scheduleमगलवार आषाढ़ ३० गते, २०७७

जुनेलीका फूल

भबिलाल लामिछाने

Junelika ful

हिड्नुपर्छ अँध्यारो पोखिएको बाटोमा पनि
तर पुगिदैन टुङ्गोमा
अँध्यारो बाटोमा हिँडेर मात्र
त्यसैले संगालेर केही अञ्जुली जुनेली
अँध्यारो आकाशको कालो झालरबाट
छरेको छ आफू हिँड्ने बाटाको दुवैतिर
टिप्नु है टिप्नु मेरा प्रिय अनुज हो !
ती बिहान फूल भएर फुलेछन् भने

उतार्नु आँखामा
र, बाल्नु उज्यालो
कहिल्यै कतै बिर्सिएछ घामले उदाउन भने

लुकाएर राख्नु खरानीमुनि
र, पकाउनु रोटी त्यसको तापले
चुहेर छानो पानीले भिजाएछ चुल्हो भने

जुनेलीको अलिकति उज्यालो
मेरा ती अभागी मित्रलाई पनि दिनु
जसले हातमा शिशा फुटेको, ठूलो सलेदोको लालटिन बोकी
घरिघरि उघारिरहन्छन् ढोका मध्य रातको अँध्यारोमा
यो जान्दा जान्दै पनि कि
बेलाकुबेला अँध्यारोमा खेदो गरिहिँड्ने कुनै पनि मुर्कुट्टा जेहादी
ओसामा–बिन्–लादेन बाहेक अरु कोही हुनै सक्दैन

मेरा ती अभागी मित्रलाई देखाइदिनु उज्यालोभित्र कि
बुद्ध मर्दैन कहिल्यै मारेर तालीबानी तोपले

ईश्वरले बनाएका थिए दुईवटा सूची
एउटामा मार्नेहरुका नाउँ र अर्कोमा बचाउँनेहरुका नाउँ थिए

भन्न सक्तिनँ म
तिम्रो नाउँ कुन सूचीमा छ
हे मेरा अनुज हो !
संगाली राख जुनेलीमा फूल
घाम अस्ताएपछि कुनै दिन
ओसामाका आँखा उघ्रिएछन् भने सापटी दिनका लागि

कसले भन्छ चुच्चोमा उज्यालोलाई छोपेर
माथि उड्ने चराका बथानलाई आकाशले बाटो छेक्छ ?

रातो फूल चढ्दैन बुद्धको पाउमा
यत्ति हो कहिल्यै पुगिदैन टुङ्गोमा
अँध्यारोमा भास्सिएर मात्र
औ, जुनेलीका फूल सधैं फुल्दैनन् पनि,

त्यसैले टिप्नु है टिप्नु मेरा प्रिय अनुज हो !
जुनेलीका फूल बिहानै फूल भएर फुलेछन् भने !
(कोलकाता प्रभात साहित्यिक त्रैमासिकको वर्ष ६५, पूर्णाङ्क १६ मा प्रकाशित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय