scheduleबिहिवारबैशाख ९ गते, २०७८

‘चटके’ले चलाएको देशमा जनता बन्न नसकेका हामी कार्यकर्ताहरु !

नवराज बराल

आज–भोलि चियापसल र सामाजिक सञ्जालहरुमा आरोप लाग्न थालेको छ, यो देशमा कालाबजारीहरुले समानान्तर सरकार चलाइरहेका छन्, त्यो पनि सरकारकै संरक्षणमा । अब यो आरोपको दायरामा मात्र सिमित छैन, तितो–सत्यका रुपमा आम मानिसले स्वीकारीसकेका छन् । कालाबजारीहरुले सरकारकै संरक्षणमा चलाएको समानान्तर अर्थतन्त्रले दशकौँसम्म खुल्ला बजारलाई धक्का दिने जानकारहरु बताउँछन् । यसरी हेर्दा, एक असक्षम र अतिवादी नेतृत्वका कारण देश, राजनीति, अर्थतन्त्र सबै दशकौंँसम्म थला पर्न पुग्यो भन्ने निष्कर्ष अब पनि ननिकाले धेरै ढिला हुनेछ ।

Nabaraj Baralपेट्रोल पम्पमा इन्धनको अभाव छ, तर सडकमा गाडी जाम छ । तेल कहाँबाट आउँछ ? सबका सब कालोबजारीले बेचेको तेल । तर, सरकार बेखबर छ । किनकी, यसको कनेक्सन सरकारसँगै छ । राज्यका सबै संरचनाहरुलाई कालोबजारको छायाँले गल्र्याम्मै अंँगालो हालेको छ । विचौलियाहरु राज्यका हरेक आयाममा बहुआयामिक ढंगले हावी छन् । सरकारी कार्यालयमा सेवाग्राही विचौलियालाई खुसी नपारी काम गर्न सक्दैनन् । यसरी हेर्दा यहाँ नाकाबन्दी, कालोबजारी र इन्धन संकट सबै सुनियोजित लाग्छन्, बनिबनाउ लाग्छन्, कहीबाट सचेततापूर्वक डिजाइन गरिएका जस्ता लाग्छन् । किनकी, आन्दोलनकारीका विरुद्ध आगो ओकल्ने प्रधानमन्त्री र सरकार कालोबजारी र तस्करकाविरुद्ध चुक्क बोल्न सक्दैनन् । यस्तो किन भइरहेछ ?

भूकम्पबाट प्रताडित बयोवृद्ध र बालबालिकाहरु त्रिपाल र जस्ताको छानाको टहरामुनि लासको खात रुपान्तरण भइरहेका छन् । बाँचेकाहरु पनि मृतप्रायः र कष्टकर जीवन बिताइरहेका छन् । चिसोले डसेर निलडाम परेका जनता राहत बाँड्ने प्रधानमन्त्रीको भाषणमा बलात् मुस्कुराउनु परिरहेको छ । राष्ट्रपति विभिन्न भोजमा पैसा खर्च गरिरहेकी छिन् । प्रधानमन्त्री बिजुली र ग्याँसका अपत्यारिला भाषण र उखान टुक्कामा सशुल्क मनोरञ्जन दिने चटकेको भूमिकामा छन् ।

टुँडिखेलमा चटक देखाउने मान्छेले पनि केही क्षण मनोरञ्जन दिन सक्छ, तर देश र जनताको भविष्य निर्माण गर्दै राजनेताको भूमिकामा देखिनुपर्ने पात्रहरु नै जब चटकेको भूमिकामा प्रस्तुत हुन्छन्, त्यो देशको अवस्था कस्तो होला ? उत्तर छैन । तर, त्यही उत्तरभित्र जनताहरु निरीहतापूर्वक कष्टकर जीवन बाँचिरहेछन् !

अथाह पीडाको बीचमा पनि जनता चिसोले डामेर निलो भएका ओठहरु खोलेर हाँस्न बाध्य हुन्छन्, किनकी टेलिभिजनमा प्रधानमन्त्री देखिन थाल्छन्, रेडियोमा प्रधानमन्त्री सुनिन थाल्छन् ।

त्रिपाल र जस्ताका टहरामुनि तप्प–तप्प चुहिने सितको झटारोले जब पोलेको घाउमा नुन–खुर्सानीजस्तै बनेर हिर्काउँछ, आँखा झिम्केजसरी आउने बिजुलीले टेलिभिजन खुल्छ, रेडियो बज्न थाल्छ । अथाह पीडाको बीचमा पनि जनता चिसोले डामेर निलो भएका ओठहरु खोलेर हाँस्न बाध्य हुन्छन्, किनकी टेलिभिजनमा प्रधानमन्त्री देखिन थाल्छन्, रेडियोमा प्रधानमन्त्री सुनिन थाल्छन् । छेउ न टुप्पाका गफहरुले ल्याउने बलजफ्ती मुस्कान जनताको ओठमा लामो समय टिक्दैन, एनजिओको विकासजस्तै पुसको घाम बनेर झुलुक्क झुल्कन्छ र तताउन नपाउँदै अस्ताइहाल्छ ।

सरकारमा ‘क्रान्तिकारी’ पार्टीदेखि ‘राष्ट्रवादी’हरुसम्म, ‘साधु’ चित्रबहादुरदेखि ‘धार्मिक’ ढकालसम्म सहभागी छन् । तर, सबका सब चटकेको चटकमा कम्मर हल्लाइ–हल्लाइ नाँचिरहेछन् । फगत दिन बिताइरहेछन् । जनताको चोटमाथि चोट थपिरहेछन् । झांगिँदो अन्धकार हटाउने एक धर्को उज्यालोको खेती गर्ने पक्ष र हैसियतमा कोही छैनन् । यहाँ अँध्यारोकै खेती भइरहेछ । किनकी निशाचरहरुलाई अँधेरो मन पर्छ । अँधेरोमा धेरै काला धन्दाहरु चलाउनु बर्जित हुँदैन । जनताको नाममा रातारात मालामाल हुनु अस्वीकार्य हुँदैन ।

भ्रष्टाचार मौलाएको छ । कालाबजारी विष्णुमतिको मुलाजस्तै सप्रिरहेका छन् । जनता झन् कंगाल हुँदैछन् । देश झन्–झन् गरिब हुँदैछ दशकौंँ उठ्न नसक्ने गरी । बाँच्नेहरु कष्टसाध्य जीवन बाँचिरहेछन् । तर भावी पुस्तालाई समेत यही दुःख कष्ट र अन्धकार भविष्य हस्तान्तरण गर्दै पछुताउँदै मर्नुपर्ने अवस्था छ । अराष्ट्रवादीहरु चर्का स्वरमा राष्ट्रवादी भजन घन्काइरहेछन्, पटक्कै पत्यार नलाग्ने गरेर ।

कृत्रिम त आखिर कृत्रिम नै हुन्छ नि ! नयाँ जोगीले धेरै खरानी घसेजस्तै । उत्तेजना र भावनाको कुहिरोहरु कतिसमय टिक्छन् र ? तैपनि यहाँ यस्तै कुहिरोले ढाकिएका छौंँ हामी । यसरी नै शासित भइरहेका छौं हामी । अस्थायी मनोरञ्जनको लागि स्थायी खुसीको बलि चढाइरहेका छौं हामी । आखिर किन ?

किनकी, हामी यहाँ जनता जनता भएनौं । पहिला कार्यकर्ता भयौंँ, त्यसपछि मात्र नागरिक भयौंँ । वाद र विचारधाराका कैदमा थुनिएका हामीहरु यतिधेरै विवेकहीन भयौंँ कि पहिला नागरिक बन्नुपर्ने कर्तव्यलाई बन्धक बनाएर हामी पनि बनिबनाउ जिन्दावाद र मुर्दावादका नारा लगाउने कार्यकर्ता भयौंँ ।
एकजना पत्रकारले रमाइलो प्रसंग सुनाएका थिए । उनले चुनावको बेला बुटवलका एकजना बुद्धिजिवीलाई फोन गरेछन् । चुनाव बाबुरामले जित्छन् कि विष्णु पौडेलले ? उनको सहज जवाफ थियो, ‘बाबुरामले चुनाव हार्छन् ।’ कारण रमाइलो थियो, यहाँ स्वतन्त्र मान्छे धेरै छैनन् । यहाँ पार्टीका मान्छे वा कार्यकर्ता धेरै छन् । बाबुराम चाहिने मान्छे हुन्, राम्रा मान्छे हुन् देशका लागि । तर म आफैं पनि एमाले कार्यकर्ता भएको हुनाले उनलाई भोट हाल्न सक्दिन ।

अब पनि कार्यकर्ताको साँघुरो पर्खालबाट मुक्त भएर सोच्न नसक्ने हो भने हाम्रो अवसान त्यही जेलभित्र हुनेछ जहाँ विवेक, वाद र सिद्धान्तको जेलमा बन्दी बनिरहेको हुन्छ । अनि अहिलेजस्तै चटकेहरुले शासन गरिरहेका हुनेछन् । त्यतिबेला भोको पेटमा चकटेको किस्सा र जादू हेर्दै, सुन्दै हाँस्नुपर्ने हुन्छ ।

एउटा सामान्य प्रसंगले हाम्रो अवस्थालाई उजागर गर्न सक्छ । यहाँ अमूक नेतालाई राम्रो वा नराम्रो भन्न खोजिएको होइन । तर हामी कसरी कार्यकर्ताको रुपमा स्वतन्त्र निर्णय गर्न सक्ने एउटा विवेकशील मानवलाई बलात्कार गरेर बाँचिरहेका छौंँ ? हामीले भोगिरहेको वर्तमान एक–दुई व्यक्तिको मात्र गल्ती नभएर हाम्रो चेतना स्तर, संस्कार र संस्कृतिको उपज हो । नेतामा अग्रगामी चेतना हुनुपर्ने तर किन जनताभन्दा पछाडी परे यिनीहरु ? यसकारण किन अब पुराना नेताले होइन, नेताभन्दा अग्रचेत भएका जनताले वर्तमानको असंयोजनीय भद्रगोलता र जर्जर अवस्थालाई फेर्न सक्छ ? यी यक्ष प्रश्नबारे बहस र छलफल गर्नुपर्ने भएको छ ।

बहस र छलफल मात्र होइन, अब एउटा सार्थक निष्कर्षका लागि दौडधुप गर्नुपर्ने बेला भएको छ । अझै हामीले ढिला गर्यौं भने हामीले आफ्नो जीवन मात्र होइन, सन्तान दरसन्तानको भविष्यसमेत ध्वस्त बनाइरहेका हुनेछौंँ । अब पनि कार्यकर्ताको साँघुरो पर्खालबाट मुक्त भएर सोच्न नसक्ने हो भने हाम्रो अवसान त्यही जेलभित्र हुनेछ जहाँ विवेक, वाद र सिद्धान्तको जेलमा बन्दी बनिरहेको हुन्छ । अनि अहिलेजस्तै चटकेहरुले शासन गरिरहेका हुनेछन् । त्यतिबेला भोको पेटमा चकटेको किस्सा र जादू हेर्दै, सुन्दै हाँस्नुपर्ने हुन्छ । समयद्वारा थिचिएर मर्नुपर्ने हुन्छ । गरिबी र अभावको जाँतोमा पिल्सिएर जीवन निर्वाह गर्नुपर्ने हुन्छ । हाम्रा अथाह स्रोत र साधनहरु कालाबजारी र तस्करहरुको कब्जामा हुनेछन् । तसर्थ, आउनुहोस्, चटकेहरुको पञ्जाबाट देशलाई मुक्त गरौंँ । स्वाभिमानी र विवेकशील नागरिक भएर बाँचौं । आफ्नै जीवनकालमा समृद्ध देश बनाउन योगदान गरौंँ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay