scheduleशनिवार जेष्ठ १२ गते, २०७५

हामीलाई नुन भुटुन चाहिएको छ, छिमेकी फर्सी लिएर आउँछ

राम कार्की पार्थ

विकास भनेको मान्छेको आधारभूत स्वतन्त्रता प्राप्ति गर्ने एउटा प्रक्रिया हो । अमत्र्यसेनले एउटा किताब लेखेका छन्– डेभलपमेन्ट एस ए फ्रिडम । उक्त पुस्तकमा विकास के हो भन्ने कुरालाई उनले राम्ररी अर्थ्याएका छन् ।

अब समाजवादी कोणबाट हेर्दा खासगरी श्रमजिवी वर्गको श्रम र सीप उसको भौतिक अस्तित्व बचाउने बेजो पनि हुँदै हो त्यो, त्यसबाहेक त्यो नै साधन बनेर असमानता, अभाव, शोषणमा विस्तार हुन्छ । त्यसैले यसलाई कसरी मुक्त गर्न सकिन्छ ? समाजवादको मुख्य लक्ष्य भनेको त्यो श्रमिक वर्ग हुन् । समाजवाद भन्नासाथ मार्क्सको कुरा आउँछ । मार्क्सले मान्छेको जो अलगाव हो अर्थात् कुनै कुरा सिर्जना गर्दा त्यसबाट लिने जुन आनन्द हो, त्यो आनन्दबाट मान्छे अलग्गिनु हुँदैन । श्रमिक आफ्नो श्रम र सिर्जनाको आनन्दबाट कट्नु हुँदैन । यो नै मार्क्सको आधारभूत सिद्धान्त हो ।

राम कार्की

त्यस्तै देशको हकमा, कुनै पनि देशले आफ्नो अर्थराजनीतिक विकल्प लिन वा छनौट गर्न देश स्वतन्त्र छ कि छैन ? हामी आफ्नो विकास रणनीति तय गर्न स्वतन्त्र छौं कि छैनौं ? यो प्रमुख कुरा हो । हामीलाई नुन भुटुनको जरुरी छ, छिमेकी फर्सी लिएर आइपुग्छ । उसको बारीमा फर्सी धेरै फल्यो । तिमीहरुको अहिलेको आवश्यकता फर्सी हो भनेर हामीलाई फर्सीको फाइदा पढाउँछ हामीलाई । अनि भन्छ– यो उधारै दिउँला तिमीहरुलाई, आधा त अनुदानमै । हाम्रो यस्तो स्थिति छ ।

अब प्रश्न आउँछ, प्राथमिकता छनौट गर्ने तरिका के हो ? नेपालले आफ्नो विकास रणनीति आफैं छनौट गर्ने तरिका के हो ? हामीले नियोजनको सिद्धान्त त लिएका छौं, कतिपयले त यसलाई पनि फ्याँकिसके । जस्तो भारतमा नीति आयोग बनाएर योजना आयोग नै चैट पारेका छन् । हामी नियोजनको सिद्धान्तमा त जानुपर्छ तर, महत्वपूर्ण कुरा भनेको छनौट गर्दा कतिलाई सहभागी बनायौं, कति जनता सहभागी भए ? नेपालको कृषि कस्तो हुनुपर्छ, नेपालको शिक्षा कस्तो हुनुपर्छ ? नेपालको विकास रणनीति के हुनुपर्छ ? यसबारे बहस कहाँ भयो ? यो केवल अर्थमन्त्रीको जिम्माको कुरा होइन । यो राजनीतिक पार्टीहरुकै जिम्मेवारी हो । हाम्रा गाउँ–शहरका टोल–टोलसम्म नेपालले कुन बाटो लिने भनेर कहिँकतै छलफल भयो ?

नेपालको प्राथमिकता के हो ? एकजना फ्याट्ट बोलिदिन्छ- नेपालको प्राथमिकता यो हो भनेर । ब्रम्हज्ञान पाएजस्तो । माथि आकाशबाट झरेर बोलेजस्तो । नेपालको प्राथमिकता त नेपाली जनताले तय गर्ने होला नि ? समाजवाद भनेको त सार्वजनिक छलफल हुनुपर्‍यो । विभिन्न फोरममा जनताले बहस गर्न पाउनुपर्‍यो विकास रणनीतिबारेमा । र, सँगसँगै उनीहरुको त्यसमा स्वामित्व पनि हुनुपर्‍यो । अनि, उनीहरुबाट अनुगमन पनि हुनुपर्‍यो ।

हामीले सोभियत संघमा देख्यौं । त्यहाँ पछिल्लो समय अर्थतन्त्र र प्रविधिलाई नै सबैभन्दा महान भनियो । मार्क्सवादलाई लगेर खुम्च्याइयो । मार्क्सवाद के हो ? यो भनेको आर्थिक विकास र प्रविधि हो भनियो । यसै मान्यतामा रुसले न्यूक्लियर बम त बनायो तर, १९७९ मा त्यहाँका कम्युनिष्ट भेट्रानहरुलाई जनताले कठालोमा समातेर धकेलेको बेला त्यो न्यूक्लियर बलमे काम दिएन । न्यूक्लियर बम आफ्नै ठाउँमा बस्यो, कम्युनिष्टहरु लज्जित भएर हानुपर्‍यो ।

यसर्थ, समाजवाद मान्छेले बनाउने कुरा हो । यो मान्छेको कुरा हो । मान्छेमध्ये पनि श्रमिक वर्गलाई कति स्वतन्त्र राख्न सक्छौं ? हाम्रो देशबाट ३०/४० मानिस विदेश गइरहेका छन्, उनीहरुलाई स्वदेशमा नै भूमिका दिने हाम्रो सोच हुनुपर्छ । अहिले नै हामीले ४० लाखलाई ल्याउन नसकौंला तर, हामी उनीहरुलाई कसरी ल्याउन सक्छौं ? नेपालमै कसरी भूमिका दिन सक्छौं ? त्यतातिर जानुपर्छ ।

नेपालमा धेरै वर्ष नेपाली कांग्रेसले शासन गर्‍यो । २/४ वर्ष यसो विदेश घुमेर आएका मानिसहरुले यहाँ निजीकरण गरेपछि सबैकुरा ठिक हुन्छ भने । यसको जवाफ चाहिएन ? निजीकरणले आज हामीलाई कहाँ पुर्यायो । के भयो निजीकरणको परिणाम ? मुख्यकुरा त्यो दर्शन वैचारिकरुपमै गलत धारणा थियो । पुँजीवादमा पुँजी अर्थात् आर्थिक भनेको नाफाको लागि दौडिन्छ । जहाँ नाफा पाउँछ, त्यहीँ जान्छ । त्यो नाफा बटुल्नेक्रममा केहीगरी जनताको हित भएछ भने त्यो बाइप्रोडक्ट (सह-उत्पादन) हो । यता समाजवादले जनताले चिन्नुपर्‍यो । हाम्रो न्यून तहको जनतालाई माथिल्लो तहमा कसरी ल्याउन सक्छौं ? नत्र भने हाम्रो हालत भारतकै जस्तो हुन्छ । एउटा स्टेशनबाट मंगल ग्रहको निम्ति स्याटेलाइट छोडिराखेको छ तर, ६७ करोड जनता सडकको पेटीमा सुत्छन् । कहिलेकाँही रक्सी खाएर मच्चिएर आउने गाडीले हिर्काउँदै एकैठाउँमा सात–आठ जना मानिस मारिएको खबर सुन्न पाउँछौं । के हामीले पनि त्यही चाहेको हो ? त्यही हो हाम्रो मोडेल ? अब हामी नयाँ प्रक्रियामा जानुपर्छ । राजनीतिक दलहरुले जनताको बीचमा सार्वजनिक छलफल, बहस गराउने काममा जानुपर्छ । हामी कता जाँदैछौं ? हाम्रो प्राथमिकता के हो ? आखिर जनता नै गुरु हुन् । उनीहरुले हामीलाई सिकाउँछन् ।

जस्तो, अहिले हाम्रो प्राथमिकता के हो छलफल गरौं । हुनसक्छ कि कृषिमा आधुनिकीकरण । अहिले वित्तीय पुँजीले हाम्रो जमिन सिध्याइरहेको छ । जमिनको जनन् क्षमता अर्थात् फर्टाइल क्यापासिटीलाई पनि खत्तम गरिराखेको छ । दोस्रो कुरा, वित्त पुँजीलाई औद्योगिक पुँजीमा रुपान्तरण गर्न सक्छौं कि सक्दैनौं ? हाम्रो आगामी २०/३० वर्षको लागि बाटो हो, त्यसको बारेमा अहिलेको हाम्रो विनियोजन सिद्धान्तले कम्तिमा त्यतातिर संकेत गरेको हुनुपर्छ । अहिले नै सबैकुरा पूर्ण हुन्छ भन्ने त होइन तर, त्यता जानुपर्छ ।

अर्को महत्वपूर्ण कुरा शिक्षा र स्वास्थ्य । अघि प्रदीप गिरीजीले भन्नुभयो कि हामीले पश्चिमतिरबाट सिद्धान्त ल्यायौं । पश्चिमबाट अनुकरण गर्यौं । पश्चिम जहाँ राज्य बलियो थियो, त्यहाँबाट निजीकरण ल्याएर देशको यो हालत भयो । तर, पूर्वमै सिद्धान्त जन्माउनको निम्ति शिक्षा र स्वास्थ्य त आफ्नो हुनुपर्‍यो नि त । स्वास्थ्य भनेको शरीर हो र शिक्षा भनेको मष्तिष्क । खोइ हाम्रो शिक्षा प्रणाली ? हाम्रो पाठ्यक्रम पनि अरुले तयार गरिदिन्छन् । नेपालीले अहिले के पढ्ने हो भन्ने पनि अरुले तय गरिदिन्छन् । अरुलाई कोड गर्छौं हामी । नेपाललाई कस्तो शिक्षित जनशक्ति चाहिएको हो ? आगामी २० वर्षमा कस्तो शिक्षित जनशक्ति चाहिन्छ ? हामीलाई डाक्टर, इन्जिनियर, कृषि विशेषज्ञ कति कति चाहिने हो ? त्यो कुरा त अब हामीले ल्याउन सक्नुपर्‍यो । बाहिर देखाउन सक्नुपर्‍यो । हामी त भीडमा, मेलामा वा पशुपतिको जात्रामा हिंडिरहेको जस्तो हिंडिरहेका छौं । त्यसरी हिंडेर पुगिन्छ कहीँ ? हाम्रो लक्ष्य निर्धारण हुनुपरेन ?

यसर्थ, अब हामीले कतिपनि अबेर नगरीकन सबै केन्द्रीय नेताहरु र कर्मचारीका प्रथम श्रेणीका अफिसरहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्न बन्द गर्नुपर्छ ।

(प्रतिनिधिसभाको बैठकमा विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कार्कीले राखेको विचारको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC