scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गगनजी ! घैंटेको प्रेतात्मा बोकेर कति दिन राजनीति गर्ने ?

सुदर्शन खतिवडा

मुलुकमा सम्भावना भएका नेताहरुको खडेरी छ । जब लालबाबुले डिभी र पिआरको कुरा उठाउँछन्, उनको जयजयकार हुन्छ । जब गोकर्ण विष्टले बिल नतिर्नेहरुको बिजुलीको लाइन काट्छन्, उनी रातारात लोकप्रिय हुन्छन् । राजस्व संकलन गर्ने र रोड फराकिलो बनाउने बाबुराम मुलुक कार्यकारी राष्ट्रप्रमुखको पक्षमा गए निर्विकल्प नेतृत्वका रुपमा उभ्याइन्छन् ।

सुदर्शन खतिवडा
सुदर्शन खतिवडा

खासमा यी नेताहरुले कुनै उल्लेखनिय काम गरेकै होइनन्, बिजुलीको लाइन काट्ने त कर्मचारीले हो नि ! सामान्य प्रशासनमा हजार विकृति छन्, भन्ने नै हो भने नेपाल पछाडि पर्नुमा राजनीतिक नेतृत्वको जति दोष छ, त्यसकै हाराहारीमा स्थायी सरकार मानिने कर्मचारीतन्त्रको पनि छ । नाथे डिभी र पिआरको कुरा त सामान्य कुरा हो, तै पनि लालबाबु वाह वाह छन्, गोकर्ण वाह वाह छन् ? यो किन ?

यो किनकी नेपालीहरु महिनौंदेखि पानी नपाएर मरुभूमिमा तिर्खाएका यात्रीजस्ता भएका छन् । यहाँ एक थोपा पानी पाउँदा पनि अमृत पाएजस्तो हुन्छ । साँच्चै भन्ने हो भने यहाँका नेताहरु राम्रोसँग भाषण गर्न पनि जान्दैनन् । छन् एकाध नेताहरु जो बोल्न जान्दछन् । ती मध्ये एक हुन् गगन थापा । उनी कर्तव्य पूरा गरेर भन्दा मन्तव्य राम्रो दिएर लोकप्रिय भएका नेता हुन् ।

गगन यदि क्षमतावान हुन् भने उनी जुन हैसियत र भूमिकामा छन्, अहिलेसम्म धेरै काम गरिसक्नुपर्दथ्यो । तर उनी केवल प्रतिक्रियात्मक भाषणबाजीको वैशाखीमा मात्र उभिने नेता बनेका छन् । तैपनि गगन थापा एउटा सम्भावना बोकेका नेता हुन्, हामीले मान्दै आएका छौं । किनकी, कारण फेरि पनि दोहोर्याउँ, नेपालीहरु मरुभूमिमा बाटो बिराएका यात्रुजस्ता भएका छन्, जसले एकअम्खोरा पानी पिउन दिने भन्दा कसैले देखाइदिए मात्रै पनि प्यास मेट्न सक्छन् ।

चरी र घैंटेहरु उनीहरुका आमाले जन्माएको पात्र होइनन् । उनीहरु दिनेश र कुमारको रुपमा जन्मिएका थिए । आम मानिसजस्तै । गुण्डा र आतंकको पुच्छर समातेर राजनीतिक वैतरणी तर्ने राजनीतिक पार्टी, नेतृत्व र राजनीतिक संस्कार मुख्य रुपमा दोषी छन्, जसले दिनेश र कुमारलाई चरी र घैंटेको रुपमा पुनर्जन्म दिए ।

अहिले तिनै गगन एकाएक घैंटेसँग जोडिएका छन् । कुनै पनि घटना सतहमा आउनुका पछाडि लामो पृष्ठभूमि हुन्छ । रातारात कोही कसैसँग जोडिनु दुर्लभ घटना हुन्छ । यसअघिका बजारहल्लाहरुबाट पनि बुझ्न सकिन्छ, घैंटेसँग गगन जोडिनु त्यो दुर्लभ घटना हुँदैहोइन । हो, घैंटे मारिए । हत्या भयो कि इन्काउन्टर ? अनुसन्धानबाट थाहा होला । जे होस् उनी मारिए ।

यसैगरी काँग्रेसका एकजना लोकप्रिय नेता बादल पनि कास्कीमा मारिए । उनको बारेमा खासै कुरा उठेन । उनको हत्यालाई पानी नपर्ने बादलजस्तै हल्का रुपमा लिइयो । उनको हत्याको छानबीन गर्न मानव अधिकार आयोगमा कोही गएनन् । उनलाई सहिद घोषणा गर्न पनि माग गरिएन । उनको नाममा कुनै गल्लीको नाम राख्न आवाज उठेन । उनको हत्यामा टेबल ठोकेर सदनमा आवाज उठाइएन । तर घैंटे रातारात चर्चामा आए । आम मानिसको मनोविज्ञानका कारण पनि यस्तो भएको होला ।

आइतबार एउटा समाचार भाइरल बन्यो । गगन थापा घैंटेको ‘हत्या’बारे छानबीनको माग गर्दै मानव अधिकार आयोग पुगे । अनि अनुसन्धान हुन थाल्यो गगन र गुण्डाहरुको कनेक्सनबारे । मान्छेहरु त्रिचन्द्र क्याम्पस सम्झन थाले, चुनाव सम्झन थाले । आखिर घैंटेको प्रेतात्मा बोकेर मानव अधिकार आयोग किन पुगे गगन ? के यस्ता घैंटेहरुलाई बैशाखी नबनाई गगनको राजनीति सम्भव छैन ? गुन्डागर्दी आपराधिक धाराको एउटा धन्धा हो भने राजनीति परोपकारी धाराको अर्को धन्धा । यहाँ किन यी दुई धन्धा अन्योन्याश्रितरुपमा विकास भइरहेका छन् । यहाँ राजनीतिलाई सघाउन अन्य धन्धाहरु भइरहेका छन् कि अन्य धन्धाहरु चलाउन राजनीतिको मकुण्डो लगाइएको छ ? यो प्रश्नको उत्तर खोज्न केही घटनाक्रमहरु बुझ्न आवश्यक छ ।

सबैलाई थाहा भएकै कुरा हो, ओसामा बिन लादेन आफ्नो युवा अवस्थामा अमेरिकाको लागि काम गर्दथे । उनी अमेरिकाको विश्वासपात्र थिए । तर जब लादेनले प्रजातन्त्रको मकुण्डोभित्र लुकेको अमेरिकाको असली अनुहार पढे, तब उनले अमेरिकाकै विरुद्ध जेहाद छेडे । आफ्नै विश्वासपात्र लादेनको हत्या गर्न अमेरिकाले अन्ततः खरबौं धन र वर्षौंको समय खर्चिनुपर्यो ।अमेरिकाले विश्व शक्तिको केन्द्रमा टिक्न यस्ता उल्लेख्य पात्रहरु खडा गर्दै उपयोगिता सकिएपछि घाँटी रेटेको इतिहास साक्षी छ ।

कुरा देशकै गरौं, नेपाली राजनीतिक रंगमञ्चमा पनि ‘पवित्र लोकतन्त्रान्तिक’ राजनीति गर्न ‘लादेन’का घरेलु संस्करणहरुको निर्माण, उपयोग र कत्लेआम सामान्य बन्दै गइरहेको छ । राणा शासनविरुद्ध कांग्रेसले उठाएको हतियार, झापा विद्रोहताका कम्युनिष्टहरुले उठाएको हतियार र जनयुद्धमा माओवादीले उठाएको हतियारको प्रसंग फरक हो ।

ती राजनीतिक आन्दोलन थिए, सामान्य अपवादबाहेक पवित्र राजनीतिक उद्देश्यका लागि उठाइएका थिए । प्रसंग सामूहिक आन्दोलन, क्रान्ति वा विद्रोहको होइन, यहाँ कुरा गर्न लागिएको राजनीतिक दलभित्रका केही छद्मभेषी पात्रहरुको कुत्सित उद्देश्य पूरा गर्न संरक्षण गरिने गुण्डागर्दीको बिषयमा हो ।

नेपालको राजनीतिमा पञ्चायतले राजनीतिक कार्यकर्ताको दमनको लागि ‘मण्डले’को निर्माण र परिचालन गर्दथ्यो । विचारबाट अलगथलग तर लुटको धन थुपार्ने अभिष्ट राख्ने अहिलेका डनहरु भन्दा एउटा हदसम्म बरु ती मण्डलेहरुलाई सापेक्षिक ठिक मान्नेहरु पनि भेटिन्छन् । उनीहरुको तर्क हुन्छ, कमसेकम महेन्द्रले राष्ट्रियताको नारा त बाँडेका थिए !

शान्ति प्रक्रियामा आएपछि एमाओवादीका दोस्रो पुस्ताका केही नेताहरुले अन्धतापूर्वक बुझेको एउटा कुरा छ, त्यो हो राजनीतिक सत्ता हत्याउन आर्थिक सत्ता कब्जा गर्नु आवश्यक छ । कुनै न कुनै हदसम्म हेड क्वाटरसम्म कनेक्सन भएका यिनीहरुले धेरै जनमुक्ति सेनाका योद्धाहरुलाई ‘दुई नम्बरी धन्दा’ चलाउन बाध्य बनाए । रक्तचन्दनदेखि यार्सागुम्बासम्मको धन्दामा सहभागी हुँदाहुँदै रामहरि ‘हत्याकाण्ड’ घट्यो । त्यसका योजनाकारहरु अहिले मस्तीको जीवन बाँचिरहेका छन् । तर फगत ‘कामदार’को भूमिका रहेका लडाकूहरु जेलनेलदेखि भागाभागको तनावपूर्ण जीवन बाँचिरहेका छन् ।

सुरुमा टोले गुण्डाका रुपमा रहेका धादिङका दिनेश अधिकारी कांग्रेस निकट थिए । पछि उनी एमालेका नेता नै भए । नेतागिरीसँगै उनले गुण्डागर्दीलाई पनि अगाडि बढाए । दिनेशकी आमाले दिनेशलाई एक निर्दोष बालकको रुपमा जन्माएकी थिइन् । तर यो समाज र परिवेशले दिनेशलाई गुन्डानाइके चरीको रुपमा पुनर्जन्म दियो र आफैंले पासोमा थापेर मारिदियो ।

गुन्डानाइकेको बन्दुक र आतंकलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्ने तथाकथित लोकतन्त्रवादी राजनीतिक दलले चरीलाई चुस्नसम्म चुस्यो, उपयोग गर्नसम्म गर्यो । जब रस सकिएर खोस्टा मात्र बाँकी रहे, तब पार्टीभित्रको गुट परिवर्तन गरेकै बहानामा सत्ताको शक्ति प्रयोग गरेर चरीको हत्या गरियो ।

अब यस्ता घटनाहरु अनौठा घटना रहेनन् । कुनै मञ्चन गर्न बाँकी नाटक पनि रहेनन् । राजनीतिमा अपराध र अपराधमा राजनीतिको जबरजस्त मिश्रणले गर्दा यो त लामो अभ्यासद्वारा विकास हुने संस्कृति नै बनिसक्यो । प्रमाण खोज्न अमेरिका पुग्नु नपर्ने भयो ।

सामाजिक सञ्जालहरुमा प्रयोग भएकै भाषामा भन्ने हो भने, ‘चरी सिसाको गोलीले मारिएपछि वामदेव नेतृत्व प्रशासनले घैटो पनि फुटाइदिएको छ ।’ मृत्यू संवेदनशील हुन्छ । यहाँ कुमार घैंटे मारिएको घटनालाई भद्दा मजाक गर्नु अमानवीय काम हो । यो मजाक र रमाइलो भन्दा समस्याको पहिचान र निराकरणका लागि सोच्नुपर्ने बेला हो । नत्र भने मजाक र रमाइलो गर्दा गर्दै हामी यही संस्कारद्वारा लखेटिइरहन्छौं । नमरुन्जेलसम्म । गरिब भएर पिछडिएको देशको नागरिक भएर ।

इन्काउन्टर संस्कार बढ्दै जानु कानुनी शासन कमजोर हुनु हो, यसमा पंक्तिकारको अडिग विश्वास छ । यससँग जोडिएको अर्को भुल्नै नहुने पक्ष चरी र घैटे जन्माउने लोकतन्त्रको ‘ठेकेदार’ दलहरु हुन् । त्यसो त, सत्य सेवा सुरक्षणम्को नारा अलाप्ने प्रहरीमा पनि गुण्डा कनेक्सन डरलाग्दो छ । आफैं हप्ता उठाउनेदेखि गुण्डासँगै प्रत्यक्ष कमिसन माग्ने प्रहरीभित्र मौलाएको संस्कृति कुनै लुकेको कुरा होइन । अनि बाँचुन्जेल घैंटे र चरीको सम्पत्तिमा मोज गर्ने परिवार र आफन्तहरु पनि दोषी छन्, जो मरेपछि मात्र गोहीको आँसु झार्दै मानव अधिकार आयोग धाउँछन् र सडकमा उत्रन्छन् ।

चरी र घैंटेहरु उनीहरुका आमाले जन्माएको पात्र होइनन् । उनीहरु दिनेश र कुमारको रुपमा जन्मिएका थिए । आम मानिसजस्तै । गुण्डा र आतंकको पुच्छर समातेर राजनीतिक वैतरणी तर्ने राजनीतिक पार्टी, नेतृत्व र राजनीतिक संस्कार मुख्य रुपमा दोषी छन्, जसले दिनेश र कुमारलाई चरी र घैंटेको रुपमा पुनर्जन्म दिए । यो आम हाम्रो संस्कार बनिसकेको छ, प्रवृत्ति बनिसकेको छ । यहाँ दुईचार जना डनहरुलाई इन्काउन्टरमा मारेर केही हुने वाला छैन । मुहान धमिलो छ । त्यो यहाँको राजनीति र नेता हुन् ।

कुरा गगनसँगै जोडौं । जब भावी राष्ट्र प्रमुख वा प्रधानमन्त्रीको बारेमा जनमत सर्वेक्षण हुन्छ, त्यतिबेला जनताले बाबुराम भट्टराई, गगन थापालगायतको नाम लिने गर्छन् । यो जनताको विश्वासको कुरा हो । बाबुराम उमेरमा ६० कटिसके । उनी अहोरात्र काममा खटिएका छन् । युवा अवस्थाका रहेका गगनले आफूलाई अथाह विश्वास गर्ने जनता भन्दा जब घैंटेहरुको प्रेतात्मा बोकेर गल्ली गल्लीमा भौंतारिन्छन्, तब उनीप्रतिको जनताको विश्वास टुट्न सक्छ । जब आदर्श मानेका पात्रहरु आदर्शरहित देखिन्छन्, त्यतिबेला जनतामा तिव्र अविश्वास पैदा हुन्छ, यसको राजनीतिक क्षति गगनले मात्र होइन, सिंगो देशले व्यहोर्नुपर्दछ ।

केही प्रतिनिधि प्रतिक्रिया हेरौं, सामाजिक सञ्जाल फेसबुकमा पोखराबाट रामचन्द्र रानाभाट लेख्छन्, ‘डियर गगन थापा, तपाईंप्रतिको मेरो भ्रम आजकै मितिबाट सकियो, तथापि मैले भोट रुख चिन्हमा हाल्ने छु, तिम्रो चुनाव चिन्ह घैंटो रहेछ ।’ गणेश पौडेल लेख्छन्, ‘हिरो हुनु कुनै गाह्रो काम होइन । हिरो भैराख्न सक्नु गाह्रो काम हो । गगन थापा डार्लिङ, तिम्रो कुरो नि थाहा भो ।’

अन्तिममा प्रश्न, गगनजी ! घैंटेको प्रेतात्मा बोकेर कति दिन राजनीति गर्ने ? यो प्रश्न तपाईं नै किन सोधिएको हो भने तपाईंलगायत केही नेताहरुबाट नेपाली जनताले सापेक्षित आशा राखेका छन्, विश्वास गरेका छन् । इतिहासमा रत्नाकर वाल्मिकी बनेका थिए । तर जब तपाईं घैंटेहरु जन्माउने र संरक्षण गर्ने अभियानमा लाग्नुहुन्छ भने यहाँ त वाल्मिकीबाट रत्नाकर बन्ने अभ्यास भइरहेको छ भनेर शंका गर्न मिल्ने कि नमिल्ने ? किनकी अर्तिउपदेश दिन र चिल्ला मिठा कुरा गर्न सजिलो छ तर त्यसलाई जीवन व्यवहारमा उतार्न गाह्रो छ । तपाईंको क्रियाकलापबाट सर्वसाधारण जनताले के बुझ्ने ? जनताको आशा र विश्वासलाई विश्वास नतोड ।

एकपटक फेसबुकमा पोखराका दीपक पराजुलीको प्रतिक्रियालाई राम्रोसँग पढ्न र बुझ्न अनुरोध गर्दछु । यो नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने आवाज हो । दिपक लेख्छन्, ‘वेदान्त भन्छ, ‘पानी भरिएको घैंटोमा देखिने गगन सत्यजस्तो लाग्छ जब घैंटो फुट्छ, तब त्यो गगन मिथ्या थियो भन्ने जानिन्छ ।’ के वास्तविकता यही हो र ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय