नेपालका भूकम्पपीडितलाई फेसबुकले संकलन गर्यो पौने २ अर्ब
काठमाडौं, १० जेठ । वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पपछि भूकम्पपीडितलाई सहयोगार्थ फेसबुकले पौने २ अर्ब रुपैयाँ संकलन गरेको छ । फेसबुकले भूकम्पलगत्तै सुरु गरेको अभियानबाट आइतबारसम्म १७ मिलियन अमेरिकी डलर संकलन गरेको हो ।
नेपालका भूकम्पपीडितका लागि विश्वभरका ७ लाख ५० हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताहरुले १५ मिलियन सहयोग गरेका छन् । यसैगरी फेसबुकले २ करोड रुपैयाँ आफ्नै कोषबाट थपेको छ ।
फेसबुकले उक्त संकलन गरेको रकम इन्टरनेशनल मेडिकल कर्पमार्फत भूकम्पपीडितका लागि खर्च गर्ने जनाएको छ । उक्त संस्थाले संकलित रकम उपचार र भूकम्पपीडितका लागि आवश्यक सामग्री खरिदका लागि उपयोग गरिरहेको छ ।
संस्थाका अध्यक्ष तथा सिईओ न्यान्सी अवसेले फेसबुकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै बताएकी छिन्, ‘संकलित रकम तुरुन्तै भूकम्पपीडितको जीवनरक्षात्मक उपचार, औषधी र अन्य आवश्यक सामानका लागि खर्च गर्नेछौं ।’ संस्थाले अहिले पनि भूकम्पपीडितको राहतका लागि काम गरिरहेको जनाएको छ ।