scheduleबिहिवारबैशाख ९ गते, २०७८

नयाँ नेपालका निर्माणका निम्ति नयाँ पुस्ता

पशुपति नेपाल

‘कुनै पनि देश को भविस्य त्यो देश को युवा शक्तिमा निर्भर रहन्छ ।’ – स्वामी विवेकानन्द

परिवर्तन प्रकृतिको नियम हो । कुनै पनि समाजमा परिवर्तनले नै उसको जिवन्ततालाई प्रमाणित गर्दछ । जुन समाज परिवर्तनशील हुँदैन त्यसलाई मृत समाज भनिन्छ । तसर्थ गतिशील र जीवन्त समाजमा परिवर्तन एक प्रक्रिया हो जुन निरन्तर गतिमान हुन्छ । परिवर्तनको संवाहक समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजका युवा शक्ति नै हो । ‘युवा’ सायद ‘युग’ वाहक शक्ति भएकोले ‘युवा’ भनिएको हुनुपर्छ । आजको युग २१ औ शताब्दीको हो जहाँ चेतनशील अनि समृद्ध समाजको कल्पना गरिएको छ । समाजको निर्माणको लागि युवाहरुले नै जिम्मेवारी लिनुपर्दछ । इतिहास साक्षी छ, युवाहरुले सदैव समयको आवाज सुनेका छन् । अहिलेको समृद्धिको एतिहासिक कार्यभार पूरा गर्न पनि युवा पुस्ताले अघि बढ्नु पर्दछ ।

पशुपति नेपाल
पशुपति नेपाल

युवा शब्दले नै मनमा उडान र उमंग भर्ने गर्दछ । उमेरको सायद यहि एउटा समय हो जब न केवल स्वयम् युवाको बरु समग्र राष्ट्रको भाविष्य तय गर्न सकिन्छ । सदैव जोश र जुनुन हुने यो पिढीं नै कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । वास्तवमा युवा शक्ति प्रवल शक्ति हो । युवा शक्ति कै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । तर यसका लागि त्यो शक्तिलाई नियन्त्रित एवम् दिशानिर्देश गर्न पनि धेरै जरुरी हुन्छ । अहिलेसम्मको राजनैतिक, सांस्कृतिक र सामाजिक क्रान्तिको कुरा गर्यो भने सबै क्रान्तिमा यो वर्ग नै अग्र मोर्चामा रहेका छन् । यो युवा शक्ति नै सदैब देशको परिवर्तनको गतिलाई अघि बढाउन सहायक रहेको छ ।

विभिन्न देशहरुमा युवाको उमेरलाई भिन्न-भिन्न रुपमा तोकिएको देखिन्छ । संयुक्त राष्ट्र संघले १५- २४, फिलिपिन्स र बंगलादेशमा १५- ३०, जापानमा २४, दक्षिण अफ्रीकामा १५-२९, जर्मनीमा १५-२६, भारतमा १५-३५, चीनमा १४-२८ को उमेर समूहलाई युवा भन्ने गरिएको पाइन्छ । नेपालमा राष्ट्रिय युवा नीतिले १६-४० बर्षको उमेर समूहलाई युवा भनेको छ ।

२१ औ शताब्दी परिवर्तनको शताब्दी हो । आजकल राजनीतिलाई अत्यन्त हेय दृष्टिले हेर्ने गरिन्छ । युवा वर्ग यसमा आफ्नो उपस्थितिप्रति अत्यन्त उदासिन भएको छ । राजनीतिमा युवाहरुको बराबरी भागिदारी एवम् प्रतिनिधित्वले मात्र यस समस्याको अन्त्य गर्न सक्दछ ।

प्रत्येक युगमा कुनै विशिष्ट मत वा विचार यस्तो हुन्छ, जसले समाजको विकासको गतिलाई अघि बढाउन भूमिका खेल्ने गर्दछ । तथा त्यो नविन विचारधाराप्रति सबै समुदायका मानिसमा एक विशिष्ट प्रकारको उत्साह एवम् उमंग हुने गर्दछ । वर्तमान युगको कार्यभार देश निर्माण र पुनः निर्माण हो । यो राष्ट्र निर्माण र नयाँ नेपाल निर्माण गर्ने कार्यभार पूरा गर्न नयाँ पुस्ताले गहन भूमिका खेल्ने बेला आएको छ ।

हाम्रो देशमा अझै पनि अशिक्षा, गरिबी एवम् पीछडापन एवम् सामाजिक अन्यायबाट पीडित छ । राष्ट्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । राजनीति भ्रस्टाचार र अपराधको पर्याय बनेको छ । लोकतन्त्रको व्यवस्था एक उपहास मात्र बनिरहेको छ । राष्ट्र निर्माणको लक्ष्य एक अँध्यारो गल्लिमा हराएको छ । देश भरि असन्तोष, अव्यवस्थाले आज नराम्रो स्थितिको सिर्जना भएको छ । यस्तो विषम परिस्थितिसंग जुध्न युवा शक्ति राष्ट्रिय गौरव र सुरक्षाको लागि आफ्नो कदम बढाउदै अघि बढ्न जरुरी छ ।

नयाँ नेपाली परिवेश अनुसार राजनीतिमा युवाको प्रतिनिधित्वको मुद्दाले प्राथमिकता पाएको छ । युवाको समवेदना पुरानो पुस्ताले बुझ्न नसक्ने भएकोले युवालाई महत्वपूर्ण भूमिका दिनुपर्ने आवाज सशक्त उठ्न थालेको छ ।

यदि कुनै इन्जिनियर भ्रस्ट भए केहि पुल, भवन असमयमा नै धरासायी हुन्छ । यदि कुनै डाक्टर भ्रस्ट भए केहि मानिसको अकालमा मृत्यु हुन्छ । तर यदि कुनै नेता भ्रष्ट भए आउने पिढीं नै बर्बाद हुन्छ । देशको भविष्य आजका नेताको हातमा छ किन कि उनीहरु कै शिक्षाबाट नयाँ पिढींले केहि सिक्न थाल्दछन् । यदि देशको नेताले दृढताका साथ नेपाललाई एक दशकमा ‘विकसित राष्ट्र’ बनाउँछु भन्ने सोचेमा अवस्य नेपाल विकसित राष्ट्र बन्नेछ ।

औद्योगिक युग, सेवा युग, सूचनाको युग हुँदै हामी सञ्चार युगमा प्रवेश गरिरहेका छौं । त्यहि पनि हाम्रा मूल्यको आधारभूत स्रोत जमिन, श्रम र अरु अचल सम्पति नै छन् । हामीले ज्ञान, जानकारी र विचारलाई अझ सम्पतिको रुपमा स्वीकार गरिरहेका छैनौं । जुन दिन हामी यो स्वीकार गरेर अध्ययनलाई गति दिन्छौं, तब हाम्रो राष्ट्रमा कायापलट हुन्छ । तसर्थ नयाँ पुस्ताले भन्दा ठूलो सम्पति ज्ञान हो भन्ने कुरा हेक्का राख्दै अध्ययनको दायरलाई बढाउनु पर्दछ ।

हरेक परिवर्तनशील र तिव्र बदलिरहेको समय र गुज्रिरहेको समाजको दिशाको नेतृत्व गर्ने स्थानमा युवा हुनुपर्दछ । नेपालको इतिहासमा युवाहरुले सदैव राजनैतिक एवम् सामाजिक आन्दोलनको अगुवा गरेका छन् । यो वर्ग सदैव आफ्नै किसिमले विशिष्ट हुन्छ । यो देशमा सृजनशील, कल्पनाशील, सामाजिक, उत्तरदायित्वबोध भएका स्पष्ट वक्ता यो पिढीको उलेख्य संख्या छ । पछिल्लो समयमा एउटा नयाँ पुस्ता देशको नेतृत्व गर्न अघि आइसकेको छ । नवयुवा उमेरका कारण गलत क्रियामा पनि सहजै प्रभावित हुन् सक्दछन्, पुराना पिढींले यो नयाँ पिढीको मार्गनिर्देशन गर्न पर्दछ । तसर्थ यो यथार्थलाई गम्भीररुपमा बुझी यथार्थ बोधलाई मापन गरी देशको भविष्य निर्माणका लागि यो पिढी भूमिका बढाउन पर्दछ ।

वर्तमान समयमा यहि पुस्ताको काँधमा देशको निर्माण गर्ने गहन जिम्मेवारी आएको छ । पाहिलेदेखि चल्दै आएका विकृतिलाई हटाउन हिम्मत गर्नेहरुले नै दुनियाँ बदल्दछन् । यो नयाँ पिढीले जनताको आस र जनताको विद्यार्थी हुँदै जनतामा भरपर्नु, उनीहरुलाई विश्वासमा लिनुको विकल्प छैन । असल नयाँ पिढीका युवाहरुले जनताकाबीचमा उनीहरुको सुख दुःखमा घुलमिल हुँदै अघि बढ्न आवश्यक छ । यो संसारमा शान्ति सुरक्षा र स्थायित्व तब मात्र प्राप्त हुन्छ जब ठूलो संख्यामा सर्वसाधारण सुखी र खुसी हुन्छन् । नवपुस्ताले सबै खराबीविरुद्ध झन्डा उठाउँदै सामाजिक विकासको आन्दोलन दबाउनेहरुलाई निस्क्रिय बनाउनुपर्दछ ।

यो समाजमा केही मानिस सुख सयल र भोग विलासमा बाँचिरहेका छन् । तर अर्कोतर्फ हेर्दा बहुसंख्यकलाई रोटी र कपडा प्राप्त छैन । तसर्थ नयाँ पुस्ताले समाजमा एउटा असाध्यै राम्रो व्यवस्था कायम गर्न आफ्नो ऊर्जा लगाउने बेला आएको छ । युवा वर्गले सदैव किसान र श्रमजिवीहरुसंघ आफ्नो मित्रता राख्नु पर्छ ।

लोकतन्त्रलाई धनतन्त्र, परिवारतन्त्र र जातितन्त्रले पूरै घेरेको छ । अक्सर यी तिनै साझेदार हुने गर्दछन् र आ-आफ्नो जाति र परिवारमा नै सबै सत्ता समेट्ने गर्दछन् । लोकतन्त्रले यी घेरा तोड्न सकेन भने नयाँ पुस्ताको लोकतन्त्र नाम मात्रको लोकतन्त्र हुनेछ । अहिलेको राजनीतिमा जुन भाई-भतिजावाद चलिरहेको छ । त्यसको अन्त्य गर्न यो पुस्ता सक्रिय हुनुपर्छ । लोकतन्त्रमा सबै मेहनती किसान, श्रमिक र सबै वर्ग जाति र समुदायको समावेशिता सुनिश्चित हुन् आवस्यक छ । पुँजिपतिहरुको खेलौना बनेको हुनाले आम मानिसको राजनीतिप्रति असन्तोष बढेको छ, यसलाई नयाँ पुस्ताले नै चिर्न जरुरी छ ।

नयाँ शक्तिको वास्तविक कार्यभार सहि युवा नेतृत्वको छनौट हुनुपर्दछ काँधमा नै हुने गर्दछ । किनभने यो पुस्ता कै काँधमा देशको अहम् जिम्मेवारी छ । सामान्यरुपमा युवाहरु र विशेष नयाँ पुस्ताले संगठनका कार्यभारहरु बारेमा सिक्न/जान्न र नयाँ पिढीलाई सिकाउन जरुरी छ ।

हामीले देख्यौं अघिल्लो पीढीले राजतन्त्र अन्त्य गरी, संविधानसभामार्फत् जनताको संविधान ल्याउन सफल भयो । त्यो समयको मुख्य कार्यभार एकात्मक शासन प्रणालीको अन्त्य नै थियो जसको नेतृत्वको राजतन्त्रले गरिरहेको थियो । अबको नयाँ यो पुस्ताले सम्पूर्ण शक्ति एकबद्ध गर्दै विकास, निर्माण र समृद्धिको दिशामा अघि बढ्न आवस्यक छ ।

हामी समुन्नत समाजवादको दिशामा अघि बढ्दै छौ । समाजबाद वितरणको दर्शन भएकाले यो पुस्ताले निर्माण र सिर्जनाको कार्यभार सहित अघि बढाउनु पर्दछ । यो कार्यभार केवल समस्त आधुनिक ज्ञानमा पारङ्गत बनेर मात्र अघि बढाउन सकिन्छ । यो नयाँ कार्यभार नयाँ पुस्तालाइ शिक्षित, सु -संस्कृत तथा उन्नत बनाउने काममा नै निर्देसित हुनुपर्दछ ।

नयाँ पुस्ताले नैतिक रुपमा आफ्नो कार्यभार व्यवहारिक गतिविधि गर्दै सिक्नुपर्दछ । संगठित हुँदै, एकबद्ध हुँदै, संघर्ष गर्दै, अघि बढ्नुपर्दछ । यो पुस्ताले सदाचारी जीवनशैली अबलम्बन गर्दै आम गरिखाने वर्गको हितमा काम गर्नुपर्छ । सदाचारी हुँदै, एकबद्धता तथा एकजुट भई, अनुशासन तथा विद्यमान असमानताकोविरुद्ध सचेत संघर्षमा निहित हुनुपर्दछ । सदाचारमा विश्वास गर्ने, सदाचारी मानव समाजलाई माथि उठाउन, असमानताबाट छुटकरा दिलाउने हित साधन हो भन्ने मान्नु पर्दछ ।

शिक्षाको बिषयमा कुरा गर्दा, हाम्रो विद्यमान शिक्षा प्रणालीमा त्रुटी छ । यो शिक्षा प्रणाली मुट्ठीमा पानी कसे जस्तै छ, जुन मुट्ठी खोल्दा हात खाली हुनेगर्दछ । किनकि यो शिक्षा प्रणाली देशको माटो संघ, विकाससँग जोडिएको छैन । आउँदो पुस्ता जो स्कुल/कलेजमा अध्ययनरत छन् उनीहरु स्कुल/कलेजको परिधिमा मात्र सिमित भए जीवनको तुफानबाट अलग थलग हुनेछन् । तसर्थ यो पुस्ताले पढाईको साथसाथै यी यावत समस्याहरुको विरुद्ध संगठनमा संगठित हुनुपर्दछ । यो पिढीले गाउँ सहरमा भै रहेका यी यावत समस्याहरुविरुद्ध संघर्ष गर्दै, उत्पादनशील कार्यमा सम्मिलित हुँदै अघि बढ्नुपर्दछ । आधुनिक विकासको सम्पूर्ण कडी नै शिक्षासँग जोडिएको हुँदा शिक्षामा आमूल परिवर्तन जरुरी छ ।

धेरै संघर्ष, विद्रोह र परिवर्तन र उपलब्धि अगाडि हुँदाहुँदै पनि नेपालको वर्तमान राजनीति नकारात्मक मोडमा अगाडि बढिरहेको छ । नेतासम्म सर्वसाधारणको सहज पहुँच हुन् सकेको छैन । राजनीतिक दलका कार्यकर्तासँग पनि नेताको अन्धभक्त हुनुबाहेक अर्को कुनै विकल्प भै रहेको अवस्था देखिँदैन । आजका आम युवाहरु अन्धभक्त हुने कुरालाई पनि स्वीकार गर्दैनन् । उनीहरु बरु राजनीतिप्रति नै उदासिन भैदिने गर्दछन् । उनीहरु आफ्नो उद्यम तथा व्यवसाय गर्दै राजनीतिलाई सेवा भावका साथ अघि बढाउने चाहना राख्दछन् ।

शहरकेन्द्रित राजनीतिले गर्दा ग्रामीण क्षेत्र र समुदाय उपेक्षित छ । गाउँका जनता र शहरका नेताबीच ‘पुल’को काम गर्ने कार्यकर्ता जो अधिकांश युवा हुन्छन् ति अधिकांश निरस छन् । युवा भनेका समाजको सबैभन्दा सचेत वर्ग हुन् । सचेत वर्ग नै राजनीतिप्रति निराश हुनुले देशको बन्न सक्दैन । तसर्थ समृद्ध राष्ट्रको मार्गचित्र कोर्न यी नयाँ पुस्तालाई नै नेतृत्वमा विकसित गर्दै अगाडि बढाउनु जरुरी हुन्छ । तसर्थ सबैले ठाउँ-ठाउँमा युवाहरुको प्रतिनिधित्वका लागि सोच्न र व्यवहारमा नै लागू गर्नु जरुरी छ । युवाहरुको प्रयोग मात्र हैन प्रतिनिधित्वको समेत सुरुवात गर्न आवश्यक छ ।

राजनीतिमा प्रायः युवाहरुको प्रयोग र परिचालनका ठूला नारा हुने गर्दछन । नेपालमा १६-४० वर्षको यो समूह लगभग ४० प्रतिशत छ । गुणात्मक र संखायात्मक दुवै दृष्टिले यो वर्ग राष्ट्रको मेरुदण्ड भएकाले युवाहरुको सर्वांगीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकाको मुलधारमा ल्याउन नयाँ शक्तिको प्रमुख कार्य हुनुपर्दछ ।

विज्ञान तथा प्रविधि र वैदेशिक रोजगारका बिषय पूर्णतया युवासँग जोडिएको छ । श्रमिकको दर र रेमिट्यान्सको स्थितिमा मात्र हैन प्रवासी कामदारको संरक्षण र सुरक्षाको मुद्दामा पनि छलफल आवस्यक छ । हाम्रो देशको नयाँ पिढीमा विदेसिने क्रम तिव्र छ । उच्च पदस्थ अधिकारीका सन्तान विकसित मुलुकमा पिआर र ग्रामिण युवाहरुको संख्या खाडीमुलुक हुने गरेको छ । आँकडा हेर्दा पूरा गाउँहरु नै युवाविहिन हुँदै छन् । सरकार युवाको मुद्दा उठाउन चाहँदैन । देशमा पुँजी निवेश गर्ने वातावरण छैन । शैक्षिक बेरोजगारहरुलाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन । दैनिकरुपमा हजारौ संख्यामा विदेशिन बाध्य युवाहरुको सम्बोधन गर्न नयाँ शक्ति निर्माण अभियानले नयाँ बृहद योजना ल्याउन जरुरी छ ।

नयाँ नेपाल निर्माण गर्न नेपाल भित्रका जनशक्तिलाई नेपाल मै उद्यम व्यवसाय गर्ने वातावरण बनाउँदै देश बाहिर रहेका दक्ष जनशक्तिलाई पुनः देशमै भित्राउने नीति बनाउनुपर्छ । उनीहरुसँग भएको श्रम, सीप र पुँजीलाई स्वदेशमा भित्राउन सकेमा देशले काँचुली फेर्ने छ ।
नयाँ शक्ति अभियान आम नेपाली जनताको आत्मिक परिवर्तनमा नयाँ चेतना ल्याउने, समाजलाई बदल्ने, देशलाई बदल्ने र समृद्धिमा हिडाउने दिशामा अग्रसर युवा पिढीको खोजी गर्दै अघि बढ्नुपर्दछ । यो अभियानले नयाँ जनमुखी शैली संस्कार र आचरणको पालन गर्ने जनताका दुःखकष्ट र जीवन्त आवश्यकतामा सहभागी हुने उत्पादन र श्रमसँग जोडिँदै जाने नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्दछ ।

युवावर्ग/नयाँ पुस्ताको राजनीतिक व्यवस्थाप्रति आस्था र झुकाव भएन भने नयाँ नेपालका नारा, नारामा मात्र सीमित हुन्छ । पुरानो सोचबाट नयाँ नेपाल बन्न सक्दैन । नयाँ नेपालका लागि, नयाँ-नयाँ मूल्य मान्यता, सोचाइ एवम् धारणासहितको योजना हुनुपर्दछ । वैज्ञानिक ढंगको दृष्टिकोण, अभियान र लक्ष्य हुन आवस्यक छ । नयाँ नेपाल निर्माणका लागि आधुनिक र वैज्ञानिक दृष्टिकोण, अभियान र लक्ष्यमा समर्पित हुने सक्षम नयाँ पुस्ता खोजी गर्दै, नेतृत्वदायी भूमिका दिन जरुरी छ ।

नयाँ नेपाल निर्माणकालागि आधुनिक र वैज्ञानिक दृष्टिकोण, अभियान र लक्ष्यमा समर्पित हुने सक्षम नयाँ पुस्ता खोजी गर्दै, नेतृत्वदायी भूमिका दिनसके समृद्ध, समुन्नत नेपाल हाम्रै जीवनकालमा सम्भव छ |

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay