scheduleशनिवार आश्विन ४ गते, २०७६

यसरी अवैध हुन्छन् मलेसियामा नेपाली ?

malaysiaक्वालालाम्पुर, २२ फागुन । बर्दिया, देउडाकलाका पहलमान रोका करिब एक वर्षअघि मलेसिया आए। काठमाडौंको गौरीशंकर म्यानपावरलाई १ लाख ४० हजार रुपैयाँ बुझाएर यहाँको प्रतिष्ठित कम्पनी ग्रुप अफ ओरेन्टल रेस्टुरेन्टमा काम गर्न आएका थिए उनी। म्यानपावरले उपलब्ध गराएको कामदार र कम्पनीबीचको सम्झौतामा दैनिक १० घन्टा वेटर काम गर्नुपर्ने, त्यसबापत मासिक १२ सय ३७ रिंगेट तलब पाउने र खाने–बस्ने सुविधा रेस्टुरेन्टले नै उपलब्ध गराउने उल्लेख थियो। कम्पनीले नेपालमा कामदार मागपत्र पठाउँदा पनि नेपाली दूतावाससँग यही बेहोराको सम्झौता गरेको थियो। खाने–बस्ने सुविधासहित करिब ३६ हजार रुपैयाँ मासिक तलब पाउने काम पाउने भएपछि रोका मलेसिया आउन तयार भए। म्यानपावरले ८० हजार मात्र लिनुपर्नेमा उनीसँग ६० हजार रुपैयाँ बढी माग्यो, उनी तिर्न राजी भए। र, मलेसिया आए। जब रेस्टुरेन्टले उनलाई वेटरको काम दिएन, उनी छाँगाबाट खसेझैं भए। उनलाई क्लिनरको काम गर्न लगाइयो। किचेन सफा गर्ने देखि माछा र तरकारी काट्ने काम दिइयो उनलाई। २५ किलोसम्मका ज्युँदो माछा काट्नुपर्थ्यो। ज्युँदो माछा काट्दा कयौँपटक आफ्नो हातखुट्टामा चोट लागेको उनी बताउँछन्। ‘घरमा श्रीमती गर्भवती थिइन्। त्यस्तो बेला मैले कुनै प्राणीको हत्या गर्नु हुँदैनथ्यो,’ उनले भने, ‘त्यस्तो बेला मैले ज्युँदो माछा मार्नुपरेन।’ घरबाट श्रीमतीले सन्चो छैन भनेर फोन गर्दा आफूले माछा मारेकै कारण हो कि जस्तो सम्झन्थे र झन् पीडाबोध हुन्थ्यो उनलाई। यत्तिकैमा उनले काम थालेको एक महिना पुग्यो। तलब पनि आयो। १२ सय ३७ रिंगेट दिने भनेको त ९ सय रिंगेट मात्रै दियो। उनलाई दिनमा १० घन्टा काम गरेर ९ सय रिंगेटमा चित्त बुझेन र त्यहाँबाट भागे र अन्यत्रै काम गर्न थाले। उनी अहिले सेलंगरस्थित एक कोइला कम्पनीमा काम गर्छन्। १० घन्टा काम गरेर १७ सय रिंगेट तलब बुझ्छन्। आफू आएको रेस्टुरेन्टले भनेजति तलब नदिएपछी अवैधानिक भएर काम गरेको उनले बताए। पहलमान त एउटा प्रतिनिधि पात्र हुन्। उनीजस्ता सयौँ नेपाली यहाँ नेपालमा भएको सम्झौताअनुसार दाम र काम नपाउँदा भाग्छन् र अन्यत्रै काम गर्न बाध्य हुन्छन्। त्यसपछि उनीहरु अवैधानिक हुन्छन्। मलेसियामा नेपाली अवैधानिक रुपमा बस्नुको कारण काम र तलब मात्र भने होइन। कतिपय नेपाली म्यानपावरको हेलचेक्रयाइँका कारण पनि अवैधानिक भएर काम गर्न बाध्य छन्। त्यसका उदारहण हुन्, इटहरीका हर्क राई। एक वर्षअघि काठमाडौंको प्रोफेसनल म्यानपावरलाई एक लाख ८० हजार रुपैयाँ तिरेर सेक्युरिटी गार्ड कामका लागि मलेसिया आएका राई म्यानपावरकै बद्मासीले अवैधानिक भए। मलेसियामा सेक्युरिटी गार्ड बन्न नेपालको रिटायर्ड सेना या प्रहरी हुनैपर्छ। तर, उनी न सेना थिए न प्रहरी। म्यानपावरले सेना भएको नक्कली कागजात बनाई फोटोमा जर्नेलको फुली लगाइदियो। २६ वर्षका उनी नक्कली रिटायर्ड जर्नेल बनेर मलेसिया आए। अध्यागमनले राईलाई सोध्यो– २६ वर्षको मान्छे कसरी जर्नेल हुन सक्छ? उनी अक्क न वक्क परे। त्यसपछि उनले ‘वर्क पर्मिट’ नै पाएनन्। आफूलाई परेको समस्या म्यानपावरलाई सुनाए। तर, म्यानपावरले नेपाल फर्काउन मानेन। ‘मैले वर्क पर्मिट नपाएकाले नेपाल फर्काउन भनेँ तर म्यानपावरले फर्काएन। अनि म अवैधानिक भएर काम गर्न बाध्य भएँ,’ उनले भने। मलेसिया आउँदा सयकडा तीन प्रतिशत ब्याज तिर्ने गरी लिएको २ लाख रुपैयाँ ऋण तिर्न पनि अवैधानिक रुपमा काम गर्न मलेसिया बस्नै पर्ने भयो। आफू रहरले नभई बाध्यताले अवैधानिक भएर काम गरिहेको उनी बताउँछन्। ऋण तिरिसकेपछि नेपाल फर्कने उनको योजना छ। तर कति बेला प्रहरीले पक्राउ गर्ने हो, त्रासका बीच दिन काटिरहेका छन्। नेपालका म्यानपावर पैसाका निम्ति मलेसियाको नीतिनियम ख्यालै गर्दैनन्। यही कारण अवैध बनेका अर्का पीडित हुन्– पुरन्धारा–७, दाङका डिल्लीबहादुर पुन। ५१ वर्षका पुनलाई सुनगाभा म्यानपावरले ४० वर्ष उमेर उल्लेख गरेर नक्कली कागजात बनाई मलेसिया पठाइदियो। पासपोर्टमा उल्लेख जन्ममितिअनुसार उनको उमेर ५१ वर्ष नै देखिन्थ्यो। मलेेसियामा ४० वर्षसम्मलाई मात्र काम गर्ने अनुमति दिने कानुन छ। पासपोर्ट हेरेपछि उनलाई पनि अध्यागमनले वर्क पर्मिट दिएन। त्यसपछि उनले आफूलाई पठाउने म्यानपावरमा सम्पर्क गरेर घर फर्काइदिन आग्रह गरे। म्यानपावरले उनको आग्रह सुनेन। आफू मलेसियामा अलपत्र परेको खबर सार्वजनिक भएपछि मात्र म्यानपावर उनलाई फर्काउन तयार भएको पुन सुनाउँछन्। ‘म्यानपावरले पैसा मात्रै हेरेर पठाउँदा अवैध बस्ने र अलपत्र पर्ने समस्या भयो,’ पुन भन्छन्। यति मात्र होइन, कति नेपाली यहाँ मेडिकल फेल भएपछि पनि भागेर काम गरिरहेका हुन्छन् जो कानुनी रुपमा अवैधानिक हुन्। झापाका युवराज गिरी नेपालमा मेडिकल पास भएर मलेसिया आएका थिए। तर यहाँ परीक्षण गर्दा फेल भए। अवैधानिक रुपमा बसेर काम गरिरहेका उनलाई एकदिन प्रहरीले पक्राउ गर्योह। तीन महिना जेल बसेर नेपाल फर्केका उनले नागरिकसँग स्काइप कुराकानीमा भने, ‘मेडिकल फेल भए पनि काम गरेर बसेकाले दुःख पाएँ।’ मेडिकल फेल हुनासाथ घर फर्कंदा जाँदा गरेको लगानी डुब्ने सम्झेर जोखिम मोलेको उनी बताउँछन्। मेडिकल फेल भएको तीन महिनाभित्रै नेपाल फर्के पूरै पैसा फिर्ता पाइन्छ। तर, त्यति कुरा नबुझेकाहरु आउँदा लागेको लगानी डुब्ने डरले यतै लुकेर काम गरिरहेका हुन्छन्। अवैधानिक भएर काम गर्ने रहर कसैलाई हुँदैन। जति अवैधानिक छन्, तिनका बाध्यता पनि उत्तिकै पीडादायी छन्। सबैका आआफ्नै समस्या छन्। नेपाली दूतावासका श्रमसहचारी बुद्धिनाथ भट्टराई रोजगारदाता कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा र नेपालबाटै म्यानपावरले बद्मासी गरेर पठाउँदा अवैध बस्नेको संख्या बढिरहेको स्विकार्छन्। ‘यहाँका कम्पनी र नेपालका म्यानपावरका बद्मासीले अवैध नेपाली बढिरहेका छन्,’ भट्टराईले भने। यस्ता नेपाली कति छन् त मलेसियामा? यकिन तथ्यांक कसैसँग छैन। दूतावासको आँकलन छ– १० हजारभन्दा बढी नेपाली यहाँ अवैधानिक रुपमा बसेर काम गरिरहेका छन्। ‘कोपरासी’ नामक संस्थाले अवैधानिक नेपालीले १२ सय ८० रिंगेट जरिवाना तिरेर नेपाल जान पाउने अभियान चलाएपछि भने यो संख्यामा कमी आएको कोपरासीका नेपाली अभियन्ता हरिप्रसाद भट्टराई बताउँछन्। दूतावाससँग मागपत्र अनुमति लिँदा गरेको सम्झौताअनुसार नेपाली कामदारलाई सेवासुविधा नदिने कम्पनीलाई कामदार दिन नरोक्दासम्म यो समस्या रहिरहने मलेसियामा सक्रिय पत्रकार अर्जुन काफ्ले बताउँछन्। नागरिक दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage