scheduleबिहिवारबैशाख ९ गते, २०७८

कसलाई चुन्ने ? चार्वाक या गान्धी ?

वेदप्रताप वैदिक

bedpratap Baidikस्वतन्त्रतापछि महात्मा गान्धीको आफ्ना चेलाहरूसित जे जसरी मोहभंग भयो, त्यस्तो अरू कुनै पनि गुरु या महात्माको कहिल्यै भएन होला । गान्धीले सादा जीवनलाई आफ्नो आदर्श बनाए र त्यसलाई व्यवहारमै उतारेर देखाए । उनले कांग्रेसलाई विश्वकै सबैभन्दा ठूलो राजनीतिक संगठन बनाए र करोडौँ मानिसलाई सादगीको पाठ पढाए । तर, जब देश स्वतन्त्र भयो, कांग्रेस नेताहरूमा ३० वर्षदेखि दबिएर बसेको वासना बाहिर प्रकट हुन थाल्यो र उनीहरू सबै अंग्रेजको नक्कल गर्न थाले । गोरा अंग्रेज फर्किए तर उनको स्थानमा काला अंग्रेज आए ।

मन्त्रीहरू ठुल्ठूला महलमा बस्न थाले । कारहरूमा घुम्न थाले । उनीहरूका अंगरक्षकले भड्किला पोसाक पहिरिन थाले । यो सब देख्दा गान्धी असाध्यै दु:खी भएका थिए । नेताहरूले आफूलाई जनताबाट टाढा बनाउँदै लगेका थिए । उनीहरू नयाँ राजा महाराजा बनेका थिए । गान्धीले स्वतन्त्र भारतका मन्त्रीहरूलाई उनीहरूले यदि स्वेच्छाले सादा जीवन अपनाए भने सारा संसारलाई मन्त्रमुग्ध गर्न सक्छन् भनेर सल्लाह दिएका भए पनि परिणाम भने ठीक उल्टो भयो । उनका परमप्रिय शिष्य जवाहरलाल नेहरु राजधानीको सबैभन्दा भव्य बंगला त्रिमूर्ति हाउसमा बस्न थाले । उनका दोस्रा प्रिय शिष्य डा. राजेन्द्रप्रसाद राष्ट्रपति अंग्रेज भाइसरायको निवासमा बस्न थाले ।

यदि नेताहरूले सादा जीवन अपनाउने हो भने जनतामा त्यसको जबर्जस्त असर पर्छ । भ्रष्टाचार त हट्छ नै आर्थिक उन्नति पनि रफ्तारमा हुनेछ । तर, अहिले त कमाऊ या नकमाऊ, खर्चचाहिँ बढीभन्दा बढी गर भन्ने नीति जबर्जस्त रूपमा लागू भइरहेको छ ।

राजेन्द्रप्रसाद, नेहरु, मौलाना आजाद, राजाजीजस्ता नेताहरूको निजी आचारण सादा, शुद्ध नै रह्यो । तर, नेताहरूको ठाँटबाँटको जुन गैरगान्धीवादी परम्परा सुरु भयो, त्यही नै अगाडि आएर भ्रष्टाचारको जननी बन्यो । सारा सम्पत्ति समाजको हो, हामी त त्यसका संरक्षक मात्र हौँ भन्ने गान्धीको आदर्शलाई सन्दुकमा बन्द गरियो । त्यसपछि नेताहरूको आदर्श शीर्षासनको मुद्रामा देखिन थाल्यो । उनीहरू सारा सम्पत्ति नेताहरूको हो भन्ने सिद्धान्तमा विश्वास गर्न थाले । जति लुट्न सक्छौ, लुट भन्ने मूल मन्त्र उनीहरू अनुसरण गर्न थाले । यस देशमा आज एकजना पनि यस्तो नेता खोज्न मुस्किल छ, जसको जिन्दगी उसको शुद्ध कमाइबाट चलेको होस् । आज सादा जीवन सपना बनेको छ । जब हाम्रा राजनीतिक नेताहरू नै लुटपाट र ठाँटबाटको जीवन बाँचिरहेका छन् भने नोकरसाह, व्यापारी, डाक्टर, वकिल या प्रबन्धकहरूलाई के दोष दिनु ?

यदि नेताहरूले सादा जीवन अपनाउने हो भने जनतामा त्यसको जबर्जस्त असर पर्छ । भ्रष्टाचार त हट्छ नै आर्थिक उन्नति पनि रफ्तारमा हुनेछ । तर, अहिले त कमाऊ या नकमाऊ, खर्चचाहिँ बढीभन्दा बढी गर भन्ने नीति जबर्जस्त रूपमा लागू भइरहेको छ । हाम्रा नेता भारतलाई अमेरिकाको कार्बन कपी बनाउन खोजिरहेका छन् । उनीहरू भारतलाई उपभोक्तावादी देश बनाउन चाहन्छन् । उनीहरूले गान्धीको त्यागवादको स्थानमा पश्चिमको भोगवादलाई आफ्नो आदर्श बनाएका छन् । पुँजीवाद र साम्यवाद यही भोगवादका जुम्ल्याहा सन्तान हुन् । रुसी साम्यवादले अकाल मृत्युवरण गर्‍यो तर पुँजीवादले चाहिँ सारा विश्वलाई हिंसा, लुटपाट, अपराध र असन्तोषको जालमा फसाइरहेको छ ।

यथार्थमा आजको भारतीय समाज गान्धी–समाज होइन, चार्वाक–समाज बन्दै गएको छ । चार्वाक दर्शनको मूल सूत्र हो— ‘यावत् जीवेत् सुखम् जीवेत्, ऋणं कृत्वा घृतम् पिवेत्’ अर्थात् जबसम्म बाँच्छौ, सुखले बाँच । ऋण गरेरै भए पनि घिउ खाऊ । हाम्रा नेता महोदयहरू देशमा ‘स्मार्ट सिटी’ बनाइरहेका छन् । उनीहरूलाई सय, दुई सय सहरहरूको मात्र चिन्ता छ । तर, हाम्रा लाखौँ गाउँ आज पनि चरम गरिबी, दुर्गन्ध, अभाव र असुरक्षाको दलदलमा सडिरहेका छन् । सहरहरूमा ठुल्ठूला अस्पताल, स्कुल तथा कलेजहरू बनिरहेका छन् । यस्ता संस्थाको सुविधा उनीहरूले मात्र उपभोग गर्न सक्छन् वा तिनीहरूले मात्र यस्ता संस्थामा पाइला टेक्न सक्छन्, जसको गोजीमा हमेसा लाखौँ रुपैयाँ हुन्छ । भारतका औसत नागरिक यस्ता अस्पताल, स्कुल तथा कलेजहरूमा चिहाउनसमेत असमर्थ छन् । गान्धीजी भन्ने गर्थे, हामीले ग्राम–स्वराज ल्याउनु छ । हाम्रा नेता यस्तो नीति बनाइरहेका छन्, जसका कारण ती गाउँ नै नरहने खतरा छ ।

आखिर नेता त्यो व्यक्ति हो, जसको मानिसहरूले अनुकरण गरून् । तर, आजका कुनै पनि नेतामा यसको कत्ति चिन्ता छैन । उनीहरूलाई आफ्नो आचरण अनुकरणीय बनाउने चाहनै छैन । केवल भोट र नोट नै उनीहरूको ब्रह्म हो, बाँकी सब मिथ्या हो ।

हाम्रो देशका २५–३० करोड जनता न्युयोर्क, लन्डन वा टोकियोका जनता जसरी नै बाँच्न थालेका छन् । बाँकी सय करोड जनताको भने कुनै भविष्य छैन । अल्लाह या शिव नै उनीहरूका मालिक हुन् । ती सय करोड जनता गान्धीको स्वराज खोज्ने कोसिस गरून् । उनीहरू उबडखाबड सडकमा गोरुगाडाहरूमा धक्का खाऊन् । उता स्मार्ट सिटीका सभ्य नागरिकचाहिँ बुलेट ट्रेनको मजा लुटून् । गाउँका जनता दैनिक २८ रुपैयाँमा गुजारा चलाऊन् र सहरका स्मार्ट नागरिकचाहिँ पाँचतारे होटलमा पाँच हजार रुपैयाँको खानपिन गरून् । यो सब चार्वाक संस्कृति नभए के हो त ? फ्ल्याट, कार, टेलिभिजन, फ्रिज, स्मार्ट फोन सबै ऋण लिएरै भए पनि नकिनी नहुने अवस्था चार्वाक नीतिको सफलता हो । हरेक दिनका समाचार हेर्दा वा पढ्दा देखिन्छ, सहरमा कति दुष्कर्म भए, कति रक्स्याहाले कति जनामाथि कार कुदाए, बैंकहरूका ऋण कति नेताका चम्चाले पचाए । साथै, अर्कातिर निर्दोष सोझासाझा मानिसले उपचारको अभावमा ज्यान गुमाए, कति जनता कडा ठन्डीमा फुटपाथमा सुतिरहेका छन् जस्ता समाचार पनि सुन्नु र पढ्नुपर्छ । के यो सब गान्धीको भारत हो ? यो त चार्वाकको भारत हो । चार्वाक भन्ने गर्थे, ‘मद्यं, मांसं, मीनश्च मुद्रा मैथुनमेव च । एतेस्यु: पञ्चमकारा: हि मोक्षदा युगे युगे ।’ अर्थात्, मद्य (रक्सी), मांस (मासु), मीन (माछा), मुद्रा (पैसा) र मैथुन (यौनसुख) यी पाँच मकार (म अक्षर) बाट बन्ने शब्दहरू नै युगौँयुगसम्म मोक्षदायक छन् । यी विषयमाथि नियन्त्रणको योजना त कुनै पनि नेताहरूमा छैन ।

आखिर नेता त्यो व्यक्ति हो, जसको मानिसहरूले अनुकरण गरून् । तर, आजका कुनै पनि नेतामा यसको कत्ति चिन्ता छैन । उनीहरूलाई आफ्नो आचरण अनुकरणीय बनाउने चाहनै छैन । केवल भोट र नोट नै उनीहरूको ब्रह्म हो, बाँकी सब मिथ्या हो । नेतृत्वमा हुने गान्धीवादी तत्त्व अब गायब भइसकेको छ । हाम्रा नेता सम्पूर्ण समाज सञ्चालनमा कानुन, राजनीति र राज्यको भूमिका एक चौथाइ पनि छैन भन्ने यथार्थ किन बुझ्न चाहँदैनन् ? बाँकी तीन चौथाइ समाज त नैतिकताको आधारमा चल्न सक्छ । राज पनि नीतिविना चल्छ । तर, चार्वाक संस्कृति राज्यलाई मात्र होइन, समाजलाई पनि नैतिकताबाट मुक्त राख्न चाहन्छ । यदि हामीलाई भारतको यो भोगवादी संस्कृतिबाट जोगिनु छ भने गान्धीका सम्पूर्ण प्रासंगिक शिक्षातिर फर्किनुपर्छ । नेताहरू चार्वाक बन्न चाहन्छन् कि गान्धी ? तय गर्ने जिम्मा उनीहरूकै हो ।

(वैदिक भारतीय विदेश नीति परिषद्का अध्यक्ष हुन्)
(भाष्कर डट कमबाट अनुवाद गरिएको यो लेख नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay