scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

जबर्जस्तिकरणीमा परेकी चेलीको राष्ट्रपतिलाई पत्र, ‘मेरो मूल्य ४० हजार हाे ?’ (पत्रसहित)

काठमाडौं, २३ मंसिर । जबर्जस्तिकरणीमा परेकी त्रिपुरेश्वर–५ धादिङकी लिजा शर्मा (नाम परिवर्तन)ले आफूमाथि जिल्ला अदालत धादिङले अन्याय गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीलाई पत्र लेखेकी छन् । आफूलाई बलात्कारको प्रयास गर्नेलाई अदालतले उन्मुक्ति दिएको भन्दै उनले प्रश्न न्यायाधीशलाई प्रश्न सोधेकी छन्, ‘श्रीमान मेरो मूल्य ४० हजार हो ?’

प्रस्तुत छ, लिजाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संबोधन गर्दै लेखेको मार्मिक पत्रको पूर्णपाठ : सम्पादक

Rape Banner

 

मिति २०७२/०८/२२ गते

श्री सम्माननीय राष्ट्रपति विद्या भण्डारी ज्यू,
शीतल निवास, काठमाडौं

परिस्थितिको इजलाशमा कहिलेकाँही आफैँ न्यायधीश बन्नु पर्दोरहेछ । त्यसैले यो पत्र कोर्ने फैसला गरेँ । यदि न्याय दिने न्यायधीशले मेरो चित्कारको सम्बोधन गरेको भए सायद यस्तो फैसला पक्कै हुने थिएन । त्यसैले मप्रति भएका अन्यायहरुलाई यो पत्रमा उतार्ने जमर्को गरेकी छु ।

घटना गत जेठ ९ गतेको हो । जतिबेला मुलुक भूकम्पको त्रासले काँपिरहेको थियो । राजधानी छोड्नेहरुको लर्को लाग्यो । त्यसबाट म पनि अछूतो रहन सकिन । काठमाडौं शहरमा बस्न नसकिने अवस्था भयो । पढाई पनि रोकियो । त्यसपछि म सुरक्षित स्थान खोज्दै आफ्नो घर गएँ । भूकम्प रोकिएपछि पढाई सुरु होला र काठमाडौं जाउँला भन्ने थियो । तर २९ गते अर्को शक्तिशाली परकम्पन भयो । त्रास थपियो । मेरो गाउँ बसाई पनि लम्बियो । जेठ ९ गते बिहानै म बाख्रा चराउन गोठालो गएको थिएँ । आँखुखोलामाथि जंगल थियो । साथीसँगै बाख्रा चराउँदै थिएँ । करिब साँढे ९ बजेको हुँदो हो, साथीहरुसँगै म पनि फर्किन लागेको थिएँ । स्थानीय सञ्जिव घलेले आँप ल्याएका रहेछन्, आँप खाउँ भने । गाउँको दाइ ठिकै छ, भनेर आँप खाएँ । आँप खान थालेपछि भोलिको लागि हुन्छ, नुन लुकाएर राख भने । मैले हुन्छ भनेर नुन राख्न थालेँ । उसले अचानक पछाडिबाट तानेर मेरो शरीर सुम्सुम्याउन थाल्यो । मैले प्रतिकार गरेपछि मलाई भुईंमा लडायो । म उठेँ र भाग्न खोजेँ । उसले फेरि मलाई लडायो । प्रतिकार गर्दा मेरो कुर्ता पनि च्यातियो । उसले मेरो छातिमा चलाउन थाल्यो । मैले के गर्न लागेको भन्दै चिच्याएर भाग्न थालेँ । उसले हातमा भएको हँसिया देखाउँदै धम्क्यायो । म उठेर भाग्न खोजेँ यो क्रम तीन पटकसम्म चल्यो ।

सम्माननीय राष्ट्रपति ज्यू माफ गर्नुहोला, यो घटना स्मरण गर्दैगर्दा म निकै भावुक भएको छु ।

अचानक राहत लिएर आउने टोली नजिकैको बगरमा देखियो । त्यसपछि उसले मलाई चलाउने हिम्मत गरेन । त्यो राहत बोकेर आउने टोली मेरो जीवनमा पनि राहत बनेर आए । मेरो लुटिन लागेको इज्जत जोगाउनेगरी आए । उनीहरु टाढा पुगुञ्जेल ऊबाट भागेर म पनि भागिसकेको थिएँ ।

मैले आमालाई सबै कुरा भनेँ । जिल्ला बाहिर रहेका बुबालाई आमाले फोन गर्नुभयो । बुबाले ‘म एकदुई दिनमै फर्कन्छु । अनि जे गर्नुपर्छ गरौंला’ भन्नुभयो । बुवा आउनुभएपछि हामीले प्रहरी उजुरी दियौं । उजुरी दिएपछि गाउँका ठूलाबडा भनाउँदाहरुले म माथि अन्याय गर्ने कुचेष्टा गरे । ‘न्यायको नाममा हल्ला भयो भने तिम्रो छोरी बिक्दिन’ भनेर मेरो आमा र बुवालाई धम्क्याउन थालियो । एकदिन बुवा नभएको बेला मिलापत्र गर्न दवाव दिइयो । ममाथि अन्याय भएको थियो । म न्यायको लागि लड्न चहान्थेँ । मैले ‘न्याय पाउनुपर्छ’ भनेर चिच्याएँ । समाजका भद्रभलादमी भन्नेहरुले मेरो कुरा सुन्नै चाहेनन् । अचने उमाविका शिक्षक तथा वडा नागरिक मञ्च ५ का प्रतिनिधि बासु सेडाईं र पूर्वगाविस उपाध्यक्ष गोपी पाण्डेले मेलमिलाप गर भनेर दबाव दिए । म रोकिनै सकिनँ । मैले मुखभरी निस्किएको घृणा ओकल्दै पीडकलाई थुकेँ । मैले उसलाई चप्पल फुकालेर प्रहार गरेँ । मेरो आमाले पनि त्यही गर्नुभयो । त्यहाँ केही अगुवाहरुले मलाईभन्दा पीडकलाई नै राहत हुने गरी कुरा गरे ।
मलाई जबर्जस्तिकरणी गर्ने व्यक्तिविरुद्ध सम्मानित जिल्ला अदालत धादिङमा ‘जबर्जस्तिकरणी उद्योग’को मुद्दा हालेँ । त्यो दिन २०७२/०२/१३ गते थियो । तर उसलाई प्रहरीले पक्राउ गरेन । उसलाई पक्राउ गरेको बारे मैले जानकारी पाइनँ तर मैले सुनेअनुसार सम्मानित जिल्ला अदालत धादिङबाट उन्मुक्ती दिइयो रे ! चालिस हजार रुपैयाँ तिराइयो रे ! न्यायको पर्खाइमा रहेकी मलाई यो फैसलाले रुनु न हाँस्नु बनाएको छ । मलाई बलात्कारको कोशिस गर्ने व्यक्ति अहिले गाउँमा ‘मैले चालिस हजार तिरेको’ भन्दै हिँडेको मैले सुनेको छु । यसले मलाई निकै आहत बनाएकोे छ ।

सम्माननीय राष्ट्रपतिज्यू, हजुर त नेपालको पहिलो (महिला) राष्ट्रपति । तपाईंको जीवनले धेरै उकालो पार गरिसकेको छ । महिलाको पीडाबारे जानकार हुनुहुन्छ, के मजस्तो महिला/बालिकाहरुको मूल्य चालिस हजार रुपैयाँ हो ? के यसरी नै नेपालमा महिलाहरुको मूल्य तोकिन्छ ?
जिल्ला न्यायधीश ठाकुरप्रसाद शर्मालाई बुझ्दा ‘आफूले मिशिल नै नहेरेको’ जवाफ दिनुभयो । उनलाई पनि मेरो प्रश्न छ, मिसिल नै नहेरी हजुरले फैसला गर्न मिल्छ र श्रीमान ? हुन त हजुरको आदेशमा जे पनि हुँदोरहेछ । मेरो मूल्य तोकिएको छ । तोकिएको मूल्य तिरेर उसले उन्मुक्ति पाएको छ । श्रीमान के अदालत भनेको हाम्रो मूल्य तोकिने ठाउँ हो ? यदि त्यसो हो भने, मेरो लुटिएको इज्जतको पनि मूल्य तोक्दिनुहोस् श्रीमान । श्रीमानको बेञ्चमा मेरो इज्जत फिर्ता हुने फैसला हुन्छ भने, तोकिएको भाउ तपाईंले पाउनुहुनेछ ।

श्रीमान तपाईंको आदेशमा सबै हुँदोरहेछ । किन तपाईंले भूँइचालो रोक्ने आदेश दिनुभएन ? भूँइचालो रोकिदिएको भए म काठमाडौं छोडेर गाउँ (त्रिपुरेश्वर ५ धादिङ) जानु पर्ने थिएन । मेरो इज्जत पनि लुटिने थिएन ।

सम्माननीय राष्ट्रपति ज्यू, म अहिले राजधानीको एक विद्यालयमा कक्षा १० मा पढिरहेकी छु । सामाजिक शिक्षाको कक्षामा गुरुले अदालतबारे पढाउनुभएको थियो । ‘अदालत भनेको अन्यायमा परेकाहरुलाई न्याय दिने, पीडकलाई सजायँ तोक्ने स्थान हो’ गुरुले भन्नुहुन्थ्यो, ‘यस्तो फैसला न्यायधीशहरुले गर्छन् ।’ तर मैले उल्टो देखेँ । अदालतबाट न्याय होइन अन्याय पाएँ । न्यायधीशबाट मेरो मूल्य तोकियो । के मलाइ झुटो शिक्षा सिकाइँदैछ ?

लिजा शर्मा (नाम परिवर्तन)
त्रिपुरेश्वर ५ धादिङ

Letter of Leeja Sharma, Dhading (1)
Letter of Leeja Sharma, Dhading (2)
Letter of Leeja Sharma, Dhading (3)
Letter of Leeja Sharma, Dhading (4)
Letter of Leeja Sharma, Dhading (5)

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage