scheduleबिहिवार आश्विन ३० गते, २०७६

न्युजिल्यान्ड क्रिकेट टोलीलाई नायकको दर्जा !

NZवेलिङ्टन– विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएर न्युजिल्यान्ड पहिलोपल्ट उपाधि जित्ने मौकाबाट चुक्यो । तर आइतबार भोगेको पराजयले न्युजिल्यान्डलाई त्यति दुःख दिएन, जति पहिलोपटक उपाधि भिडन्तका लागि लायक भएकोमा खुसी दियो ।
सोमबार न्युजिल्यान्डबाट निस्कने सबै पत्रिकाहरूले फाइनलसम्म पुग्दाको टोलीको प्रदर्शनमा सन्तोष प्रकट गर्दै टोलीलाई नायकको दर्जा दिएका छन् । ‘न्युजिल्यान्ड क्रिकेट टिम हाम्रो इतिहासकै सबैभन्दा उत्कृष्ट र गौरवमय छ,’ न्युजिल्यान्ड हेराल्डले पहिलो पृष्ठमा छापेको छ, ‘पूरा प्रतियोगितामा हाम्रो टोलीले सर्वोत्कृष्ट क्रिकेट खेलेको थियो। तर फाइनलमा हामीलाई अझ राम्रो टिमले हरायो ।’
न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकलमले फाइनलमा पराजय भोगेपछि समर्थकलाई सान्त्वना दिनेक्रममा विश्वकपको प्रदर्शनमा ‘कुनै पश्चाताप’ नभएको भनेका थिए । जसले उपाधि जित्न नसक्नाका बाबजुद टोलीको प्रदर्शनबाट उत्साही समर्थकमा निराशा आउन पाएको थिएन ।
टोलीका पूर्व तीब्र गतिका बलर जोनाथन मिल्मोले सात हप्तासम्म सनसनीपूर्ण प्रदर्शन गरे पनि सबैभन्दा बढी महत्वको दिन भने टोली सामान्य चुकेको प्रतिक्रिया दिए । ‘समग्रमा न्युजिल्यान्डको प्रदर्शनमा खोट लगाउने ठाउँ छैन । तर पूरा विश्वले ध्यानका साथ हेरिरहेको दिन विपक्षीलाई दिनुपर्ने सम्मानमा कमी भयो कि ? मुख्य दिन सामान्य ढंगमा चुक्दा इतिहासकै सफल र राम्रो टोली अझ ठूलो उपलब्धिबाट टाढियो,’ डोमिनियन पोस्टमा मिल्मोले लेखेका छन् ।
अस्ट्रेलियाले ७ विकेटको जित पाएको फाइनलको समाचार रेडियो न्युजिल्यान्डमा नतिजा आएको धेरैबेरसम्म टिकेन । राष्ट्रिय रेडियोले तत्कालै हारको समाचारको सट्टा म्याकलम र प्रशिक्षक माइक हेसनको नेतृत्वमा न्युजिल्यान्डको क्रिकेट कसरी सही बाटोमा हिँडिरहेको छ भन्ने आसयका सामाग्रीहरू बजाउन थाल्यो । नागरिक दैनिकमा खबर छ ।
न्युजिल्यान्डमै बार वा रेस्टुरेन्टमा बसेर हेर्ने तथा फाइनलकै लागि समुद्र तरेर मेलबर्न पुग्ने समर्थकले पनि फाइनलको हारभन्दा त्यहाँसम्म पुगेको यात्रालाई बढी महत्व दिए ।

‘हामीले शिर झुकाउनुपर्ने कारण छैन । हाम्रो टोलीले हामी सबैको शिर ठाडो पारेको छ,’ एक समर्थकले भने, ‘फाइनलमा हार्दा मलाई पक्कै पनि दुःख लागेको छ। फाइनलमा हाम्रो टोलीले थोरै बढी दबाब महसुस गर्यो । तर पूरा विश्वकप यात्राको कुरा गर्ने हो भने यो गौरवमय छ ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage