यसकारण बन्द भयो चर्चित हास्य टेलिश्रृंखला ‘तितो सत्य’
काठमाडौं, १ मंसिर । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हाँस्य टेलि श्रृंखला ‘तितो सत्य’ अन्तत कहिल्यै प्रशारण नहुने गरी बन्द भएको छ । छोटो समयमै नाम र दाम दुवै कमाउन सफल टेलि सिरियल मध्ये, ‘तितो सत्य’, मेरी बास्सै र जिरे खुर्सानी अग्रस्थानमा थिए । यी तीनै टेली चलचित्रको उत्पादन गर्ने संस्था मिडिया हब नेपाल हो ।
मिडिया हबले नै नेपाल टेलिभिजनसँग समय किनेर तितोसत्य लगायत केहि टेलि चलचित्र प्रशारण गर्दै आएको थियो । तर पछिल्ला दिनहरुमा नयाँ कार्यक्रमभन्दा पनि पूरानै कार्यक्रम दोहोरिन थाल्यो ।
यसको प्रमुख कारण कालाकारले पारिश्रमिक नपाउनु हो । मिडिया हवले कलाकारलाई झण्डै एक करोड रुपैयाा बराबरको रकम दिन बाँकी रहेको बताइएको छ । निकै लामो समयसम्म पारिश्रमिक नपाउँदा पनि मौन रहेका कलाकारहरुले अन्ततः चलचित्र छायाङ्कन गर्न अस्वीकार गरेपछि पूरानै भागहरु दोहोर्याइएको थियो ।
मिडिया हबका निर्देशक सोम धितालले गत चैतसम्म कलाकारको बाँकी हिसाब मिलान गर्ने बचन दिएका थिए । तर झण्डै ५ महिना बित्दा पनि कलाकारले पारिश्रमिक नपाएपछि बन्द गर्ने निर्णयमा पुगेको एक कलाकारले बताए ।
मिडिया हबले तितो सत्यलाई ५१ लाख, जिरे खुर्सानीलाई ४६ लाख र मेरी बास्सैलाई ५५ लाख दिनुपर्ने थियो । हप्ताको १ लाख ६० हजार तितो सत्य र १ लाख ४५ हजार जिरे खुर्सानीले पाउने गरेका थिए । रकम नपाएपछि कलाकारहरुले सुटिङ खर्च समेत नभएको भन्दै गुनासो गरेका थिए ।
हास्य टेलिश्रृङ्खला बन्द हुनुमा पारिश्रमिकमात्रै होइन कलाकार र मिडिया हबबीच शीत युद्धका कारण समेत रहेको बताइएको छ । मिडिया हबकै कारण कलाकार स्थापित भएको भन्दै हबसम्वद्ध अधिकारीले पाश्रिमिक दिन इन्कार गरेको थियो ।
यसले कलाकार र मिडिया हबबीच विवाद श्रृजना गरेको बताइन्छ । यीनै विवाद भएपछि मेरी बास्सैका निर्देशक केदार घिमिरे माग्ने बुढाले मेरीबास्सै नै छाडेका थिए । तक्मे बुढाको नामले निकै चर्चा कमाएका विल्सन विक्रम राईले पनि मेरी बास्सै छाडे ।
सोमबार तितो सत्य बन्द भएको घोषणा गरेका निर्देशक तथा कलाकार दिपकराज गिरीले यसअघि नै मिडिया हबले रकम नदिएको तितो सत्य बन्द हुन लागेको जानकारी गराइसकेका थिए । ‘५ सय भाग पुगेपछि तितो सत्य बन्द गर्नेकी भन्ने कुरा भइरहेको छ,’ गत वर्ष उनले भनेका थिए, ‘मिडिया हबले पैसा नदिएको कुरा सत्य हो ।’
अन्ततः ६०० भाग पुगेपछि तितो सत्य बन्द भएको छ । निर्देशक दिपकराज गिरीले सोमबार सामाजिक सञ्जालमा अब कहिल्यै प्रशारण नहुनेगरी बन्द भएको जानकारी गराएका थिए । आर्थिक विवादकै कारण अन्य टेलिसिरियल पनि बन्द हुने अवस्थामा छन् ।