scheduleसोमवार आषाढ़ २९ गते, २०७७

कमरेड गृहमन्त्री र बलात्कृतको घाउ

कविता
सुदर्शन खतिवडा

कट्कटिएको कलिलो रगत र विर्यको मिश्रण
तप्प तप्प आँसुका थोपाले भिज्दा
जब ढाडिन थाल्छ नितम्बको आसपास
अनि ह्वास्स गनाउन थाल्छ अपराधीको विर्य
हेलिकप्टरबाट झर्दै घटनास्थलमा
पोज दिइरहँदा क्यामेराहरुको अगाडि
‘बलात्कृत बालिका’ भेट्दै गरेका कमरेड गृहमन्त्री
तिम्रो नाकले केही चाल पायो ?

क्रुर केही थान आकृतिहरु
लुछिरहेछन् एक बालिका
कोही थिचिरहेछन्, कोही खिचिरहेछन्
तिम्रो सुरक्षित मन्त्री क्वाटरबाहिरको बाँसघारीबाट
राक्षसी पञ्जाहरुसँग प्रतिरोध गर्दै
आइरहेछ क्रन्दन र चित्कार
‘बचाऊ बचाऊ!’
त्यो तिमीलाई मनपर्ने संगीत हो कि
तिम्रो निन्द्रा बिथोल्ने अराजक हल्ला ?
कमरेड गृहमन्त्री, तिमीले सुन्यौ कि सुनेनौ ?

 

rape

जब क्षतविक्षत गुप्तांगको पीडा राख्न सक्दिन गुपचुप

घाउ मात्र होइन, भविष्य पनि पोल्छ भत्भति
अनि तसाईरहन्छ पलपल भयंकर दुस्वप्नले
कमरेड गृहमन्त्री,
तिमीले गणतन्त्र दिवसमा लगाएको विजयको रातो रंग
मेरो घाउबाट भलभलि बगिरहेको रगत त होइन नि ?

मलाई च्याप्प च्यापेर काखमा
जब रगतको आँसु रुन्छन् मेरा बाबुआमा
सहानुभूतिका सुस्केरा सुसेल्छन् शुभचिन्तकहरु
सिटामोल किन्ने पैसा छैन,
अस्पताल र प्रशासनमा पहुँच छैन
रन्थनिएर घाइते बाघजस्तै
चिच्याइरहेछन् बेपर्वाह गुहार्दै भगवान !
हरेक टोल–टोलबाट निस्किरहेछ उस्तै–उस्तै
बलात्कृत सन्तानका अभागी अभिभावकको चित्कार
कमरेड गृहमन्त्री, तिम्रो राम राज्यमा कतै
शान्ति सुव्यवस्था त खलल् भएन ?

व्यस्त होला तिम्रो दिनचर्या
जागिर र सरुवा बढुवा बेच्दा नमिलेको हिसाबकिताब
आमा घरमा प्रवेशाज्ञा निजी कम्पनीलाई दिने तयारी
बालकोटको माक्र्सवादको पाठशाला
सिंहदरबारको अर्थशास्त्रको झन्झटिलो लेखा
असाध्यै व्यस्त जीवनको भागदौडबीच
अखबारको अन्तिम पानातिर प्रकाशित
मेरो अस्मिता लुटिएको दुई लाइन खबर
कमरेड गृहमन्त्री, तिमीले देख्यौ कि देखेनौ ?

‘संक्रमणकाल’को तिमीले जबरजस्ती धुमिल्याएको पानीमा
पौडिँदै पौडिँदै जब पुग्नेछन् बलात्कारीहरु तिम्रै निवासमा
अनि डस्नेछन् तिम्रा कुनै ‘प्रियजन’लाई
प्रिय गृहमन्त्री, त्यतिबेला तिम्रो प्रियजनलाई सोध्नु
कति चह्राउने रहेछ ‘संक्रमणकालीन’ बलात्कारको ‘सामान्य’ घाउ ?
आफैंले आफैंलाई सोध्नु नबिर्सीकन
कति दुख्ने रहेछ प्रियजनको बलात्कारको घाउ ?

(३० अप्रिल २०१५ मा गृहमन्त्री वामदेव गौतम हुँदा घटेको बलात्कारको घटना र सरकारी प्रतिक्रियाप्रतिको प्रतिक्रियाको रुपमा रचित)

प्रतिक्रियाको लागि : phuchche@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय