scheduleमगलवार आषाढ़ ३० गते, २०७७

सडकमा गुराँस फुलेको छ

ऋषि बस्ताकोटी

rishi bastakoti

पाखामा फुल्ने गुराँस
यसपाली सडकमा फुलेको छ,
रंगीबिरंगी ढकमक्क गुराँसले
सडक निक्कै तातेको छ,
महफिलमा मातेको मान्छेले
काँचको घरभित्रबाट
यसलाई बेमौसमी देख्न सक्छ,
बेमौसमी भन्न सक्छ ।

बेमौसमी नै सही-
अंकगणित त उल्टो बन्यो भने यंहाँ,
समयको सुइ त उल्टो घुम्यो भने यंहाँ,
जलवायु परिवर्तनले यसपाली
पाखामा फुल्ने गुराँस
आगो ओकल्दै आँखा आँखामा फुलेको छ,
सडक सडकमा फुलेकोछ,
फुल्न देउ
अझै फुल्नुपर्छ ।

घाँटीमा अड्केको काँडा निकाल्न काम लाग्छ गुराँस
अझै फुल्न देउ,
सर्वत् बनाएर पिउन काम लाग्छ गुराँस
अझै फक्रन देउ,
शिरमा सिउरिन काम लाग्छ गुराँस
अझै रंगिन देउ,
जलवायु परिवर्तन नै भएछ यसपालि
पाखामा छोडेर गुराँस
आँखा आँखामा फुलेको छ
सडक सडकमा फुलेकोछ
रातो गुराँसलाई/ तातो गुराँसलाई
अझै ढकमक्क फुल्न देउ
सडकैभरि फुल्न देउ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय