scheduleआइतवार जेष्ठ २ गते, २०७८

प्रचण्डले टीका लगाएनन्, माधव नेपालले लगाउन पाएनन्

यस्तो रह्यो नेताहरुको भाइटिका

काठमाडौँ, २७ कात्तिक । भाइटीकाका दिन आज अधिकांश नेताहरुले टीका लगाए भने कुनै नेताले टीका लगाएनन् भने कुनै नेताले टिका लगाउन पाएनन् । पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले टीका लगाएनन् ।

उता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने पिताको बरखीका कारण टीका लगाउन पाएनन् । उनका सहयोगी मोहन गौतमका अनुसार नेपालले बरखी नउत्रिएको कारण टीका लगाएनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराल उपचारको कारण अमेरिकामा रहेका कारण उनले पनि टीका लगाउन पाएनन् ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको भाइटीकाको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाइटीकाको अवसरमा आज दिदी विष्णुमाया सिवाकोटी र बहिनी विष्णुमाया ढकालबाट टीका थापेर आशीर्वाद लिए ।
Dr. baburam Bhattarai in Bhai Tika

यसैगरी एमाओवादी पार्टी छाडेर नयाँ शक्ति गठन अभियानमा होमिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नी दिदी थीरकुमारी पराजुलीबाट भाइटीका ग्रहण गरेका छन् । उनले टीकाको दिन सबै परिवारका सदस्यहरु जम्मा भए पनि दिवंगत आमाको अभाव महसुस गरेको बताए ।

अधिकांश नेताहरुले भने आफ्ना दिदीबहिनीको हातबाट टीका थापेर आशिर्वाद लिए । आज बिहान ११ः५५ बजेको शुभसाइतमा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तीन बहिनीबाट आफ्नै निवास बोहोराटारमा भाइटीका लगाए । बहिनीहरु कृष्णकुमारी आचार्य, रमादेवी मिश्र र चन्दा ओझाले उनलाई टीका लगाई दिएका हुन् ।

यसैगरी, पूर्व प्रधानमन्त्री एवम् नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस नेत्री मीना पाण्डे, सुशीला खड्का र गोमा साहबाट टीका लगाए ।
उता राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि बहिनीहरू रीता थापा, वशु कार्की र मिन्टु विष्टको हातबाट टीका लगाए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय