scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

बादल, कांग्रेस र धार्मिक स्वतन्त्रता

मदन भण्डारी
मदन भण्डारी
मदन भण्डारी

बादलले ओजोन तहमा विकिरणलाई रोक्छ । यसले आफूभित्र पानी बोक्छ । पीडाका क्षणमा बादलले मान्छेलाई भावनात्मक राहात दिन्छ । खुसीमा अविदितको यात्रा गराउँछ । गर्मीको छटपटाहटमा शीतलता प्रदान गर्छ । खडेरीको बेला आकाशको बादलले किसानको मनलाई साह्रै पुलकित पार्छ । भ्यागुताको ट्वार्र–ट्वार्र मीठो संगीत लाग्छ । माछापुच्छ्रेको फेदीबाट टुप्पातिर उड्दै गरेको बादल वा लेखनाथ बाको अर्चले पाखामाथि उड्ने बादल पोखरेली परिवेशमा अत्यन्त मनोहारी लाग्छ । ‘टाढा पर्‍यो अर्चले ….!’ काठमाडौंमा लेखनाथ पौडेल भक्कानिन्थे । अब त अर्चले टाढा छैन । लेखनाथ चोकमै ठडिएर लेखनाथ पौडेल आफ्नै थातथलोको संकेत गर्छन् । लेनपा नजिकको तीर्थ हो । साहित्यिक तीर्थस्थल हो । सात तालको बगैँचा शहर हो । यहीँ २०७२ साउन २९ गते शुक्रवार धूँवाको बादलले आकाश ढाक्यो । यहीँका कांगे्रसे कार्यकर्ताहरुले धूँवाको बादल सिर्जना गरे । नेपाली कांग्रेस पार्टीकै सोचाई र संस्कार बुझ्न अप्ठ्यारो पारे ।

‘कांग्रेसमा सुविधा भोगीहरु हावी हुनेछन् र यो पार्टी चीनको कोमिङ्ताङ् पार्टीजस्तै बिलाएर जाने छ ।’ विपी कोइरालाको यो उद्घोषलाई लेखनाथको बादल प्रकरणले सिद्ध गर्न खोजेको छ ।

मार्ने कांग्रेस, मर्ने कांग्रेस, सरकारको नेतृत्व कांग्रेसको, दुःख व्यहोर्नुपर्ने अबोध जनताले ? यो भएन, पटक्कै भएन ।

देउवा पक्षले बहुदलीय प्रजातन्त्रलाई राजाको पाउमा चढाएको साँचो हो । गिरीजाप्रसाद कोइराला पक्षले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई फ्वाँक्कैमा प्रधानमन्त्रीको कुर्सीबाट गलहत्याएको पनि उत्तिकै साँचो हो । खाँचो संस्कारको हो । हामी गणतन्त्र संस्थागत् होस् भन्ने चाहन्छौँ । हामी लोकतन्त्र पद्धतिको रुपमा विकसित होस् भन्ने चाहन्छौँ । समाजको सीमान्तकृत मान्छेले पनि उचित सम्मान पाउन भन्ने चाहन्छौँ । नेपाली कांग्रेसबाटै त्यो सम्भव देख्ने नेपालीहरुको संख्या ठूलो छ । र, नेपाली कांग्रेस अहिलेको नेपालको सबभन्दा ठूलो पार्टी पनि हो ।

‘सबै कुरा छाडेर पुच्छरमा हात !’

कांग्रेस अहिले यही गर्दै छ । जित्दै छ, तर हारको मानसिकताले ग्रस्त छ । धर्मको इस्यूमा कांग्रेसले जित्दै गरेको स्थितिमा अरुले डाहा गर्नै पर्दैन । ईख लिए हुन्छ ।

प्रचण्ड–बाबुरामले गिराजालाई थाहै नदिई धर्मनिरपेक्षता शव्द संविधानमा घुसाएका हुन् भन्ने कांग्रेसीहरु पनि छन् । होला, हुन पनि सक्छ । हामीले ठानेकै पनि हो । तर, अस्ति एबीसी टिभीमा कमलनयनाचार्यले त्यो झूटको पर्दा च्यातिदिए । भने, ‘गिरिजाबाबुले हात जोडेकैले मैले ऊ बेला धर्मनिरपेक्षताको विरोध गरिनँ ।’

अहिले धर्म निरपेक्षताको विरोध चर्केको छ । वर्षमान पुनले धर्म निरपेक्षताको विरोधमै मुख खोले । प्रचण्ड–बाबुराम मौन सम्मति दर्शाउँदै छन् । धार्मिक स्वतन्त्रताको आवाज बलशाली बनेको छ । कांग्रेसले हाम्रो एउटा ताराको अर्थै त्यही हो भनेको छ । सन्तमहन्त, साहुमहाजन र कमल थापा लडेका छन् । जित कांग्रेसको पोल्टामा परेको छ । यही बेला कांग्रेसीहरु ‘पुच्छरमा हात’ गर्दैछन् । सुशीलको अन्त्यपछि ज्ञानेन्द्र पछिको राजतन्त्रजस्तै कांग्रेस अस्ताउन खोज्दै छ । लोकतान्त्रिक अभ्यासका लागि नेपालमा अझै कांग्रेसको आवश्यकता छ ।
दौड प्रतियोगितामा सेतालाई कालाले जित्दा हिटलर केही दिन पुरै बहुलाएका थिए रे । २०६४ को चुनावमा माओवादीले जित्दा धेरै कांग्रेसीहरुको हालत् त्यस्तै भएको थियो ।

‘काट् तर भ्या गर्दिनँ’ भन्ने भेडाझैं माओवादीसितको सरकारमा बसेर ऊ संविधान लेख्न मञ्जुर भएन । सत्ताविनाको कांग्रेस पानी बिनाको माछो भइहाल्छ ।

अहिले पनि माओवादीका मतदाताहरुलाई कतिपय कांग्रेसीहरु मान्छे ठान्दैनन् । भल तर्काई माग्दा भल सोझ्याइदिन्छन् । पोखरामै हुनुपर्ने ‘सिंचाई डिभिजन कार्यालय–२’ एकजना कांग्रेसी नेताको बलले स्याङ्जा सारिएको छ । एमाले, एमाओवादी र तराइका जमिन्दार नेताहरुलाई भ्रष्टीकरण सिकाउने कांग्रेसै हो भनिँदा अतिशयोक्ति लाग्न सक्छ, तर सत्य यही हो ।
जनयुद्धको विभत्सतालाई कांग्रेसी मिडिया र बुद्धिजीवीहरुले पुञ्जीकृत गरे । प्रचण्डलाई स्टालिनको विशेषण भिराए । इतिहास साक्षी छ, स्टालिनकै रणकौशलले फाँसीवादलाई ठेगान लगाएको थियो । ‘लेनिन एक अध्ययन’ पृ.१० मा प्रदीप गिरी लेख्छन्, ‘लेनिनको उदयकालको रुसमा आतंकवादी परम्परा अत्यन्त प्रवल थियो । आतंकवादी तरुणहरु व्यक्तिगत चरित्र र पराकम्पका उत्कृष्ट उदाहरण थिए तर उनीहरु असंगठित थिए । आतंकवादीहरुको दुरदशाबाट लेनिनले स्पष्ट पढे, बलियो केन्द्रीय संगठन नभई नहुने रहेछ ।’
लेनिनले पढेको पाठ नेपालका सबै दलकालागि उत्तिकै पठनीय हुनसक्छ । रामजी पौडेल ‘बादल’ को वीरता प्रत्युत्पादक नै सावित भयो । बादल धर्तीमा पानी भएर बसिँदा मात्रै सार्थक हुन्छ । बादलकै निहुँमा बाटो बन्द गरिनुको कुनै तुक छैन । प्रधानमन्त्री–गृहमन्त्रीलाई दवाव देऊ । जनतालाई सास्तीमा नपार । दण्डहिनताको अन्त्य नै बादलप्रतिको सच्चा श्रद्धाञ्जली हुन सक्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय