scheduleबिहिवारबैशाख ९ गते, २०७८

यही हो भौतिकवादी भाषा, संस्कृति र व्यवहार ?

निर्मल भट्टराई

नेपालमा वाम आन्दोलन सुरु भएयता राजनीतिक क्षेत्रमा ठूल्ठूला परिवर्तन भएका छन् । जर्जर जहानियाँ राणा शासन अन्त्य हुने बेलामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक अधिकार प्राप्तिको साथै समाजका हरेक क्षेत्रमा विद्यमान शोषण, अन्याय, अत्याचार र विसंगतिका विरुद्ध जनतालाई संगठित गर्दै अगाडि बढेको इतिहास सबैकासामु छर्लङ्ग छ । सामन्तवादी राजतन्त्रको दमनलाई परवाह नगर्दै तराई र पहाडका विभिन्न क्षेत्रमा गरिएका बाली काट्ने र तमसुक च्यात्ने आन्दोलन र पछिल्लो चरणमा सञ्चालित जनयुद्धले ग्रामिण क्षेत्रमा विद्यमान सामन्ति अवशेषलाई समाप्त पार्यो ।

कम्युनिष्ट आन्दोलनले गाउँ र शहरको सामन्तवादलाई समाप्त मात्र गरेन, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गिय विभेदलाई अन्त्य गर्न ऐतिहासिक भूमिका निर्वाह गर्यो । समाजका सबभन्दा पछाडि पारिएका समुदायलाई केही हदसम्म राज्यका विभिन्न निकायमासमेत उपस्थित गरायो । परिणामस्वरुप देश पूँजीवादी चरणमा प्रवेश गर्यो । यी सफलताहरुका बावजूद् वाम आन्दोलनले आफँैले घोषणा गरेका थुप्रै कामहरु गर्न सकेनन् भने आन्दोलनभित्र थुप्रै असंगतिहरु लपेटिंदै आएका छन् ।

 

१. दृष्टिकोण

वामपन्थीहरु/समाजवादीहरु भौतिकवादका अनुयायी हुन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने सोही अनुरुपको दृष्टिकोण निर्माण गर्नु प्रत्येक वामपन्थीका लागि अनिवार्य शर्त हो । सिद्धान्तमा भौतिकवादी व्यवहारमा अध्यात्मवादी संधै हुन सकिन्छ र ? अनि केवल हिन्दुवादी भएर अरु धर्म समुदायलाई नजरअन्दाज गर्न मिल्छ र ?

निर्मल भट्टराई

हजारौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेको अध्यात्मवादी दृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमा विकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसात गर्दै आफ्नो जीवनलाईसमेत सोही अनुरुप परिवर्तन गर्नु कम्युनिष्ट चरित्र भित्र पर्दछ ।

एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शासकहरुको दास बनाउने प्रयत्न गर्यो । यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मष्तिष्कको गुणको रुपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाई कुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रुपमा परिभाषित गरियो ।

भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वाम शीर्षनेतादेखि कार्यकर्तासम्म चलन हटेको देखिँदैन । भौतिकवादी दृष्टिकोणलाई केवल भाषण गर्ने विषयवस्तु बनाउने तर पूरानै बनिबनाउ हिन्दुव्यवहारको अवलम्बन गर्ने चलन चल्दै आएको छ ।

झलनाथ खनालले सपरिवार मनकामना मन्दिर दर्शन गरेको प्रसंग वा माधव नेपालले भारतमा गरेको तिर्थाटनको प्रसंग यहाँ स्मरणीय छ । दबेको हिन्दू आस्थाको अभिव्यक्तिको रुपमा यी घटनाहरु भएका हुन् वा धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेताहरुले गरेको मोडलिङ हो छुट्याउन त कठिन छ तर, शीर्ष कम्युनिष्ट नेताहरुको परिवारमा आध्यात्मिकताको प्रभाव चाहीँ प्रष्ट रुपमा देख्न सकिन्छ । कार्यकर्ताको तहमा त यस्तो व्यवहारमा खासै भिन्नता देखिँदैन । भौतिकवादले भौतिक उन्नतिको पक्षपोषण गर्छ तर अध्यात्मवाद (उनीहरुको बुझाइमा हिन्दू धर्मले) मानवीयता, आत्मियता, दयाभाव, करुणाको प्रवद्र्धन गर्छ भन्ने गलत पक्षपोषण र दलिल पेश गर्दै हिँड्ने कम्युनिष्ट कार्यकर्ताहरु टोलटोलमा भेटिन्छन् ।

मानवीयता, आत्मियता, दयाभाव, करुणा अध्यात्मवाद्का अंग होइनन्, बरु तिनीहरु मानव चेतनाका अंगहरु हुन् । चेतना नै भौतिक भए पछि भौतिकवाद्ले त्यस्ता पक्षलाई वास्ता गर्दैन भन्नु दृष्टिकोणको दिवालीयापनबाहेक केही हुन सक्दैन । दृष्टिकोणमा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरणका मुद्धालाई अघि बढाउन कठिन हुनेमात्र होइन, कहिलेकाहीँ अवरोध सिर्जना हुने खतरा उत्पन्न हुन्छ ।

मानिसको जीवनमा विचारको पक्ष सबभन्दा महत्वपूर्ण पक्ष हो । एक जना चिनियाँ दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिँदै भनेका छन् ‘आफ्नो विचारको ख्याल गर किनभने ति शब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन्, चरित्रहरुको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।’

माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन् । ‘सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।’ द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठिक विपरीत कित्तामा रहेको हिन्दूअध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन । समाजमा गरिने धार्मिक शिष्टाचार र लोकाचार छुट्टै विषय हुन् ।

 

२. संस्कृति
संस्कृतिलाई अर्थनीति र राजनीतिको प्रतिविम्बको रुपमा परिभाषित गरिएको छ । राजनीति र अर्थनीति चाँडै परिवर्तन हुने तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमा हुने यथार्थलाई हेर्ने हो भने नेपालमा भएको राजनीतिक–आर्थिक परिवर्तनसँगै साँस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ । सांस्कृतिक परिवर्तन व्यक्तिमा आउने परिवर्तनको समुच्चय भएकोले नयाँ सस्कृतिको निर्माण गर्न देशको सिंगो वामपन्थी शक्तिले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नु पर्ने आवश्यकता छ । परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्व भित्र पर्दछ । सयौँ वर्ष पहिले राजा महाराजाहरुले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त सुरु गरिएका कतिपय संस्कृतिहरुको समय सापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ । समाजवादी राज्य व्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधक हुने निश्चित प्रायः छ । परिवर्तनको बाहक शक्तिले परिवर्तनका विशेष नमूनाहरु देखाउनु र जनतालाई अभिप्रेरित गर्नु ढिला भइसकेको छ ।


३. भाषा

विगतका शासन व्यवस्थाले जनजिब्रोमा पुर्याइ दिएका विभिन्न शब्दावलीहरुको नयाँ शासन व्यवस्थामासमेत प्रचुर मात्रामा प्रयोग भइरहेको छ । एउटा कम्युनिष्ट पार्टीका स्थानीय नेताले दोस्रो संविधानसभाको निर्वाचनमा भाषण गरे ‘नेपाल अधिराज्यमा स्थापित संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न अग्रगामी संविधानको आवश्यकता भएकोले सो आवश्यकता पूरा गर्न हाम्रो पार्टी विजयी हुनु आवश्यक छ ।’ ती नेतालाई अधिराज्य र गणतन्त्र छुट्टै शासन व्यवस्था हुन् भन्ने हेक्का भएन । कुनै दिन विशेष समय लिएर बामपन्थी सांसदले भाषण गर्दा ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी पश्चात् नेपाल अधिराज्यका जनताको आर्थिक संवृद्धि र विकास संभव छ’ भनेमा आश्चर्य हुने छैन । नेपालबाट राजतन्त्रको अन्त्य भइसकेपछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, ती शब्दहरु आज कम्युनिष्ट नेताहरुको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आपूmप्रति प्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् ।

२०६२/०६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेता कार्यकर्ताले खाना खाने बखत अप्सानी हाल्दा, ‘भूपतये स्वाहाः, भूवनपतये स्वाहाः’ भने होलान् ! नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकता हो । वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनी मरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । प्रचण्डपुत्री ज्ञानु के.सी.को श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको निमन्त्रणा एसएमएसमा भनियो ‘स्वर्गीय ज्ञानु के.सी.को श्रद्धाञ्जलि कार्यक्रममा प्रचण्ड निवास लाजिम्पाटमा उपस्थित भइदिनु हुन् ।’ एकीकृत नेकपा (माओवादी) को सुनसरी जिल्ला सम्मेलन आयोजक समितिले नयाँ पत्रिकामा समवेदना छाप्यो र मृतात्माको चीर शान्तिको कामना गर्यो । यसमा असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्दकोषमा पर्दैनन् ।

वैचारिक अभियान सञ्चालन गरेर यस्ता असंगतिहरुलाई न्यूनीकरण गर्न सकिन्छ । द्वन्द्ववादी भौतिकवाद र ऐतिहासिक भौतिकवादका विभिन्न आयमहरुलाई प्रशिक्षणको प्रमुख विषय बनाएर वाम पार्टीहरुका तृणमूल तहका समितिहरु सम्म अभियान सञ्चालन गरेरमात्र यो अवस्थामा सुधार ल्याउन सकिन्छ । नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुशरण गर्न योग्य हुनु त्यत्तिकै आवश्यक छ । देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्षहरु र परिवर्तित सन्दर्भमा असान्दर्भिक पक्षहरुलाई केलाएर असान्दर्भिक र अव्यवहारिक पक्षलाई हटाउने साहस सामाजिक रुपान्तरणका अभियन्ताहरुले गर्न सक्नुपर्दछ । नयाँ शक्तिका अभियन्ताले त यसलाई प्रमुख विषय बनाउनुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay