scheduleबिहिवारबैशाख ९ गते, २०७८

संविधानको प्रस्तावनामा लेखिएको समाजवाद, धर्मनिरपेक्षता, समानताको पक्षमा

कन्हैया कुमार

म यो मन्चबाट, यहाँ उपस्थित तमाम विद्यार्थीका तर्फबाट देशका सम्पूर्ण जनतालाई सलाम गर्न चाहन्छु । म विश्वभरिका सबैलाई धन्यवाद दिन चाहन्छु जो जेएनयूको पक्षमा उभिनुभयो । जेएनयूलाई बचाउन खडा हुनुभएका मिडिया वा नागरिक समाजका राजनीतिक तथा गैरराजनीतिक महानुभावलाई म सलाम गर्छु । म जेएनयूलाई सलाम गर्न चाहन्छु । जेएनयू फेरि खडा भएको छु यो देशभित्र सहीलाई सही र गलतलाई गलत भन्नका लागि ।

हाम्रो आन्दोलन स्वत:स्फूर्त छ, उनीहरूको सबै योजनाबद्ध थियो । हामीलाई यो देशको संविधानमा, कानुनमा र यहाँको न्यायप्रक्रियामा भरोसा छ । यो कुरामा पनि भरोसा छ कि परिवर्तन नै सत्य हो, परिवर्तन हुनेछ । हामी परिवर्तनको पक्षमा खडा छौँ, परिवर्तन भएरै छाड्छ । हामी संविधानको प्रस्तावनामा लेखिएको समाजवाद, धर्मनिरपेक्षता, समानताको पक्षमा खडा भएका हौँ ।

पहिले पढाइ धेरै हुन्थ्यो, सिस्टमलाई कम झेलिन्थ्यो । अचेल पढाइ कम भएको छ र सिस्टमलाई धेरै झेल्न परिरहेको छ । उसै पनि जेएनयूमा धेरै अनुसन्धान हुन्छ । मसँग पनि प्राइमरी डाटा धेरै छन् । जेलबाट फर्केर आएपछि मसँग ताजा अनुभव छ, फस्ट ह्यान्ड इन्फर्मेसन छ । जुन प्रक्रिया न्यायालयको अधीनमा छ, त्यसबारे मलाई केही भन्नु छैन । तर, यो देशका जनता यो देशको संविधानलाई माया गर्छन्, सँगसँगै बाबा साहेब (अम्बेडकर)को सपनालाई साकार पार्न चाहन्छन् ।

प्रधानमन्त्रीजीले ट्विट गर्नुभएको छ, सत्यमेव जयते । प्रधानमन्त्रीजी तपाईंसँग भारी वैचारिक मतभेद छ, तर म पनि सत्यमेव जयते । किनकि सत्यको जित तपाईंको होइन, यो देशको हो, संविधानको हो । यो लडाइँमा जो तमाम मानिस संलग्न छन्, उनीहरूको जित हुन्छ । केही विद्यार्थीमाथि एउटा राजनीतिक औजारका रूपमा देशद्रोहको कानुन प्रयोग गरिएको छ । तर, यो नसम्झनुस् यसबाट तपाईंको जित हुनेछ ।

Kanhaiya Kumarहाम्रा गाउँका रेल्वे स्टेसन हुन्छ । जसलाई गाउँलेहरू टिसन भन्छन् । त्यहाँ खेल हुन्छ, खेलमा देखाइन्छ जादु, तर बेचिन्छ औँठी । जसको मनमा जे इच्छा छ त्यो औँठीले पूरा गरिदिनेछ भनेर आश्वासन दिन्छ जादुगर । हाम्रो देशका पनि केही नीति निर्माता त्यस्तै छन् । उनीहरू भन्छन्, ‘कालो धन आउनेछ, हरहर मोदी, महँगी धेरै भयो, अब नसहौँ । सबको साथ सबैको विकास ।’ यी सारा भनाइ आज मानिसको दिलदिमागमा छ । त्यसो त हामी भारतीय चाँडै भुल्छौँ । तर, यसपटकको तमासा यति ठूलो छ कि भुल्न कठिन भएको छ ।

उनीहरू आफ्नै आश्वासन जनताको दिमागबाट हटाउन चाहन्छन् । त्यसका लागि यो देशका सबै अध्येताको ‘फेलोसिप’ बन्द गरिदिन खोजिरहेको छन् । त्यसो गर्दा के हुन्छ ? जो पाँच हजार वा आठ हजार दिन्थ्यो त्यसलाई मात्र निरन्तरता दिइनेछ । यस्तो कदमविरुद्ध कसले आवाज उठाउँछ ? जेएनयूले । अहिले जेएनयूमाथि जुन आक्रमण भइरहेको छ, त्यो त्यसैको प्रतिफल हो । यो देशमा जनविरोधी सरकार छ । त्यो जनविरोधी सरकारविरुद्ध बोल्नुभयो भने के हुन्छ ? उसको साइबर सेलले डक्टर्ड भिडियो देखाउनेछ, गाली गर्नेछ । र, गन्नेछ यहाँको डस्टबिनमा कति कन्डम छ भनेर ।

जेएनयूमाथिको हमला नियोजित हो, किनकि उनीहरू युजिसी (विश्वविद्यालय अनुदान आयोग)को विरोधमा भएको प्रदर्शनलाई खत्तम गर्न चाहन्छन् । रोहित बेमुलाको न्यायका लागि जुन लडाइँ भइरहेको छ, उनीहरू यसलाई ध्वस्त बनाउन चाहन्छन् । तर, जेएनयूमा जसरी भर्ना हुन सजिलो छैन । यसलाई ओझेलमा पार्न पनि सजिलो छैन । तपाईंले त्यसो गर्न प्रयत्न गर्नुभयो भने हामी बारम्बार सम्झाउनेछौँ । यो देशको सत्ताले जबजब अत्याचार गरेको छ, जेएनयूबाट बुलन्द आवाज आएको छ, हामी त्यसैलाई दोहोर्‍याइरहेका छौँ । तिमी हाम्रो लडाइँलाई फिका गर्न सक्दैनौँ ।

हामीलाई देखाएर एक बिजेपी नेताले संसद्मा भने, देशका नौजवान सीमामा गोली खाइरहेका छन्, तर केही विद्यार्थी विश्वविद्यालयमा उपद्रो गरिरहेका छन् । म उनलाई सोध्न चाहन्छु, सीमामा गोली खाने नौजवान के तिम्रो भाइ हो ? हाम्रा लागि रोटी फलाइरहेका यो देशमा लाखौँ किसान आत्महत्या गरिरहेका छन्, त्यो किसान सीमामा मरिरहेको नौजवानको बाबु पनि हुन सक्छ, ती किसानका बारेमा तिम्रो के धारणा छ ?

म स्पष्ट पार्छु, अन्न फलाउने किसान मजस्ता युवाको बाबु हो, फौजमा जाने नौजवान मजस्ता युवाका दाजुभाइ हो । तिनीहरूबारे कथा बनाएर देशभित्र झुठो बहस खडा नगर । बरु मेरो प्रश्न छ, तिमी संसद्मा उभिएर कसका विरुद्ध राजनीति गरिरहेका छौ ? जो मरिरहेका छन्, तिनीहरूको जिम्मेवारी कसले लिन्छ ? लड्नेहरू जिम्मेवार छैनन्, लडाउनेहरू जिम्मेवार छन् । हामी सोध्न चाहन्छौँ, हाम्रा किसान बाबुहरू कसरी मरिरहेका छन् ? सीमामा रहेका हाम्रा दाजुभाइ कसरी मरिरहेको छन् ? त्यसको जवाफ देऊ, जिम्मेवारी लेऊ । देशलाई दिग्भ्रमित नगर ।

यो देशभित्र जे समस्या छन्, ती समस्याबाट आजादी माग्नु के गलत हो ? तिनीहरू भन्छन्, कोसँग आजादी माग्छौ ? त्यसो भए तिमी नै भनिदेऊ के भारतले कसैलाई दास बनाएर राखेको छ ? छैन । त्यसकारण हामी आजादी भारतसँग मागिरहेका छैनौँ । भारतमा आजादी मागिरहेका छौँ । हिरासतमा एकजना पुलिसले मलाई यसबारे सोधे । हामी भोकमरी, भ्रष्टाचार, जातिवादबाट आजादी चाहन्छौँ । हामी फर्जी ट्विटमा वक्तव्य जारी गर्ने संघवाला मानिसबाट आजादी चाहन्छौँ ।

मिडियाले पनि विषयवस्तुलाई सनसनी खोज बनाइदिएका छन् । प्रस्ट भनिएका विषयलाई अनावश्यक सनसनी बनाउँदा विषयवस्तु मोडिएका छन् । एकजना प्रहरीले भने, ‘तिमीलाई हिरासतमा ल्याएपछि यस्तो पिट्छु भन्ने लागेको थियो । तर, तिमीसँग कुरा गरेपछि मलाई लागिरहेको छ, तिनीहरूलाई गएर पिटूँ पिटूँ लागेको छ ।’

म मिडियामार्फत यो देशका सारा मानिसको ध्यान खिच्न चाहन्छु । त्यो सिपाही मजस्तै पढ्न चाहन्थ्यो, मजस्तै पिएचडी गर्न चाहन्थ्यो । तर, उसलाई जेएनयू प्राप्त भएन । ऊ, मजस्तै यो देशको व्यवस्था बुझेर लडाइँ लड्न चाहन्थ्यो । साक्षर र शिक्षितबीचको फरक जान्न चाहन्थ्यो । यहाँनिर जेएनयूको महत्त्व देखिन आउँछ । तपाईं चाहनुहुन्छ, एउटा कमजोर परिवारको युवाले पिएचडी गर्न नपाओस्, नसकोस् । किनकि शिक्षा बिक्रीको वस्तु बनाउनु भएको छ । गरिबका छोराछोरीसँग लाखौँ तिर्ने ‘फी’ छैन । त्यसो हुँदा गरिबका छोराछोरी पिएचडी गर्न पाउनेछैनन् ।

तपाईं तमाम आवाज बन्द गर्न चाहनुहुन्छ, जो एकताबद्ध हुन सक्छ । सीमामा खडा भइरहेको नौजवान, खेतमा आफ्नो जीवन दिइरहेको किसान वा जेएनयूमा आवाज उठाइरहेको युवाबीच तपाईं मेल हुन दिइरहनुभएको छैन । बाबासाहेबले भन्नुभएको थियो, राजनीतिक लोकतन्त्रबाट काम चल्नेवाला छैन, हामी सामाजिक लोकतन्त्र स्थापित गर्नेछौँ । त्यसकारण हामी बारम्बार संविधानको कुरा गरिरहेका छौँ । त्यसकारण हामी अभिव्यक्तिको आजादी, लोकतन्त्र, समानता, समाजवादको कुरा गरिरहेका छौँ, ता कि एउटा पियनको सन्तान र राष्ट्रपतिको सन्तान एउटै स्कुलमा पढ्न सकोस् ।

विज्ञानमा भनिएको छ, तपाईं जति दबाउनुहुन्छ, त्यति नै प्रेसर पैदा हुन्छ । तर, यिनीहरूलाई विज्ञानसँग केही लिनुदिनु छैन किनकि विज्ञान पढ्नु एउटा कुरा हो, वैज्ञानिक हुनु अर्को । जो मानिस देशमा वैज्ञानिक सोच स्थापित गर्न चाहन्छन्, उनीहरूबीच संवाद स्थापित गरियो भने यो देशभित्र भोकमरी र गरिबीबाट, शोषण र अत्याचारबाट जुन आजादी हामी मागिरहेका छौँ, त्यो प्राप्त हुनेछ । दलित, महिला, आदिवासी र अल्पसंख्यकको अधिकार हामी लिएरै छाड्छौँ । त्यो आजादी विद्यमान संविधान, यही संसद् र यही न्यायिकप्रक्रियाद्वारा सुनिश्चित गर्नेछौँ । यो नै बाबासाहेबको सपना थियो । यो साथी रोहितको सपना हो । हेर, तिमीले एउटा रोहितलाई मारेर जुन आन्दोलन दबाउन खोजेका थियौ, त्यो आन्दोलन कति ठूलो बनेर उठेको छ ?

एउटा आत्मालोचना गर्न चाहन्छु, जेलको अनुभवबाट सिकेको हुँ । हामी जेएनयूका मानिस सभ्य, शालीन शैलीले कुराकानी त गर्छौं, तर निकै भारी शब्दमा । हाम्रा कुरा यो देशका आम जनताले बुझ्नै सक्दैनन् । यसमा उनीहरूको दोष छैन, हामी नै उनीहरूको स्तरमा गएर विषयवस्तु राख्न सक्दैनौँ । हामीले यसबारे सोच्नुपर्ने भएको छ । उनीहरूसँग हामीले संवाद स्थापित गर्नुपर्ने भएको छ ।

जेलमा मलाई खाना दिने क्रममा मेरो थालमा दुईथरि कचौरा थिए, एउटा नीलो र अर्को रातो । नीलो कचौरा मलाई अम्बेडर आन्दोलनको प्रतिबिम्बजस्तो लाग्यो भने रातो क्रान्तिको । त्यो देख्दा मलाई बारम्बार यो सोच आयो, यदि यो देशभित्र त्यसको एकता बनाउन सकियो भने परिवर्तन सुनिश्चित हुन्थ्यो । सबैका लागि न्याय सुनिश्चित गर्ने सरकार बनाउन सकिन्थ्यो । ‘सबैको साथ सबैको विकास’ वास्तवमै स्थापित गर्न सकिन्थ्यो ।

प्रधानमन्त्रीजीले भर्खरै मात्र स्टालिन र खु्रस्चेबको कुरा गरिरहनुभएको थियो । त्यसवेला मलाई टिभीभित्र घुस्ने इच्छा लाग्यो । र, उनको सुट तान्दै भनूँजस्तो लाग्यो, मोदीजी अलिकति हिटलरको पनि कुरा गर्नुहोस् न । अलिकति मुलोसिनीको पनि कुरा गर्नुहोस् न । तपाईंका गुरु गोलबारकर साहेब भेट्न गएका थिए र जसले भारतीयताको परिभाषा जर्मनीबाट सिक्ने उपदेश दिएका थिए ।

मोदीजी तपाईं आफ्नो ‘मनको कुरा’ त भन्नुहुन्छ । तर, अरूको मनको कुरा सुन्नुहुन्न । देशमा जे भइरहेको छ, त्यो खतरनाक प्रवृत्ति हो । तपाईं झुटलाई जतिपटक भट्याए पनि त्यसलाई सत्य बनाउन सक्नहुन्छ । चन्द्रमालाई हजारचोटि सूर्य भने पनि त्यो चन्द्रमा नै हुन्छ । संसद्मा एउटा प्रस्ताव ल्याइन्छ, ध्यानाकर्षण भनेर । तर तपाईँहरूकै पहलमा संसद्बाहिर ध्यानभड्काव प्रस्ताव चलिरहेको हुन्छ । जनताका जुन जायज प्रस्ताव छन्, तिनलाई भड्काउने प्रयत्न भइरहेको हुन्छ । उता, युजिसीको आन्दोलन चलिरहेको थियो, रोहितजीको हत्या भयो । रोहितजीको हत्याविरुद्ध आवाज उठाइयो, हेर्दाहेदै ‘देशको सबैभन्दा ठूलो देशद्रोह, देशदोह्रीको सबैभन्दा ठूलो अड्डा’ भनेर जेएनयूलाई तारो बनाइयो ।

अब यो धेरै दिन चल्दैन । त्यसैले उनीहरू अघिल्लो तयारीमा लागिसकेका छन् । यिनीहरू अब राममन्दिरको नाममा जनता भड्काउने प्रयत्न गर्नेछन् । यसो किन गरिरहेका छन् ? उनीहरू चाहन्छन्, यो देशभित्र जो जायज सवाल छन्, तिनमा विमर्श खडा नहोस् ।

जेएनयूमा हमला भएको छ । वास्वतमै यो ठूलो हमला हो । तर, यो पहिलो हमला होइन । जेएनयूका बारेमा आरएसएसको मुखपत्र ‘अर्गनाइजर’मा एउटा कभर स्टोरी नै गरिएको थियो । जेएनयूलाई लिएर (डा.शुव्रमण्यम्) स्वामीजीको टिप्पणी पनि थियो त्यसमा । एबिभिपी (भाजपासम्बद्ध आएसएसको विद्यार्थी संस्था)का साथीहरूलाई मेरो सादर अनुरोध छ, एकपटक स्वामीजीलाई लिएर आउनुहोस्, आमनेसामने विमर्श होस् । उनले तार्किक तरिकाबाट जेएनयूलाई चार महिनाका लागि बन्द गर्नुपर्छ भनेर पुष्टि गर्नुभयो भने मानौँला । तर, सक्नुभएन भने म सादर अनुरोध गर्नेछु, स्वामीजी पहिले पनि तपाईँ देशबाहिरै हुनुहुन्थ्यो, अब पनि बाहिरै गइदिए देशको भलो हुने थियो ।

उनीहरू निकै योजनाबद्ध ढंगले विषयवस्तु भड्काइरहेका छन् । प्रस्ट छ, उनीहरू यो देशभित्र जुन संघर्षको आवाज छ, त्यो दबाउन चाहन्छन् । उनीहरू जनताका जीवनका आधारभूत प्रश्नबाट ध्यान भड्काउन चाहन्छन् । प्रस्ट छ, जेएनयू क्याम्पसमा जो लडाकु युवा छन्, चाहे ऊ अनिर्वन हो, या उमर हो, आनन्द हो, या आशुतोष हो, गिलानी हो या यहाँ उपस्थितमध्ये कोही हो, त्यसलाई देशद्रोही करार गरेर जेएनयूको आवाजलाई दबाउन, जेएनयूलाई विघटन गर्न र यो आन्दोलनलाई खत्तम गर्न चाहन्छन् । तर, हामी उनीहरूलाई भन्न चाहन्छौँ, यो संघर्षलाई तिमीहरू खत्तम गर्न सक्ने छैनौ । तिमीहरू जति दबाउनेछौ, हामी त्यत्ति नै खडा हुनेछौँ ।

तर, साथीहरू यो निकै लामो लडाइँ हुनेछ । हामीले नझुकिकन, नरोकिइकन यो लडाइँलाई अघि बढाउनुपर्नेछ । रोहित बेमुलाले जुन लडाइँ सुरु गरेका छन्, हामी र देशका शान्तिप्रिय मानिस मिलेर यो लडाइँलाई अघि बढाउनुपर्छ । जति कठिन भए पनि हामी यो लडाइँ जित्नेछौँ । जेएनयू क्याम्पसभित्र पनि यो देशलाई विभाजित गर्ने शक्ति छ भने त्यसका विरुद्ध पनि एकजुट भएर खडा हुनुपर्छ । जेएनयू सदैव सत्यको पक्षमा खडा हुनेछ ।

(तीन साताअघि जेएनयूमा भएको विद्यार्थी आन्दोलनमा त्यहाँको स्टुडेन्ट युनियनका सभापति कन्हैया कुमारलगायत केही विद्यार्थी पक्राउ परे, बिहीबार साँझ जेलबाट जमानतमा रिहा भएपछि उनी जेएनयू फर्किए र जोडदार भाषण दिए, भारतका कैयौं टेलिभिजनले उनको भाषणको प्रत्यक्ष प्रसारण गरे, उनको सो भाषणको मुख्य अंश नयाँ पत्रिकाबाट साभार गरिएको छ । अनुवाद : दीपक सापकोटा)

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay