scheduleआइतवार आश्विन ११ गते, २०७७

खग्रास, बुद्धिजीवी र नेपाली राजनीति

जून वा घामलाई पुरै ढाक्ने ग्रहणलाई खग्रास भनिन्छ । नेपाली राजनीतिलाई बुद्धिजीवीहरुको ग्रहणले सधैँ अँध्यारो पारेको छ भन्नु हुँदैन तर सत्य त्यही हो । नेतागणलाई अचाक्ली गाली गर्न जान्ने बुद्धिजीवीहरु नेताका निगाहमा घाँस चर्न पाउँदा सात आकास उचाल्छन् । हाम्रा वुद्धिजीवी–करामतका अनेक प्रमाण प्रतिदिनका पत्रिका वा सबैखाले मिडियामा छ्यास्छयास्ती पाइन्छ ।

मदन भण्डारी
मदन भण्डारी

ह्यान्स एन्डरसनको ‘बादशाहको नयाँ लुगा’ सर्वयुग रोचक कथा हो । सूर्यबहादुर थापालाई डा. बाबुराम भट्टराईले ‘युग पुरुष’ को विशेषण भिराउँदा लाज आफै लजाएको थियो । बुद्धिजीवी देखेरै पक्की भाषामा भनिएको होला :
‘सरम उसको आती है
जो सर्माती है
मै तो इतना बेसरम हूँ
सरम मुझसे खूद सर्माती है ।’
क्याम्पस पढाउने र केटा लडाउने भाँडहरु अख्तियारद्धारा डामिए पनि ‘कालो मोसो धुँदा गइहाल्छ क्यारे !’ भन्छन् । देख्नेलाई पो लाज हुन्छ । बाटो फोहोर गर्नेहरु हेर्दा सुकिला देखिन्छन् । जङ्गबहादुरले पनि यस्ता वुद्धिजीविहरुको राम्रो परीक्षण गरेको थिए ।
भ्रमणका क्रममा जङ्गबहादुरले आफ्ना सल्लाहकार बुद्धिजीवीहरुको बुद्धि जाँच्न चाहे । जङ्गलको बिसौनीमा एउटा बाङ्गो–बाङ्गो रुख देखाउँदै ‘यो रुख सोझो रहेछ !’ भने । कुनै बुद्धिजीवी दौडिँदै रुखभन्दा केही टाडाको दूरीमा उभिएर हातको दुरवीन बनाउँदै हेरेर भने – ‘हो, सरकार रुख वास्तवमा सोझो रहेछ !’ अर्काे रुखको फेदमै उत्तानो परेर सुत्यो ।

बोल्यो, ‘सरकार ! रुख सोझो रहेछ !’ एवम् रीतले सबैले रुखलाई सोझो बताए । एकजना जनजातिको मान्छे । होँचो–होँचो कदको भरिया । भारी बिसाएर चौतारीमा बसेको थियो । निधारको रातो टीका पसिनाले बगेर गालादेखि घाँटीसम्म रातो भएको थियो । आँखाको पसिना पुछ्दै भन्यो – ‘खै, राजाको आँखा फुटेको हो कि मेरो गर्दन चिलाएको हो, म त रुखलाई बाङ्गै देख्छु !’ जङ्गबहादुरले उसको इमानको कदर गरेका थिए रे ।

बुद्धिजीवीहरुको उफ्राईलाई देखाउदै त्रिलोचन ढकालले लेखे– ‘झाडाबान्ताको बिरामी बच्चाको उपचारार्थ अविभावकले मुख र गुँद्द्वारमा हातले छेकेको देखियो !’

संविधान सभा–२ को चुनावपछि नेपालमा काङ्ग्रेस–एमालेको संयुक्त सरकार बन्यो । ‘यै हो, संसदीय व्यवस्थाको सौन्दर्य !’ बुद्धिजीवीहरु चिच्याए । राजनीति शास्त्रका साामान्य विद्यार्थीहरुलाई यो आश्चर्यको विषय बन्यो । बुझाई अनुसार पहिलो ठूलो दल सरकारमा जाँदा दोस्रो ठूलो दल प्रमुख प्रतिपक्षी भएर बस्नुपर्ने हो । ०५६ को चुनावताका माले काङ्ग्रेससँगको सरकारबाट हट्यो । त्यहाँ एमाले टाँस्सियो । बुद्धिजीवीहरुको उफ्राईलाई देखाउदै त्रिलोचन ढकालले लेखे– ‘झाडाबान्ताको बिरामी बच्चाको उपचारार्थ अविभावकले मुख र गुँद्द्वारमा हातले छेकेको देखियो !’

यत्तिखेर यस्तो दृश्यको राजनीति खुबै देख्न पाइन्छ । पोखराको बादल हत्याकाण्ड त एउटा सानो प्रतिनिधि घटना मात्रै हो । चोक–चोकको चिया पसलमा बुद्धिजीवीहरु पुङ् न पुच्छरको गफ चुटेरै दिन काट्छन् । भन्छन्, ‘मानव चोला अमूल्य छ !’ स्नान गर्ने भनेरै बाल्टीनका बाल्टीन पानी पाउमा पोखाउँछन् । राम्ररी शरीर मिचेर दुई बाल्टीन पानी शिरदेखि खन्याउने जाँगर प्रायैले गर्छन् । हिँड्दा–हिँड्दा पैतालादेखि खिइएर टुप्पी मात्रै लिखिर–लिखिर घर फर्केको गँजडी गफ महाकवि देवकोटाले सायद यस्तै बुद्धिजीवीबाट सुने होलान् ।
सबै बुद्धिजीवीहरुलाई ‘एक ही थैलीका चट्टेबट्टे’ भन्नु हुँदैन ।

बुद्धिजीवीको गौरव र गरिमालाई धान्नेहरु पनि छन् । जीवनको क्षणभंगुरता र अमरतालाई बुझ्ने र सत्यलाई पुज्नेहरु पनि छन् । सबै लेख्नेहरुलाई सेतोमा कालो पोत्ने ठान्नु पनि उचित हुँदैन । अहिलले हामीकहाँ डीपी भण्डारी, निनु चापागाइँ, सिकेलाल, अभि सुवेदी, खगेन्द्र सङ्ग्रौला आदि सत्यका लागि कलम घोट्नेहरु पनि छन् । खगेन्द्र सङ्ग्रौला लेख्ने नयाँ पुस्ताका निकै ठूला आदर्श हुन् । यिनको ०७२ साउन २ को एक दैनिकमा प्रकाशित आलेख चर्चायोग्य लाग्छ ।
‘ती को थिए, यी के भए ?’ शीर्षात्मक लेखमा खगेन्द्र सङ्ग्रौला भन्छन् – ‘जो जति माथिबाट खस्छ, ऊ त्यति बढी चकनाचुर हुन्छ । आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुपकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन् ।’ १२ बुँदे प्रति उच्च सम्मान र १६ बुँदे प्रति तीव्र घृणा ओकल्दै सङ्ग्रौला अगाडि लेख्छन् – ‘१६ बुँदेमा सहीछाप गर्नु अघि र त्यसपछिको एमाओवादी एउटै होइन । यो सहीछापसँगै एमाओवादीले प्रतिपक्षको मैदान त्याग्यो, आफ्ना एजेण्डा त्याग्यो, सहयात्री राजनीतिक दलहरुलाई त्याग्यो, मुक्तिकामी जनतालाई त्याग्यो, निस्कामकर्मी बौद्धिकहरुलाई त्याग्यो ।’

यी पङ्तिहरुको आलोकमा प्रष्ट देखिन्छ महान लेखक खगेन्द्र सङ्ग्रौलाले प्रचण्डसँगको मैत्रीलाई त्यागेछन् । हामी इतिहासतिर फर्किन बाध्य हुन्छौँ । रुसी क्रान्तिका अन्तिम दिनहरुमा लेनिन् प्रायः सबै पुराना साथीहरुबाट परित्यक्त थिए । प्रदीप गिरी ‘लेनिन् एक अध्ययन’ पृष्ठ २९ मा लेख्छन् – ‘१९१७ का वर्षहरु क्रान्तिका निमित्त घोर निराशाका वर्षहरु थिए । कुरो यत्ति हो, लेनिन् भने निराश थिएनन् ।’

‘पुष्प र केपी बिछट्टको राजनीतिक प्रणयलीला’ खगेन्द्रजीलाई पटक्कै मनपरेको छैन तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । स्वयम् खगेन्द्रजीले नरहरि आचार्य र गगन थापासँग आफू टाडिएको बताउनु भएको छ । निजहरुलाई चुनाव जिताउन धम्मरधूस गर्नुभएको पनि साँचो होइन र ?

कृष्ण धरावासी भन्छन् – ‘लेखकले जे जे लेखे भनेपनि वास्तवमा उसले आफ्नै कुण्ठा लेखेको हुन्छ ।’ के ठूला साहित्यकार खगेन्द्र सङ्ग्रौलाले कुण्ठाकै अभिव्यक्ति पोखेका त होइन ? के उनी केपी सितको रिसले प्रचण्ड तिर खनिएका त हैनन् ? देशमा पश्चगामी तत्व छँदै छैन भने झैँ गरेर सङ्ग्रौला लेख्छन्, ‘को हो यो पश्चगामी तत्व ? पूर्व राजा ज्ञानेन्द्र ? ज्ञानेन्द्रका अनन्य सेवक कमल थापा ? कि ‘साक्षत् भग्वान’ कमल नयनाचार्य ?’ यी तत्व त्यति कमजोर छैनन् ।

‘पुष्प र केपी बिछट्टको राजनीतिक प्रणयलीला’ खगेन्द्रजीलाई पटक्कै मनपरेको छैन तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । स्वयम् खगेन्द्रजीले नरहरि आचार्य र गगन थापासँग आफू टाडिएको बताउनु भएको छ । निजहरुलाई चुनाव जिताउन धम्मरधूस गर्नुभएको पनि साँचो होइन र ? संविधान शक्ति सन्तुलनको दस्तावेज हो । खग्रास, बुद्धिजीवी र नेपाली राजनीतिमा धेरै कुराको सामाञ्जस्य छ । सामान्य मान्छेलाई त्यो उचित लाग्दैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय