scheduleमगलवार आषाढ़ ३० गते, २०७७

यस्तो हुनेछ ‘नयाँ शक्ति’को संगठनात्मक सिद्धान्त र नेतृत्व प्रणाली

सर्वप्रथम, संगठनात्मक सिद्धान्त र नेतृत्व प्रणालीको बारेमा केही कुरा राख्ने अनुमति चाहन्छु । संगठन भनेको के हो ? संगठन भनेको विचारलाई जनता बीचमा पुर्याउने सशक्त साधन हो । एकातिर परम्परागत जानेमानेको संगठनात्मक सिद्धान्त र नेतृत्व प्रणालीअन्र्तगत रहेर हाम्रो पार्टी चलिरहेको छ भने अर्कोतिर त्यसलाई विकास गर्न पार्टीभित्र गम्भीर बहस पनि भइरहेको छ । यो छलफलले विचार निर्माणमा सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।

हामीले नयाँ संगठनात्मक सिद्धान्तको कुरा गरिरहँदा सन् १९०३ मा क.लेनिनले विकास गर्नुभएको संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउन जरुरी छ । तर जड रुपमा समाउन भने हुँदैन । आजको बहस भनेकै जड रुपमा समाउने वा त्यसलाई विकास गर्ने भन्नेमा रहेको छ ।

लेनिन भन्नुहुन्थ्यो– ‘कम्युनिष्ट पार्टी नेतै–नेताहरुको पार्टी हो ।’ त्यसैले कम्युनिष्ट पार्टीलाई अग्रदस्ता (Vanguard) को पार्टी बनाउँदै आउने काम भएको छ । कम्युनिष्ट पार्टीको सञ्चालन विधि मुलतः जनवादी केन्द्रियतामा आधारित हुनेगर्दछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको मातहत र केन्द्रीय कमिटी महाधिवेशनको मातहत रहनुपर्ने भन्ने जनवादी केन्द्रियताको चार सूत्र हुन् ।

तसर्थ, कम्युनिष्ट पार्टी नेतैनेताहरुको पार्टी भन्ने लेनिनको अवधारणा संभवतः आज असान्दर्भिक भइसकेको छ । प्रत्येक पार्टी सदस्य कुनै न कुनै कमिटिमा कमिटेड हुनैपर्ने अवधारणाबाट पार्टीलाई खुकुलो बनाउन आवश्यक छ ।

 

कम्युनिष्ट पार्टीको सदस्य बनिसकेपछि ऊ कुनै पनि कमिटीमा अनिवार्यरुपमा आबद्ध हुनुपर्ने, लेवी अनिवार्य तिर्नुपर्ने पार्टी कार्यक्रममा सक्रियतापूर्वक अनिवार्य सहभागी बन्नुपर्ने जस्ता संगठनात्मक सिद्धान्तहरु सन् १९०३ मा सूत्रबद्ध गरिएको थियो । आजको कम्युनिष्ट पार्टी लेनिनकालीन अग्रदस्ताको अवधारणानुसार निर्माण र परिचालन गर्न संभव छैन । अग्रदस्ता (Vanguard) + स्वयंसेवक (Vanguard) को सन्तुलन मिलाएर पार्टी निर्माण गर्नुपर्दछ । तसर्थ, कम्युनिष्ट पार्टी नेतैनेताहरुको पार्टी भन्ने लेनिनको अवधारणा संभवतः आज असान्दर्भिक भइसकेको छ । प्रत्येक पार्टी सदस्य कुनै न कुनै कमिटिमा कमिटेड हुनैपर्ने अवधारणाबाट पार्टीलाई खुकुलो बनाउन आवश्यक छ ।

 

गंगानारायण श्रेष्ठ
गंगानारायण श्रेष्ठ

हिजो सन् १९०३ को समाजमा रहेका सामाजिक वर्गहरुबीचको अन्तरसंघर्ष र अन्तरसम्बन्ध अनि आज हामी बाँचिरहेको समाजको सामाजिक वर्गहरुबीचको अन्तरसंघर्ष र अन्तरसम्बन्ध उस्तै छन् वा फेरबदल भएको छ ? हिजो लेनिनले भन्नुभएको साम्राज्यवादको चरित्र र आज हामी बाँचिरहेको दुनियाँको साम्राज्यवादको चरित्रमा फेरबदल आएको छैन ? पक्कै आएको छ । वैचारिक क्षेत्रमा मार्क्सवाद विकास भएर लेनिनवाद, लेनिनवाद विकास भएर माओवाद र यसले पनि नपुगेर विचारको विकास गर्नुपर्छ भनेर लागिपर्ने तर त्यही विचारलाई जनताबीच लागू गर्ने साधन संगठनको चाहीँ विकास गर्नु नपर्ने हुन्छ ? १९०३ मा लेनिनले संश्लेषण गर्नुभएको संगठनात्मक सिद्धान्त, के आज जस्ताको तस्तै लागू हुनसक्दछ ?

विचार अनुसारको संगठन बनाउन सकिएन भने अन्ततः विचारलाई संगठनले निलिदिन्छ । र, विचार असफल हुन्छ । दुनियाँभरिका कम्युनिष्ट पार्टीहरु एकपछि अर्को गर्दै असफल हुनाको एउटा मुख्य कारण यही हो । हाम्रो भनाई छ, अबको युगको नेतृत्व गर्न विचार, संगठन र नेतृत्वको एउटै प्याकेजमा विकास गर्नुको विकल्प छैन ।

हाम्रो पार्टीभित्र अहिले हामीले भ्रष्टाचार छानबीनको लागि किन आयोग बनाउनु पर्यो ? आयोगले छानबीन पछि तयार गरेको प्रतिवेदन किन बाहिर सार्बजनिक गर्न सकेनौं ? पार्टीभित्र ठूलो वितृष्णा किन पैदा भइरहेको छ ? कार्यकर्ताहरु मानसिक रुपमा विक्षिप्त बनेर बाँच्न किन विवश बनिरहेका छन् ? यो दोष कसलाई दिने ?

आजसम्मको कम्युनिष्ट पार्टीहरुको समग्र निर्माण प्रक्रिया र सञ्चालन विधि मूलतः मेरो बुझाईमा आदेशपालक सिपाहीहरुको पल्टन जस्तो छ । हामीले बनाउन चाहेको कम्युनिष्ट पार्टी अनुशासित, सिर्जनशील र आलोचनात्मक चेतसहितको हो । एउटा ठूलो भ्रम कम्युनिष्ट आन्दोलनमा के रहँदै आएको छ भने, आदेशको पालना गर्नु र अनुशासित हुनु एउटै कुरा हो । के साँच्चै आदेशको पालना गर्नु र अनुशासित हुनु एउटै कुरा हो ? किमार्थ होइन ।

किनकि, आदेशको पालना गर्न मस्तिष्कको आवश्यक्ता पर्दैन, तर अनुशासित बन्न मस्तिष्कको आवश्यक्ता पर्दछ । मस्तिष्कको सक्रियताबिना हामी अनुशासित हुनसक्दैनौं । अनुशासित हुनु भनेको आफैंले आफैंलाई शासन गर्ने भनेको हो । आफैंले आफैंलाई शासन गर्ने कुरा अत्यन्तै कठिन कुरा हो । यो कठिन कुरा कम्युनिष्टहरुले गर्नसक्दछन् र गर्नुपर्दछ भनिएको हो ।

अति केन्द्रीकृत संरचना आजको प्रतिस्पर्धात्मक खुला समाजमा स्वीकार्य हुँदैन । हिजो लेनिन र रोजाको बीचमा पनि ठूलो बहस चलेको थियो । रोजाले स्वेच्छिक अनुशासनको कुरा गर्नुभएको थियो । आज यहाँ आउँदा हामी अलि बढी रोजाको नजिक छौं कि भन्ने पनि लाग्दछ । हामी आदेशपालकबाट अनुशासित, सिपाहीबाट सिर्जनशील कार्यकर्ता र फौजी पल्टनबाट आलोचनात्मक चेतसहितको पार्टी बनाउन चाहन्छौं । यी तीन शब्दले आधारभूतरुपमा आजको दुनियाँको कम्युनिष्ट पार्टीको संरचना र हामीले निर्माण गर्न खोजेको कम्युनिष्ट पार्टीको संरचनाको बीचको भिन्नतालाई प्रष्ट गराउँछ ।

दोस्रो, आजको कम्युनिष्ट पार्टी खासगरी उत्पादनमा आधारित पारदर्शी पार्टी बनाउन सक्नु पर्दछ । आज हाम्रो पार्टी विघटनतिर किन तीव्रतम ढंगले अगाडि बढिरहेको छ ? यसको मुख्य कारण, हामीले उत्पादनमा आधारित पारदर्शी पार्टी निर्माण गर्न नसक्नु नै हो । युद्धकालमा पार्टीको जुन ढंगको सांगठनिक संरचना, पार्टीका कार्यकर्ताहरुको व्यवस्थापन गर्दै आयौं, शान्तिकालको यहाँसम्म आइपुग्दा पनि हामीले पार्टीभित्र संरचनामा फेरबदल गर्न सकेनौं । संरचना फेरबदल गर्न नसक्दा हाम्रो पार्टीभित्र ठूलो समस्या पैदा भएको छ । जसको मार हामी सबै नेता कार्यकर्ताहरुले भोगिरहेका छौं ।

हामीले स्वीकार गर्नैपर्ने सत्य के हो भने, अपारदर्शी आर्थिक स्रोतको आधारमा जुन नेता कार्यकर्ताले आफ्नो जीवन जिउँछ, ती नेता र कार्यकर्तासँग नैतिक बल हुँदैन । जब एउटा नेतासँग नैतिक बल हुँदैन तब ऊ मानसिक रुपमा स्वतन्त्र रहँदैन । नैतिक बल र मानसिक स्वतन्त्रता नभएका नेताले आफ्नो वर्गको हितमा कहिल्यै निर्णय गर्न सक्दैन । हाम्रो पार्टीभित्र अहिले हामीले भ्रष्टाचार छानबीनको लागि किन आयोग बनाउनु पर्यो ? आयोगले छानबीन पछि तयार गरेको प्रतिवेदन किन बाहिर सार्बजनिक गर्न सकेनौं ? पार्टीभित्र ठूलो वितृष्णा किन पैदा भइरहेको छ ? कार्यकर्ताहरु मानसिक रुपमा विक्षिप्त बनेर बाँच्न किन विवश बनिरहेका छन् ? यो दोष कसलाई दिने ? प्रचण्डलाई ? बाबुरामलाई ? या अरु कुनै नेतालाई ?

मेरो विचारमा यो दोष उहाँहरुलाई मात्रै दिन मिल्दैन । हामीले विचार अनुसारको संगठनात्मक सिद्धान्त, विधि र संरचनाको विकास गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । यसकारण हामीले उत्पादनमा आधारित पारदर्शी पार्टीको निर्माण गर्नु आवश्यक छ । अब पनि चन्दा उठाएर, अपारदर्शी आर्थिक स्रोत सञ्चालन गरेर पार्टी चलाउने धृष्टता गर्यौं भने पार्टी जनताबाट अलगथलग हुनेछ । जनताबाट अलग्गिने मात्रै होइन, इतिहासको चिहानमा पुरिने छ । यसलाई कसैले रोक्न सक्ने छैन ।

तेस्रो, हामीले गम्भीरतापूर्वक छलफल गर्नु पर्ने विषय भनेको संगठनात्मक रुपमा जनवादी केन्द्रीयता हो । जनवाद र केन्द्रीयतामा जनवाद जहिल्यै पनि आधारभूत अर्थात् मुख्य रहन्छ । जनवाद निरपेक्ष र केन्द्रीयता सापेक्ष हुन्छ । बृहत् जनवादको जगमा बलियो केन्द्रीयता भने पनि कम्युनिष्ट पार्टीभित्र ब्यबहारमा यसको ठीक उल्टो प्रयोग हुँदै आइरहेको छ । जनवादलाई औपचारिकतामा सीमित गर्ने र एकोहोरो केन्द्रीयता लागू गर्ने समस्या कम्युनिष्टहरुको ठूलो समस्या हो ।

यो विशेष गरेर स्टालिनको पालादेखि शुरु भएको देखिन्छ । स्तालिनले जनवादी केन्द्रीयतालाई यति धेरै भ्रष्टिकरण गरे कि, जनवादी केन्द्रीयता, नोकरशाही केन्द्रीयतामा बदलिन पुग्यो । स्टालिनले पार्टीभित्र लागू गर्नुभएको जनवादी केन्द्रियता, जनवादी केन्द्रीयता थिएन । त्यो नोकरशाही केन्द्रीयता थियो । त्यो नोकरशाही केन्द्रीयताको विधिलाई नेपालका कम्युनिष्टहरुले आदर्शिकरण गर्ने काम गरे । हाम्रो पार्टीभित्रको संगठनात्मक समस्याको जड पनि त्यहीं हो ।

जनवादी केन्द्रीयताको विकल्प स्वतन्त्र संगठनात्मक नीति हुन सक्दैन । स्वतन्त्र संगठनात्मक नीति भनेको ब्यक्तिकेन्द्रीत संगठनात्मक सिद्धान्त हो । यो रुपमा जनवादी जस्तो देखिए पनि सारमा अराजकतावादमा ब्यक्त हुन्छ । जनवादी केन्द्रीयताले केन्द्रवादको दुरुपयोगबाट नोकरशाही जन्माउँछ भने स्वतन्त्र संगठनात्मक नीतिले जनवादको दुरुपयोगबाट नोकरशाही जन्माउँछ । तसर्थ, अब हामीले नोकरशाही केन्द्रीयताको ठाउँमा सिर्जनशील नेतृत्व र संगठनात्मक अराजकताको ठाउँमा स्वअनुशासन लागू गर्ने नीति विकास गर्नु पर्दछ ।

स्तालिनको जनवादी केन्द्रीयता कति त्रासद थियो भन्ने कुराको केही उदाहरण हेरौं । सन् १९३४ देखि १९३९ को समयमा लगभग ५० लाख पार्टी सदस्यहरु बिभिन्न राजनीतिक कारणले गिरफ्तार भए । तीमध्ये करिब ५ लाखको हत्या गरिएको अनुमान छ । १९३४ मा पार्टीको सत्रौं महाधिवेशनमा भाग लिन आएका १८२७ प्रतिनिधिमध्ये १९३९ को अठारौं महाधिवेशनमा ३७ जना मात्र बचेका थिए । सत्रौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिका १३९ पूर्ण र वैकल्पिक सदस्यहरुमध्ये ९८ जना (७०%) लाई गिरफ्तार गरेर मारियो । इतिहासकारहरु बीच मारिनेहरुको तथ्याङ्कमा एकरुपता छैन ।

त्रोत्स्कीलाई १९२९ मा देश मात्र निकालेनन् १९४० मा मेक्सिकोको एउटा गाउँमा बन्चरोले हानेर हत्या गरियो । सन् १९४१ देखि १९४५ सम्मका ४ वर्षमा केन्द्रीय कमिटिका एउटा पनि बैठक बसेन । १९३९ पछि १४ बर्षसम्म पार्टीको महाधिवेशन बोलाइएन । १९४५ देखि १९५२ को बीचमा केन्द्रीय समितिको जम्मा एउटा बैठक बोलाइयो । अब तपाईंले कल्पना गर्नुहोस्, स्टालिनले पार्टीभित्र जनवादी केन्द्रियता लागू गरेका थिए अर्थात् नोकरशाही केन्द्रियता ? हामीले भन्न सक्छौं कि रुसी कम्युनिष्ट पार्टीभित्र नोकरशाही केन्द्रियता लागू गरिएको थियो ।

त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको एउटा उदाहरण हेरौं । सन् १९५९ मा रक्षामन्त्री बनेका लिन प्याओ १९६९ को नवौं महाधिवेशनबाट पार्टीको उपाध्यक्ष र घोषित रुपमै माओका उत्तराधिकारी भएका थिए । लिन प्याओ भन्थे, ‘अध्यक्ष माओ असाधारण रुपले महान हुनुहुन्छ । अध्यक्षका सबै कुरा महान छन् । अध्यक्ष माओका हरेक शब्दको अर्थ हामी जस्ता हजार जनाले बोलेको भन्दा बढी हुन्छ ।’ पछि यिनै लिन प्याओले माओलाई मार्न ‘प्रोजेक्ट ५७१’ तयार पारे । षडयन्त्रको योजना खुलेपछि उनी मंगोलियातर्फ भागे, जहाँ हवाई दुर्घटनामा उनको ज्यान गयो । यो १९७२ को घटना थियो ।

ठीक र बेठीकको अधारमा समर्थन र विरोध गर्ने संस्कृतिभन्दा नीजि स्वार्थलाई केन्द्रमा राखेर नेताहरुको चाकडी बजाउने कार्यशैली कार्यकर्तामा नहुर्किएर के हुन्छ ? पार्टीलाई भजनमण्डलीको भीड बनाएर पार्टीभित्र जनवादी केन्द्रीयता लागु गर्न संभव छैन ।

रोजाले भनेजस्तै सामाजिक सत्तालाई राजनीतिक सत्ताले, राजनीतिक सत्तालाई एउटा वर्ग विशेषले अंकुश लगाउँछ । त्यो वर्गलाई पार्टी विशेषले र त्यो पार्टीलाई अन्तिममा गएर एउटा व्यक्तिले अंकुश लगाउँछ । रोजाले भनेजस्तै रुसी कम्युनिष्ट पार्टीमा अन्ततः ब्यक्ति स्टालिनको अधिनायकत्व लागू हुन पुग्यो । यस्तो खालको विधि, पद्धति र संरचनालाई हामीले आदर्शीकरण गरेपछि के हुन्छ ? अनि त्यहाँ कुनै आलोचनाको गुञ्जायस हुन्छ ? नेताहरुलाई प्रशंसा मन नपरेर आलोचना मनपर्छ ? ठीक र बेठीकको अधारमा समर्थन र विरोध गर्ने संस्कृतिभन्दा नीजि स्वार्थलाई केन्द्रमा राखेर नेताहरुको चाकडी बजाउने कार्यशैली कार्यकर्तामा नहुर्किएर के हुन्छ ? पार्टीलाई भजनमण्डलीको भीड बनाएर पार्टीभित्र जनवादी केन्द्रीयता लागु गर्न संभव छैन । यस्तो नोकरशाही केन्द्रियतालाई अब हामीले उल्टाउनु पर्दछ ।

चौथो, विश्वव्यापी रुपमा सामाजिक वर्गहरुमा आज उल्लेखनीय परिवर्तन आएको छ । हिजो मार्क्स, लेनिनकालीन सामाजिक वर्गहरुको संरचना मूलतः पिरामिडिय थियो । अहिले यो परिवर्तन भएर मादल आकारको बन्दै गइरहेको छ । बुर्जुवा पुँजीपति, सर्वहारा र मध्यमवर्गमध्ये मध्यमवर्गको बर्चश्व समाजमा दिनानुदिन बढ्दै गइरहेको छ । विज्ञान, प्रविधि र सूचना सञ्चारमा भएको अभूतपूर्व क्रान्तिले समाजको उत्पादन सम्बन्धलाई नै परिवर्तन गरिदिएको छ । मान्छेको ज्ञान र सीप अत्याधुनिक प्रविधिसँग जब समायोजन हुन थाल्यो, तब पुँजीको निर्माण प्रक्रियामा पनि परिवर्तन आउन थालेको छ ।

यसरी निर्माण भएको पुँजीले मध्यमवर्गको आकारलाई दिनानुदिन बिस्तार गर्दै लगिरहेको छ । हिजो हामीले मध्यमवर्गलाई वर्ग नै होइन भन्थ्यौं । कम्युनिष्ट पार्टीभित्र मध्यमवर्गलाई खासमा भन्ने हो भने कुनै स्थान नै थिएन । तर आज मध्यमवर्ग समाजमा जबरजस्त आफ्नो आकार बढाउँदै बर्चश्वमा छ । अब कम्युनिष्टले सर्वहारा वर्गको अधिनायकत्व भनेर पुग्नेवाला छैन । मध्यम वर्गको हित साधना गर्ने र मध्यमवर्गलाई सँगै लिएर जाने राजनीतिक र सांगठनिक कार्यदिशा निर्माण गर्नुको विकल्प छैन । हामीले मानौं वा नमानौं समाजले यही चाहिरहेको छ ।

जब हामीले प्रत्यक्ष निर्वाचित गर्ने विधि नबनाएर आवश्यकता र विशिष्टताको नाममा विधि बिनाको बिधिद्वारा पार्टी चलाउन खोज्छौं, तब पार्टी, भक्तहरुको भजनमण्डली बन्न पुग्दछ ।

पछिल्लो केही सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई आधार बनाएर हेर्दा अमेरिकामा करिब तीन प्रतिशत मानिस मात्र उच्च वर्गका छन । ७९ प्रतिशत मध्यम वर्ग र १८ प्रतिशत मात्र तल्लो, गरिब वा सर्वहारा वर्ग छ । बेलायतमा ६ प्रतिशत उच्च वर्गका मानिस छन् भने ६५ प्रतिशत मध्यम वर्गको छ । त्यहाँ २९ प्रतिशत कामदार वर्ग छ । चीनमा मध्यमवर्गको बिस्तार भएर सन् १९१३ मा ७० प्रतिशत पुगेको छ । २००९ पेउ ग्लोबल एटिच्युटले १३ देशमा गरेको सर्वेमा १३ वटै देशमा मध्यम वर्ग ५० प्रतिशतभन्दा बढी देखिएको थियो । ती देशमध्ये चिलीमा ८०, रुसमा ५१, युक्रेनमा ६५, भेनेजुवेलामा ७४, पोल्याण्डमा ७४, दक्षिण अफ्रीकामा ५९, मेक्सिकोमा ६४, ब्राजिलमा ६९, अर्जेन्टिनामा ७२ प्रतिशत परिवार मध्यम वर्गीय भएको पाइएको थियो ।

स्क्यान्डिनेभियन देशमा मध्यमवर्ग ८० प्रतिशतभन्दा माथि छ । नर्वे मात्रैको तथ्यांकमा ९० प्रतिशत जनता मध्यम वर्गीय छन् । तसर्थ, अब कम्युनिष्ट पार्टी निर्माण गर्दा अग्रदस्ता र स्वयम्सेवकको सन्तुलनबाट निर्माण गरिनुपर्दछ । अर्को कुरा कम्युनिष्ट पार्टीको सदस्यता लिएपछि कुनै न कुनै कमिटिमा आवद्ध हुनुपर्दछ भन्ने कुरालाई पनि अलिकति खुकुलो बनाउनुपर्छ कि ? विमर्श गरौं ।

पाँचौ, संगठनात्मक सिद्धान्तको बारेमा कुरा गर्दा पार्टीभित्र प्रत्यक्ष जनवाद (Direct democracy) लागू गरिरहेका छौं कि निर्देशित जनवाद (Guided Democracy) ? कम्युनिष्ट पार्टीभित्र लागू गर्नु पर्ने डाइरेक्ट डेमोक्रेसी हो, गाइडेड डेमोक्रेसी होइन । प्रत्यक्ष निर्वाचित नेतृत्व निर्माण गर्ने हो हामीले । कम्युनिष्ट पार्टीको नेतृत्व हुने भनेको कुरा जनताको मन जित्नु हो । सही कार्यकर्ताको मन जित्नु हो । त्यहाँ छलकपट, प्रलोभन केही पनि नगर्नु भनेको हो । त्यसैले हामीले गाइडेड डेमोक्रेसी होइन डाइरेक्ट डेमोक्रेसी लागू गर्नुपर्दछ । त्यो लागू गर्नको लागि हामीले दुईटा विधिहरु अनिवार्य रुपमा पार्टीभित्र विकसित गर्नुपर्दछ ।

प्रत्यक्ष निर्वाचित नेतृत्व र प्रत्याव्हानको सुनिश्चितता । यी दुईवटा विधि हामीले निर्माण गर्नैपर्दछ । जब हामीले प्रत्यक्ष निर्वाचित गर्ने विधि नबनाएर आवश्यकता र विशिष्टताको नाममा विधि बिनाको बिधिद्वारा पार्टी चलाउन खोज्छौं, तब पार्टी, भक्तहरुको भजनमण्डली बन्न पुग्दछ । त्यसरी निर्माण गरिएको नेतृत्वले अन्ततः पार्टीको नेतृत्व गर्न सक्दैन । किनकि, ऊसँग अथोरिटी कमजोर हुन्छ । त्यसैले हामीले नेतृत्वको निर्माण प्रत्यक्ष निर्वाचनद्वारा गर्नुपर्दछ र त्यो प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित भएको नेतृत्वले पार्टी हित विपरित दायाँबायाँ गरे प्रत्याव्हान गर्न सकिने अधिकार पनि पार्टी सदस्यलाई सुनिश्चित गर्नुपर्दछ ।

आज्ञाकारी अनुचरहरुलाई टुप्पिबाट तानेर नेता बनाउने प्रवृत्ति सबै राजनीतिक पार्टीहरुको महारोग नै बनिसकेको छ । यस्तो टीकेप्रथाले पार्टीभित्र नेताको दलाली गर्ने दासहरु जन्माउँछ भने प्रतिस्पर्धाले आलोचनात्मक चेत भएका सक्षम र सिर्जनशील नेता, कार्यकर्ता जन्माउँदछ ।

 

अर्थात्, यसलाई यसो भनौं पार्टीभित्र सार्वभौम को हुने ? नेता, कार्यकर्ता वा पार्टी सदस्य ? यसको सिधा अर्थ पार्टीभित्र पार्टी सदस्य सार्वभौम बनाइनु पर्दछ । अहिले हाम्रो पार्टीभित्र पार्टी सदस्य सार्वभौम बनाउने विधि छैन । जनतालाई सार्वभौम बनाउने विधि छैन । आफूले भोट हालेर जिताई पठाएका सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भएपछि जनतालाई फर्किएर हेर्दैनन् भन्ने गुनासो हामीले गाउँघरमा धेरै नै सुन्छौं । पार्टी भित्र पनि हामीले त्यस्तै सुन्दै आईरहेका छौं । मलाई लाग्छ, यो व्यक्तिको भन्दा बढी विधिको दोष हो । त्यसैले राज्यमा जनता सार्वभौम र पार्टीभित्र पार्टी सदस्य सार्वभौम बनाउनु पर्दछ । ताकि आफूले निर्वाचित गरि पठाएका प्रतिनिधिले गडबढ गरे प्रत्याव्हान गर्न सकियोस् ।

यो ढंगको विधि बनाउन सक्यौं भने मात्रै २१औं शताब्दीमा कम्युनिष्टहरुको भविष्य छ । नत्र भविष्य छैन । हामीले पनि परम्परावादी ढंगको नोकरशाही केन्द्रियता नै लागू गर्ने हो भने यति धेरै दुःख गरिरहनु जरुरी छैन ।

अब म नेतृत्व प्रणालीको बिषयमा केही कुरा राख्न चाहन्छु । नेतृत्व अर्थात् नेता भनेको के हो ? मैले बुझेसम्म, नेता भनेको समाजको सरदर मानिसको चेतनाभन्दा अलिकति बढी चेतना र क्षमता भएको गुण र दोषयुक्त अगुवा मान्छे हो । तर कम्युनिष्ट पार्टीभित्र नेतृत्व स्थापित र केन्द्रीकरण गर्ने नाममा नेतालाई सर्वज्ञाता, त्रिकालदर्शी गुण र दोषले मुक्त देवता बनाउने काम भयो । यसले अन्ततः नेतालाई आलोचना गर्नै नसकिने स्थानमा विराजमान गरायो । नेता आलोचनादेखि आतंकित र प्रशंसामा प्रफुल्लित बन्न थाल्यो । पार्टीभित्र आलोचना गर्नेहरु दण्डित र प्रशंसा गर्नेहरु पुरस्कृत हुन थाल्यो । यसले कम्युनिष्ट पार्टीलाई आदेशपालक सिपाहीहरुको पल्टन बनायो । भक्तजनहरुको भजनमण्डली बनायो ।

सिद्धान्तमा जे भने पनि ब्यबहारमा नेतालाई गुण र दोषले मुक्त भगवानको रुपमा पुज्ने काम भयो । मान्छे भएपछि त गुण र दोष सबैको हुन्छ नि ! तसर्थ, आधारभूत रुपमै यो बुझाई गलत छ । अतः नेतृत्वसम्बन्धी हाम्रो अवधारणामा परिवर्तन ल्याउनु जरुरी छ । पहिलो कुरा यही हो ।

दोस्रो कुरा, नेतृत्व निर्माण मुख्यतः तीनवटा प्रक्रियाद्वारा हुने गर्दछ । पहिलो, वंशको आधारमा । जस्तैः राजापछि राजाको छोरा राजा हुने । दोश्रो, षड्यन्त्रको बलमा र तेश्रो, प्रतिस्पर्धा (स्वस्थ–अस्वस्थ/प्रत्यक्ष–परोक्ष) को विधिमार्फत निर्माण हुने गर्दछ । नेतृत्व निर्माण गर्ने यस्ता विभिन्न तरिकाहरु छन् । हामीले नेतृत्व निर्माण गर्न खोजेको मुलतः पेरिस कम्युनको मोडेल हो । प्रत्यक्ष निर्वाचित प्रणाली नै हो । त्यहाँ कुनै प्रकारको डर, धाक, धम्की र सत्ताको प्रलोभन नहोस् । स्वतन्त्र विवेकको निर्वाध प्रयोग होस् ।

नेपालमा एउटा खरिदारको जागिर खानको लागि शैक्षिक योग्यता एसएलसी हुनै पर्दछ । लोकसेवा आयोगमा लिखित र मौखिक परीक्षा पास गर्नैपर्दछ । अनि उसको मेरिटको आधारमा उसलाई पोस्टिङ गरिन्छ । हामीले बुर्जुवा भनेको राज्यसत्तामा त यतिको विधि मापदण्ड छ भने हाम्रो जस्तो क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र केन्द्रिय समिति वा राज्य समिति र कुनै पनि कमिटीका नेता बन्नको लागि विधि, प्रक्रिया र मापदण्ड हुनु नपर्ने ?

आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षको रापिलो भट्टीबाट खारिएर मात्रै एउटा नेताको जन्म हुन्छ । नेता बन्नका लागि योग्यताका निश्चित मापदण्डहरु तोक्ने र त्यस अनुसार विभिन्न कमिटिका नेताहरु निर्वाचित गरिनु पर्दछ । नेताको जयगान गाएर विजय हुने प्रवृत्ति पूर्णरुपमा निषेध गरिनु पर्दछ । आवश्यक्ता र विशिष्टताको नाममा आज्ञाकारी अनुचरहरुलाई टुप्पिबाट तानेर नेता बनाउने प्रवृत्ति सबै राजनीतिक पार्टीहरुको महारोग नै बनिसकेको छ । यस्तो टीकेप्रथाले पार्टीभित्र नेताको दलाली गर्ने दासहरु जन्माउँछ भने प्रतिस्पर्धाले आलोचनात्मक चेत भएका सक्षम र सिर्जनशील नेता, कार्यकर्ता जन्माउँदछ । गुट भनेको स्वार्थ समूह हो, पार्टी होइन । गुटले कहिल्यै पार्टी बन्न दिंदैन ।
आवश्यक्ता र विशिष्टता कुनै विधि, पद्धति होइन, अपवाद हो । अपवादलाई आम विधि बनाउने प्रवृत्ति निरंकुशता हो । युद्ध आफैमा ऐतिहासिक आवश्यक्ता र विशिष्ट घटना भएको कारण युद्धकालमा नेतृत्वलाई सापेक्षिक रुपमा शान्तिकालको भन्दा बढी आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाउने छुट दिनै पर्ने हुन्थ्यो । दिइएको पनि हो । तर शान्तिकालमा आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाउने बित्तिकै पार्टीभित्र अनिवार्य रुपमा गुट–उपगुट जन्मन्छ ।

नेतृत्वको नियत जतिसुकै पवित्र भए पनि त्यसले पैदा गर्ने अनिवार्य परिणाम भनेको पार्टीको टुटफूट नै हो । सबैले बुझ्ने र हेर्ने भनेको परिणाम हो, नियत होइन । आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाइरहेका नेताहरुलाई थाहा हुन पर्दछ कि, आवश्यक्ताको श्रृङ्खला अनन्त हुन्छ, त्यसले स्वतन्त्रताको यात्रालाई अवरोध गर्दछ ।

विराटनगर सम्मेलन हामीले किन छाडेर हिंड्यौं ? हामी नयाँ विधि विकास गर्न चाहन्थ्यौं । नयाँ विधि अनुसार नयाँ केन्द्रीय नेतृत्व चयन गर्न चाहन्थ्यौं । त्यस अनुसार हामीले प्रस्ताव पनि गर्यौं । तर आफूलाई संस्थापन भन्ने पक्षले यो कुरा स्वीकार गरेन । अनि हामीले भन्यौं कि सबै पार्टीमा भागबन्डा चलिराखेको छ, अर्को विधि विकास नगरेसम्म भागबन्डाकै आधारमा नेतृत्व चयन गरौं । त्यो पनि उहाँहरुले मान्नु भएन । त्यसपछि हामी उठेर हिंडेका हौं ।

हामीले काठमाडौं आइसकेपछि लिखितरुपमा नेतृत्व निर्माणका पाँचवटा आधारहरु प्रस्तुत गर्यौं । ती आधारहरु विधिवतरुपमा तलसम्म सर्कुलर पनि भइसकेको छ । पहिलो आधार, अग्रदस्तालाई बनाएका छौं । दोस्रो आधार, कमरेड माओले भन्नुभएको थ्रीइन वान अर्थात् युवा, प्रौढ र जेष्ठ, त्यसमध्ये युवालाई केन्द्रमा राखेर नेतृत्व निर्माण । तेस्रो आधार, समावेशिता । हामी एकात्मकबाट संघात्मकतामा जाँदै छौं । अतः नेतृत्व प्रणालीलाई पनि समावेशी बनाउनु पर्दछ ।

अध्यक्ष कमरेडले कथित निर्वाचनको परिणाम आएपछि केन्द्रीय समितिको बैठकमा यसरी संश्लेषण गर्नुभयो– ‘हाम्रो पार्टीका केन्द्रिय कमिटिका सदस्यहरुमा पितृसत्तावाद, पहाडिया अहंकारवाद र ब्राह्मणवाद हावी रहेछ । मैले त महिला, मधेसी र दलित कमरेडहरुलाई जिताउनुपर्छ भनेको हो । वहाँहरुले जिताउनु भएन ।’ सुन्दा संश्लेषण सुन्दर लाग्छ । तर सच्चाई अध्यक्षले भनेको जस्तो होइन ।

प्रचण्ड र बाबुराम हजार बर्ष बाँचोस् भनेर हामीले कामना गरे पनि उहाँहरु भौतिक रुपमा अवश्य मर्नु हुनेछ । अनि हामी पनि उहाँहरुसँगै सति गइदिनुपर्ने ?नेपालमा सतीप्रथाको उन्मुलन चन्द्रशमशेरले गरे पनि कम्युनिष्ट पार्टीभित्रको सतीप्रथाभने अहिलेसम्म अन्त्य भएको छैन ।

 

महिलालाई पुरुषसँग, मधेसीलाई पहाडियासँग, दलितलाई गैरदलितसँग प्रतिस्पर्धा गर्न लगाउनु नै गलत थियो । १६ वर्षको जवान र एउटा वैशाखी टेक्ने अपांगलाई दौडमा प्रतिस्पर्धा गराउने हो भने पहिले नै १६ वर्षको जवानलाई विजयको प्रमाणपत्र दिंदा हुन्छ । यस्तै भयो हाम्रो पार्टीमा पनि । तसर्थ, अध्यक्षले केन्द्रीय सदस्यहरुको टाउकामा दोष थुपारेर पानीमाथिको ओभानो बन्न पाउनु हुन्न । उहाँले त एउटा निश्चित, विधि आधार र मापदण्ड बनाइदिनु पर्दथ्यो । यदि हामीले भनेको जस्तो समावेशिताको आधार बनाएको भए, महिला, मधेसी, दलित, सबै अनिवार्य रुपमा नेतृत्वमा आउँथे ।

prachanda baburamचौथो आधार भनेको फरक राजनीतिक पृष्ठभूमि भएकाहरुलाई पनि विना भेदभाव नेतृत्वमा ल्याउने । हाम्रो पार्टीको नाम नै एकीकृत हो । यहाँ सबै थरीका व्यक्तिहरुको केन्द्रिकरण भएको छ । हिजो जनयुद्ध लडेर आएका हामीहरुले मात्रै यो पार्टी चलाउन पाउनुपर्छ र यसको हकवाला हामी मात्रै हो भन्ने ठानियो भने यो पार्टीले नयाँ नेपालको नेतृत्व गर्न सक्दैन । किनकि, ध्वंस थोरैले पनि गर्न सकिन्छ तर निर्माणको लागि सबै चाहिन्छ । पार्टीभित्र सबैलाई समान रुपमा न्याय हुन्छ, अवसरमा कुनै विभेद हुन्न भन्ने सत्य स्थापित नहुने होभने नयाँ एकता होइन, एकतामा आएकाहरु पनि पार्टी छाडेर जान सक्छन् ।

पाँचौं आधार हो, विपरितहरुको एकत्व । मूलतः स्तालिनले पार्टीलाई विपरितहरुको एकत्वको रुपमा भन्दा एकमनावादी एकताको रुपमा सञ्चालन गर्नुभयो । जसले गर्दा पार्टीभित्र फरक मत निषेध गर्ने प्रवृत्ति मौलाउन थाल्यो । विभिन्न प्रवृत्तिहरुलाई पुरक बनाउनुको सट्टा निषेध गर्ने प्रवृत्ति हाम्रो पार्टीभित्र पनि छ । यसको विरुद्ध संघर्ष गर्नुको विकल्प छैन । बहुमतसँग असहमति राख्ने वा फरक मत राख्नेहरुलाई पार्टीभित्र ह्युमिलिएट गरिनु हुँदैन । उनीहरुलाई कारवाहीद्वारा, प्रशासनिक डण्डा चलाएर तह लगाउनु हुँदैन । उनीहरुलाई पनि नेतृत्वमा समान ढंगले स्थान दिनुपर्छ । अवसर दिनुपर्छ । अनि मात्रै फरक मत राख्नेले पनि आफ्नो विचार राख्न पाउँछन् । पार्टी टुटफुट हुन पाउँदैन, र पार्टी एकढिक्का हुन्छ ।

वैचारिक र संगठनात्मक गरी नेतृत्वको श्रृंखला मिलाउनुपर्छ भनेका छौं हामीले । यसरी नेतृत्वको श्रृंखला मिलाउन सकिएनभने पार्टी चाहेर वा नचाहेर पनि प्रतिक्रान्तितर्फ जान्छ । जस्तैः एउटा घर चलाउनको लागि छोरा परिपक्व हुँदै गएपछि बाउले छोरालाई विश्वास गरेर आफ्नो कारोवार सुम्पँदै जान्छन् । बुहारीलाई सासुले तालाचावी सुम्पन्छिन् । आखिर पार्टी भनेको पनि समाजको ठूलो घर त हो । अनि यो ठूलो घर चलाउनको निम्ति चाहिँ अगुवा नेताहरुले अरु नेताहरुलाई कारोवार सुम्पनु नपर्ने ? ताला चावी हस्तान्तरण गर्नु नपर्ने ? प्रचण्ड र बाबुराम हजार बर्ष बाँचोस् भनेर हामीले कामना गरे पनि उहाँहरु भौतिक रुपमा अवश्य मर्नु हुनेछ । अनि हामी पनि उहाँहरुसँगै सति गइदिनुपर्ने ?नेपालमा सतीप्रथाको उन्मुलन चन्द्रशमशेरले गरे पनि कम्युनिष्ट पार्टीभित्रको सतीप्रथाभने अहिलेसम्म अन्त्य भएको छैन ।

क.प्रचण्डलाई त्यो अवसर प्राप्त छ, हेरौं के गर्नु हुन्छ ?

हामी युवाहरुलाई पार्टीसत्ता लिन हतार भएर यस्तो कुरा गरेको होइन, नयाँ विधिको विकास गर्न नसक्दा प्रतिक्रान्ति हुने रहेछ । प्रतिक्रान्ति रोक्न विधिको विकास गर्न खोजेका मात्रै हौं । उहाँहरुलाई अपमानित र कमजोर पारेर पार्टी बलियो पनि हुँदैन, प्रतिक्रान्ति पनि रोक्न सकिंदैन । उहाँहरुमा वैचारिक प्राधिकार रहने गरी एउटा नयाँ संरचना पार्टीभित्र बनाउनु पर्छ ।

यसले प्रमाणित हुन्छ कि, कम्युनिष्ट पार्टीका नेताहरु एक पटक सत्तामा पुगेपश्चात कि मरेपछि, कि मारेपछि मात्रै सत्ता छाड्दा रहेछन् । आजिवन सत्तामा बस्ने मोडेलले आज कम्युनिष्टहरुलाई कहाँ पुर्याउँदै छ ?

 

लेनिन, स्टालिनपछि रुस, माओपछि चीनमा प्रतिक्रान्ति भयो । पेरुमा गोञ्जालो जेल परेपछि साइनिङ पाथको नामनिसानै हरायो । यस्ता दर्जनौं उदाहरण हाम्रा सामु छन् । विधि विकास गर्न सकेनौंभने हाम्रो यहाँ पनि त्यस्तै हुन्छ । अहिलेबाटै उहाँहरुले आफ्नो सांगठनिक प्राधिकार नयाँ पुस्तालाई सुम्पँदै जानुभयोभने भोलि यसले उत्तराधिकारी निर्माण हुन्छ र प्रतिक्रान्ति रोकिन्छ ।

‘२१औं शताब्दीमा जनवादको विकास’ भन्ने संगठनात्मक प्रस्ताव २०५९ मा रोल्पाको दुम्लामा भएको केन्द्रिय समितिको बैठकले पारित गरेको थियो । त्यो प्रस्तावको मूल मर्म भनेको चक्रिय प्रणाली हो । यसभित्र दुईटा कुराहरु छन्, पहिलो ‘एक व्यक्ति एक कार्यकारी पद’ र दोश्रो, ‘एक कार्यकारी पद दुई कार्यकाल’ । एकै व्यक्तिमा सधैं सबै स्रोत, साधन र शक्ति केन्द्रित गर्नुहुँदैन । नेतृत्व भनेको सामूहिकताको केन्द्रीकृत अभिब्यक्ति हो । सधैं एउटै ब्यक्तिमा शक्ति, स्रोतसाधन केन्द्रित भयरह्योभने त्यो नेता नचाहेर पनि निरंकुश बादशाह बन्न पुग्दछ । त्यहाँ सामूहिकताको अन्त्य हुन्छ र एउटा ब्यक्ति हावी हुन पुग्दछ । र, अन्ततः प्रतिक्रान्ति हुन जान्छ ।

अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिंगटनलाई जनताले जिन्दगीभर राष्ट्रपति चलाऊ भनेका थिए । तर उनी एक कार्यकालभन्दा दुई कार्यकाल राष्ट्रपति बन्न मानेनन् । २७ वर्ष जेल जीवन बिताएका नेल्सन मण्डेलाले पनि एक कार्यकालभन्दा बढी राष्ट्रपति चलाउन मानेनन् ।

एक कार्यकारी पद दुई कार्यकालको कुरा गर्दा हामीले विश्व कम्युनिष्ट आन्दोलनका बिभिन्न उदाहरण हेर्यौंभने सकरात्मकभन्दा नकरात्मक कुरा बढी पाउँछौं । लेनिन सन् १९२४ मा ५२ वर्षकै उमेरमा बित्नुभयो । वहाँको मृत्यूपछि विश्व कम्युनिष्ट आन्दोलनमा जुन–जुन देशमा कम्युनिष्ट पार्टीका नेताहरु आन्तरिक वा बाह्य सत्ताको निर्णायक ठाउँमा पुगे, तिनीहरु जिन्दगीमा कहिल्यै पनि कार्यकर्ता बन्न तयार भएनन् ।

naya shaktiस्टालिन सन् १९२२ मा महासचिव बनेपछि आजिवन शक्ति केन्द्रमै बसिरहनुभयो । स्टालिनले ३२ वर्ष शासन गर्नुभयो । माओत्सेतुङ सन् १९३५ देखि १९७६ सम्म अर्थात् नमर्दासम्म सत्तामै रहिराख्नुभयो, किमइल सुङ पनि १९४६ देखि १९९४ सम्म सत्तामै रहिराख्नुभयो । फिडेल क्यास्ट्रोको पनि हामीले त्यही देख्यौं । रुमानियाको चाउचेस्कुलाई जनताले थुतेर मृत्युदण्ड दिए । यसले प्रमाणित हुन्छ कि, कम्युनिष्ट पार्टीका नेताहरु एक पटक सत्तामा पुगेपश्चात कि मरेपछि, कि मारेपछि मात्रै सत्ता छाड्दा रहेछन् । आजिवन सत्तामा बस्ने मोडेलले आज कम्युनिष्टहरुलाई कहाँ पुर्याउँदै छ ?

हाम्रो अध्यक्ष क.प्रचण्ड पनि २५ वर्षदेखि पार्टीको मुख्य नेताको रुपमा रहँदै आउनु भएको छ । यसको अर्थ हामीले उहाँको ब्यक्तिगत रुपमा बिरोध गर्न खोजेका हौं त ? पक्कै पनि होइन । हामीले विधि निर्माण गर्न खोजेका मात्रै हौं । एउटा प्रमाणित तथ्य के हो भने स्थिर नेतृत्व रुढिवादी हुन्छ । यसले फरक मतलाई दमन गर्छ । नयाँ कुरालाई अस्वीकार गर्दछ । किनकि, स्थिर नेतृत्व पार्टीमा गुट नबनाई टिक्नै सक्दैन । उसले बिस्तारै आफू अनुकूलको संरचना बनाउँदै जान्छ । कुनै दिन यस्तो अवस्था सिर्जना हुन्छ पार्टीभित्र, त्यो संरचनामा सुधार सम्भव नै हुँदैन । त्यो संरचना नै भत्काउनु पर्ने हुन्छ । आज हामीले नयाँ शक्तिअन्तर्गत गर्दै गरेको बहसको मर्म यहाँ छ । हामीलाई लागेको छ, अब हाम्रो पार्टी अहिलेको पुरानै संरचनाबाट अगाडि जाँदैन ।
कम्युनिष्टहरुले नेतृत्व प्रणालीमा पुँजिवादीहरुले जति विकास गर्न सकेका छैनन् । म दुईवटा मात्र उदाहरण दिन्छु । अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिंगटनलाई जनताले जिन्दगीभर राष्ट्रपति चलाऊ भनेका थिए । तर उनी एक कार्यकालभन्दा दुई कार्यकाल राष्ट्रपति बन्न मानेनन् । २७ वर्ष जेल जीवन बिताएका नेल्सन मण्डेलाले पनि एक कार्यकालभन्दा बढी राष्ट्रपति चलाउन मानेनन् । के यसले उनीहरुको लोकप्रियता कम भयो ? भएन, झन बढ्यो ।

हामीले अहिले भनेको कुरा के हो भने एक कार्यकारी पद दुई कार्यकाल । १९औं शताब्दीको ५० बर्ष अहिलेको १० वर्ष बराबर हो । मोदी प्रधानमन्त्री बनेको धेरै भएको छैन, प्रत्येक महिना एक एक नयाँ लोकप्रिय कार्यक्रम घोषणा गरेकै छन् । कार्यक्रमको परिणाम दिएकै छन् । सही ढंगले नेतृत्व दिने हो भने गर्न धेरै समय लाग्दैन । तसर्थ, एक कार्यकारी पदको लागि दुई कार्यकाल काफी हुन्छ । अब हाम्रो पार्टीभित्र अध्यक्ष क.प्रचण्डले क.बाबुरामलाई एक बर्षभित्र बिशेष महाधिवेशन गरेर हार्दिकतापूर्वक अध्यक्ष पद हस्तान्तरण गर्नु पर्छ ।

मैले यसो भनिरहँदा प्रचण्ड र बाबुराम उमेरको हिसाबले एकै सालका हुन्, अनि बाबुरामलाई किन अध्यक्ष बनाइरहनु पर्यो ? सिधै युवा पुस्तालाई हस्तान्तरण गरे भइहाल्यो नि ! भन्ने तर्क पनि आउन सक्दछ । मेरो बुझाई के हो भने, अहिले युवा पुस्ता स्थापित र ट्रेण्ड छैन । क. बाबुरामले युवा पुस्तालाई स्थापित र ट्रेण्ड बनाउने जिम्मा पनि लिनु पर्छ । त्यसपछि उहाँले युवा पुस्तालाई नेतृत्व हसतान्तरण गर्नु पर्छ ।

हाम्रो पार्टीभित्र अहिले नेताहरुको उमेरको हदबन्दीबारे पनि बहस भइरहेको छ । एउटा सत्य कुरा के हो भने संसारका जति पनि वैज्ञानिक आविष्कार र ठुलठुला राजनीतिक क्रान्ति भएका छन्, त्यसको नेतृत्व उमेरको हिसाबले मूलतः २५ देखि ४५ बर्षभित्रकाले गरेका छन् । कार्ल माक्र्सले एंगेल्ससँग मिलेर २८ बर्षको उमेरमै कम्युनिष्ट घोषणा–पत्र लेखेका थिए । हाम्रै अध्यक्ष क.प्रचण्ड पनि ३७ बर्षको हुँदा महमन्त्री बन्नु भएको थियो । पुँजिवादी मुलुकहरुमा पनि यस्ता उदाहरणहरु प्रशस्तै पाइन्छन् । बेलायतका विलियम हेग ३६ बर्ष र डेभिड क्यामरुन ३९ बर्षको उमेरमा कन्जरभेटिभ पार्टीको नेता बनेका थिए । बेलायतकै अर्को प्रमुख दल लेबर पार्टीको नेता टनी ब्लेयर पनि ४१ बर्षमा दलका नेता बनेका थिए । उनी ४४ बर्षमा प्रधानमन्त्री बने र १० बर्षसम्म बेलायतको नेतृत्व गरे । तसर्थ, सास रहुञ्जेल पदमा बस्नुभन्दा ऊर्जाशील युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विधि पुराना पुस्ताका नेताहरुले बनाउनु पर्दछ ।

म अब केही मनोवैज्ञानिक अर्थात् अहंको कुरा गर्न चाहन्छु । अहंलाई अंग्रेजीमा इगो (Ego) भनिन्छ । अहं बिनाको मान्छे हुँदैन । इगोलाई ठिक ढंगले व्यवस्थापन गर्न सकिएन भने मानव सभ्यतालाई ध्वस्त गरिदिन सक्छ । नेपोलियन, हिटलर, मुसोलिनी, लेनिन, स्तालिन, माओ सबैमा इगो थियो । कसैको इगोले मानव सभ्यतालाई अघि बढाउन ठूलो सहयोग गरेको छ भने कसैको इगोले मानव सभ्यता ध्वंस पार्न भूमिका खेलेको छ ।

इगोलाई हामी कसरी बुझ्दछौं ? पार्टी, संगठनमा इगोलाई कसरी व्यवस्थापन गर्दछौं ? यो धेरै महत्वपूर्ण कुरा हो । इगोका तीनवटा रुप हुन्छन्– लघुताबोधी, उच्चताबोधी र रचनात्मकताबोधी । लघुताबोधी मानसिकताले दासत्व स्वीकार गर्दछ । यस्तो मानसिकता बोकेको ब्यक्तिले कुनै न कुनै शक्ति केन्द्रको आडबिना आफ्नो अस्तित्व देख्दैन । उच्चताबोधी मनोवृत्ति यसको ठिक उल्टो हुन्छ । यसले आफूलाई शासक र अरुलाई शासित देख्छ । र, अरुलाई दास बनाउँछ । हेर्दा अलग अगल आयाममा देखिए पनि यी दुबै इगोले समाज र पार्टीमा दास र मालिक जन्माउने काम गर्छ । परिणाम समाजमा द्वन्द्व सिर्जना गर्छ र समाजलाई विनासतिर धकेल्छ । अहिले हाम्रो पार्टीभित्र पनि यो कुनै न कुनै रुपमा देखिन्छ ।

सरकार वा सार्वजनिक लाभको पदमा एकै समयमा मूलतः श्रीमान–श्रीमती वा एकाघरका सदस्य नबस्ने तर पार्टीभित्र एउटै कमिटि र एकै समयमा बस्न सक्ने विधि बनाउन आवश्यक छ ।

रचनात्मकताबोधी अहंले सहकार्य र समभाव राख्दछ । यसले न कसैको शासन स्वीकार गर्दछ, न कसैलाई मालिक मान्दछ । पार्टीभित्र नेताहरु शासक र कार्यकर्ताहरु शासित होइनन्, उनीहरु एकअर्काका सहयोगी र परिपुरक हुन् । हरेक तहको पार्टी कमिटिभित्र रचनात्मकताबोधी अहं विकास गर्न सकिएनभने त्यसले कमिटिमा गुटबन्दी सिर्जना गर्दछ र पार्टीलाई बिघटनमा पुर्याउँदछ । त्यसो हुनाले अहंलाई सामान्य ढंगले नबुझौं ।

अन्त्यमा, राज्यसत्तामा सर्बहारा अधिनायकत्व (?) र पार्टीसत्तामा जनवादी केन्द्रीयता हुन्छ । पार्टीभित्रको केन्द्रीयता भनेको अधिनायकत्व होइन, स्वैच्छिक हुन्छ । किनकि, पार्टी भनेको वैचारिक सत्ता हो । तर बिडम्बना, मालेमावादका प्रयोगकर्ताहरुले सर्बहारा अधिनायकत्व र जनवादी केन्द्रीयतालाई गाजेमाजे पारेर प्रयोग गर्ने गरेका छन् । मूलतः स्तालिनबाट सुरुवात भएको यस कमजोरीलाई विश्वभरि र नेपालमा पनि कम्युनिष्टहरुले मोडेलको रुपमा प्रयोग गर्दै आइरहेका छन् । जसको कारण, पार्टीभित्र गुट, उपगुट, टुटफुट र राज्यसत्तामा प्रतिक्रान्ति हुने गरेको छ ।

अन्त्यमा मेरो एउटा प्रस्ताव छ– पार्टी र सरकार अर्थात् सार्वजनिक लाभको पदमा मूलतः श्रीमान–श्रीमती वा एकाघरका सदस्य एउटै कमिटि र समान हैसियतको पदमा एकै समयमा बस्न पाइने कि नपाइने ? आज खासगरी हाम्रो पार्टीभित्र भुसको आगो जस्तै भित्रभित्रै असन्तुष्टिको आगो सल्किरहेको छ । यसलाई नीति र विधिको विषय नबनाएर नैतिकताको प्रश्न बनाउनु पर्छ भन्ने तर्क पनि छ । तर अब यसलाई नैतिकताको प्रश्न बनाएर समस्याको समाधान हुँदैन ।

जनयुद्धबाट आएको पार्टी हुनाको नाताले पार्टीभित्र श्रीमान–श्रीमती मात्रै होइन, परिवारका सबै सदस्यहरु नाफाको जिन्दगीसहित अहिले पनि राजनीतिमा सक्रिय छन् । निश्चित नीति, विधि नबन्दा यस विषयले पार्टी मात्रै होइन, व्यक्तिगत नाता सम्बन्ध पनि विघटनतिर लैजादै छ । अधिकारको हिसाबले समान भए पनि पार्टीभित्र अरु नेता, कार्यकर्ता र बाहिर जनतामा पर्न जाने नकरात्मक प्रभावलाई ख्याल राख्दै अनि त्याग, बलिदानको सर्बहारा संस्कृतिलाई अझ समृद्ध गर्न सरकार वा सार्वजनिक लाभको पदमा एकै समयमा मूलतः श्रीमान–श्रीमती वा एकाघरका सदस्य नबस्ने तर पार्टीभित्र एउटै कमिटि र एकै समयमा बस्न सक्ने विधि बनाउन आवश्यक छ ।

हामीले बहस गर्न चाहेको संगठनात्मक संरचना, विधि, पद्धति र नेतृत्व प्रणालीको बारेमा आधारभूत कुराहरु यिनै हुन् ।

(नेता श्रेष्ठले पार्टीको एक भेलामा दिनुभएको वैचारिक, राजनीतिक प्रशिक्षणको सम्पादित अंश ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय