scheduleआइतवारबैशाख ५ गते, २०७८

नाकाबन्दीका कारण स्वदेशी फूलको मूल्य बढ्यो

सुशील दर्नाल / शर्मिला पाठक

काठमाडौं, २२ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट फूल ल्याउन नसक्दा स्वदेशी फूलको मूल्य बढेको छ ।

नेपालमा नयाँ संविधान जारी भएसँगै करिब दुई महिनादेखि भारतले लगाएको नाकाबन्दीका कारण हरेक वर्ष ल्याइने फूल यस वर्ष ल्याउन नसक्दा स्वदेशी उत्पादनको मागसँगै मूल्य वृद्धि भएको हो ।

असन क्षेत्रमा फूलको व्यापार गर्दै आएका व्यापारीका अनुसार विगतका वर्षमा सयपत्री फूलको प्रतिमालाको मूल्य १५० देखि २०० सम्म पर्ने गरेको भएपनि यसवर्ष बढेर ३०० सम्म रहेको छ ।

Flower फूल

करिव दश वर्षदेखि इन्द्रचोकमा फूलको व्यापार गर्दै आएका सिन्धुलीका राजकुमार पाटाले गत वर्षका तुलनामा यसवर्ष फूलको मूल्य दोब्बरले वृद्धि हुँदा कारोबार गर्न कठिन भएको बताए ।

अघिल्लो वर्षमा तिहार सुरू भएसँगै विशेषगरी तिहारमा प्रयोग हुने फूल गोदावारी, सयपत्री र मखमलीको कारोबारको लागि सहज हुने भएपनि मूल्य वृद्धिका कारण यसपाली उपभोक्ताले फूलको कारोबार त्यक्ति गरेका छैनन् ।

पाटाका अनुसार पोहोरसालसम्म तिहारको समयमा फूल बिक्री वितरणबाट एक दिनमा एक लाखसम्मको कारोबार भएपनि अहिले ५०/६० हजारको मात्र व्यापार हुने गरेको छ । तिहारका लागि असन क्षेत्रमा फूलको माला किन्न गएकी नुवाकोटकी राधिका अधिकारीले एउटा मालाको निश्चित मूल्यभन्दा पनि बजारमा मनमरी मूल्य लिने गरिएको गुनासो गरिन् ।

‘नाकाबन्दीको कारण देखाउँदै नेपालमै उत्पादन हुने फूलसमेत ठाउँपिच्छे फरक फरक मूल्यमा बिक्री भइरहेको छ, तिहारको बेलामा फूल नभइ हुँदैन कस्तो समस्या,’ उनले भनिन् ।

यस वर्षको लागि अहिलेसम्म भारतबाट पूmल नआएपनि आउन सक्ने झिनो आशा भने अझै रहेको फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताए । बिगतको वर्षमा तिहार सुरू हुनुभन्दा १५ दिन अगाडि नै भारतबाट फूल आयात गरिने गरिएको उनको भनाइ छ । अध्यक्ष गैरेका अनुसार गत वर्षको तिहारमा एक करोड ४० लाख बराबरको झण्डै दुई लाखवटा सयपत्री फूलको माला भारतबाट आयात गरिएको थियो ।

विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूलको माग स्वदेको उत्पादनले मात्र धान्न नसक्ने हुँदा हरेक वर्ष भारबाट २० प्रतिशत फूल ल्याइने गेरेको थियो । एसोसियसनका अनुसार यसअघिका समयमा उपभोक्ताको चहल पहल बढ्ने गरेको भएपनि यसवर्ष भने भूकम्प र नाकाबन्दीका कारण कम भएको हुँदा स्वदेशी उत्पादनले नै पुग्न सक्छ ।

पछिल्लो समय फूलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक अढाइ करोड बराबरको फूलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत फूलको खपत हुने गरेको छ ।

प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा फूलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका फूलको खेती गर्दै आएका अध्यक्ष गैरेले बताए ।

तिहारमा सयपत्री पूmल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ । काठमाडौं उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतका जिल्लामा करिब ३०० प्रजातिका फूलको व्यवसायिक खेती हुँदै आएको छ । सयपत्री फूल भारतबाट ल्याउने गरेको भएपनि केही वर्षयता गोदावरी र मखमली फूल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

फूल व्यवसायी कपिल रायमाझीले सधैभरी विदेशबाट फूल आयात गर्नुको सट्टा फूल व्यावसायीले उत्पादनको क्षेत्र विस्तार गर्दै गुणस्तरिय फूल उत्पादन गर्नुपर्ने बताए । यसवर्षको तिहारमा फूलसँगै दाजुभाइलाई उपहारको रूपमा प्रदान गरिने भाइ मसला सामानको समेत मूल्य वृद्धि भएको छ ।

साँखुका ओशा श्रेष्ठले अघिल्लो वर्ष १५० मा बिक्री गरेको भाइ मसलाको सामान नाकाबन्दीका कारण अहिले २०० सम्म पर्ने बताइन्। रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay