scheduleशनिवार आश्विन १० गते, २०७७

विर हस्पिटल पुग्दा मेरो मन रोयो– प्रियंका

priyanka Karkiहिजोको दिन धेरै कुराहरु देख्न पाएँ। यस्तो परिस्थितिको सामुना गर्नुपर्छ होला भनेर कहिले कल्पना पनि गरेकी थिइन।

जति खेर नि भुकम्प जान सक्छ भन्ने डरले घरमा नसुतेर मामुसँगै बाहिरै सुतियो। हामीसंग त्यही ठाँउमा टेन्ट लगाएर रात काट्न आउनु भएको अरु ४-५ परिवारहरु थिए।

बिहान ५ बजे आँखा खुल्यो। राहतको लागि भनेर एउटा जिपमा ठूलो–ठूलो जारमा पानी ल्याएर बाँडिदै थियो। हामी बसेको ठाउँमा पनि त्यो गाडी आयो। अब हामीलाई पानी बाँड्न ठिक्क तयार हुँदा, म उठे र त्यो दाइकोमा गए र भने ‘हाम्रो त घर ठिक छ। भुकम्प जाला भन्ने डरले मात्र यो ठाँउमा आएर बसेका छौ। यो पानी हामीलाइ होइन, त्यो परिवारलाई बाँड्नुस जसलाइ खाँचो छ।’

त्यसपछि सहयोगको हात बढाउँदै, त्यही जिपमा चढेर मंगलबजार भित्र च्यासल, सुन्धारा तिर गएर पानी बाँढेँ। पानी पिउन पाएर जुन मुस्कान मलाइ वहाँहरुले दिनुभयो, त्यो खुशी अहिले म शब्दमा बयान गर्न सक्दिन। मन हल्का भयो।

त्यसपछि दरबारमार्ग गए। न्यानो संसार नामक संस्थाले दि रात एक गरेर, मेहेनत गरेर भुकम्प पीडितहरुलाई राहत पुराउन खोज्दै छ। न्यानो स‌साररको एक ट्रक सामान नुवाकोट पठाउने तयारीमा साथ दिन गए। ट्रकमा ३० बोरा जति चिउरा, पानी, औषधि ओसारीसकेपछि जब त्यो ट्रक हिंड्यो, मन फेरि खुशी भयो।

त्यसपछि वीर अस्पताल गएँ । त्यहा मेरो साथी सुदन गुरुङले भुकम्प गएको दिनदेखि सहयोग गरिरहेको छ। भोल्युन्टर गर्न हिजो म पनि गएँ। त्यहाँको अवस्था देखेर सारै चित्त दुख्यो। मेरो मन रोयो । विभिन्न भुकम्पले पीडित बनाएकाहरुलाई भेटेँ। कसैको खुट्टा काट्नु पर्ने, कसैको हात भाँचिएको, टाउको फुटेको, स्पाइन्ल कोर्ड भाँचिएको र अन्य धेरै समस्या।

वीर अस्पतालमा एमआरआई गर्ने मेसिन बिग्रेको हुनाले एउटा दिदी आत्तिरहनु भएको देखेँ। एमआरआई नगरेसम्म इलाज गर्न मिल्दैन भनेपछि, एमआरआइ गराउन अर्को अस्पताल लैजानलाइ गाडी खोज्दै थिइन। बल्ल बल्ल एअरपोर्ट जान लागेको एम्बुलेन्सलाई रोकेर, त्यो गाडीमा हालेर पठाएँ।

त्यसपछि राहत सामग्रीहरु पाटनमा कतिको पुगेको छ, या छैन, र के कति चाहिन्छ, त्यो बुझ्न फेरि पाटन गएँ। मंगलबजारमा च्यासल र सुन्धारामा निकै क्षती भएको रहेछ र राहत पनि पुगेको रहेनछ। त्यहीका केहि बसिन्दाहरुसंग कुरा गरेँ र चाहिने चिजको लिस्ट बनाएँ- टेन्ट, खाना, पानी, औषधि। त्यो लिस्ट वीर अस्पतालको हेल्प डेस्कमा सुदनलाइ दिएँ। चाहिएको चिजहरु खोजेर त्यहा पठाउने बन्दोबस्त हुन थालेपछि घर फर्किएँ।
आज मैले यो सबै शेयर गर्नुको उद्देश्य – तपाईं सुरक्षित हुनुहुन्छ भने, सहयोगको हात अगाडी बडाउनुहोस् । आफ्नो घर, टोल, छिमेक हुँदै शहरसम्म पुग्नुहोस्। सहयोग गर्न संस्था कै मार्फत गर्नुपर्छ, लाखौ कडोडौ खर्च गर्नुपर्छ भन्ने छैन। आफ्नो क्षमताले जे जति जहाँ गर्न सक्नु हुन्छ गर्नुहोस्।

भूकम्पले अत्यधिक नाश गरेको धेरै दुर्गम क्षेत्रहरुमा अहिलेसम्म पनि सरकारी राहत वा मद्दत पुगेको छैन होला। त्यस्ता ठाँउहरुमा त्यहाँका युवा पुस्ताले मिलेर स-साना ग्रुप बनाएर सहयोगको हात अघि बडाउनुहोस्। एउटा मात्र पनि ज्यान बचाउन सक्नुभयो भने धर्मै लाग्छ।
हामी सबैले एक–अर्काको तागत बनेर नेपाललाई फेरि उठाउनु छ। हो, समय लाग्ला, तर सबैको साथ र सहयोगले नेपाल छिटै उठ्ने छ।

–प्रियंकाको फेसबुक स्ट्याटसबाट

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय