scheduleबिहिवारबैशाख ९ गते, २०७८

नैतिक लोकतन्त्रको खोजीमा नयाँ पुस्ता

पशुपति नेपाल

वर्तमान समयमा सबै राजनीतिक दलहरुसंघ जनताको मोहभंग भएको छ । हरेक नागरिकको मानसपटलमा राजनीतिक पार्टीहरु र हरेक नेता आफ्नो स्वार्थको लागि मात्र काम गर्दछन् भन्ने छाप परेको छ । अहिले राजनीतिक व्यवस्था धनको लोभको कारण अत्यन्त दुसित भएको छ । नेताहरुको राजकीय जीवनशैलीले यस प्रवृतिलाई झन् बढाएको छ । राजनीतिमा बढ्दै गएको अपराधिकरणको सबैभन्दा महत्वपूर्ण कारण राजनीतिमा प्रवेश गर्नेको लक्ष्य समाजसेवा नभई व्यक्तिगत स्वार्थपूर्ति हुँदै गएको छ ।

व्यापार गर्नेहरु जस्तै स्वार्थ आर्जनको पनि नैतिक मापदण्ड हुन्छ । तर हाम्रो समाजमा अधिकांश नेता सबै मापदण्डको उलंघन गर्दै, कानुनलाई आफ्नो अनुकूल बनाएर, डराएर-धम्काएर, लोभ देखाएर आफ्नो स्वार्थसिद्ध गर्दै छन् । धन संग्रह उनीहरुको एक मात्र लक्ष्य बनेको छ । यसप्रकारले चलेको हाम्रो शासनतन्त्रले र हाम्रो लोकतन्त्र मात्र हैन हाम्रो आर्थिक विकास पनि प्रभावित हुन्छ । सार्वजनिक जीवनको क्षति हुनुको साथै नयाँ पिढीले पनि अझ धेरै भ्रस्टाचार सिक्न थाल्दछन् ।

 

पशुपति नेपाल
पशुपति नेपाल

भ्रस्टाचारको इतिहास
सानोस्तर पक्षपात र भ्रस्टाचार सभ्यताको सुरुदेखि नै भइरहेको हामी पाउँदछौ । प्राचीन युनानका तीन देवीको सौन्दर्य प्रतियोगितामा पेरिसद्वारा सुन्दरी हेलेनलाई पाउनका लोभमा एफ्रोडाइटको पक्षमा निर्णय दिइएको थियो । कृष्णले पनि पाण्डवका लागि पक्षपात र छल गरेका थिए । रोममा राजनीतिको आधार नै भ्रस्टाचार बनेको थियो । जहाँ सत्ताको प्रत्यासीद्वारा, नागरिकलाई सित्तैको खाना र सर्कसको लोभ देखाएर उनीहरुको समर्थन लिने गरिन्थ्यो । सोह्र, सत्र सताब्दीमा ब्रिटेनमा पनि भ्रस्टाचारको एक सम्मानित व्यवस्था थियो । आधुनिक विज्ञानका दार्शनिक फ्रान्सिस बेकनलाई घुस लिएर निर्णय दिएको कारण सजायँ दिइएको थियो ।
विभिन्न मुकुकमा भ्रस्टाचार
आज सारा माहौल देसको राजनीति र नेताहरुको बलिको बोको बनेको छ । हाम्रो देसमा मात्र हैन जर्मनीका पूर्व चान्सलर, इटालीका पूर्व प्रधानमन्त्री तथा कयौं मन्त्रि, फ्रान्स र ब्रिटेनका, जापानका, भारतका कयौं मन्त्रि भ्रस्टाचारको दायरामा आएका छन् । अमेरिकाको राजनीति पनि भ्रस्टाचारको नियमित खेल मैदान रहेको छ । मलेसियामा प्रधानमन्त्री लामो समयदेखि भ्रस्टाचार मुद्दामा मुछिएका छन् । नेपालमा कयौं मन्त्रीहरुले भ्रस्टाचारको कसुरमा जेल सजायँ समेत पाएका दृष्तान्त हाम्रा सामू छन् ।
नेपाल र सम्पन्न राष्ट्रमा भ्रस्त्रचारमा तात्विक फरक
सम्पन्न औघोगिक देश र नेपालमा फरक यति मात्र हो कि सम्पन्न देशमा तल्लो स्तरमा भ्रस्टाचार नगन्य छ । यसका दुइ कारण छन् । एक त्यहाँ मानिसको आय ज्यादा भएकोले सानो रकम लिन प्रलोभन हुँदैन । दोस्रो कारण, वर्तमान औघोगिक व्यवस्थामा कामको यस्तो संस्कृति बनेको छ कि कुनै कामलाई नगरेर घुस दिने दबाब बनाउन सम्भब छैन । किन कि ति देशमा यसबाट सबै व्यवस्था ठप्प हुन् थाल्छ र हंगामा हुने गर्दछ । अर्को कारण, सम्पन्न देशका मानिस शिक्षित छन् र प्रसाशनमा एक हदसम्म पारदर्शिता बिकसित भएको छ । यसमा पनि आम मानिससंघ कर्मचारी अनुचित दबाब बनाउन सक्दैनन् । अत्याधिक सम्पन्नताको कारण पनि बिशाल स्थरमा घुसखोरी हुदा पनि त्यहाँ आम मानिसको जीबन प्रभावित हुँदैन । तर हाम्रो देशमा भ्रस्टाचारले गरिब भन्दा गरिबको गास र नुनसम्मलाइ प्रभावित गर्ने गर्दछ ।

वर्तमान पुँजीवादी व्यवस्थामा भ्रस्टाचार
वर्तमान पुँजीवादी व्यवस्थामा भ्रस्टाचारको स्वरुपमा अभूतपूर्व फैलावट आएको छ । ठूला प्रतिष्ठानहरु अनेक देशका सरकारको चरित्र ख्याल आफ्नो व्यापारिक हितको रक्षा गर्दछन् । वर्तमान विश्वमा अनेक उद्योग यस्ता वस्तुको उत्पादनमा लागेका छन् जसले मानिसको मूल आस्वस्यकताको पूर्ति गर्दैनन् । उनीहरु पहिले क्रेतालाई वस्तुको बानी लगाउने बनाउँदछन् र ति वस्तुको माग बढाउने कार्य गर्दछन् ।

यस किसिमको व्यापारलाई प्रोत्साहित गर्नका लागि विचौलिया र प्रचारकहरुको एक फौज तयार गर्नुपर्ने हुन्छ । यी विचौलिया वस्तुको सम्भावित क्रेताको खोजी गरी उनीहरुलाई वस्तुहरुको उपलब्धताको जानकारी दिन्छन् । यसैगरी विज्ञापनको भरमार प्रयोगले मानिसमा त्यो संमोहन छाउँछ, जसले गर्दा एकदम काम नलाग्ने र हानिकारक वस्तुहरु पनि जीवनका लागि अपरिहार्य लाग्न थाल्दछ । यहीँबाट नै भ्रस्टाचारको सुरुवात हुने गर्दछ ।

राज्य सत्तामा भ्रस्टाचार
वर्तमान राजनीतिक सम्बन्धमा भ्रस्टाचारको सबैभन्दा ठूलो र मूल कारण एकतर्फ ठूला राष्ट्रिय र अन्तराष्ट्रिय औद्योगिक फैलावट र अर्कोतर्फ संसारभरमा राष्ट्रिय सरकारको हातमा अत्याधिक शक्तिको केन्द्रीकरण हो । राष्ट्रमा सरकारले धेरै हदसम्म औद्योगिक प्रतिष्ठानको बजारलाई नियन्त्रित गर्दछ । आयात-निर्यातमा नियन्त्रण, देशकोभित्र बहुराष्ट्रिय कम्पनीको उद्योग लाउन वा व्यापारको इजाजत उनीहरुकै अधिकारको क्षेत्रमा पर्दछ । विशाल निर्माणकार्य जस्तै, बाँध, सडक, अस्पताल, हाइड्रो आदि पनि प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा सरकारद्वारा नै निर्देशित हुन्छ । यसरी यसमा विशाल निवेषको बाटो सरकारको रक्षाबाट मात्र खुल्ने गर्दछ । जहाँ अरबौंको किन बेच वा फाइदाको कुरा हुन्छ, त्यहाँ कम्पनिहरु केहि लाख वा करोड रुपयाँ आफ्नो सौदाको सुनिश्चितताको लागि दिनबाट हिच्किदाउँदैनन् ।

यसकारण नेताहरु तथा प्रशासनिक अधिकारीहरुमाथि प्रलोभनको दवाव सदैव रहने गर्दछ । राजनीतिमा सम्पन्न वर्गको पकड भएकोले आधुनिक चुनाव पनि अत्याधिक खर्चिलो हुँदै जादै छ । यी चुनावमा खर्चको लागि पार्टीहरु व्यापारिकहरुसँग चन्दा बटुल्छन् र विभिन्न सुविधा लिने गर्दछन् । तल्लो स्तरमा, यो सम्बन्ध सरकारी कर्मचारीहरुमा आश्रित अरु मानिसबीच कायम रहन्छ । यसरी देशमा भ्रस्टाचारको एक व्यवस्था कायम भएको हुन्छ जसमा सबै स्तरमा शासक-प्रशासक र यिनमा आश्रितहरु बीच लेनदेनको व्यवस्थित तानाबाना बनेको हुन्छ ।
भुकम्प र भ्रस्टाचार
महाविनाशकारी भूकम्पको कारणले जर्जर बनेको अर्थतन्त्र पुनः निर्माणको व्यग्र प्रतिक्षामा छ । भुकम्पपीडित लाखौं घरबारविहिन जनता नाङ्गो आकाशमुनि कष्टकर जीवन बिताउन बाध्य छन् तर सरकार र सत्ताधारी पार्टीहरु भागबन्डा र सत्ता लिप्साको फोहरी खेलमा चुर्लुम्म डुबेका छन् । भुकम्पले धेरैलाई समाजसेवी देखिने मौका दिएको छ । अरुसँग पैसा उठाएर ठूलो हिस्सा खल्तीमा हालेर सानो हिस्सा बाँढेर देखाउन तल्लिन छन् । भूकम्प सत्ताधारी र सरकारी कर्मचारीलाई कमाउने अवसर बनेको छ ।
नाकाबन्दी र कालोबजारी
वर्तमान परिस्थितिमा संविधान जारी भए लगत्तै छिमेकी मुलुकले अघोषित नाकाबन्दीले पेट्रोलियमलगायत दैनिक आवश्यकताका सामग्रीहरु अभावका कारण देशको आर्थिक अवस्था जर्जर बनेको छ । महंगी, असुरक्षा, कालोबजारी, कमिसनखोरी, तस्करी, भ्रस्टाचार र अराजकताका कारण जनताको जीवन अत्यन्त कस्टकर बनेको छ । सरकार तस्कर, कमिशनखोर र भ्रस्टाचारीको खेलौना बनेको छ । जनताका पीडामाथि सत्ताधारीहरुको संरक्षणमा मुलुक दोहनमा मस्त भएका छन् ।
केहि कृपा पात्रले राज्यका कार्यकारी अधिकार दोहन गरी यो संकटलाई आफ्नुअनुकूल प्रयोग गरेका छन् । तस्करी गर्दै दोब्बर मूल्यमा बेचेर रातारात करोडपति भइरहेका छन् । पहुँचवाला नेता, पत्रकार, वकिल र एनजीओकर्मीको सुविधामा पहुँच छ । प्रहरी ग्यास र तेल बोकेर पहुँचवालका घरमा पुगेको देखिन्छ भने श्रमजीवी जनता साविक मूल्यमा पनि खरिद पाउँदैनन । ऋण काढेर कालोबजारीको सामान खरिद गर्नु परेको छ । चर्को ब्याजमा ऋण दिने सुदखोरहरुको जमात बढ्दा समेत सत्ता मुकदर्शक भएको छ ।
इन्धन र उपोभोग्य वस्तु तथा सामग्रीहरु सहज रुपमा वितरण हुनुविपरित तस्करका हातमा पुर्याएर उपभोक्ताको घाउमा नुन छर्कंदै छ । यो राज्यसत्ता जनतालाई मधेश विरोधी रास्ट्रवादमा भुल्याउदै शासन गर्दै छ, व्यापार गर्दै छ, कालोबजारीको संरक्षण गर्दै छ । मधेशीका जायज माग सम्बोधन गरेर उनीहरुलाई विश्वासमा लिनु र त्यो विश्वासको बलमा दुई पक्षीय सम्बन्धलाई सम्मानजनक अवस्थामा पुर्याउनको साटो नाकाको अवरोधलाई आफ्ना कृपापात्रहरुको अवैध धन सोहोर्ने उद्यममा परिणत गर्ने क्रम राज्य सत्ताले गरेको छ ।
नेपालमा विभिन्न निकायमा भ्रस्टचारी
हालै प्रकाशित एकअध्ययन अनुसार नेपालमा भ्रस्टचारीहरु (प्रतिशतमा) राजनीतिकर्मी ८४, निजामती कर्मचारी – ८२, प्रहरी ६१, वकिल ३७, न्यायधिश ३६, एनजीओकर्मी ३२, भ्रस्टाचार नियन्त्रण निकाय २७, इन्जिनियारिंग २२, ब्यापारी/उद्योगि २०, डाक्टर १७, बैंक कर्मचारी १६, सेना १३, पत्रकार १२, शिक्षक ८, ड्राइभर ६ देखिएका छन् । अकुत सम्पति कमाएको आरोपमा अख्तियारले बहालवाला ६३ उच्च पदस्त कर्मचारी माथि छानबिन थालेको छ । नेपाल सरकारका ६ सचिवसहित, १५ विशिष्ट श्रेणी, ७ महानिर्देशक, २० प्रथम श्रेणीका र २८ द्वितीय श्रेणीका रहेका छन्, तिनका ब्यांक खाता र लकर बन्द गरिएको छ ।
दोहोरो सुविधा
सार्बजनिक पद धारण गरेका उच्च प्रतिष्ठित व्यक्तिले सरकारबाट दोहोरो सेवा सुविधा लिएर राज्यकोषको ब्रम्हलुट गरेका छन् । पहिलो निकायमा नियुक्ति सरकारी पेन्सनवाला व्यक्तिले लिइरहेको दोहोरो सुविधा सरकारी सेवामा रहँदाको पेन्सन रकमसहित संवैधानिक निकाय र आयोगमा नियुक्ति पाएबापत तलब, भत्ता, सवारी, आवास, इन्धन, टेलिफोन, धारा, बिजुली, दैनिक भ्रमण भत्ता, उपचार खर्च बीमा सुबिधालगायत पर्दछन । सरकारी निर्णयअनुसार राज्य कोषबाट दोहोरो सेवा सुविधा लिन नपाइने नियम छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्व सचिवहरु, सांसदहरु, राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त, पूर्व न्यायाधिश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुहरुले दोहोरो सुविधा लिइरहेको पाइएको छ । यी र यस्ता भ्रस्टचारीहरुको प्राविधिक रुपमा सुक्ष्म अध्ययन हुन जरुरी छ ।
भ्रस्टाचार अन्त्यका लागि राजनीतिक दलमा सदाचार
राजनीतिले अहिलेसम्म जनतालाई समृद्धि दिन सकेन, जनताको मनोविज्ञान अहिले समृद्धि र विकासतर्फ मोडिएको छ । जबर्जस्ती चन्दा लिने कार्य बन्द गर्दै र सबै खालको सहयोग तथा वित्तिय व्यवस्थापनलाई पारदर्शी बनाउनु पर्दछ । प्रत्येक पार्टीका नेता तथा कार्यकर्ता श्रम र उत्पादनसँग जोडिनु पर्दछ । राजनीतिलाई पेशा बनाएर भ्रस्टीकरण भएको हो । राजनीतिक कामबाट आर्थिक हैसियत उकास्ने परिपाटीको अन्त्य नभएसम्म भ्रस्टाचारको अन्त्य हुन सक्दैन । सबै कमिटिमा आबद्ध नेता तथा कार्यकर्ताको सम्पति सम्बन्धित तहमा बार्षिक रुपमा सार्वजनिक गर्नुपर्ने नियम हुनुपर्दछ । राजनीतिमा लागेका नेता तथा कार्यकर्ता सदाचारी रहँदै शक्तिको दुरुपयोग र भ्रस्टाचार जन्य गतिविधिप्रति शून्य सहनशीलताको नीति हुनुपर्दछ । राजनीतिक कामबाट आर्थिक हैसियत उकास्ने परिपाटीको अन्त्य नभएसम्म भ्रस्टाचारको अन्त्य हुन् सक्दैन ।
राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको विकास गर्दै प्रत्येक राजनीतिक दलले आफ्नो आय -व्ययको आलेखको निर्माण गर्ने र पारदर्शी बनाउने नियम अनिवार्य बनाईनु पर्दछ । चुनावी प्रक्रियाको बेलामा सबै प्रत्यासीहरुद्वारा मतदान र मतगणनाको समयमा भएका खर्चको हिसाब किताब पनि सार्वजनिक गर्नुपर्दछ । किनभने वर्तमान, भूत र भविष्य सबै सत्ताधारीहरुलाई भ्रस्टाचारद्वारा स्वार्थसिद्ध गर्न रोक्ने सबैभन्दा सशक्त माध्यम चुनाव प्रणालीमा सुधार नै हो । भ्रस्टाचारको संस्कृतिले जनतालाई चोट पुर्याएको हुनाले नेतृत्वहरुले आफ्नो व्यवहार र चरित्र बदल्न जरुरी छ । तसर्थ भ्रस्टाचारी राजनीतिक नेताहरुलाई स्वार्थ सिद्ध गर्नबाट रोक्न उदाहरणको रुपमा नयाँ पुस्ताले पूरा-पूरा प्रयास गर्नुपर्ने भएको छ ।

नेपाली समाज नयाँ पुस्ता : आशाको किरण
आजको नेपाली समाजलाई तीन भागमा बाँढ्न सकिन्छ । पहिलो भाग संख्यामा सानो छ तर धेरै अधिक प्रभावी छ, जो भ्रस्ट मात्र हैन बेइमानी र अपराधबाट नै विकास गर्ने प्रक्रियामा विश्वास गर्दछ । दुर्भाग्यको कुरा समाजको अत्यन्त सुक्ष्म यही भागले देशलाई चलाई रहेको छ ।
एक धेरै ठूलो संख्या यस्ता मानिसको पनि छ जो भ्रस्ट त छैन तर सिष्टाचारी पनि छैन । आवश्यकता परेमा ति भ्रस्ट व्यवस्थासँग पनि हुने गर्दछन् र मन-मनमा त्यसको विरोध गर्दछन् । लाइसेन्स छिटो बनाउनको लागि घुस दिने, ट्राफिकलाई चलानबाट बच्न घुस दिन उनीहरुलाई लाज लाग्दैन । परीक्षामा शिक्षकहरुलाई सिफारिस गर्न उनीहरुलाई उचित लाग्छ र सरकारी संशोधनलाई आफ्नो व्यक्तिगत हितमा प्रयोग गर्नु आफ्नो अधिकार मान्दछन् । यो समुदाय भ्रस्ट होइन तर सिष्टाचारी पनि होइन । यो समूहलाई छद्म सिष्टाचारीको संज्ञा दिन सकिन्छ ।
आशाको किरण यस भयानक कालो रात्रीमा नेपाली समाजमा छ, नेपाली जनताको एक वर्ग न केवल भ्रस्टाचारको बिरोध गर्दछ, ऊ आफ्नो व्यवहारबाट सिष्टाचारी पनि छ । आजका पढे-लेखेका अधिकांस युवा वर्ग सिष्टाचारी छन् । उनीहरुबाट हामी आदर्श सामाजिक व्यवस्थामा रहँदै अगाडि बढ्न सक्ने आशाको किरण देख्न सक्दछौ । यो वर्ग अगाडि बढ्नको लागि पछाडिको ढोका, लाइन जम्पिंग, विशिष्ठ हेरविचार र सर्टकट लिँदैन । यो वर्ग देश र समाजको भविष्यको लागि चिन्तित एवम् भ्रस्टाचार हटाउनका लागि तत्पर देखिन्छ । यहि वर्गले अब सदाचारी ‘नयाँ शक्ति’को निर्माण गर्न नैतिक लोकतन्त्रको खोजी गर्दै अघि बढ्नु जरुरी छ ।
(लेखक नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानका केन्द्रिय अभियन्ता हुन् )

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay