scheduleमगलवार कार्तिक २६ गते, २०७६

बलात्कृत दिब्याको बयान, ‘यसरी लुटिएँ म’

नयाँ दिल्ली । भारतको आसामकी दिव्या त्यो दिनलाई नराम्रो सपना सम्झिएर भुल्न चाहन्छिन्, जुन दिन एक खान्दानी घरको छोराले दिल्लीमा उनको इज्जत लुटेको थियो । त्यसपछि उनले कैयन पटक आत्महत्याको प्रयास पनि गरिन् । तर, संघर्ष गर्ने दिन अझै सकिएको रहेन छ । त्यो क्षण सम्झिँदा उनी अझै पनि झस्किन्छिन् ।

Dibya
त्यो दर्दनाक दिनको याद गर्दै उनी भन्छिन्, ‘म ऊसँग फेसबुकमार्फत परिचित भएँ । कैयन हप्ता उसले भेट्नका लागि प्रयास गरिरह्यो । धेरै नै रिक्वेस्ट गरेपछि एक दिन मैले ‘ओके’ भनिदिएँ ।’
दिब्याले रेष्टूरेन्टमा भेटौँ भनिन्, तर युवक आफ्नै घरमा भेट्न चाहन्थ्यो । ‘ऊ २४ वर्षको थियो । मलाई लाग्यो आमाबाबुसँगै बस्छ होला । यसैपनि महलमा बस्ने खान्दानी छोरो थियो ऊ ।’ दिब्या जब उसको घर पुगिन्, तर आमाबाबु कसैलाई देखिनन् । एक नोकर भने थियो । उसलाई सो युवकले केही लिने बहाना बनाएर बाहिर पठाइदियो ।
आँखामा आँसु छचल्काउँदै उनी अघि भन्छिन्, ‘उसले मलाई समातेर सोफामा फ्याँकिदियो र मैले ठूलो स्वरले कराएमा पूरा दिन बलात्कार गर्ने चेतावनी दियो ।’
काँपेको स्वरमा दिब्या थप्छिन्, ‘म कुमारी नै थिएँ । त्यसकारण उसलाई जबरजस्ती गर्न आधा घण्टा लाग्यो ।’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भयो । केहीबेरमा सम्हालिएर उनले थपिन्, ‘धेरै रगत बग्यो । म पूरै टुटिसकेकी थिएँ ।’ त्यसपछि युवकले उनलाई भन्यो, ‘मैले यसको भिडियो तयार पारेको छु । यदि मुख खोलिस् भने लिक गरिदिन्छु ।’
धेरै नै डराएकी दिब्याले तत्काल कसैसँग केही भनिनन् । ‘मेरो मनमा यो मात्रै आउँथ्यो, मेरा बाबुआमा, परिवार, साथीभाइ र नजिकका आफन्तले थाहा पाएमा के भन्लान् ।’
यही डरले उनले आफ्नो जुम्ल्याहा दिदीसँग पनि कुरा लुकाउने कोशिस गरिरहिन् । तर केही दिनपछि उनमा हिम्मत जुट्यो, र दिदीलाई सबै कुरा भनिन् । त्यसपछि दिदीले उनलाई पुलिस चौकी लगिन् र रिपोर्ट दर्ता गराईन् । प्रहरीमा रिपोर्ट दर्ता भएपछि उनलाई परीक्षणका लागि अस्पताल पठाईयो । विवादास्पद ‘टू फिंगर टेस्ट’ गरेर उनी बलात्कृत भएको पुष्टि गरियो । दिब्या डाक्टरको संवेदनहिनता देखेर झनै टुटिन्, जब डाक्टरले करिडोरबाट जोडले चिच्याएर भने, ‘त्यो केटीलाई ल्याऊ, जसको बलात्कार भएको थियो ।’
डाक्टरले परीक्षण पछि उनी बलात्कृत भएको रिपोर्ट दिए । सोही रिपोर्टलाई प्रमाणस्वरुप अदालतमा पेश गरियो । तर, जब अदालतको सामने उभिएर रिपोर्टबारे बोल्नु पर्ने अवस्था आयो, तब डाक्टरले यसबारे आफूलाई केही जानकारी नभएको बतायो । दिब्यालाई डाक्टर बिकिसकेको पत्तै भएन ।
बलात्कारको केश लिएर अदालतसम्म पुग्नु पक्कै पनि सहज थिएन । जब घटना सार्वजनिक भयो, नजिकका आफन्त र छिमेकीहरुले पनि उनलाई फरक नजरले हेर्न थाले । अवस्था यस्तोसम्म आयो कि दिव्या र उनकी दिदी दिल्ली छोडेर जानु पर्ने परिस्थिति सिर्जना भयो । केही समयपछि जब उनी दिल्ली फर्किइन्, तब आफूलाई बिलकुल एक्लो पाईन, ‘मेरा साथीहरुले मसँग कुरा गर्न छोडिसकेका थिए, बलात्कृतसँग संगतसमेत नगर्ने उनीहरुको मनसाय पाएँ ।’
अदालतमा मुद्दा अघि बढिरहेको थियो । उनको परिवारका सदस्यहरुलाई धम्कीपूर्ण फोनहरु आउन थाले । पीडक परिवारले पैसाको प्रलोभन पनि देखायो । केही नलागेपछि प्रतिवादी वकिलले स्वेच्छाले नै दिब्याले यौन सम्पर्क गरेको प्रमाणित गर्ने प्रयास गर्न थाल्यो । दिब्या भन्छिन्, उसको दलील देख्दा यस्तो लाग्थ्यो कि, ‘यस्तालाई बलात्कार गर्न कसले चाहन्छ ?’
अन्ततः प्रमाणको अभाव भन्दै दोषीलाई छाडियो । तर, दिब्याले अझै हिम्मत हारेकी छैनन् । उनी यो केशलाई हाईकोर्टमा लैजाने तयारीमा छिन् । अलि हिम्मतिलो बन्दै दिब्या भन्छिन्, ‘त्यो नराम्रो सपनाले अझै पनि सताउँछ, तर मैलै त्यसको सामना गर्न सिकिसकेकी छु ।’

Source: dw.de

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage