scheduleमगलवार मंसिर २५ गते, २०७५

सगरमाथा सपनाः बाटोमा आफ्नै मृत्यूको खबर पढेँ

डोमा शेर्पा

म शेर्पा समुदायको मानिस । मैले सानैदेखि मनमा सगरमाथा चढ्ने सपना हुर्कांउँदै आएँ । पछि २०१४ मा सगरमाथामा भएको एउटा हिमपहिरोमा परी १६ जना शेर्पाहरुले ज्यान गुमाउनु भयो । म एउटा रिपोर्टरको रुपमा उनीहरुको परिवारमा पुग्थेँ । बाहिरबाट ज्यान गुमाउनेहरुको परिवारका लागि सहयोग आउँथ्यो । त्यसलाई बाँढ्न जाँदा उनीहरुको बालबच्चाहरु र श्रीमती देखेँ । उनीहरुको परिवारसँग भेट्दा मनमा अनौठा प्रश्नहरु आउँथ्यो ।

हुन त दुर्घटनाले सगरमाथा चढ्ने सपनालाई झन निरुत्साहित गर्नुपर्ने हो तर, मलाई त्यस्तो भएन । मलाई एउटा कुराले एकदमै सोच्न बाध्य बनायो कि वास्तवमा सगरमाथामा हुने दुर्घटनाहरुको सत्यतथ्य समाचार नै आइरहेको थिएन । घटना एकातिर समाचार अर्कोतिर । सञ्चार माध्यम नै पिच्छे फरक फरक समाचार ।

सगरमाथासँग जोडिएको सपना

सगरमाथाको बेसक्याम्प पुग्दा पनि मैले महसुस गरेँ, माथि एउटा घटना भएको हुन्छ, काठमाडौंका मिडियामा अर्कै समाचार आइरहेको हुन्छ । यस्ता कुराले मलाई सगरमाथासँग जोडिएको घटनाहरुको यथार्थ बुझ्न मन लाग्यो । सगरमाथा भन्नासाथ शेर्पाको नाम जोडिन्छ । शेर्पाबारे धेरै स्टोरीहरु आएका छन् तर, अझै पनि वास्तविकता भने उद्घाटन हुन सकिरहेको छैन ।

यहाँ शेर्पा भन्नासाथ शेर्पा जाति मात्रै होइन । आरोहणमा सघाउने जुन खास काम छ, त्यो गर्ने जुन जातिका भए पनि उनीहरुलाई शेर्पा भनिन्छ । २०१४ को हिमपहिरोमा बित्ने पनि तामाङ, क्षेत्रीलगायत थिए । म खासगरी शेर्पाको वास्तविकता पत्ता लगाउन मैले सगरमाथा चढ्ने सपनालाई बलियो बनाउँदै लगेँ ।

सपना देखेर मात्र कहाँ हुने रहेछर ? सपनालाई विपना तुल्याउन धेरै संघर्ष गर्नुपर्‍यो  । यो बीचमा मुख्य समस्या अर्थ संकलन नै हो । नेपाल र विदेशमा रहेका शेर्पा संघसंस्थाका अगुवाहरुले मैले गर्दै आइरहेको काम हेरिरहनुभएको थियो । पहिलो चरणमा धेरै गाह्रो भयो । अन्तिम अवस्थामा भने सजिलैसँग आर्थिक संकलन भयो ।

पाइला पाइलामा संघर्ष

सुरुमा मैले कानुनीरुपमा कागजातहरुको काम गरेँ । नेपाल पत्रकार महासंघसँग सल्लाह गरेँ । उहाँहरुले अनुमति दिनुभएपछि म महासंघकै व्यानरमा गएको हुँ । पर्यटन विभागमा जानकारी दिएँ । सहयोगी संघसंस्थाहरुले पत्रकार भएर किन सगरमाथा चढ्नुपर्यो भन्ने कुरा पनि आयो । मैले जवाफ दिँदै गएँ । यो अभियानमा मैले मेरो परिवारबाट एकदमै साथ र सहयोग पाएँ ।

जब यी सबै चरणहरु पार गरेर सगरमाथा पुगेँ, वास्तवमा सगरमाथा त हामीले बुझेजस्तो सगरमाथा रहेनछ । हामीले कल्पना गरिरहेका हुन्छौं– सुरुमा बेसक्याम्प अनि क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री, क्याम्प फोर अनि सगरमाथाको चुचुरोमा ! यसरी सोचेजस्तो सजिलो छैन सगरमाथा आरोहण । पाइला–पाइलामा संघर्ष छ । बेसक्याम्पदेखि क्याम्प वानसम्म जाँदा बीचमा खुम्बु आइसफल पर्छ । यो एकदमै खतरनाक छ । त्यहीँ हो १६ जना शेर्पाले ज्यान गुमाएको ।

बेसक्याम्प पुग्न पनि केही दिन लाग्छ । दैनिक ५/६ घण्टा हिंड्नुपर्ने रुटिन हुन्छ । बेसक्याम्पमा केही दिन आराम गरेर क्याम्प वान जानुपर्छ । स्वास्थ्यले साथ दिएन भने पुनः वेशक्याम्प फर्कनुपर्ने हुन्छ । खुम्बु आइसफलमा प्रत्येक दिन पहिरो गइरहेको हुन्छ । आइसफल डक्टर दैनिक त्यहाँ पुगेर बाटो बनाउँछन् । उनीहरु नफकिँदै बाटो भत्किसकेको हुन्छ । हिमपहिरोले एकदमै अप्ठेरो हुन्छ । मनमा डर हुने भइहाल्यो । तर, मनमा सगरमाथा चढ्ने सपना बोकिसकेपछि यस्ता डरहरु हराउँदै जान्छन् । डर शक्तिशाली हुन पाउँदैन । क्याम्प वानमा एकदुई दिन बसेर क्याम्प टुमा जानुपर्छ । क्याम्प वानमा खानबस्नको राम्रो व्यवस्था छैन । त्यहाँ हिऊँमाथि सुत्नुपर्ने हुन्छ । स्वास्थ्यमा पनि समस्या देखिन्छ । त्यही भएर क्याम्प टु गएर बस्ने गरिन्छ । त्यहाँ सबै कुराको राम्रो व्यवस्था छ । तर, त्यहाँ पनि सामान्य पहिरो गइरहन्छ ।

उचाई चढ्दै गर्दा डरले आकार बढाउन खोज्छ । तर, आत्मविश्वासले डरलाई जित्नुपर्छ । खर्पस् अथवा खाडलमा परेर हराउन सकिन्छ, पहिरोले लैजान सक्छ । तर, मैले सेफ्टी लगाएको छु, मसँग मेरो शेर्पा छ भनेर ढुक्क हुनुपर्छ । शेर्पाले पनि सम्झाइरहेको हुन्छ । भन्छन् नि ‘डरके आगे जित’ । यस्तै बुझ्नुपर्‍यो ।

पाइला पाइलामा अप्ठेरो भए पनि कतिपय स्थानमा एकदमै गाह्रो हुन्छ । फर्किनुपर्छ कि, अब त सकिँदैन कि ? भन्ने पनि लाग्छ । हिलारी स्टेपमा मलाई त्यस्तै भयो । त्यहाँबाट एकातिर चाइना देखिन्छ, अर्कोतिर नेपालको क्याम्प टु देखिन्छ । चट्टानमाथि हिड्नुपर्ने हुन्छ । रातभरी हिँडेको हुन्छ । इनर्जी लेवल पनि एकदमै कम भइसकेको हुन्छ । बिहान ४ बजेतिर हिलारी स्टेप क्रस गर्नुपर्ने हुन्थ्यो । अप्ठेरोले त्यो बाटो हिंड्नै नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । हिलारी स्टेप जम्मा १५–२० मिनेटको बाटो छ । त्यो क्रस गर्नको लागि एकदमै गाह्रो छ । अलिकति चलमल गर्ने ठाउँ पनि हुँदैन । एकातिर लडे चीनको कुन कुनामा पुगिन्छ थाहा हुँदैन, अर्कोतिर लडे नेपालको क्याम्प टुमा सिधै पुगिन्छ । यो सम्झँदा प्रायः मानिसले सगरमाथा चढ्ने सपनालाई यहीँबाट छाडिदिन्छन् ।

८ हजार मिटरमाथि तीन दिन

क्याम्प फोर भनेको ८ हजार मिटरभन्दा माथि हो । त्यहाँ पुग्दा खाना र अक्सिजन नमिलेर म बिरामी परेँ । पखाला चल्यो । ठिक हुन्छ भनेर तीन दिनसम्म बसेँ । माथि बाल्कोनीसम्म पुगेर आएँ । ८ हजार ३ सय मिटरभन्दा माथि पुगेपछि पनि स्वास्थ्यले साथ नदिएपछि फर्किनुपर्छ भनेर फर्किएँ । अरु समिट गरेर फर्किएका, एकले अर्कोलाई बधाई दिइरहेको, आफू चुचुरो नजिकै पुगेर पनि फर्कनुपर्दा साह्रै नमिठो लागिरहेको थियो ।

त्यसपछि तल बेसक्याम्प झरेँ । दुई दिन आराम गरेँ । पुनः यात्रा सुरु गरेँ र सफल पनि भएँ । तीन दिनसम्म ८ हजार मिटरभन्दा माथि बस्नु भनेको आफ्नो स्वास्थ्यलाई पनि जोखिममा राख्नु हो । त्यहाँ जे पनि हुन सक्थ्यो ।

समिट गर्न नसकेर आधार शिविर फर्किएँ । पुनः समिट सुरु गर्दा मनमा लाग्यो– अझै बिरामी भएँ भने के होला ? चढ्ने र झर्ने उतारचढावमा अत्यन्तै पीडा हुन्थ्यो तर, मैले आँसु चाहिँ झारिनँ । समिट सफल बनाएर फकिएपछि मात्र हर्षको आँसु झारेँ । बाटोमा असाध्यै अप्ठेरो हुँदा परिवारको याद आउँदो रहेछ । बाबाआमा जसले मलाई यो अवस्थासम्म ल्याउन सघाउनु भयो, उहाँहरुको याद आउँदो रहेछ ।

पैसाले मात्र चढिन्नँ सगरमाथा
सुरुमा पैसा नहुँदा पैसा जम्मा गर्न पाए सगरमाथा चढ्थेँ भन्ने हुन्छ । तर, पैसा हुने सबैले सगरमाथा चढ्न सक्दैनन् । सगरमाथा चढ्न त दृढ इच्छाशक्ति, आत्मविश्वास र हिम्मत चाहिने रहेछ ।

शेर्पाको बारेमा जान्ने बुझ्ने चाहनाले मलाई सगरमाथाको चुचुरोसम्म पुर्यायो । उनीहरु साँच्चिकै छायामा परेका छन् । आरोहीलाई सगरमाथाको चुचुरोसम्म पुर्याउने क्रममा उनीहरु कतिपटक सगरमाथा चढेका होलान् ? हरेक आरोहीभन्दा अगाडि त शेर्पा पुगेको हुन्छ नि सगरमाथाको शिरमा । तर उनीहरु छाँयामा परिरहेका हुन्छन् । मैले यसबारे डकुमेन्ट्री पनि बनाउँदैछु । धेरै सामग्री जम्मा पारेको छु । विस्तारै सार्वजनिक गर्दै जान्छु ।

सगरमाथा चढ्न चाहेनहरुलाई …
जीवनमा एकपटक संसारकै सबैभन्दा अग्लो ठाउँमा पुगौं भन्ने धेरैलाई लाग्न सक्छ । सगरमाथा चढ्न धेरै कुराले साथ दिनुपर्छ । आर्थिक रुपमा सक्षम हुनुपर्ने त छँदैछ, साथमा स्वास्थ्यले पनि साथ दिनुपर्छ । हिम्मत र आत्मविश्वास भएन भने अरु जे जे भएर पनि भएन । पाइलैपिच्छे मृत्यूलाई छिचोल्दै जानुपर्छ । प्राविधिक ज्ञान पनि लिनुपर्छ ।

आफ्नै मृत्यूको खबर …
समिट चढेर जब म फर्कंदै थिएँ, बाटोमा आफ्नै मृत्यूको खबर थाहा पाएँ । म आफैं मरेको खबर साथीहरुले स्क्रीन शट हानेर राख्नुभएको रहेछ । त्यहाँ सूचना संयन्त्र नै प्रभावकारी छैन । इन्टरनेट वेशक्याम्पसम्म मात्रै छ ।

मेरो मृत्यूको खबरले मेरो परिवारमा कस्तो अवस्था भयो होला ? समाचार प्रकाशन गर्नेहरुले ध्यान दिनुपर्ने हो । मृत्यू भन्ने कुरा सामान्य कुरा होइन । एकजनाको मृत्यूसँग कयौं मानिस जोडिएका हुन्छन् । सञ्चार माध्यमले धेरै कुरामा ख्याल पुर्याउनुपर्छ ।

चुचुरोमा पुगेपछि …
चुचुरोमा पुग्दा त संसार नै जितेजस्तो भयो । यसबारे कति धेरै सपना थियो । कति धेरै खुलदुली थियो । चुचुरोबाट हिमश्रृंखला कति सुन्दर देखिने रहेछन् । नेपालतिर कति सुन्दर देखिने रहेछ । चीनतिर मरुभूमिजस्तो मात्रै देखिने । सधैं माथि चुचुरोमै बसूँ जस्तो लाग्ने । तर, के गुर्न सधैं बस्न नसकिने !
सगरमाथा चढ्न सफल भइसकेपछि जिम्मेवारी थपिएको महसुस भएको छ । आरोहीको मर्यादा जोगाउनुपर्छ अब । पाइलैपिच्छे ख्याल गर्नुपर्छ । थपिएको जिम्मेवारी निर्वाह गर्दै अगाडि बढ्नेछु ।
(पहिलो शेर्पा महिला पत्रकार डोमा शेर्पाको सफल सगरमाथा आरोहणपछि गरिएको कुराकानीमा आधारित)   

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob