scheduleआइतवार श्रावण ५ गते, २०७६

सहिदको सपनाजस्तै सधैं अधूरो बनाइयो राष्ट्रिय सहिद स्मारक पनि

काम सुरु गरेको ९ वर्षमा पनि पूरा भएन

काठमाडौँ, ११ जेठ । सरकारले घोषणा गरेको प्राथमिकता प्राप्त राष्ट्रिय सहिद तथा शान्ति स्मारक काम थालेको नौ वर्ष बितिसक्दा पनि पूरा भएको छैन ।

विसं ०६२/०६३ को जन आन्दोलनपछि पुनःस्थापित संसद्ले स्वतन्त्रता प्राप्तिका लागि बलिदान गर्ने सहिदको सम्मानमा स्मारक निर्माणका लागि पारित गरेको सङ्कल्प प्रस्तावका आधारमा मन्त्रिपरिषद् बैठकले २०६४ जेठ ११ गते काठमाडौँको गोकर्णस्थित यज्ञडोल(जगडोल) सामुदायिक वनमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले मन्त्रालयको स्थापनासँगै २०६५ बाट शान्तिको प्रतीकका रुपमा स्मारक निर्माण सुरु गरेको थियो ।

स्मारक निर्माण २०७१ वैशाख मसान्तमा पूरा हुनुपर्नेमा निर्माण व्यवसायी र खरिद ऐनका केही प्रावधानका कारण ढिलाइ भएको महासचिव त्रिलोचन पौडेलले बताए ।

स्मारक स्थापनाको नवौँ दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा स्मारक समितिका पदाधिकारी र सरोकारवाला निकायका अधिकारीले अब निश्चित समय तोकी निर्माण सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सभासद् एवम् नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले सामुदायिक वनमा बन्न लागेको स्मारकले रुख बिरुवालाई क्षति पुर्याउन नहुने बताए ।

सभासद् रामेश्वर फुयाँलले राष्ट्रिय प्राथमिकता प्राप्त पार्क निर्माणमा बिलम्व हुनाको कारण शान्ति मन्त्रालयले खोजी गर्नुपर्ने बताउँदै भने– ‘समयमा स्मारक निर्माण पूरा नहुनुमा ठेकेदार र सार्वजनिक खरिद ऐन कारकका रुपमा आएका छन्, मन्त्रालयले यसको छानबिन गरी कारबाही गर्नुपर्छ ।’

शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले निर्माणको बाँकी काम चाँडो पूरा गर्न मन्त्रालय क्रियाशील रहेको बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob