scheduleसोमवार आषाढ़ २९ गते, २०७७

संविधानको लटपट, अखण्डको हठ

संविधान आइदिए केही सजिलो हुँदो हो । जलाउनेले जलाए नि चलाउनेले चलाउँदा हुन् । सधैँको बन्द हट्दो हो । काममा जान पाइँदो हो । आफ्नो छानामुनि बसेर आफ्नो माना खान पाइँदो हो …। जनताको चाहना यस्तै छ । अरु त अरु संविधानको अगाडि ‘जन’ शब्द टाँस्नैपर्छको ढिप्पी कस्ने माओवादीहरु पनि कानू मामामा रमाउने भैसकेका छन् । एमाओवादी र काङ्ग्रेस–एमाले त ‘एक ही थैलीका चट्टेबट्टे’ जस्ता देखिन्छन् । यस्तो हुँदाहुँदै पनि लट्पट्–लट्पट् भैराख्नुको मुख्य कारण अखण्डको हठ हो । टीकापुर काण्डपछि शेरबहादुर, भीम र भट्ट थोरैे हच्के पनि हठ छाडेका छैनन् । शास्त्रले बालहठ, स्त्रीहठ र राजहठ भन्छ । यी ठालुहरु आफूलाई पञ्चायत कालको राजा भन्ठान्छन् र राजहठ त्याग्न सक्दैनन् ।

मदन भण्डारी
मदन भण्डारी

संघीयता माओवादीको एजेण्डा हो । ‘हाम्रो होइन !’ माधव नेपालले बकेकै हुन् । एकात्मक शासन व्यवस्था ढल्दा जनतामा नयाँ आसाका आँकुरा पलाएकै हो । कर्णाली त धेरै परेको कुरा; सुगम अञ्चलका, सुगम जिल्लाका दुर्गम भेगहरु विचल्लीमा थिए/छन् । अहिले पनि कास्की, गोर्खा, रसुवा वा इत्यादि ठाउँका उत्तरी भेगका जनता सत्रौँ शताब्दीको जीवन बाँच्न बाध्य छन् । त्यहाँ धामी झाँक्री र पण्डित पोषिएका छन् । त्यहाँ मुखियाकै सन्तान नेताका अवतारमा छन् । त्यहाँ डाक्टर, स्वास्थ्य कार्यकर्ता हुँदैनन् । त्यहाँ कागज पढिदैन । त्यहाँ रङ् लागेका ढुङ्गा, धजा बाँधिएका रुखबिरुवा हुन्छन् । भूतप्रेत र बोक्सी डाइनीले असाध्य सताउँछन् । मधेशबारे निकै पहिल्यै यसो लेखिएको थियो–
‘विहे गर्छ थारुले
सुहागरात मनाउँछ अरुले !’

२०६४ मा माओवादीले पहाडको भोट सोरपट्यार पारेर बटुलेको थियो । त्यहीँदेखि मधेशमा माओवादीलाई टेक्ने ठाउँ नदिने उपायको खोजीमा काङ्गेस–एमाले लागेका थिए । मूलतः काङ्ग्रेसकै मूर्धन्य मधेशी नेताहरु नयाँ–नयाँ क्षेत्रीय पार्टी खोल्न तम्सेका थिए ।

गौर हत्याकाण्ड दोरम्बा हत्याकाण्डभन्दा खतरनाक डिजाइनको थियो । सरकारमा गएपछि माओवादी अति नीचस्तरको खाओवादीमा फेरिए । सात करोड पोको पारेर पोइला जाने एक मन्त्राणीले भनी ‘मलाई आफ्नो श्रीमान्सँग यौन सन्तुष्टी भएन !’ वैद्य बा छानबिन समितिका संयोजक थिए–मूसो मारेनन् । पार्टी फुटाए । सायद केही दिन बाक्लो दाल खाए । सायद आत्मरतीमा रमाए । अहिले चौटा खान गएकी बूढी जस्तै देखिएका छन् ।
क्षेत्री बाहुन पार्टीहरुमा एमालेले अलि बलियो पकड जमायो । ती ठूल्ठूला प्रदर्शनहरु गर्न सफल भए । साधूसन्त, महन्तहरुको महत्वकाङ्क्षा ह्वात्तै बढ्यो । भदौ ०९ को ॐकार भेलाले रुन्चे हाँसो हँसायो । घर शून्य लाग्यो । मन उदास भयो । टीभी अफ गरेँ । मन बहलाउने आधार खोज्दै र्याकको पत्रिका तान्दा २०५३ वैशाखको ‘गरिमा’ फेला पर्यो । ‘भट्ट र भक्त’ शीर्षात्मक निबन्धमा माधवप्रसाद पोख्रेलले गतिलै कुराहरु लेखेका रहेछन् । ‘हिन्दूहरु एउटा ठूलो खरबारीमा मस्त चरिरहेका छन्, जसको चारैतिर डँडेलो लागिरहेको छ । र, पशुपतिका भट्टझैं धर्मका ठेकेदारहरुले खरलाई सुकाउन छिट्छिटो पङ्खा हम्किरहेका छन् । झलक्क हेर्दा खरको टहल गरेजस्तो तर वास्तविक रुपमा आत्मघाती डँडेलो छिटै सल्काउने !’

काङ्ग्रेस–एमालेले सेना परिचालन गरेपछि नै माओवादी जनयुद्ध झ्याङ्गिएको थियो । अहिले टीकापुरलगायतका ठाउँमा सेना परिचालन गरिनु गृह युद्धको घोषणा गरिनु जस्तै हो ।

डँडेलो छिटै सल्कियो । खरबारीको एउटा सानो कुनामा आठ प्रहरी र एक नाबालक डडे । फाट्टफुट्ट डँडेलोमा डडिरहेकै छन् । भियतनामको कथालाई कवितामा ढाल्दै भूपी भन्थे –‘को सक्छ निदाउन खरबारीमा, चारैतिर डँडेलो सल्केको बेलामा !’ पाँच लाख रुपैयाँ बोतलको रक्सी धोकेर सुत्नेहरुको कुरा छुट्टै । भुतुक्कै देशको माया लाग्ने मनहरु हाहाकारमा छन् ।
काङ्ग्रेस–एमालेले सेना परिचालन गरेपछि नै माओवादी जनयुद्ध झ्याङ्गिएको थियो । अहिले टीकापुरलगायतका ठाउँमा सेना परिचालन गरिनु गृह युद्धको घोषणा गरिनु जस्तै हो । सर्वसाधारणले फ्वाँक्कैमा सास्ती पाउँदा ऊ भित्रको स्वाभिमान जाग्न पनि सक्छ । मर्नै परेपछि खुट्टै तानेर… पुर्खाले उखान बनाएकै छन् । जनता र सेना भिडाउने यो सरकारी रबैया कसैलाई निको लाग्दैन । संसदीय व्यवस्थाको चर्को वकालत गर्नेहरुले प्रमुख प्रतिपक्षको कुरा पनि सुन्नैपर्ने होइन र ? एमाओवादी सदनमा चिच्याइरहेकै छ–‘सेना परिचालन नीति र विधि दुवै हिसाबले ठीक छैन ।’
‘इतिहासले केही गर्दैन, इतिहासबाट नसिक्नेलाई दण्डित चाँहि गर्छ ।’ यो भनाई सबै ठाउँका सबै तानाशाहहरुमाथि लागू भएको छ । जनदमनमा उर्लिएकाहरु सबै पश्ताचापले रोएका छन् । सिद्धान्तका ठूल्ठूला वहसको उस्तो आवश्यकता पर्दैन । पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सम्पत्ति आफै राखेपनि वीरेन्द्रको सम्पत्तिले देशमा कतै च्याउखेती, कतै स्याउखेती बढाएका भए ! ढुकुटीको सानो हिस्सा युवा बेरोजगारप्रति चढाएका भए ! बजार भाउको नियन्त्रणले गृहणीहरुको मन जित्ने मन गरेका भए यो हाल हुने थिएन ।

हिजोअस्तिको अतीतलाई भुलेर काङ्ग्रेस–एमाले फेरि सेना परिचालनमा कस्सिनु झनै ठूलो अशान्तिको आमन्त्रण हो । टिकापूरमा थारु उकास्नेहरु देशकै दुस्मन हुन्, बुझ्नै पर्ने गाँठी कुरा चाहिँ– थारुहरु जन्मजात हलो जोत्न मात्रै जन्मेका होइनन् । जनयुद्ध र जनआन्दोलनले उनीहरुको राजनीतिक चेत ह्वात्तै उठाएको छ । ‘कि त जोत हलो, कि त छोड थलो’ अहिले होइन उहिल्यै भीमदत्त पन्तले सिकाएका हुन् ।
संघीयता विरोधीहरु देश विखण्डनको डरले मात्रै सल्बलाएका छैनन् ।

झापा, मोरङ, सुन्सरी; कैलाली र कञ्चनपुरलाई आफ्नै बाबुको विर्ता ठान्ने नेता भनौदा नाथेहरु पनि संघीयता समर्थक हुन सक्दैनन् । बागलुङले गर्ने नाकाबन्दी मधेसलाई उक्साहट हो । राम्रै कुटनीतिक छविका प्राडा. लोकराज बरालले ०५/११ मा सिएनएनसँग बोल्दै भने, ‘काँग्रेस–एमाले संघीयताप्रति इमान्दार बन्न सकेनन् ।’ जनताले खोजेको संघीयता आफ्नै घर–आँगनमा राज्यको उपस्थिति हो । संविधानको लट्पट् अखण्डको हठ हो । अब कि त राजा महेन्द्रलाई पूरै ठीक भन्नु पर्यो कि त साँचो अर्थमा संघीयताप्रेमी बन्नु पर्यो । तेस्रो विकल्प आन्दोलनकारीहरुको झेल हो । सत्तासीनहरुको सत्ता लम्भ्याउने खेल हो । राजनीतिक नियुक्तिमा काङ्ग्रेस–एमालेको ङ्यार्रङुर्रले यो सत्यलाई सावित गरिरहेकै छन् । संविधान लेखन–यात्राका लागि अहिलेसम्म घोडेटो बाटो खन्न नसकेर कुहिराच्छत्र गोरेटोमै सत्तासीनहरु रुमलिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय