ । किन आकर्षित हुनुभयो जलविद्युततिर ?

मैले विधिवतरुपमा कम्युनिष्ट पार्टीको सदस्यता २०२८ सालमा लिएको हुँ । त्यतिबेलादेखि अहिलेसम्म पनि नेपालका सबै कम्युनिष्ट पार्टीहरुले (नाम फरक भएपनि) राष्ट्रिय पुँजीको सम्वर्द्धन र संरक्षण गर्नुपर्छ भन्दै आएका छन् । यो कुरा कापीमा लेखेर वा भाषण गरेर हुँदैन । व्यवहारमा नै उतानुपर्छ भनेर म व्यवसायमा लागेँ । दलाल पुँजीको विपक्षमा राष्ट्रिय पुँजीको संरक्षण र सम्वर्द्धन गर्ने अभिप्रेरणाले मलाई व्यावसायी बनाएको हो ।

यहीक्रममा मैले नेपालमा पहिलोपटक रारा तयारी चाउचाउको उत्पादन गर्ने तयारीमा लागेँ । त्यसपछि यता मैले जति पनि व्यवसाय गरेको छु, त्यो कम्युनिष्टहरुले परिभाषा गरेअनुसारको राष्ट्रिय पुँजीको निर्माण गर्ने र राष्ट्रिय औद्योगिकरण, व्यापार विविधिकरण भन्ने नारा जो छ, त्यसलाई व्यवहारमा उतार्ने काममा लागेको छु ।

अब जलविद्युततिर किन लागेँ भन्ने जुन प्रश्न छ, हरेक मुलुकका आ–आफ्नै विशेषता हुन्छन् । सबैले सबै कुरामा प्रतिष्पर्धा गर्न सक्दैनन् । आफ्नो मुलुकमा भएको साधन स्रोत र प्रविधिको अधिकतम् उपयोग गर्न सक्ने क्षेत्रको पहिचान गर्न सक्नुपर्छ । नेपालको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण र आवश्यक जलविद्युत र ऊर्जा हो । हरेक मुलुकको विकासको आधार हेर्ने हो भने त्यो मुलुकमा ऊर्जाको कति विकास छ, खपत कस्तो छ ? भन्ने आधारमा सम्बन्धित देशको आर्थिक सूचक भरपर्दछ भन्ने मलाई लाग्छ ।

जलविद्युतको काम कसरी अगाडि बढाइरहनु भएको छ ?
हामी नेपाललाई जलस्रोतको दोस्रो धनी देश भन्छौं तर त्यसको उपयोग अत्यन्तै नगन्य छ । सय वर्षभन्दा लामो हाम्रो इतिहास छ तर हामी अहिलेसम्म १००० मेगावाट पनि उत्पादन गर्न सकिरहेका छैनौं । हाम्रो प्रतिव्यक्ति उपभोग २०० युनिट पनि छैन । छिमेकी मुलुक भारतमा प्रतिव्यक्ति खपत १४०० छ । त्यस्तै चिनमा झण्डै ४००० युनिट छ । अरु मुलुकसँग तुलना गर्दा पनि हामी धेरै पछाडि छौं । हामीसँग पर्याप्त स्रोत छ । आवश्यकता पनि छ तर, उत्पादन छैन । यसकारण सबैभन्दा सजिलो, राम्रो र राष्ट्रिय दृष्टिकोणबाट हेर्दा पनि यो गर्नैपर्ने काम हो भन्ने लागेर म यस क्षेत्रतिर लागेँ । सम्भव भएसम्म व्यापक जनसहभागिताका आधारमा यसलाई अगाडि बढाउने उद्देश्यले सुरुमा हामीले पिपुल्स हाइड्रो सहकारी संस्थाको नाममा काम सुरु गर्यौं । तर, पछि केही कानुनी र व्यवहारिक अड्चनहरु आएर पिपुल्स हाइड्रोलाई हामीले कम्पनीमा परिणत गर्यौं । अहिले पिपुल्स् इनर्जी लिमिटेडको नामबाट हामीले काम गरिरहेका छौं ।

पिपुल्स् इनर्जी लिमिटेडले अहिले खिम्ति–२ जलविद्युत परियोजना अगाडि बढाइरहेको छ । यसलाई तपाईंले ‘जनताको लागि जनताले’ भन्ने नाराका साथ सामुदायिक लगानीको परियोजनाको रुपमा अगाडि बढाउने भन्नुभएको छ । यसको बारे थप प्रष्ट पारिदिनुहोस् न !

हामीले लगानी कर्तालाई व्यापक जनसहभागिता भनेका छौं । सम्भव भएसम्म धेरै मानिसलाई शेयर दिने र एउटै मानिसले ५ करोड, १० करोड लगानी गरेर बनाउने होइन । ठूला साहु महाजन लगानीकर्तालाई हामीले यहाँ प्राथमिकता दिएका छैनौं । उनीहरुलाई छुटाउने त होइन तर, अधिकतम् एक करोड र न्यूनतम एक लाख लगानी गर्ने भनेका छौं । यसबाट सामान्य मानिसहरुले पनि लगानी गर्न सक्ने हैसियत राख्छन् । अर्को कुरा परियोजना प्रभावित क्षेत्रका मानिसहरु सबैलाई समेट्ने भनेका छौं । यो परियोजना बन्दै गरेको दोलखा र रामेछापका सम्पूर्ण जिल्लाबासीलाई लगानी गर्न प्रोत्साहित गर्न अहिले हामीले ३/४ वटा कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।

यसपछि हामीले अन्तर्राष्ट्रियस्तरमा रहेका लगानीकर्ताहरुलाई पनि आह्वान गरेका छौं । विदेशमा रहेका नेपालीहरुलाई पनि आग्रह गरिएको छ । देशव्यापीरुपमा उत्साहजनकरुपमा लगानीकर्ताहरु यो अभियानमा जोडिनुभएको छ । यसको उद्देश्य नै सम्भव भएसम्म व्यापक जनसहभागिताका आधारमा सञ्चालन गर्ने हो । म अर्को कुरा के विश्वास गर्छु भने मेरो व्यक्तिगत नारा के छ भने– गो टुगेदर, ग्रो टुगेदर । सँगै जाऔं सबैले भन्छन्, तर सँगै समृद्धि होऔं कमैले भन्छन् । हाम्रोजस्तो अविकसित मुलुकमा अन्यलाई लिएर जाने भन्ने छैन । तपाईंले हेर्दै जानुभयो भने ठूला लगानीकर्ताहरु प्रायः सबैले प्राइभेट लिमिटेड चलाएका छन् । मेरो र हाम्रो साथीहरुको टिमको उद्देश्य नै धेरैलाई सँगै लिएर जाने हो । एउटा मात्रै आयोजनामा सीमित रहने होइन, धेरै आयोजना बनाउँदै जाने हो । दुईचार जना व्यक्तिले मात्रै होइन, बहुसंख्यक व्यक्तिलाई लिएर जाने हो । यसैअनुसार यसमा धेरै साथीहरु सम्बन्धित हुनुहुन्छ ।

अहिले कहाँ पुग्यो परियोजना ? कति कामहरु भए ?
हामीले परियोजनाका लागि आवश्यक जग्गा खरिद गरिसकेका छौं । आन्तरिक बाटो निर्माण सम्पन्न भइसकेको छ । निर्माण अवधिमा चाहिने विद्युत शक्ति तान्ने प्रक्रियामा छौं । हामी निर्माण अवधिमा बस्नको लागि क्याम्प बनाइरहेका छौं । वर्षात्को लगत्तै हामी फिल्डमा जाने तयारीमा छौं । यसबीचमा हाम्रो अर्को उपलब्धि भनेको चिनियाँ लगानीकर्तालाई, जुन नेपाल सरकारले पनि गर्न सकेको छैन, लाभांश लिएर जाने लगानीकर्ता होइन, लगानी उसले गर्छ, निर्माण गर्छ, २ वर्षपछि मात्रै हामी उसलाई पैसा दिन्छौं । हामीले अहिले १० प्रतिशत मात्रै लगानी गर्छौं । बाँकी ९० प्रतिशत उत्पादन भएको २ वर्षपछि उसलाई हामीले भुक्तानी दिने सम्झौता गरेका छौं । हामीले दिने १० प्रतिशतको उसले हामीलाई बैंक ग्यारेन्टी दिन्छ । तर, ९० प्रतिशतको ग्यारेन्टी केही दिनुपर्दैन । उनीहरुले व्यापक जनसहभागिताको नमूनालाई साथ दिन तयार भए । हामी विश्वास दिलाउन सफल भयौं । बिना कुनै ग्यारेन्टी, बिना कुनै निकायको संलग्नता, निजी क्षेत्रबाट हाम्रो आफ्नो प्रयासबाट हामीले यो आयोजनामा विदेशी पुँजी, श्रम, सीप र औजार सबै ल्याउन लागेका छौं ।

कतिपयले आलोचना गरिरहेका छन्, निजी क्षेत्रले पछिल्लो समय गफ मात्रै गरिरहेका छन्, काम गर्न सकिरहेका छैनन् भनेर । लाइसेन्स होल्ड गर्ने, विचौलियाको भूमिका निर्वाह गर्ने मात्रै भइरहेको भन्ने पनि छ नि ?

यसमा दुई/तीनवटा कुराहरु छन् । केही मानिस लाइसेन्स लिएर बेच्नेहरु पनि छन् । केही आफूले कम लगानी गर्ने र अरु लगानीकर्ता खोजेर बनाउनेहरु पनि छन् । केही मानिसहरु आफूले पनि लगानी गर्ने, अरु लगानीकर्ता पनि खोज्ने छन् । सबै व्यवसायहरुमा राम्रा नराम्रा दुवै कुराहरु छन् । पछिल्लो चरणमा भने झोलामा खोलामा खोला लिएर हिंड्ने अवस्था पार भइसकेको छ । ठूला ठूला आयोजनाहरुमा माथिल्लै तहमा चलखेल हुने स्थिति अझै पनि देखा परिरहेको छ । तर, निजी क्षेत्रका विकास अभियानमा लागेकाहरुले यस्तो गर्न सक्ने अवस्था छैन । लाइसेन्स दिने नियमले पनि धेरै कुरा परिवर्तन गरिसकेको छ । लाइसेन्स होल्ड गरेर बस्ने भन्ने प्रश्न पनि गर्नुभयो । त्यो बेच्नलाई लिएर बस्ने बाहेक काम गर्छु भन्नेहरुलाई थुप्रै किसिमका अप्ठेराहरु छन् । उदाहरणका लागि लाइसेन्स लिनलाई मात्रै पनि हामीलाई पाँच वर्ष लाग्यो । लाइसेन्स लिइसकेपछिका अन्य प्रक्रियाहरु पनि धेरै लामा छन् । एउटा जलविद्युत परियोजना सम्पन्न गर्न कम्तिमा हामी २९ ठाउँमा पुगेर चित्त बुझाउनुपर्छ । ती सबै प्रक्रियाहरु पूरा गर्नुपर्छ । यहाँ नीतिगत, संरचनागत अवरोधहरु धेरै छन् । नेपालको कर्मचारीतन्त्र अझै पनि राणाकालीन मानसिकताबाट मुक्त भएका छैनन् । कुर्सीमा बसेपछि ९५ प्रतिशतको मानसिकता नै मैले शासन गर्ने र आदेश दिने हो भन्ने छ ।

हामीले राजनीतिक अस्थिरताको कारण पनि विकास भएन भन्ने गर्दछौं । तर, जापानमा हेर्ने हो भने दोस्रो विश्वयुद्ध पछाडि अहिलेसम्म नै प्रत्येक सरकारको औसत आयु डेढ वर्षको छ । इटालीमा सवा वर्ष जति होला । युद्धले तहसनहस भयो भन्ने हो भने नेपालमा १७ हजार नागरिक मारिए तर श्रीलंकामा ६० हजार मानिस मारिए पनि त्यहाँको विकासमा अवरोध भएन नि ! यो चाहिँ उम्कने बाटो भयो । कुरा थुप्रै गर्न सकिन्छ । विकास नहुनुको मुल कारण राजनीतिक नेतृत्वसँग इच्छाशक्ति नहुनु र कर्मचारीतन्त्र चाहिँ पुरानै शासन गर्ने र दुःख दिने शासकीय मनोवृत्तिबाट मुक्त नहुनु हो । कर्मचारीहरु सेवा प्रदायक होइनन्, प्रशासकको भूमिकामा देखिए । यस्ता प्रवृत्तिले गर्दा थुप्रै अप्ठ्याराहरु छन् ।

दोस्रो कारण, नीति नियम र कानुन नै यस्ता छन् कि ऊर्जासँग सम्बन्धित नीति नियम र ऐनहरु वनसँग बाझिन्छन् । वनसँग भएका भूमिसुधारसँग । भूमिसुधारसँग भएका वातावरणसँग बाझिन्छन् । हाम्रा ऐन कानुन भाषामा चाहिँ भयंकर छन् । व्यवहारमा एकअर्कासँग बाझिएका छन् । त्यसकारण एकअप्ठ्यारामा छन् । अर्को के देखिन्छ भने ठूला ठूला परियोजनाहरु लाइसेन्स लिएर बसिरहेका देखिन्छन् । अस्ति भर्खर मात्रै एउटा तथ्यांक सार्वजनिक भएको थियो, भारतीयहरुले ७५ सय मेगावाटको लाइसेन्स होल्ड गरेर बसिरहेका छन् । पाँच सात वर्ष भयो, उसले त्यो काम गरेको पनि छैन । केही निजी क्षेत्रले राम्रो काम गरेका पनि छन्, तर उनीहरुलाई कार्यक्षेत्रमा जान एकदमै गाह्रो छ । यसकारण काम ढिलो भइरहेको छ ।

केही राजनीतिक दलहरुले समृद्धि समृद्धि भनिरहेका छन् । तर नेताहरुको इच्छाशक्ति देखिन्न । समृद्धिका लागि नेपालमा जलविद्युत पनि प्राथमिकतामा छ भनेर नेताहरुको दिमागमा घुसेको छ त ?
राजनीतिक इच्छाशक्ति भन्ने कुरा मैले अघि पनि गरेँ । भाषणमा त सबैले भनेका छन् । प्रथम पटक बाबुरामजीले ०६४ मा अर्थमन्त्री भएको बेला । अहिले १० वर्ष बितिसक्यो तर नेताहरुले त्यही नारा लगाइरहेका छन् । दश वर्ष बित्दा १० हजार होइन, एक हजार पनि पुगेको छैन । नारा त्यही लगाइरहेका छन् । सबैको दिमागमा विकास हुनुपर्छ भन्ने बोली छ, तर व्यवहार र इच्छाशक्ति भएन् । त्यो भएको भए कम्तिमा २५ सय मेगावाट त उत्पादन गर्न सक्थे । हामी अझै १००० मेगावाटकै आसपास छौं । यसकारण कार्यान्वयन पक्ष फितलो छ ।

खिम्ति–२ तिरै जाउँ । हरेक परियोजनाका अनुकूलता र प्रतिकूलता हुन्छन् । यसका विशेषताहरु के के हुन् ? कत्तिको आकर्षक परियोजना हो यो ?
सामान्य मानिसले हाइड्रोपावरको बारे बुझ्न चाहे भने चार एच बारे बुझ्नुपर्छ । मेरो व्यवहारिक अनुभवका आधारमा भन्छु कि फोर एच भनेको पहिलो एच हाइड्रोलोजी हो । खोलामा पानी हुनुपर्छ, पानी नै नभएपछि केही हुन्न । अर्को एच भनेको हाइट । त्यो भनेको पानी कति उचाईबाट खसाल्न सकिन्छ भन्ने हो । तेस्रो एच भनेको हाइवे र हाइटेन्सन लाइन हो । धेरै किलोमिटर बाटो बनाउन पर्‍यो र धेरै टाढाबाट लाइन तानेर ल्याउन भने पनि गाह्रो हुन्छ । चौथो भनेको ह्युमन रिसोर्च अथवा मानवीय जनशक्ति । त्यो भनेको व्यवस्थापन हो । लगानीकर्ता र प्राविधिक टिमको संयोजन । यी चारमध्ये खिम्ती–२ मा हाइड्रोलोजी प्रुभन छ । हाम्रोभन्दा तल ६० मेगावाट बनिसकेको छ । हाइट ३ सय मिटरभन्दा धेरै छ । राजमार्ग आन्तरिक बाटोभन्दा बाहेक तीन ठाउँबाट जान सकिन्छ । बाँध र पावरहाउसमा जान आफूले हिड्ने बाहेक बनिबनाउ बाटो छ । हाइटेन्सन लाइन १७ किलोमिटरसम्म तान्ने सहमति गरेका छौं । विद्युत प्राधिकरणले त्यहाँ नजिकै बनाउँदै छ । त्यो भएपछि हामी चार किलोमिटरसम्म आइपुग्छौं । सामान्यतयः एक मेगावाटलाई एकदेखि डेढ किलोमिटरसम्म ट्रान्समिसन लाइन तान्नुपर्ने हो । यसकारण हामी चारवटै कुराबाट राम्रो छौं ।

दोस्रो, त्यसको लागि पुँजीको व्यवस्थापन, स्थानीय नागरिकसँग सम्बन्ध, सरोकारवालासँग सम्बन्ध आदि कुरा आउँछन् । अहिले नै त्यहाँ धेरै स्थानीयहरुले लगानी गरिसक्नुभएको छ । धेरैले लगानी गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । यसको लागि केही समस्या छैन । अर्को आकर्षण हामीले चिनियाँ कम्पनीसँग इपिसिएफ मोडेलमा एग्रीमेन्ट गरिसकेका छौं । उत्पादन गरेको दुई वर्षपछि मात्रै उनीहरुलाई भुक्तानी दिने भनेपछि समयको ग्यारेन्टी भयो, समयको कारण लागत बढ्ने कुरा भएन । अप्ठेरो पक्ष चाहिँ ठूलो प्राकृतिक प्रकोप भयो भने हो । त्यो हाम्रो वशको कुरा भएन । हामीसँग इनहाउस टेक्निकल टिम पनि छ । नेपालभित्र हाइड्रोपावरमा लामो समय काम गरेका इन्जिनियरहरुको समूह जस्तै प्रो. हरि पण्डित, रामहरि शर्मा जस्ता व्यक्तिहरु हामीसँग हुनुहुन्छ । उहाँहरुसँग यस क्षेत्रको बिसौं वर्षको अनुभव रहेको छ । अनुभवी व्यवस्थापन टिम हामीसँग छ । योभन्दा अगाडि मैले पनि १० मेगावाटको परियोजनामा निर्देशकको रुपमा काम गरेको हुँ । १५ मेगावाटको पनि बत्ती बाल्ने अवस्थामा हामीले पुर्.याएका छौं । अर्को २० मेगावाटमा पनि हामीले काम गरिरहेका छौं ।

अर्को महत्वपूर्ण पक्ष हामीले हाम्रा कामहरु पारदर्शी राखेका छौं । धेरैजसो व्यवसायमा पारदर्शिता कम हुन्छन् । हामीले टिम वर्क गरेका छन् । हामीले राम्रो गरिरहेका छौं भन्नेमा म विश्वस्त छु ।

नेपालीसँग लगानीका लागि पैसा छ । तर लगानी सुरक्षा र विश्वस्नीयता छैन । जलविद्युतमा प्रतिफलको लागि लामो समय कुुर्नुपर्छ भन्ने छ । लगानीकर्तालाई तपाईं के भन्न चाहनुहुन्छ ?
जलविद्युतको एउटा राम्रो पक्ष उत्पादन गर्ने बेलासम्म धेरै कठिनाई आएपनि उत्पादन सुरु भएपछि यो जस्तो राम्रो व्यवसाय केही पनि छैन । यसको आम्दानी र खर्च पहिले नै निश्चित भइसकेको हुन्छ । जस्तो हामीले विद्युत प्राधिकरणसँग पिपिए सम्झौता भइसकेको छ । हिउँदामा ८.४० र वर्षामा ४.८० पैसा दिने भनिएको छ । त्यो रेटमा आएको आम्दानी कति हुन्छ भन्ने कुरा निश्चित छ । अरु व्यवसायमा जस्तो यसमा खर्च हुँदैन । प्राकृतिक प्रकोप र यन्त्र उपकरणमा भवितव्य भयो भने हो, नत्र त्यस्तो खर्च निस्कँदैनन् । आम्दानी र खर्च पारदर्शीरुपमा देखिन्छ । निरन्तर व्यवस्थापन राम्रो हुन सकेन भने कयौं राम्रो व्यवसाय पनि डुबेर गएका हुन्छन् । यसकारण निष्क्रिय लगानीकर्तालाई यो भन्दा राम्रो व्यवसाय नै छैन । अर्को गौरव गर्नुपर्ने विषय म राष्ट्र निर्माणमा सहभागी भएको छु भन्ने हुन्छ । यसबाट प्रतिफलसँगै आत्मगौरव पनि प्राप्त हुन्छ ।

लगानीकर्ताको उत्साह र सहभागिता कस्तो पाउनु भएको छ ?
लगानीको उत्साहजनक अवस्था छ । पहिला सोधेर लगानी गर्दथे, अहिले लगानी गरेर सोध्न आउँछन् । कतिपय समूहबाट तपाईंकोमा बढी भयो, अब रोक्नुस् भन्नेसम्मको प्रतिक्रिया आएको छ ।

लगानी गर्न आतुर नेपाली नागरिकलाई यहाँको केही सन्देश छन् ?
पिपुल इनर्जी लिमिटेडमा लगानी गर्न पाउनु एउटा अवसर हो । यो अवसरलाई कसैले नछाडौं । जहाँसुकै रहनुभएका नेपालीलाई पनि म अनुरोध गर्दछु– लगानी गर्नुहोस् । यसको प्रतिफल राम्रो छ । निश्चित रकम लगानी गर्नुहोस्, यसलाई हामी एउटा सफल परियोजनामा लैजानेछौं । यसैगरी, यस परियोजनाको उत्पादन हुने बेलासम्म हामी फेरि अर्को परियोजनामा पनि जान्छौं । यसमा मात्रै हामी सीमित हुँदैनौं । लगानीकर्ताले पनि एकठाउँमा लगानी गरेपछि पुनः अर्को ठाउँमा लगानी गर्ने अवसर प्राप्त हुन्छन् । बाहिर बस्ने नेपालीको लागि जलविद्युत सबैभन्दा सुरक्षित लगानी हो । यसबाट तलमाथि हुँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC