scheduleबुधवार श्रावण १ गते, २०७६

अत्यधिक गर्मीका कारण रोगको जोखिम बढदै

नेपालगन्ज, १० जेठ । एक सातादेखि बाँके जिल्लामा बढेको अत्यधिक गर्मी र तातो हावा (लु) का कारण सरुवा तथा सङ्क्रमण रोगको जोखिम हुन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका गाविस र नेपालगन्ज नगरपालिकामा स्वास्थ्य सतर्कता अपनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, सङ्क्रमण जोखिमको अवस्थालाई दृष्टिगत गरी अहिले पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

अधिकांश मानिसमा झाडापखाला, हैजा, आउँमासी, टाइफाइड, औलो, डेङ्गु, इन्सेफ्लाइटिस, भाइरल इन्फ्लुएन्जा र आँखा पाक्ने रोगको समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रयास थालिएको छ ।

करिब ४२ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक दिउँसोको समयमा घरबाट बाहिर निस्कँदैनन् ।

प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेयपदार्थ तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक खाने गरेका छन् ।

जेठको पहिलो सातादेखि बढेको गर्मीले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५ देखि ४० जना विभिन्न सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob