scheduleमगलवार आषाढ़ ३० गते, २०७७

पहिचान र घिटघिटिमा संस्कार

– गोपाल फ्युबा

Tamang-Cultureअचेल सामाजिक सञ्जालका भित्तामा पहिचान भन्ने शब्द दिनहुँ छुट्दैनन् । कोही नामको पछाडि जात नलेखेकोमा त कोही मातृभाषामा नलेखेकोमा कडा आलोचनाका शब्दहरुले दुत्कार्छन् । यसरी हेर्दा समय पहिचानको हो, युग पहिचानको हो र खोजी पनि पहिचानको हो भन्नेमा असहमत कोही हुँदैनन् । केही वर्षदेखि निरतर तामाङ लोक जीवन, लोक साहित्य र मौखिक इतिहासको खोजीमा हिडेको आधारमा तामाङ संस्कार भने मृत्युको पञ्जामा परिसकेको छ भन्ने निष्कर्ष निकाल्न गाह्रो मान्नु पर्ने कारण देख्दिन । यस आलेखमा तामाङ संस्कार, परम्परा र रितिरिवाज नयाँ पुस्ताले कसरी बिर्सदै छन् भन्नेमा केन्द्रित रहनेछ । तामाङ जातिसँग आफ्नै लोक प्रचलनहरु छन् ।

जन्मदेखि मरणसम्मका अनेक कृयाकर्महरु आफ्नै मौलिक छन् । लामा, बोम्पो, व्हाइपोम्पो, लप्ताआपा आदि लगायतका संस्कार धान्ने गुरु तथा गुरुआमाहरु छन् । गाउँमा गरिने शासन व्यवहार, न्याय प्रणाली आफ्नै प्रकारका छन् । फागुन महिनाको पूर्णिमाको दिन बोम्पोले स्यिप्ता क्योङ्पा गरी भोलिपल्ट बार्ने र पर्सिपल्टदेखि मकै रोप्न शुरु गर्ने प्रचलन यद्यपि कतिपय मौलिक पुरातन समाजवादी तामाङ गाउँहरुमा प्रचलनमा रहेका छन् । न्वारन, अन्न प्रासन, छेवर, स्यामापिन्पा, फप्पा, विवाह, घरपैचो र मृत्यु संस्कारहरु अझै तामाङ जातिमा प्रचलनमा रहेका छन् ।

लामा बोम्पो, लप्ता आपा, व्हाइ पोम्पो आदि सबैको आ आफ्नो कार्य जिम्मेवार हुन्छ । लामाले फुकेको ठाउँमा बोम्पोले फुक्न नहुने कुनै चलन छैन । बोम्पो तिर्थ जाँदा लामा अघि अघि कङ्लिङ् फुक्दै जाने प्रचलन तामाङ जातिमा छ । बोम्पोको छे लामाले थाप्ने र लामाको वाङ बोम्पोले थाप्ने प्रचलन धार्मिक सहिष्णुताको दर्बिलो उदाहरण हो । तर अहिले विभिन्न वादको नाममा ती राम्रा प्रचलनहरुको अनुसरण गर्न बाधा उत्पन्न गरिरहेका छन् । ऐचोपैचो मेलापात तामाङ जातिमा पनि प्रचलनमा रहेको छ । घर बनाँउदा, महत्वपूर्ण कार्य गर्नु पर्दा चि हेर्ने चलन छ ।

श्रवन बार्ने, छ्यो हेर्ने गरिन्छ । विवाह मामाचेला फुपुचेली, मामाचेली फुपुचेला बिच गर्ने गरिनछ । कुटुम्बेली र स्वाँगे गरी दुई भागमा तामाङ थरहरुलाई विभाजन गरिएको पाइन्छ । त्यसले गर्दा सबै ठाउँका तामाङ जहाँ सुकै रम्न र रमाउन पाइन्छ । तामाङ चि र छ्यो हेर्ने चिपा विद्या कसले सिकोस् ? अझ प्राकृतिक चिज वस्तुको व्यवहारको आधारमा भविष्यवाणी गर्न सकिने ज्ञान म्हेम्हे लत्तेसँगै सिद्धिएको छ ।

जल, जमिन र जङ्गल आफ्नो स्वामित्वमा भएर पनि उचित प्रयोग गर्न नजानेका तामाङहरु मौलिक वाजा, हस्तकलामा भने प्रविण छन् । जटिबुटिबाट अथाह सम्पत्ती आर्जन गर्न नसके पनि रोग उपचारको लागि भने प्रयोग गर्दछन् । ढ्याङ्ग्रो, डोको, डालो, थुनसे, मान्द्रो, हलो लगायतका आवश्यक औजार सामग्री आफैले उत्पादन गर्न नसकेर विदेशी ब्रान्ड रोज्न पाउदा आधुनिक भनाँउदो अहिलेको पुस्ता दुःखी भन्दा खुसी देखिनु कम लाजमर्दो विषय हैन । तामाङ जातिमा आफनै संस्कार, परम्परा र रितिरिवाज भए पनि अबको पुस्ताले विस्तारै भुल्दै गएका छन् । तामाङ जातिमा प्रचलित म्हेन्दोमाया गीत दोहोरी शैलीमा प्रत्यक्ष गाउन सक्ने मान्छे पाउन मुस्किल छ ।

एमपि थ्रीमा बजेको गीत सुन्ने र बजाउने प्रचलन भने ह्वात्तै बढेको छ । सइखोले, दोरा व्हाइ, बोम्सङ लगायतका गीत गाउन र त्यसको सेरलिङ फर्काउने तामाङ पाउन गाह्रो भएको छ । बिनायो र मुचुङ्गा बजाई मनको भाव पोख्न सक्ने एकाध बाहेक कोही भेटिएन । म्हरमेनमा बोम्सङ गाउन लामा आफैले गाउनुको कारण अन्य नभएर नै हो । घोडचढी नाच प्रस्तुत गर्ने क्रममा धेरै ठाउँमा गीति भाकामा वार्ता गराउनेको अभाव खट्केको थियो । अहिले छेजी अभियानमा लाग्दा प्रत्येक चेमाको आफ्नै इतिहास भएता पनि भन्न सक्ने थोरै मात्र भेटेको र त्यसमा पनि ८० वर्षभन्दा बढीका हुनु तामाङ संस्कार घिटघिटिमा पुगेको ज्वलन्त उदाहरण हो ।

अहिलेको नयाँ पुस्ताले शिक्षा, चेतना र विकासको नाममा आफ्नो संस्कार भुल्दै गइरहेका छन् । गलत बुझाइ वा शिक्षाले यस्तो भएको हो । कतिपय सिद्धान्तहरु मौलिकता साक्षी हुदाहुदै गलत सावित गराउन उद्यत भइरहेका छन् । विदेशी विद्वान वा प्रा.डा.का नाममा आएका गलत चिन्तन भए पनि पाठ्यक्रमले स्विकारेका छन् । यो कमजोरी लगातार गरिरहेका छौं । त्यसको फलस्वरुप अहिले मौलिकता हराउदै गइरहेको छ । तामाङ काइरन, नम्तर भएका पुस्तकहरु कवाडी भाउमा बेचिरहेका छन् । धर्मको नाममा कैयौ इतिहास बोल्ने पवित्र पुस्तक तथा दोमङहरु फालिएका छन् । किनकी त्यसमा के छ भनेर न त पढ्ने चेष्टा गरियो न पढ्नेले राम्ररी ब्याख्या नै गरियो । प्रयोग गरिएको लिपिको अध्ययन औपचारिक पढाइमा गर्न सकेन । मातृभाषामा पढ्नु भनेको विश्व परिवेशमा पछाडि पर्नु हो भन्ने भ्रामक हल्ला गरियो ।

नेपाली भाषाका पक्षपाती साथीलाई कहिलेकाही प्रश्न गर्न मन लाग्छ कि विश्वसँगै बढ्नु छ त किन अङ्ग्रेजी मात्रै नपढ्ने ? अहिलेको समयमा नयाँ बोम्पो बन्ने क्रम एकदमै कम भएको छ । प्राकृतिक उपचारक बोम्पो नहुनासाथ तामाङ संस्कारको एउटा श्रृङ्खलाको अन्त्य हुन्छ । लामा, व्हाइपोम्पो, लप्ताअपा, लम्बु लगायतका प्रशारित संस्थाहरु कुनै एक नभएमा संस्कार बिचल्लीमा पर्दछ । अहिले सिद्धिने तथा सिध्याउने क्रममा गर्व गर्नेहरुले भोलि आफ्नो मौलिकता के देखाउने ? पहिचानको क्षयीकरण संस्कारबाटै शुरु हुन्छ । तामाङ संस्कारलाई जोगाउन तामाङ जातिमा निश्चित प्रशारित संस्थाहरु छन् ।

तिनीहरुमा अहिले क्रमबद्ध प्रहार भइरहेको छ । ती प्रहारहरु बृहत योजनाका साथ भइरहेका छन् । नाराका रुपमा पहिचान शब्द ओकल्नेहरुले यो बुझ्नु जरुरी छ कि कुनै एक संस्था नरहनासाथ संस्कार जोगाउन गाह्रो हुन्छ । पहिचान गोलमटोल शब्द नभएर हाम्रो समग्र संस्कार, संस्कृति र परम्पराको स्वरुपको रुपमा बुझिनु पर्दछ । हामीलाई पहिचान चाहिएको छ तर संस्कार, संस्कार र प्रचलन छोडिदै गएका छौं । यो अमिल्दो सोच, व्यवहार र बुद्धिका कारण पहिचान शाब्दिक क्षेत्रमा मात्र संकुचनमा परेको छ । यो सत्य हो कि मौलिकताको नाश गरेर पहिचान बचाउन सकिदैन । जाति र धर्ममात्र पहिचानका आधार हैनन् । त्यसैले घिटघिटिमा पुगेको संस्कार नबचाई पहिचान प्राप्त हुन्छ भन्ने कुरा गर्नेहरु अर्धपागल हुन् । तस्वीर : लेखक

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय