scheduleआइतवार श्रावण ५ गते, २०७६

भूकम्पपीडितलाई अस्थायी बसोबास व्यवस्था गर्न काठमाडौंका सभासद्को सुझाव

काठमाडौं, १० जेठ । भूकम्पपीडित जनतालाई अस्थायी बसोबासको व्यवस्था गर्न काठमाडौँका सभासद्हरुले सरकारलाई सुझाव दिएका छन् ।

रिपोटर्स क्लबले आइतबार गरेको साक्षात्कारमा काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभासद्हरुले वैशाख १२ गतेको भूकम्पबाट प्रभावित काठमाडौं उपत्यकामा राहत र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्नुपर्ने ३३ वटा सुझाव सार्वजनिक गरेका हुन् ।
उनीहरुले भूकम्पबाट भग्नावशेष बनेका संरचना तत्काल हटाउनुपर्ने, उद्धारमा खटिएका सुरक्षाकर्मीको जीवन बिमा गर्नुपर्ने, बस्न हुने र नहुने घरको तत्काल वर्गीकरण गर्नुपर्ने, पीडितलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने, घरका लागि तत्काल मर्मत खर्च उपलब्ध गराउनुपर्ने र प्रत्येक वडामा कम्तीमा दुईजना इन्जिनियर खटाउनुपर्ने सुझाव दिएका हुन् ।

यस्तै पूर्ण क्षति भएका घर र व्यवसाय निर्माणका लागि सहज ढङ्गले ऋण उपलब्ध गराउनुपर्ने, विस्थापितलाई जीवनयापनका लागि तत्काल आधारभूत सामग्री प्रदान गर्ने, पुरानै प्रविधिलाई ध्यानमा राखेर राष्ट्रिय सम्पदाको पुनःनिर्माण गर्नुपर्ने, सम्पदाको पुनःनिर्माणका लागि सम्पदा पुनःनिर्माण कोष खडा गर्नुपर्ने, जोखिमपूर्ण घर तत्काल भत्काउनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

त्यसैगरी प्रत्येक मृतकलाई रु एक लाख राहत उपलब्ध गराउनुपर्ने, डेरावाललाई उचित राहत प्याकेज उपलब्ध गराउनुपर्ने, विपद् व्यवस्थापनका लागि गठित संयन्त्रको पुनरावलोकन गर्नुपर्ने, विपद् व्यवस्थापनमा दक्ष जनशक्ति र संस्थाको सहयोग लिनुपर्ने, स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजनीतिक संयन्त्रको व्यवस्था गर्नुपर्ने, काठमाडौं उपत्यका भित्रका व्यवसायीलाई सरल कर्जा उपलब्ध गराउनुपर्ने, घरबेटीको सिफारिसमा डेरावालको बसोबासको व्यवस्था गर्नुपर्ने, पशुपालक किसानलाई सहुलियत कर्जा, किसानका लागि समयमै बीउ उपलब्ध गराउनुपर्ने सुझाव सभासद्हरुले दिएका छन् ।

कार्यक्रममा सभासद् नवीन्द्रराज जोशी, गगन थापा, राजन केसी, रामेश्वर फुयाँल, प्रेम सुवाल, ध्यानगोविन्द रञ्जीत, प्रेम सुवाल, विक्रम सुवाललगायतले विपद्को बेला सबै एकजुट भएर लाग्न आग्रह गरे ।

काठमाडौंका सभासद्हरुले यसअघि नै भूकम्पबारे अध्ययन गरी प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव बुझाइसकेको सभासद्हरुले जानकारी दिएका थिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob