scheduleशनिवार आश्विन ४ गते, २०७६

अमेरिका घुमेर मैले के सिकेँ ?

दिपेन्द्र श्रेष्ठ

अमेरिका धेरैको सपनाको देश । अवसरहरुको स्वर्णभूमि । जहाँ जान मान्छे तछाड–मछाड गर्छन् । कोही त मरिहत्ते गर्छन् । गएपछि फर्कने कमै हुन्छन् । हो, यस्तै यस्तै बिशेषता बोकेको देश गत वर्ष डुल्ने, देख्ने र बुझ्ने मौका पाएँ । अमेरिका सरकार, डिपार्टमेन्ट अफ स्टेटको निम्तोमा । ७७ देशका झण्डै ११० पत्रकारले धेरैको कल्पनाको देश अमेरिकालाई नजिकबाट अवलोकन गर्ने र नियाल्ने मौका पायौं ।
विश्वकै शक्तिशाली देश अमेरिका । धनी र समृद्ध देश । यो सव कसरी भयो ? अरुको मनमा जस्तै मेरो मनमा पनि कौतुहलता थियो ।

दीपेन्द्र श्रेष्ठ
दीपेन्द्र श्रेष्ठ

इन्टरनेशनल भिजीटर लिडरसीप प्रोगाममा भाग लिएर फर्केपछि मैले निष्कर्ष निकाले, अमेरिका, त्यसै अमेरिका बनेको होइन रहेछ । त्यहाँ सिक्नैपर्ने केही फरक कुरा रहेछन्, जसले अमेरिकालाई हामी भन्दा फरक र समृद्ध बनाएको छ । तिनीहरु मध्ये मेरो विचारमा यी केही कुराहरु हुन्, जुन हामीले गर्ने भन्दा ठिक फरक कुरा छन् र त्यहि फरकपनाले अमेरिकालाई समृद्ध देश बन्न सघायो ।

१. डाइभर्सिटी (विविधता) :
हामी यहाँ एकल जाती, एकल समूहको वकालत गछौं । यहि वकालतका कारण लामो समयसम्म संविधान बनेन । अहिले बल्ल बन्ला कि भन्ने आशा पलाएको छ, त्यो पनि नामांकन र सीमाकंनलाई थाती राखेर । पहिचानसहितको अर्थात् जातिय संघियता चाहिन्छ भन्नेहरुकै कारण यस्तो प्रक्रियामा गएको हो भन्ने बुझ्न अब गाह्रो कुरा रहेन ।
अमेरिकीहरु बहुलता, विविधतालाई आत्मसात गर्छन् त्यसलाई पुँजी ठान्छन् । अमेरिका भन्नु नै विविधता रहेछ । संसार भरका विविध पेशा, धर्म, वर्ग, वर्ण र प्रतिभाका मानिसलाई एउटै देशभित्र अटाउनु उनीहरुको विशेषता हो । त्यो विविधतालाई अमेरिकी संविधान र विधिको शासन (रुल अफ ल) ले एउटै सुत्रमा बाँधेको छ ।

त्यसैले भन्न सकिन्छ त्यहाँ विविधतामा एकता (युनिटी इन डाइभर्सिटी) छ । हरेक वर्ष अमेरिकी सरकारले डिभी चिठ्ठा मार्फत विश्वभरवाट ४५ हजारलाई आप्रवासन गराउनु पनि उसको त्यही विविधता प्रतिको आकर्षण हो । जुन चुरो कुरा उसले धेरै पहिले बुझ्यो तर हामीले यो कुरा बुझ्न अझै कति समय लगाउने हो शंकै छ ।

भनिन्छ, सबैले नियमको पालना गरी लाइन लाग्ने हो भने सबैको पालो आउँछ । तर हाम्रो पालोमा ‘लाइन’ मा लाग्ने जहाँको तहीँ हुन्छ पछाडि आउनेले पेलेर अगाडि बढेको बढ्यै हुन्छ ।

२. सिस्टम (क्यु) :

हामी जहाँ उभियौं लाइन त्यहीबाट शुरु हुन्छ भन्ने दादागिरी प्रवृतिको शिकार छौं । तर अमेरिकीहरु ‘क्यु’ अर्थात् ‘लाइन’मा विश्वास गर्छन् । अरुलाई नधकेली, डिस्टर्ब नगरी, ओभरटेक नगरी लाइनमा उभिनु उनीहरुको ‘कल्चर’ हो । उनीहरु सामान किन्न, गाडी/ट्रेनमा चढ्न, ओर्लन, टिकट काट्न, केही सोध्न, रेष्टुराँमा अर्डर गर्न, पैसा तिर्न, अर्डर लिन हरपलमा ‘लाइन’ लाग्छन् र पालो नमिची पर्खन्छन् । तर हामी सोर्स–फोर्स लगाई, (चिनेको भए) यसको फाइदा उठाई वा बल मिचाई र ठेलमठेल गरी आफू अगाडि बढ्न खोज्छौं । भनिन्छ, सबैले नियमको पालना गरी लाइन लाग्ने हो भने सबैको पालो आउँछ । तर हाम्रो पालोमा ‘लाइन’ मा लाग्ने जहाँको तहीँ हुन्छ पछाडि आउनेले पेलेर अगाडि बढेको बढ्यै हुन्छ ।

३. ओपननेस :

हामी मर्निङ्ग वाक मा २ महिनासम्म क्रस भएकालाई गुड मर्निङ्ग, नमस्कारसम्म भन्न सक्दैनौँ तर उनीहरु लिफ्टमा पहिलो पटक भेटेकालाई पनि मुस्कुराएर हाई, गुड मर्निङ, हाउ आर यु ? भन्छन् । यो उनीहरुको संस्कार हो । यसले चाँडै नजिक हुन र नेटवर्क बनाउन सघाउँदो रहेछ । हामी कसैलाई केही सोध्नुपर्‍यो ? प्रश्न गर्नुपर्‍यो ? माग्नु पर्यो भने १० वटा प्रश्न आफूले आफैलाई सोध्छौं के भन्ला ? के सोच्ला ? अरुले के ठान्ला ? देला कि नदेला ? आदि इत्यादि ।

अर्थात् हामी आग्रह वा पूर्वाग्रह राख्छौं । तोलाको बोली खोलामा किन फाल्ने भनी सोच्छौं । तर उनीहरु आफूलाई लागेको कुरा कति सजिलै बोलिदिन्छन् । हामीलाई सिम्पल नसोधे पनि हुन्थ्यो जस्तो लागेको कुरा पनि बिना हिच्किचाहट सोधिदिन्छन् । हाम्रोमा जस्तो जाबो त्यस्तो सजिलो कुरा पनि के सोध्या होला ? कस्तो वाइयात मान्छे भन्ला भनेर उनीहरु सोच्दैनन् । उनीहरु आफूलाई लागेको कुरा बोल्छन्, भन्छन्, बस् सिद्धियो । रिजल्टको पर्वाह गदैनन् । हामी अलि बढी नै अन्तरमुखी छौं (इन्ट्रोभर्ट) तर उनीहरु वहिर्मुखी (एक्स्ट्रोभर्ट) छन् । त्यसैले हामी हाम्रो इन्ट्रोभर्ट प्रवृतिको कारण पछि पर्छौं, उनीहरु एक्स्ट्रोभर्ट प्रवृतिकै कारण सायद हामी भन्दा निकै फर्वार्ड छन् ।

कसरी फड्को मार्छ त विकासको । हामी सबले कम्तिमा ८ घण्टा काम गरौं त परिवारको छाक जुटाउन विदेश जानुपर्दैन, सुन यहि फल्छ ।

४. काम, काम र काम :

हामी कुरा गर्छौं तर उनीहरु काम गर्छन् । हामीसँग फुर्सदै–फुर्सद छ, त्यसैले त हामी बाटोमा, चोकमा, भट्टीमा, रेष्टुँरामा, चिया पसलमा घण्टौं गफिन भ्याउँछौं । तर उनीहरु यति व्यस्त हुन्छन् कि बाटोमा भेटिएकासँग समेत ‘हाई’ भन्न पनि भ्याउँदैनन्, उभिएर कुरा गर्नु त पर कै कुरा । उनीहरु हप्तामा कम्तिमा ४० घण्टा अनिवार्य काम गर्छन् । उनीहरु ‘वर्क इज वर्सिप’ भन्छन् । हामी ‘गफ पुराण’ ठोक्छौं ।

अमेरिकीहरु ‘टाइम इज मनि’ भन्छन् । हामी त्यही टाइमलाई ‘वाइयात गफ’ गरेर ‘पास’ गरिरहेका हुन्छौं । अनि कसरी सम्भव हुन्छ त हाम्रो प्रगति, समृद्धि र उन्नति । उनीहरु काम गर्दा मात्र काम गर्छन् आफ्नो ड्युटीप्रति जिम्मेवार हुन्छन् र तोकिएको कार्य पूरा गर्नुपर्छ भन्नेमा इमान्दार हुन्छन् । तर हामी मात्र कामचोर जागिर खान्छौं र महिना मरेपछि तलब पचाउँछौं । सरकारी काम वा अर्काको काम कहिले जाला घाम गर्छौं ।

उनीहरु न पार्टीका सदस्य हुन्छन् न कार्यकर्ता । उनीहरु चुनाव आउँदा ‘अजेण्डा’ मन परेकालाई भोट हाल्छन् । नतिजापछि जिते पनि हारे पनि खेल खत्तम । तर हाम्रोमा जिते विजय र्‍याली, दम्भ, हारे धाँधलीको आरोप र अर्को चुनाव नआउन्जेल प्रतिसोध ।

साँच्चै भन्नुपर्दा हामी ८ घण्टामा पनि ‘कामचोर’ जागिर खान्छौं तर हामी मात्र कामचोर जागिर खान्छौं र महिना मरे पछि तलब पचाउँछौं । सरकारी काम वा अर्काको काम कहिले जाला घाम गर्छौं । साँच्चै भन्नुपर्दा हामी ८ घण्टामा पनि कामचोर छौं, धेरै समय त टेवल मैं हुँदैनौ, भएपनि टेलिफोनमा झुण्डिएर, फेसबुक चलाएर, सहकर्मीसँग गफ लडाएर ‘टाइम किल’ गरिरहेका हुन्छौं । यस्तो चालाले अनि कसरी हुन्छ त सेवाग्राहीको काम फत्ते । कसरी फड्को मार्छ त विकासको । हामी सबले कम्तिमा ८ घण्टा काम गरौं त परिवारको छाक जुटाउन विदेश जानुपर्दैन, सुन यहि फल्छ ।

Dipendra Shrestha५. राजनीतिक असंलग्नता :

हामी यस्तो राजनीतिक परिवेशका पात्रहरु जो नेतादेखि सामान्य मतदाता/जनतासम्म राजनितीबाट अछुतो छैनौं । हामी कुनै न कुनै अमूक राजनीतिक पार्टीको कार्यकर्ता छौं वा शुभचिन्तक छौं । कति त झोले कार्यकर्ता नै छौं । तर अमेरिकामा अधिकांशलाई राजनीतिप्रति चासै छैन । उनीहरु भेट हुँदा, मिटिङमा विरलै राजनीतिक कुरा गर्छन् । हाम्रोमा शहरका पढे लेखेकादेखि गाउँका निरक्षर बुढापाकासम्म चियापसलमा राजनीतिक कुरा गर्छौं र घण्टौं बेतुकका वादविवादमा रुमलिन्छौं ।

उनीहरु न पार्टीका सदस्य हुन्छन् न कार्यकर्ता । उनीहरु चुनाव आउँदा ‘अजेण्डा’ मन परेकालाई भोट हाल्छन् । नतिजापछि जिते पनि हारे पनि खेल खत्तम । तर हाम्रोमा जिते विजय र्‍याली, दम्भ, हारे धाँधलीको आरोप र अर्को चुनाव नआउन्जेल प्रतिसोध । शायद हाम्रो राजनीतिले सहज निकास नपाउनुको कारण यो पनि एउटा होला । हामी सबैको स्वार्थ प्रेरित राजनीतिक आग्रह पूर्वाग्रहको माखे साङ्लोमा अल्झिरहेका छौं ।

६. व्यवसायिकता :

उनीहरु आफ्नो ‘जब’प्रति जिम्मेवार हुन्छन् । कामलाई दिलैदेखि नै माया गर्छन् ‘लभ इन जब’ । आफ्नो जब डिस्क्रिीप्सन (जे.डि.) के हो ? सचेत हुन्छन् । आफनो कार्यक्षेत्रको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छन् । उनीहरु आफ्नो काम के हो ? त्यो गर्छन् । अरुकोमा चासो दिदैनन् र अनावश्यक ‘इन्टरफेरेन्स’ पनि गर्दैेनन् । तर हामीकहाँ जे काम गर्छु भनेर जागिर खान्छौं त्यो काम चाहिँ गर्दैनौं । गर्न भ्याउँदैनौं वा गर्न जान्दैनौं । तर त्यो बाहेक अरु सबै कुरा गर्न, हामी जान्दछौं र भ्याउँछौं ।

यसको सिधा मतलब हो हामी हाम्रो पेशाप्रति ‘प्रोफेसनल’ अर्थात् व्यावसायिक छैनौं । उनीहरु ‘मोर स्पेसिफिक’ छन् । हामी अहिले पनि ‘जेनेरलाइजसन’ मा रुमल्लिरहेका छौं र ‘ज्याक अफ अलमा’ विश्वास गरिरहेका छौं ।

७. अपोइन्टमेन्ट एण्ड पन्क्चुयालिटी :

हामी कार्यक्रम शुरु हुने भनी तोकिएको समय भन्दा कम्तिमा १ घण्टा पछि पुग्नुलाई प्रतिष्ठा ठान्छौं । त्यसलाई कति सजिलै के गर्ने ? ‘नेपाली टाइम’ यस्तै हो है ! भनी लाज पचाउँछौं । तर अमेरिकीहरु समयप्रति सचेत छन् । उनीहरु तोकिएकै समयमा पुग्छन् । तोकिएकै समयमा सुरु गर्छन् र तोकिएकै समयमा सिध्याउछन् पनि । यसलाई उनीहरु आफ्नो ‘संस्कृति’ मान्छन् र जिम्मेवारपूर्वक पुरा गर्छन । तर हामी ढिलो पुग्नुमा गर्व गछौं फूर्ति लाउँछौं । २ घण्टाको कार्यक्रम ४/५ घण्टा लम्बाइदिन्छौं र हामी पनि आरामले बस्छौं । किनकी हाम्रो लागि समय ‘फजुल’को चिज हो । हामीसँग समय प्रशस्त छ र हामी खेर फालिरहेका हुन्छौं ।

हामी त्यस्तो देशको नागरिक हौ, जहाँ सीपभन्दा प्रमाणपत्र बिक्छ । तर अमेरिका त्यस्तो देश हो जहाँ शैक्षिक योग्यताभन्दा कार्ययोग्यतालाई बढी महत्व दिइन्छ । त्यहाँ तपाईले कति पढ्नु भएको छ ? भन्दा पनि तपाई के गर्न जान्नुहुन्छ ? तपाईसँग के सीप छ ? त्यसको आधारमा तपाई बिक्नुहुन्छ ।

त्यति मात्रै कहाँ हो र ? हामी कसैसँग पूर्वअनुमति वा सहमति नलिई उसको घर, अफिस पुग्छौं र घण्टौं गफिन्छौं । उसले समय दिन नभ्याएमा वा नभेटी फर्काइदिएमा ठूलो पल्टिएछ, दम्भ बढेछ, मैले जानेको छु ……………लाई । म पनि एकदिन देखाइदिन्छु, सम्म भन्न भ्याउँछौं । तर भेट्न जानुअघि उसको अनुकुलता बुझ्न एपोइन्टमेन्ट लिनुपर्छ भन्नेचाहिँ कहिले सोच्दैनौं । हो, यहि फरक छ उनीहरु र हामीमा । उनीहरुको लागि समय ‘किम्ती चिज’ हो तर हाम्रो भने ‘अति सस्तो’ । उनीहरु तालिकामा हिड्छन् र काम फत्ते गर्छन् । हामीहरु मुडमा हिंड्छौं र अस्तव्यस्त बन्छौं । यहि हो हाम्रो नियति ।

८.स्किल भर्सेज् सर्टिफिकेट ? :

हामी त्यस्तो देशको नागरिक हौ, जहाँ सीपभन्दा प्रमाणपत्र बिक्छ । तर अमेरिका त्यस्तो देश हो जहाँ शैक्षिक योग्यताभन्दा कार्ययोग्यतालाई बढी महत्व दिइन्छ । त्यहाँ तपाईले कति पढ्नु भएको छ ? भन्दा पनि तपाई के गर्न जान्नुहुन्छ ? तपाईसँग के सीप छ ? त्यसको आधारमा तपाई बिक्नुहुन्छ । तर हाम्रो देश यस्तो देश हो जहाँ तपाई के–के गर्न जान्नुहुन्छ भन्दा पहिले कति पढ्नु भा’को छ ? सर्टिफिकेट छ कि छैन खोजिन्छ । त्यसैले यहाँ सर्टिफिकेटका आधारमा छानिएका अदक्षहरु पदमा ‘डम्प’ भएका छन्, दक्षहरु सर्टिफिकेटको अभावमा बेरोजगार बनेका छन् ।
त्यसैले त अमेरिका भास्सिएका डाक्टर इन्जिनियरहरु पनि मलमा, सव–वेमा ‘सेल्समेन’ बन्न बाध्य छन् । तर सीप भएका दक्षहरुले छोटो समयमै छलाङ मारेका छन् । त्यसैले अमेरिका सीप भएका प्रतिभावानहरुको लागि उर्जाभूमि हो, एउटा उत्कृष्ट प्लेटफर्म रहेछ ।

९. समानता :

हामी यस्तो समाजमा हुर्कियौं जहाँ काम सानो ठूलो हुन्छ । यो जातकाले यो गर्नहुन्छ र यो जातकाले यो गर्न हुँदैन भनेर बारबन्देज लगाइन्छ । यहाँ जन्मँदै कामको तय हुन्छ, जातको आधारमा वर्गिकरण हुन्छ । अमेरिकामा काम मात्र हुन्छ, सानो ठूलो हुँदैन । अफिसको हाकिम होस् वा पियन, सबैलाई उत्तिकै सम्मान गरिन्छ र कामको आधारमा भेदभाव गरिँदैन ।

त्यहाँ हाकिमले कोठा सफा गर्नेलाई गुड मर्निङ, हाउ आर यू ? भनेर सम्मान व्यक्त गर्छन् तर हाम्रोमा ठूलो मान्छेलाई सानोले गर्नैपर्छ भन्ने मान्यता छ । त्यो ठूलो सानो पनि पदको आधारमा छुट्याइन्छ । माथिल्लो पदमा बस्ने ठूलो तल्लोमा पदमा बस्नेले गर्ने काम सानो । त्यहाँ आ–आफ्नो काम सकिएपछि हाकिम होस् वा सफा गर्ने, एउटै लाइनमा उभिन्छन् र एउटै कोठामा बसेर खान्छन् । तर के हाम्रोमा यो संभव छ ? हामीमा समानताको, सम्मानको भावना नै छैन ।
हामी कामको आधारमा मान्छे ठूलो र सानो हुन्छ भन्ने ठान्छौं । यो यहि ठम्याईले आजसम्म हामीलाई अगाडि बढ्नबाट रोकिराखेको छ, हैन र ? कानुनको नजरमा राष्ट्रपतिदेखि नागरिकसम्म सबै बराबर छन् कोही ठूलो र कोही सानो छैन् । राष्ट्रपतिले जुन हस्पिटलको जुन तहको स्वास्थ्य उपचार पाउँछन् एउटा अमेरिकीले पनि सोही रोगको लागि सोही क्वालिटीको उपचार पाउँछ । भेदभाव हुँदैन ।

१०. एटिच्युडः

हामी घरको फोहोर बढारेर सडकमा फाल्छौं तर उनीहरु सडकको फोहोर उठाएर डस्टबिनमा फाल्छन् । हामी केरा खाएर बोक्रा जथाभावी फ्क्याक्छौं । उनीहरु मल बनाउने भाडामा राख्छन् । हामी चाउचाउ, चक्लेट, बिस्कुट खाएर खोल र्‍याप पेपर जहाँ पायो त्यहीँ फ्याँक्छौं । उनीहरु गोजीमा राख्छन् र डस्टविन भेटेपछि फाल्छन् । हामी पानी खाएपछि बोटल बसबाट निर्धक्क बाटोमा फाल्छौं उनीहरु बिनमा राख्छन् । उनीहरु घरमै फोहोरको वर्गीकरण गर्छन् । कुहिने, नकुहिने र पुनः प्रयोग हुने छुटयाउछन् । नकुहिने नगरपालिकाको गाडी आउँदा प्लाष्टिकमा पोको पारेर निकाल्छन् ।

हामी सबै एकै ठाउँमा राख्छौं र साँझ पख चोक, बाटोमा फाल्छौं । हामी घरबाट फोहोर निकालेर बाटोमा फालेपछि घर सफा भएको ठान्छौं तर उनीहरु घर वरिपरिको वातावरण सफा भए मात्र घर स्वच्छ हुन्छ भन्ने मान्छन् । त्यसैले हामी प्रत्येकले आफ्नो घर र घर अगाडिको बाटो मात्र सफा राख्ने हो भने सिंगो शहर आफैँ सफा हुन्छ तर हामी यसो गर्नुको साटो के भन्छौं भने मैले मात्र सफा गरेर यत्रो शहर कसरी सफा हुन्छ ?

जबसम्म हामी यसो भनिरहन्छौं तबसम्म न त हामीले साँचो व्यावहारिक अभ्यास गर्न सक्छौं नत शहर सफा पार्न नै ।

बुझ्नुपर्ने कुरा के रहेछ भने घर बढारेर मात्र सफा हुनेहैन रहेछ, हाम्रो सोच फराकिलो र सफा भए मात्र ठाउँ सफा हुने रहेछ । अमेरिकामा कहिलेकाँही पनि बृहत सरसफाई कार्यक्रम गरेको देखिन्न तर पनि शहर सफा छ । हामी कहाँ पटक–पटक सरसफाई अभियान गरिरहन्छौं तर पनि शहर फोहोर छ । त्यसैले यसबाट भन्न सकिन्छ जबसम्म हामी बृहद् सरसफाईको नाममा अर्काको घर र पसल अगाडि बढारिरहन्छौं तबसम्म शहर फोहोर भइरहन्छ जुन दिनदेखि त्यो घरबेटी र पसलेले आफ्नो अगाडि आफैले कुचो लगाउँछ त्यो दिनदेखि त्यहाँ सधैं सफा भइरहन्छ । र, कुचो लगाउन अर्को कुनै तेस्रो व्यक्ति र सरसफाई कार्यक्रम कुरिरहनु पर्दैन ।
यति मात्र कुरा हामीले ख्याल गर्ने हो भने हाम्रो देश पनि कस्तो हुन्थ्यो होला है………..!
अमेरिका घुमौं, राम्रा कुरा सिकौं र फर्केर आएपछि यहाँ पनि व्यवहारमा लागू गरौं । नत्र अमेरिका घुमेर त्यहाँ यस्तो, उस्तो भनेर ‘गीत’ गाएर मात्र केही हुदैन भन्ने सबैले बुझौं । जय होस् ।

(लेखक रेडियो अन्नपूर्ण पोखराका कार्यकारी निर्देशक हुन्)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage