scheduleबिहिवारबैशाख ९ गते, २०७८

लालध्वजबिनाको बाबुराम र प्रचण्डबिनाको पुष्पकमल

मनऋषि धिताल

नेपाली राजनीति अहिले गम्भीर मोडमा पुगेको छ । यतिबेला वामपन्थी राजनीतिको मात्रै बहस गर्नु साँघुरो घेराभित्रको बहस हुन्छ । तर नेपाली वाम क्रान्तिकारी राजनीतिभित्रका समस्याहरु समाधान नगरेसम्म नेपालको राजनीति सही दिशातिर जान सक्दैन । नेपालको गणतन्त्र स्थापनाको आन्दोलनमा वाम जनमत र क्रान्तिकारी योद्धाहरुको त्याग, तपस्या र बलिदानको महत्वपूर्ण अंश छ । त्यसैले नेपालको राजनीतिक आन्दोलनको बलिदान र त्यागको स्मरण गर्नुपर्ने यो समयमा म आगामी हरफहरुमा क्रान्तिकारी आन्दोलनमाथि केही चर्चा गर्न चाहन्छु ।

Manarishi Dhitalदोस्रो संविधानसभाबाट संविधान निर्माण हुने प्रक्रियामा नेपालको वामक्रान्तिकारी आन्दोलनमा आएको अभूतपूर्व एकता डा.बाबुराम भट्टराईको माओवादी पार्टी परित्यागबाट फेरि बहसमा आयो । नेपाली राजनीतिका पछिल्ला तीन दशक आफूलाई कम्युनिष्ट व्यक्तित्वका रुपमा स्थापित गरेका डा.बाबुराम भट्टराईले ‘राजनीतिको सुरुवातमा पनि म कम्युनिष्ट थिइन र अब उत्तरार्धतिर पनि कम्युनिष्ट रहिन’ भन्ने कुरा प्रष्टसँग व्यक्त गरिसकेपछि आफूलाई कम्युनिष्ट भन्न र बन्न गौरव गर्ने राजनीतिक प्राणीलाई उहाँसँग सहकार्य गर्ने बाटो बन्द भएको छ ।
नेपाली राजनीतिमा डा.बाबुराम भट्टराई श्रमजीवी जनताका प्रतिनिधि हुन् भन्ने कुरामा कुनै द्विविधा छैन । उनी विकासप्रेमी र विकासकर्मी पनि हुन् । उनको कालीगढी विद्या भलै तीस वर्ष पुरानो भएपनि उनमा समृद्ध समाजको सपना देखिन्छ । त्यो सपना पूरा गर्न अहोरात्र खट्नुपर्छ भन्ने इमान्दारिता र खटाई पनि छ । तर उनमा एउटा भ्रम के छ भने यो मेरो मात्रै नीति सपना हो । अरु सबै मेरो सपनामा सहमत हुनुपर्छ । मेरोजस्तै रंग, रुप र चालको सपना देख्नेहरु मात्रै आधुनिक मानव हुन् । अरु सबै पिछडिएका । यो सत्य हो कि सपनाको संशोधन सम्भव छैन ।
तर सत्य के हो भने सपना सपना नै हो । समृद्ध समाजको सपना एउटा विद्धानको सपना मात्र होइन । यो त वर्गको सपना हो । जनयुद्ध र जनयुद्धको यात्रा प्रचण्ड, बाबुराम, किरण, बादलजस्ता केही सम्मानित व्यक्तिहरुको मात्रै यात्रा थिएन । त्यो थियो भने ती तीस वर्षपछि यति सम्मानित बन्दैनथे । त्यो त लाखौं जनताको यात्रा थियो, पसिना र बलिदानको महायात्रा थियो । अहिले कम्युनिष्ट आन्दोलन निर्माण गर्ने लाखौं कर्मीहरुलाई छाडेर डा.बाबुराम भट्टराई एक्लै सच्चिने सपनामा अगाडि बढेका छन् । उनलाई यो आलोचना अपाच्य हुने निश्चित छ । तर इमान्दार र आदर्शवान कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट झण्डा नबोकेको बाबुरामको कल्पना पनि गरेको थिएन । लालध्वजबिनाको बाबुरामसँग सहयात्रा गर्न गौरब नहुने अवस्था सृजना भएपछि पुरानो घरको लिपपोत गर्न थाल्नुको विकल्प छैन ।

यदि प्रचण्डबिना नै पुष्पकमलको यात्रा सुरु हुन्छ भने जसरी लालध्वजबिनाका बाबुरामसँग सहयात्रा गर्न सकिएन त्यसैगरी प्रचण्डबिनाका पुष्पकमलसँग पनि यात्रा गर्न सकिँदैन ।

नेपाली जनयुद्धमा सामेल भएर र नेतृत्व गरेर लालध्वजले अपराध गरेको यदि बाबुरामको निष्कर्ष हो भने त्यस निष्कर्षमा लालध्वज बोकेका हामी लाखौं कार्यकर्ता सहमत छैनौं । हालै मात्रै बाबुराम भट्टराईका सहकर्मी बनेका पूर्व ‘प्र’शासक रामेश्वर खनालले बाबुरामले इतिहासमा (जनयुद्धमा) गल्ती गरे पनि अब सच्चिएकाले साथ दिएको बताए । पूर्व ‘लालध्वज’ बाबुरामको संगठनमा अब सच्चिएका बाबुराम देख्नेहरुकै बोलवाला र बाहुल्यता हुने प्रष्टै छ । माओवादी आन्दोलन र प्रचण्ड बाबुरामको मजबुत एकताको चट्टान भत्काउन नसकेर आन्दोलनबाटै बाहिरिएका मुमाराहरु अब लालध्वज बिनाको बाबुरामको नयाँ शक्तिका शक्तिशाली सारथी बन्न आइपुगेका छन् ।
पञ्चालतकालमा जागिर खाएका पञ्चायत र बहुदल दुवैकालमा जनतामाथि ‘प्र’शासन गरेका केही प्रशासक पञ्चायत र राजामहाराजाहरुको नायकत्व स्थापित गर्ने फिल्मी दुनियाँका केही नायक नायिकालाई पोष्टरहरु टाँस्दै हिंड्नु भन्दा हाम्रो लालध्वज हाम्रै हातमा दरिलोसँग समाउँदै पुष्पकमल, मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्दहरुले खिया थोपरेको प्रचण्डलाई अझै आलोचनाको राप दिऔं, संघर्षको ताप दिऔं र चम्किलो बनाऔं । यदि प्रचण्डबिना नै पुष्पकमलको यात्रा सुरु हुन्छ भने जसरी लालध्वजबिनाका बाबुरामसँग सहयात्रा गर्न सकिएन त्यसैगरी प्रचण्डबिनाका पुष्पकमलसँग पनि यात्रा गर्न सकिँदैन । अहिल पुष्पकमलले आन्दोलन बचाउने र देशलाई बचाउने जुन प्रचण्ड संकल्प गरेका छन्, त्यसलाई लालध्वज (क्रान्तिको रातो झण्डा) बोकेर साथ दिऔं । एकीकृत कम्युनिष्ट आन्दोलन निर्माण गरौं ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay