scheduleशनिवार आश्विन १० गते, २०७७

धुर्मुससहितका कलाकारले बनाए सुन्दर विद्यालय

विद्यालय बनेपछि पठनपाठन पनि सुरु

scb-ktm-Schoolसूर्यचन्द्र बस्नेत/ओखरपौवा (नुवाकोट), ११ जेठ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको विद्यालयमा सरकारले जेठ १७ गतेबाट पठनपाठन नियमित गर्ने बताएपनि नुवाकोटको ओखरपौवा गाविस – ६ चित्रे भञ्ज्याङको महाकाली निमाविमा भने सोमबारदेखि विद्यालय सञ्चालन भएको छ ।

भूकम्पले एउटा विद्यालय भवन ध्वस्त बनाएपनि चार दिनमै बास, काठ, ढुङगा, इट्टा, टिन र अन्य आवश्यक सामग्री जुटाएर अस्थायी भवन बनाएपछि विद्यालय सञ्चालनको वातावरण बनेको हो । स्थानीय बासिन्दाको अथक परिश्रम, सगुन डटकम, ज्येष्ठ फाउन्डेसन संस्थाको सहयोग तथा हास्य श्रृङ्खला मेरी बास्सै र भद्रगोलका कलाकारहरुको जनश्रमदानमा सात कोठे भवन निर्माण गरिएको हो । धुर्मुस अर्थात सीताराम कट्टेल र सुन्तली अर्थात कुञ्जना घिमिरेसहितको कलाकार टोली यसमा विशेष गरी सक्रिय थियो ।
scb-ktm-School (3)
‘स्थानीय जनताको सहयोग र हामी सबैको अथक परिश्रमले यो विद्यालय भवन बनेको हो, मेहेनत गरे आपत् भोगेको समुदायमा नव निर्माण गर्न सकिन्छ भन्ने यो उदाहरण बनेको छ,’ कलाकार सीताराम कट्टेल धुर्मुसले भने ।

‘विद्यार्थीलाई कहाँ बस्ने भन्ने चिन्ता थियो तर अहिले भवन बनेकाले भूकम्पबारे शुरुमा मनोपरामर्शसहितको जानकारीमूलक कक्षा चलाएर पठनपाठन अघि बढाउँछौ,’ २८ वर्षदेखि सो विद्यालयमा कार्यरत प्रधानाध्यापक रामउदगार यादवले बताए ।

एकदेखि सात कक्षासम्म २५० विद्यार्थी अध्ययनरत छन् । प्राय सबै तामाङ जातीको बस्ती रहेको सो क्षेत्रका कुलेगाउँका ५५ घर ध्वस्त छन् । चित्रेगाउँका २४० मध्ये तीन घर भूकम्पले ध्वस्त बनाएको छ ।
scb-ktm-School (4)

टिनको अस्थायी घर टहरा बनेर बसेपनि गाउँका भिरालो जमिन भूकम्पले चिरापरेको र वर्षामा पहिरो आएर भत्केला भन्ने डर रहेको कुलेगाउँका सुब्बा भनेर चिनिने च्यामे तामाङले बताए ।

दुवै वडाको अधिकांश घर भत्केको र कतिपय विद्यार्थीको किताव पुरिएको छ । कतिपय विद्यार्थी भर्ना भएका छैनन् । कितावसहितका पाठ्यसामग्री छैनन् । तर सगुन डटकम, ज्येष्ठ फाउण्डेसनसहितले उपलब्ध गराएको झोला, कापी, कलम सहितका पाठ्यसामग्री सोही अवसरमा विद्यार्थीलाई वितरण गरिएको थियो ।

‘भूकम्पले आत्तिएको मन साथीहरु भेट्दा डर विर्सेजस्तो भएको छ, सबै साथीहरु भर्ना हुने र भूकम्पको डर हटाउने बारेमा छलफल चलाउँदै कक्षाको पाठयक्रम अनुसारको पढाइ अघि बढे राम्रो हुन्थ्यो,’ कक्षा ६ की सुनिता तामाङले भनिन् ।

रुम टु रिडले बनाएको भवन सुरक्षित छ जहाँ नर्सरीदेखि तीन कक्षाको पढाइ हुन्छ । तर ६ वर्षअघि बनाएको चारकोठे भवन ध्वस्त बनेपछि नयाँ बनेको कोठामा बाँकी कक्षाको पढाइको प्रबन्ध गरिएको छ ।

सगुन डटकमका अजयबाबु शिवाकोटी, माधव चौलागाई र अखिल सिटौलाले आफ्नो संस्थाले शुरुमा राहत वितरणमा ध्यान केन्द्रित गरेपनि अब विद्यालय निर्माणसँगै सामुदायिक हितका काममा ध्यान केन्द्रित गर्ने बताए । ‘समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ सगुन डटकमका नेपाल प्रतिनिधि सिटौलाले बताए ।

ज्येष्ठ फाउण्डेसनका महासचिव जयराम सिग्देल र निर्देशक विकल्प पाठकले पनि विद्यालय निर्माणको सामग्री एवम् अन्य व्यवस्थापनको सहयोग जुटाएर यस प्रकारको विद्यालय यति छिट्टै निर्माण हुनु ठूलो कुरा भएको जानकारी दिए ।

‘राहतका कार्यक्रम जारी राखेपनि सामुदायिक हितको लागि यो पहिलो सफल प्रयोग हो, अब हामी भूकम्पपीडितलाई सामुदायिक तहमा लाभ हुने कार्यक्रम लैजाने तयारीमा छौँ,’ फाउण्डेसनका निर्देशकद्वय मधुसुदन पाठक र बद्री हुमागाईले भने ।

विद्यालय निर्माणमा जुटेका कलाकार एवम् विभिन्न सङ्घसंस्थामा आबद्ध पदाधिकारीले सो क्षेत्रमा नयाँ शौचालय समेत निर्माण गरेका छन् । विद्यालयमा चार, कुलेगाउँमा १४ र चित्रेगाउँमा २२ वटा शौचालय निर्माण गरिएका हुन् ।

सो काम सम्पन्न गर्न त्यही क्षेत्रमा बसेर कलाकारहरुले अहोरात्र जनश्रमदान गरेका थिए । स्थानीयवासीले सो कार्यमा होस्टेमा हैसै गरेका थिए । भूकम्प लगत्तै अमेरिकाबाट फर्किएका धुर्मुस र सुन्तलीको टोलीले सिन्धुपाल्चोकबाट शुरु गरेको चर्पी बनाउने अभियान यहाँसम्म विस्तार गरेको हो । कलाकारहरुले स्थानीयवासीको सहयोगमा काम सफल भएको धारणा राखे । मेरी वास्सै हास्य श्रृङ्खलाका कलाकारहरु सीताराम कट्टेल, कुञ्जना घिमिरे, बुद्धि तामाङ, सुरवीर पण्डित, पल्पसा डंगोल, विष्णु बुढाथोकी, गोपाल लामा तथा भद्रगोलका कुमार कट्टेल, अर्जुन घिमिरे, हरि निरौलासहितका कलाकारहरु सो विद्यालय निर्माणमा अहोरात्र खटेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय