scheduleबिहिवारबैशाख ९ गते, २०७८

‘वामपन्थ’ पुन:निर्माण आजको आवश्यकता

मथुरा ढकाल

‘मेरो दृष्टिमा वामपन्थको अर्थ ती शक्तिहरुको समूह हो, जसले पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको बिरोध गर्दछन् र जुन एउटा वैकल्पिक मानवतावादी, सहयोगात्मक समाज, समाजवादी समाजका लागि संघर्ष गरिरहेका छन्, जसका संघटकहरु श्रमिक वर्गका हितहरु हुन् । यो समाज पूँजीवादद्वारा उत्पन्न भौतिक दरिद्रता र मानसिक तुच्छताबाट स्वतन्त्र हुन्छ ।’ – कार्लोस रुज

मथुरा ढकाल
मथुरा ढकाल

नेपालमा कम्युनिष्ट आन्दोलन वाम आन्दोलनको पर्यायकोरुपमा रहिरह्यो । यहाँ सुरुदेखि नै भ्रम के रह्यो भने नेपालका कम्युनिष्ट पार्टीहरु मात्र वामपन्थी पार्टीहरु र मार्क्सवादलाई स्वीकार गर्ने र कम्युनिष्ट विचार मान्ने ब्यक्तिहरु मात्र वामपन्थीहरु हुन् ! मार्क्सवादबाहिर पनि वामपन्थी विचार हुन्छ र गैह्र कम्युनिष्टहरु पनि वामपन्थी विचारका हुन्छन् भन्ने कुरा नेपाली कम्युनिष्ट राजनीतिले कहिले पनि स्वीकार गर्न सकेन । संख्या र प्रभावको दृष्टिले नेपालको वामपन्थी आन्दोलन सधैभरी कम्युनिष्टहरुको प्रभावमा रह्यो । उनीहरुको आँखामा कम्युनिष्टहरु मात्र वामपन्थी कहलिए । पार्टी वामपन्थबाहिर पनि वाम विचार राख्ने ठूलो संख्यामा सामाजिक वा नागरिक वामपन्थीहरु छन् भन्ने यथार्थतालाई नेपाली वाम आन्दोलनले कहिल्यै स्वीकार गर्न सकेन । अर्कोतर्फ वामपन्थी विचार राख्ने सामाजिक वामपन्थहरु पनि आफूलाई संगठितरुपमा अगाडि बढ्न सकेनन् ।

कुनै पनि कम्युनिष्ट पार्टी वा अरु पार्टीहरुले आफूलाई वामपन्थी घोषणा गर्दैमा वामपन्थी भइने होईन, न त कुनै विश्वविद्यालयले दिने प्रमाणपत्रले उ वामपन्थी कहलिन्छ । वामपन्थी हो वा होईन भन्ने कुरा उसले अख्तियार गरेको नीति र कार्यक्रम तथा व्यवहारले निर्धारण गर्ने कुरा हो । वामपन्थ हुनुको अर्थ र परिभाषा सर्वकालिक एउटै र उही हुँदैन । विश्व राजनीतिमा आएको परिवर्तन, व्यवस्थामा आएको परिवर्तन तथा समय, काल र परिस्थितिमा आएको परिवर्तनले वामपन्थको अर्थ र परिभाषामा परिवर्तन ल्याउँछ । एकपटक वामपन्थी भएको दल वा व्यक्ति संधैभरी वामपन्थी रहिरहन्छ भन्ने हुँदैन ।

वामपन्थ शब्द सुरुमा बेलायतको संसदमा सत्तापक्षलाई सभाको दाँया र प्रतिपक्षलाई सभाको बाँया बसाउने परम्पराबाट सुरु भएको हो । बिस्तारै यो शब्दहरु दाँयातर्फ बस्नेहरु यथास्थितिवादी हुने र परिवर्तन नचाहने र बायाँतर्फ बस्नेहरु परिवर्तन चाहने र परिवर्तनकारीको रुपमा लिइन थालिएको थियो ।

पछिल्लो चरणमा आउँदा कार्लोस रुजले भने जस्तै: पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको विरोध गर्नेहरु, समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्नेहरु र श्रमिक वर्गको हितमा काम गर्ने पार्टी वा व्यक्तिहरु नै वामपन्थीहरु हुन् ।

 

नेपालका सन्दर्भमा को हुन् त वामपन्थी ?

नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी दल भन्ने गरिन्छ । कुनै बेला कम्युनिष्टको साईनबोर्ड झुण्ड्याउनुलाई नै वामपन्थको असली परिचय मानिन्थ्यो । आधारभूतरुपमा पूँजीवादी व्यवस्था र नव-उदारवादी शोषणको विरोध गर्ने, समाजवादी समाजको निर्माण गर्न चाहने र उत्पीडित श्रमजिवि जनताको पक्षमा लड्ने ब्यक्ति वा दल नै वामपन्थी हुन् । नेपालको वामपन्थी आन्दोलनमा त्यतिलेमात्र वामपन्थी हुन सकिँदैन् । नेपालको सन्दर्भमा वामपन्थी हुन राष्ट्रवादी र स्वाधिन राष्ट्रिय अर्थतन्त्रको पक्षधर समेत हुनुपर्दछ । त्यस्तैगरी गणतन्त्रका, राज्यको पूनर्संरचना, धर्म निरपेक्ष राज्य र समावेशी लोकतन्त्रका स्थापनाकालागि संघर्ष गरेका शक्तिहरु नै नेपालका वामपन्थीहरु हुन् । यसो भनिँरहँदा वामपन्थी आन्दोलनको राप र तापले वामपन्थी एजेण्डा स्वीकार गर्न बाध्य भएकाहरु हिजोका संसदवादी दलहरु भने वामपन्थी दल होईनन् । नेपालको संविधान जारीसंगै नेपालमा मौलिक ढंगको पूँजीवादी/जनवादी क्रान्ति सम्पन्न भएको संदर्भमा संसदीय व्यवस्थाको अन्त गरी समाजवादी समाजको निर्माण र समृध्द नेपाल निर्माण गर्न चाहने शक्ति नै वामपन्थी हुन् ।

कार्लोस रुजको परिभाषालाई आधार मान्ने हो भने नेपालका कम्युनिष्ट पार्टीहरुलाई समेत वामपन्थी पार्टी भन्न मुस्किल भईसकेको छ । उनका अनुसार पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको बिरोध गर्ने दलहरु मात्र वामपन्थी दलहरु हुन् । कम्युनिष्ट पार्टीले आफ्नो दस्तावेजमा पूँजीवादी व्यवस्था र पूँजीवादी शोषणको बिरोध गरेका छन्, तर व्यवहारमा त्यस्तो देखिँदैन ।

नेपालको सबैभन्दा ठूला कम्युनिष्ट वाम दलहरु एमाले र एमाओवादी हुन् । उनीहरुले गएको २० वर्षमा आफ्नै नेतृत्वमा ६ वटा सरकार गठन गरिसकेका छन् र यसबीचमा बनेका केही सरकारलाई छाडेर प्राय: धेरै सरकारहरुमा वामपन्थीहरु गठबन्धन साझेदारकोरुपमा सामेल छन् । आजसम्म वामपन्थी नेतृत्वमा गठन भएका कुनै पनि सरकारले नेपाली जनताको पक्षमा काम गर्नुको सट्टा उल्टै पूँजीवादी व्यवस्थालाई सुदृढ गर्न र पूँजीवादी शोषणलाई बढावा गर्न लागिपरेको देखिन्छ । वामपन्थीहरु पटक–पटक सरकारमा गएर नव-उदारवादी आर्थिक नीति कार्यान्वयन गर्न र पार्टीभित्रको संकट व्यवस्थापन गर्नमै सीमित हुन पुगे ।

पछिल्लो चरणमा आईपुग्दा दलाल पूँजीको विकासमा स्वयम् पार्टीकै संलग्नता बढाएर लगेका छन् । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र व्यापारीकरणमा पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मको संलग्नताले नेपालमा नव-उदारवादी आर्थिक नीतिको विकास र सुदृढीकरणमा वाम पार्टीको संलग्नताको पुष्टी गर्दछ । वाम पार्टीहरुले पूँजीवादी आर्थिक नीतिको अनुसरण गर्नु बाहेक अर्को कुनै उपयुक्त विकल्प प्रस्तुत गर्न सकेका छैनन् । उनीहरुले आफूलाई वामपन्थी बनाई राख्न सर्वप्रथम नव-उदारवादी आर्थिक नीतिलाई परित्याग गर्नु पर्दछ र समाजवादी आर्थिक नीति अवलम्वन गर्नुपर्दछ ।

नेपाली वामपन्थका लागि हिजो भन्दा आज चुनौतिहरु थपिएका छन् । हिजो नेपाली वामपन्थीहरुको कार्यभार नेपालमा नयाँ जनवादी क्रान्ति जुन एक प्रकारको पूँजीवादी क्रान्ति नै थियो, जुन मौलिक ढंगले सम्पन्न भईसकेको छ । अबको नेपाली क्रान्तिको कार्यदिशा समाजवादी क्रान्ति भएकाले नेपाली वामपन्थीका लागि थप चुनौतिहरु थपिएका छन् । अबको वामपन्थी आन्दोलन आर्थिक क्रान्तिसंग मात्र जोडिएको छैन कि सामाजिक, राजनीतिक, सांस्कृतिक रुपान्तरणसंग पनि जोडिएको छ । आज पुँजीवाद आफ्नो रुपहरु परिवर्तन गर्दै कर्पोरेट पूँजीवाद अथवा भूमण्डलीकृत पूँजीवादमा परिवर्तन भएको सन्दर्भमा नेपाली वामपन्थले आफ्ना संघर्षका रुपहरु बदल्नु पर्ने आवश्यकता भईसकेको छ । आज नव-उदारवाद नेपाली समाजको अर्थतन्त्रमा मात्र सीमित नभई नेपाली समाजको छिद्र छिद्रमा प्रवेश गरेको छ । त्यसैले नेपाली वामपन्थहरु केवल शासक वर्गका राजनीतिक अंगहरुका बिरुध्द मात्र होईन, त्यसको नेतृत्व, समाजमाथि त्यसको सांकृतिक नियन्त्रण र शासक वर्गको वैचारिक नियन्त्रणबिरुध्द पनि उठ्नु जरुरी भईसकेको छ । त्यति मात्र होईन, आम नेपाली नागरिकहरुलाई ती संयन्त्रहरु वा संस्थाहरु जसले मानिसहरुलाई पूँजीवादी व्यवस्था स्वीकार गर्न बाध्य बनाउँछ, पहिचान गर्न सक्षम पनि बनाउनु परेको छ ।

नेपाली वामपन्थका लागि राष्ट्रिय स्वाधिनताको मुद्दा पनि पेचिलो बन्दै आएको छ । राष्ट्रिय स्वाधिनता नेपाली वामपन्थले विगतदेखि उठाउँदै आएको मुद्दा हो । नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप चर्कोरुपमा रहँदै आएको छ । विशेषगरी भारतले नेपालको राजनीतिमा मात्र होईन, विकास निर्माण, प्राकृतिक स्रोत साधनमा मात्र होईन नेपालको सुक्ष्म व्यवस्थापनमा समेत चासो लिने गर्दछ । यसरी भारतले नेपालमा हस्तक्षेप बढाउनुको प्रमुख कारण नेपालको भारतमाथिको आर्थिक परनिर्भरता हो । त्यसैले नेपालले वैदेशिक परनिर्भरता न्युनिकरण गर्न नेपालमा आत्मनिर्भर र अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्दछ । यी सबै कार्य गर्ने जिम्मेवारी अहिले नेपाली वामपन्थीको जिम्मामा आएको छ ।

भूमण्डलीकृत पूँजीवाद एकीकृतरुपमा आफ्नो शोषण र उत्पिडनका जालोहरु नेपाली समाजको छिद्र-छिद्रमा प्रवेश गरको अवस्थामा नेपाली वामपन्थहरु भने विखण्डित र बिभाजित अवस्थामा छन् । विभाजित वामपन्थी आन्दोलनले यी सबै चुनौतिलाई सामना गर्ने सामर्थ्य राख्दैन । नेपाली वामपन्थीको रणनीतिक कार्यभार बढिरहेको सन्दर्भमा नेपाली वामपन्थहरुको पनि पूनर्निर्माण हुन जरुरी भईसकेको छ । त्यसका लागि नेपाली वामपन्थले वामपन्थहरुको पुनर्निर्माणका लागि दुई ओटा कार्यभारहरु पूरा गर्नु पर्दछ । पहिलो: पार्टी वामपन्थहरुबीच एकता र दोस्रो: पार्टी वामपन्थ र सामाजिक वामपन्थबीचको संयोजन । नेपाली पार्टी वामपन्थहरु धेरै टुक्रामा विभाजित अवस्थामा छन् । विभाजित वामपन्थले समाजवादी क्रान्ति पूरा गर्न, कर्पोरेट पूँजीवादका प्रभावलाई न्युनिकरण गर्न, श्रमिक वर्गका हकहित रक्षा गर्न असमर्थ हुने हुँदा नेपालका वामपन्थी शक्तिहरुबीच तत्काल एकताको आवश्यकता छ ।

अर्कोतर्फ नेपाली समाजमा पार्टी वामपन्थ बाहिर वामपन्थी विचार राख्ने ठूलो समूह असंगठितरुपमा छरिएर रहेका छन्, यस्ता समूहलाई सामाजिक वा नागरिक वामपन्थ भनिन्छ । उनीहरु अत्यन्तै गतिशील र क्रान्तिकारी पनि छन्, जो परिवर्तन ल्याउनका लागि आफ्नो शक्ति निर्माण गर्न चाहन्छन् । सर्वप्रथम यी छरिएर रहेका सामाजिक वामपन्थहरुलाई संगठित गर्नुपर्दछ र त्यसपछि पार्टी वामपन्थ र सामाजिक वामपन्थलाई एकीकृत गरेर मात्र एउटा विशाल नव-उदारवाद बिरोधी सामाजिक वामपन्थी मोर्चा निर्माण गर्नुपर्नेछ, जसबाट मानवतावादी र सहयोगात्मक समाजवादी समाज निर्माण गर्न सहयोय पुगोस् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay