scheduleबिहिवारबैशाख ९ गते, २०७८

गीता, मार्क्सवाद र नयाँ शक्ति

निर्मल भट्टराई

मानव सृष्टिदेखि नै संसार र मानिसबीचको सम्बन्धको बारेमा ठूलो भ्रम रहदैं आएको छ । वस्तुले मानवीय चेतनाको जन्म दिएको हो वा महान मानव चेतनाले वस्तु (पृथ्वी वा अन्य खगोलीय पिण्ड) को उत्पत्ति भएको हो भन्ने विवाद अण्डा पहिले कि चल्ला पहिले भन्ने विवाद जस्तै बन्दै आएको छ ।

निःसन्देह मानव चेतना पदार्थको उच्चतम रुप मानव मष्तिष्कको उपज हो । त्यसकारण अध्यात्मवादले दलील गरेजस्तो कुनै महान आत्मा वा चेतनाले बस्तुको सृष्टि गरेको भन्ने निष्कर्ष सही हुन सक्दैन । क्वान्टम भौतिकीसम्म आईपुग्दा विज्ञानले यही देखाएको छ ।

निर्मल भट्टराई
निर्मल भट्टराई

त्यसो भए अध्यात्मवादी विचारधारा र भौतिकवादी विचारधारा हालसम्म किन उत्तिकै अस्तित्वमा छन् त ? अध्यात्मवादको कुरा गर्दा हिन्दू धर्मको शुरुवाततिर जानुपर्ने हुन्छ । कोही महान आत्मा (ईश्वर) ले सम्पूर्ण चराचर जगतको सृष्टि गरेको र सृष्टि सबै नश्वर हो परमात्मामात्र सत्य हो भन्ने विस्तारै जनतालाई छाप बनाउदै लगियो । यो मानव सृष्टिको धेरै पछि शुरु भएको हो । शासन सत्ताको प्रयोजनका लागि विस्तारै यसको प्रयोग गर्न थालियो । भन्न परोइन, लामो समय धर्मको आडमा शासन गरियो ।

धर्मको नाममा युद्ध गरियो । पाँच हजार बर्ष पहिले जन्मिएका श्रीकृष्णले यदि दाजुभाइमा समेत राक्षसी प्रवृत्ति (राज्य, श्रोत, साधन, जग्गा र अन्य सम्पत्ति कब्जा गरेर अरुलाई दुःख दिने प्रवृत्ति) भए त्यसकाविरुद्ध लड्न आवस्यक छ भन्ने सन्देशमात्र प्रवाह गरेनन्, आफू समेत युद्धमा सामेल भए । वास्तवमा महाभारतको युद्ध सत्ता र सम्पत्तिको लागि थियो । श्रीकृष्ण यति सफल भए कि उनी पछिका हज्जारौं पुस्ताले उनलाई सम्पूर्ण कुराको रचनाकारको रुपमा विस्वास गरिरहे, गरिरहेछन् । उनले तत्कालीन सुप्रसिद्ध योध्दा अर्जुनलाई दिएको उपदेशको संग्रह भागवत् गीताको दार्शनिक प्रभाव चानचुने थिएन, छैन ।

धर्मको आडमा गरिएको शासनले पनि जनतालाई शान्ति र समृद्धि प्रदान गर्न सकेन । राज्यको श्रोत साधन दुरुपयोग गरेर मोज गर्नेहरुले सम्पत्तिको न्यायिक वितरण नभएका कारण जीवनभर दुःखमा डुबेका जनतालाई स्वर्गको लोभ देखाए ।

श्रीकृष्ण जन्मेको करीब पच्चीस सय बर्ष पछि जन्मेका गौतम बुद्धले विश्वभर शान्तिको सन्देश फैलाए । हिन्दू धर्मले आफूसंग बोकेर ल्याएका धेरै असंगत विषय परित्याग गरे पनि बौद्ध दर्शन अध्यात्मवादी दर्शन नै थियो । बौद्ध दर्शनको प्रभाव संसारभर फैलियो । ईसवीको दोस्रो शताब्दीमा श्रीलंकामा भएको अन्तराष्टिय बौद्ध सम्मेलनमा इजिप्टबाट समेत प्रतिनिधिमण्डल आएको थियो ।

बुद्धले फैलाएको शान्तिले पनि जनताको समतामूलक समृद्धि हुन सकेन । गरीबी, भोकमरी र अन्यायको अन्त्य हुन सकेन । त्यही कारण हुनसक्छ, अर्का महामानव यशु ख्रीष्टले बुद्धले जस्तो शान्तिको कुरा गरनन् । उनले भने, ‘तिमी यो नसम्झ कि म संसारमा शान्ति लिएर आएको छु म त तरवार लिएर आएको छु ।’ उनले निर्माण गरेको धार्मिक अध्यात्मिक समुदायले युरोपीय महाद्वीपमा ठूलो प्रभाव जमायो । विस्तारै युरोपमा पोप र पादरीको शासन चल्न थाल्यो । क्याथोलिक र प्रोटेस्टेन्टबीचमा ठूल्ठूला युद्ध भए ।

अरु जतिसुकै विवाद भए पनि अध्यात्मवादको प्रमुख विशेषता – परमात्माको सर्वोच्चता र भौतिक वस्तुको नश्वरता– मा कुनै विवाद रहेन । श्रीकृष्णदेखि पैगम्वर महम्मदसम्म यो मान्यतामा एकरुपता देखियो ।

जसरी गीता, बाईबल, त्रिपिटक, कुरान आदि अन्तिम सत्य भएनन्, त्यसरी नै मार्क्सको दर्शन र उनका अरु राजनीतिक अवधारणा अन्तिम सत्य होइनन् । यहाँ ‘हरेक कुरामा सन्देह गर’ भन्ने मार्क्सको भनाई अनुशरण गर्नु ठीक हुन्छ ।

भौतिक वस्तु प्रधान हो र त्यसबाट चेतनाको विकास हुन्छ भन्ने ज्ञान त अठारौं शताब्दीमा हेगेल र फायरबाखजस्ता चिन्तकहरुमा देखा पर्यो । उन्नाइसौं शताब्दीको मध्यतिर आएरमात्र कार्ल मार्क्सले भौतिकवादी दर्शनको व्यवस्थित व्याख्या गरे । त्यसले शदीयौंदेखिको अध्यात्मिक मनमाथि सोझै प्रहार गर्यो । स्वभावतः संसारको सृष्टि परमात्माले गर्यो कि परमात्माको सृष्टि संसारले गर्यो भन्ने बहस शुरु भो ।

मार्क्सले मानव ईतिहासको भौतिकवादी व्याख्या गरे । डार्बिन लगायतका वैज्ञानिकले गरेका अन्वेषणको आधार बनाएर गरिएको यो विश्लेषणले शोषणले आक्रान्त तत्कालीन युरोपीय समाजमा अद्वितीय जागरण पैदा गर्यो । राजनीतिक र सामाजिक क्षेत्रमा उथल पुथल ल्याईदियो । रुसी अक्टोवर क्रान्ति, चिनिया क्रान्ति मार्क्सीय अवधारणाका उपज थिए । अरु कैयन् साना ठूला देशमा यसको प्रभाव पर्यो, परिरहेछ ।

यी महामानवहरुले मानव खुशीको लागि नै आफ्ना अवधारणा पस्किएका हुन् । उनीहरुको अवधारणा कुन ठीक कुन बेठीक भनेर पाखुरा खैंचनुभन्दा तिनी सबैबाट अहिलेको मानव समाजलाई चाहिने अंश चाहिं बिना हिच्किचाहट ग्रहण गर्नु बुद्धिमानी हुनेछ ।

अब नयाँ शक्तिले मार्क्सवाद छोड्यो भन्ने ताजा प्रसंगतर्फ लागौं । नयाँ शक्तिका नेता अभियन्तालाई थाहा छ– जसरी गीता, बाईबल, त्रिपिटक, कुरान आदि अन्तिम सत्य भएनन्, त्यसरी नै मार्क्सको दर्शन र उनका अरु राजनीतिक अवधारणा अन्तिम सत्य होइनन् । यहाँ ‘हरेक कुरामा सन्देह गर’ भन्ने मार्क्सको भनाई अनुशरण गर्नु ठीक हुन्छ । उनीहरुलाई यो पनि थाहा छ, मार्क्सवादले लेनिन, माओ, किम इल सुङ्ग, होचिमिन्हमात्र जन्माएन, स्तालिन,पोलपोट, किम जोन उल र प्रचण्ड पनि जन्मायो । गीताले गान्धी जन्मायो । त्यसकारण जीवन र जगतलाई हेर्ने वैज्ञानिक दृष्टिकोण राख्ने नयाँ शक्तिका नेता अभियन्ताले अरु चिन्तनधारासंग पौंठेजोरी खेल्नु पर्ने कुनै कारण छैन । कुनै चिन्तनधाराले कसैलाई खुशी वा महान बनाएको छ भने त्यो खुशी वा महानताको सम्मान र संरक्षण गर्नु उनीहरुको दायित्वभित्रै पर्दछ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay