scheduleशनिवार आश्विन ४ गते, २०७६

‘सर्टिफिकेट’को मूल्य खोज्दैछौँ’

अब, शैक्षिक ‘माफिया’विरुद्ध सम्झौताहिन संघर्षमा लाग्छौँ- आचार्य

Rashmi Aachrya Banner

सत्तारुढ दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा केही हप्ताअघि सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ । आफूलाई सबैभन्दा ठूलो दावी गर्दै आएको सो विद्यार्थी संगठनको महाधिवेशन कस्तो भयो र अब अनेरास्ववियु कसरी अगाडी बढ्दैछ ? भन्नेबारे हामीले छलफल गरेका छौँ नवनिर्वाचित उपाध्यक्ष रश्मी आचार्यसँग ।

कास्की जिल्लाको भरतपोखरी–८, गैरीगाउँ (हाल, लेनपा–१८)मा जन्मिएका आचार्यले स्कूलको प्रारम्भिक कमिटिबाटै विद्यार्थी राजनीति शुरु गरी अनेरास्ववियुको कास्की जिल्ला तथा गण्डकी अञ्चल कमिटिको अध्यक्ष हुँदै अनेरास्ववियुको संगठन विभाग प्रमुखको भूमिकासमेत निर्वाह गरे ।

संगठनभित्र सक्रिय, क्षमतावान् र पारदर्शी नेताको छवि बनाएका आचार्य विद्यार्थीबीच पनि उत्तिकै लोकप्रिय र चर्चित छन् । त्यसैले पनि उनी पोखराको पृथ्वीनाराण बहुमुखी क्याम्पसको स्ववियु सचिव र सभापति समेत बने । अघिल्लो सम्मेलनमा संगठनको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित आचार्य अहिले उपाध्यक्षमा निर्वाचित भए । प्रस्तुत छ, तिनै युवा नेता आचार्यसँग साझापोष्टका सहकर्मी नबराज बरालले लिनुभएको संक्षिप्त अन्तर्वार्ता :

अखिलको निर्वाचन अत्यन्तै खर्चिलो भएछ । कत्तिको महंगो भो उपाध्यक्ष पद ?

बाहिर आएजस्तो होइन । संगठनले प्रचार–प्रसार सम्बन्धि आचारसंहिता नै बनाएको थियो । हामीले व्यक्तिगत प्रचारलाई त रोक नै लगाएका थियौँ । ‘फोटोकपी पेपर’ साइजको भन्दा ठूलो पर्चा छाप्नै नपाउने आचारसंहिता थियो । धेरै खर्चेर प्रचार–प्रसार गरिएन । व्यक्तिगत रुपमा मैले त झन् पर्चा–पम्लेट त के भोट समेत मागिन । संगठनमा आवश्यक ठानेर साथीहरुले आफैँ जिताउनुभयो ।

संगठनको कोषाध्यक्षको रुपमा पैसा त उठाएँ तर, उपाध्यक्षको लागि मैले एक रुपैयाँ पनि खर्च गरिन । अरु साथीले पनि गर्नुभएन होला । किनकी, सबै प्रतिनिधिलाई संगठनले नै खाने–बस्ने व्यवस्था मिलाएको थियो । त्यसैले, व्यक्तिगत रुपमा कसैको खर्च भएन । कसैले निर्वाचन जित्नकै लागि खर्च गरेको भए त्यो संगठनको मान्यता विपरीत थियो । अनेरास्ववियु ‘मत’लाई ‘मनि’ले प्रभावित गर्नुहुन्न भन्ने मान्यता राख्दछ । व्यक्तिगत रुपमा म पनि यहि मान्यतामा दृढ छु । काम, क्षमता र निरन्तरता हेरेर व्यक्तिको मूल्यांकन हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ ।

Rasmi acharyaओली गुटबाट जित्नुभयो । पराजित नेपाल गुटले आँखा तरेर त हेर्दैनन् ? कस्तो छ सम्बन्ध ?

निर्वाचनसम्म पुग्दा स्वभाविक रुपमा दुई समूह बन्यो । तर, पराजित साथीहरुले हार्दिकतापूर्ण व्यवहार देखाउनुभयो । पराजयलाई सहर्ष स्वीकार गर्दै गुट छ भन्ने सन्देश नदिने हिसाबले लाग्नुभयो । हिजोसम्म हामी गुटको नेता थियौँ, निर्वाचनपछि साझा भयौँ । सम्बन्ध झनै सुध्रिएको छ ।

नयाँ नेतृत्वले बिगतको गुटको आँखाले नहेरी सबैलाई मिलाएर लैजान्छ, भेदभाव गर्दैन । पराजित साथीले पनि सहयोग गर्छौँ, हस्तक्षेप गर्दैनौँ भन्नुभएको छ । सबैलाई मिलाएर लानेमा हामी कत्ति पनि चुक्दैनाैँ ।

विद्यार्थी संगठनभित्र ‘उमेरहद’को बहस राम्रैसँग चलेको छ । धेरै नै परिपक्व भएँ कि जस्तो लाग्दैन आफूलाई ?

कक्षाकोठामै बसेर पढ्ने विद्यार्थीबाटै नेतृत्व हुनुपर्छ भन्ने हाम्रो चाहना हो । उमेर, योग्यता र आचरणलाई हेरेर नेतृत्व चुन्नुपर्छ भन्ने पनि सोचिएकै हो । विधान सम्मेलनको एजेण्डा नै बने यि विषय । तर, उमेरहदबारे सर्वसम्मत हुन सकेन । यद्यपी, यो एजेण्डामा राम्रै बहस भएको छ । यसलाई हामी मूर्तता दिँदै जान्छौँ ।

जहाँसम्म मेरो व्यक्तिगत कुरा छ यसमा साथीहरुले अखिलको आन्दोलनमा मेरो आवश्यकता देखेर जिताउनुभयो । यदि, मेरो सान्दर्भिकता र आवश्यकता देख्नुहुन्न भने म अहिले पनि हट्न तयार छु । सान्दर्भिकता सकिएका व्यक्ति रहनुहुन्न भन्नेमा म दृढ छु ।

कति भयो विद्यार्थी आन्दोलनमा लाग्नुभएको ? के देख्नुभयो यहाँभित्रका समस्या ?

कक्षा ८ देखि नै म अनेरास्ववियुमा संगठित भएको हो । स्कूल, जिल्ला, अञ्चल र केन्द्रको नेतृत्व तहमै रहेर मैले करिब २२ बर्ष जति सक्रिय भूमिका नै निर्वाह गरिरहेको छु । यसबीचमा मैले शिक्षा क्षेत्रभित्रका समस्या भोग्ने र नजिकैबाट नियाल्ने अवसर पनि पाएँ ।

यहाँभित्र निकै नै धेरै समस्या छन् । कतिपय विद्यार्थी स्कूलसम्म पनि जान सकेका छैनन् । स्कूलसम्म पुगेकाहरुले पनि गुणस्तरिय शिक्षा पाएका छैनन् । उच्च शिक्षा समेत अन्तराष्ट्रिय स्तरको छैन ।

देशको स्रोत र साधन केन्द्रीत राष्ट्रिय शिक्षा, सबैको पहुँच पुग्ने वर्गिय शिक्षा र अधिकार र कर्तव्य वोध गराउने व्यवहारिक शिक्षाको खाँचो छ । अहिलेको शिक्षामा पुनःसंरचना जरुरी छ ।

विद्यार्थीलाई शिक्षण संस्थादेखि पार्टी कार्यालयसम्म पुर्याउने माध्यम मात्र हुन् विद्यार्थी संगठन भन्ने आरोप छ । ढुंगामुढा गर्ने कार्यकर्ता उत्पादन मात्रै हो त संगठनको काम ?

तपाईँले भनेको कुरा सत्यताको नजिक छ । विद्यार्थी संगठनको यतिञ्जेलको लडाईँ शिक्षाको भन्दा राज्य व्यवस्था परिवर्तनको निम्ति हुँदै आयो । राजनीतिक परिवर्तनको आन्दोलनमा विद्यार्थीहरु नै अग्रपंक्तिमा रहे । जनतालाई झक्झक्याउने र जनजीविकाका सवालमा समेत विद्यार्थी नै अघि आए ।

तर, शिक्षा क्षेत्रमा जुन मात्रामा परिवर्तन हुनुपर्ने हो त्यो भएन । अब हामी विद्यार्थीको ‘ट्रेन्ड’ परिवर्तन गर्न चाहन्छौँ । कार्यकर्ता उत्पादन मात्र विद्यार्थीको भूमिका होइन । राष्ट्रको समृद्धिमा इट्टा थप्ने जिम्मा अब विद्यार्थीको हो । विद्यार्थी पार्टीको ‘भर्याङ’ मात्र हो भन्ने मान्यतालाई बदलेर ‘समृद्धिको आधार’ हो भन्ने स्थापित गराउन चाहन्छौँ ।

Rasmi

भूकम्पका कारण भत्किएका संरचना निर्माणमा सघाउँदै आचार्य

पहिलेजस्तो सम्मान छैन विद्यार्थीबाट नेतालाई । उपेक्षित  ‘फिल’ हुँदैन ?

बिगतमा राजनीतिक पार्टीको काम पनि विद्यार्थीले नै गरे । अब, राजनीतिक भूमिका पार्टीमै सरेको छ । संगठनप्रति आकर्षण बढाउन विद्यार्थीका मुद्दा उठान, समाधान र गोलवद्ध गर्ने नै अबको मूल चुनौति हो । विद्यार्थीलाई संगठन जरुरी छ भन्ने बोध गराउन सक्नुपर्छ । सबै विद्यार्थीले राजनीति बुझ्नुपर्छ र थोरैले मात्र राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई व्यक्तिगत रुपमा त्यस्तो उपेक्षित नै ‘फिल’ गर्नुपरेको छैन ।

विद्यार्थी संगठन सबै विद्यार्थीकै लागि गठित, संघर्षरत भन्छन् । तर, एकता कहिल्यै देखिँदैन, झडपैमात्र गरेको देखिन्छ, किन ?

हो । समस्या छ हामीमा । मिलेका पनि छौँ छन त । एजेण्डा अनुसार हामी मिल्ने र झगडा गर्ने गरेका छौँ । हिजो जेजस्तो भएपनि अब सबै संगठनको साझा एजेण्डा बनाएर जानुपर्छ । समृद्धिको एजेण्डा लिएर ठोस उपलव्धिमा पुर्याउने जिम्मा अब विद्यार्थी संगठनको काँधमा आइपुगेको छ । विद्यार्थीले अब झगडा गरेर रगत बगाउने होइन, देशको लागि काम गरेर पसिना बगाउनुपर्छ ।

विद्यार्थीका नेताहरु पनि  ‘बिक्ने’ गरेको भन्ने सुनिन्छ । कसरी विश्वास गर्ने तपाईँहरुलाई ?

सारमा त्यस्तो होइन, अंशमा हुन सक्छ । यदि, कतै कसैबाट त्यस्तो भएको भए त्यो व्यक्ति विद्यार्थी आन्दोलनको कलंक हो । त्यो संगठनमाथिको धोका हो । अखिलमा आवद्ध जोकोहिलाई त्यस्तो गर्ने छुट छैन, थाहा पाए संगठनले कारबाही गर्छ ।

विद्यार्थी संगठनलाई चन्दा दिनुपर्छ भनेर नै विद्यार्थीबाट चर्को शुल्क लिन्छन् शिक्षण संस्थाहरु । चन्दा नउठाउन मिल्दैन ?

संगठन सञ्चालनका क्रममा सहयोगीबाट चन्दा लिने कुरा स्वभाविक छ । बरु, सहयोगलाई पारदर्शी बनाउनुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । हामी विद्यार्थी अभिभावकको सहयोगबिना चल्न सक्दैनौँ । तर, सहयोग जवर्जस्तीको पक्षमा हामी छैनौँ ।

तपाईँहरु सरकारी शिक्षण संस्थामा मात्र संगठन बनाउने, सक्रियता बढाउने गर्नुहुन्छ । निजी क्षेत्रमा किन संगठन बनेका छैनन् ? त्यहाँ समस्या देख्नुहुन्न ? कि चन्दासँग संगठनको सम्झौता हो ?

संगठनको नीति त्यस्तो होइन । अधिकांस सरकारी शिक्षण संस्थामा स्ववियुको निर्वाचन हुने भएकोले पनि विद्यार्थीको क्रियाशिलता बढी हुने गर्छ । चन्दा पाएकोले संगठन नबनाएको हैन । आजभोलि त झन् विद्यार्थीको संख्या सरकारीमा भन्दा निजीमा बढी हुन थालेको छ । हामी निजीमा पनि संगाठानिक गतिविधि अझै बढाउँदैछौँ ।

पहिले थोरै मूल्य वृद्धि हुँदा पनि आन्दोलन चर्काउनुहुन्थ्यो । अहिले मातृपार्टी एमाले नेतृत्वको सरकार छँदै कालोबजारी, महंगी, भ्रष्टाचार व्याप्त छ । तपाईँहरु के गर्दै हुनुहुन्छ ?

कालोबजारी र माफियाकरणको विरुद्ध हाम्रो संगठन अहिले पनि सडकमै छ । यस्ता कार्य हुन नदिन टिम बनाएर फिल्डमा खटाएका छौँ । चार दिन अघि पनि पेट्रोलियम पदार्थ सहजको लागि आयल निगम घेराउ गर्यौँ, दबाव दियौँ । हामीले विद्यार्थी आन्दोलनलाई जनजीविकासँग पनि जोडेर लान चाहिरहेका छौँ । अनेरास्ववियुलाई पार्टी सरकारमा हुनु र नहुनेले कुनै फरक पार्दैन ।

तपाईंहरुकै मातृ पार्टी एमालेका नेताहरुकै ठूला–ठूला निजी शिक्षण संस्था छन् । तिनैले शिक्षामा व्यापारीकरण गरिरहेको आरोप पनि छ । ति नेताका विरुद्ध उभिन सक्छ त अनेरास्ववियु ?

व्यक्ति को कता संलग्न छ भन्ने प्रधान विषय होइन । निजीकरण, व्यापारीकरण र माफियाकरणका विरुद्ध अनेरास्ववियु मैदानमा छ । हिजो राजतन्त्र प्रधान शत्रु थियो । अब, शिक्षण क्षेत्रका माफियाका विरुद्ध सम्झौताहिन संघर्षमा लाग्छौँ । जोसुकै प्रहारको निशानामा पर्न सक्छ । नीतिले नै सबैलाई हान्ने हो । हामी नीति बनाउने निकाय होइन, राम्रो नीति बनाउन दबाव दिने ठाउँमा छौँ । गलत प्रवृत्तिलाई हामी निर्मूल पार्छौँ ।

शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने उद्योग बनेका छन् । पढ्ने निहुमा दिनहुँ विद्यार्थी बिदेशिँदै छन् । खै त विद्यार्थी लक्षित कार्यक्रम ?

हामीले अबका कार्यक्रमहरु सिर्जनात्मक र रचनात्मक बनाएनौँ भने विद्यार्थी संगठनप्रति झनै विकर्षण बढ्छ । त्यसैले, हामीले नयाँ कार्यक्रम ल्याउँदैछौँ । सर्टिफिकेट धितो राखेर ऋण दिने वातावरण बनाउन चाहन्छौँ । सर्टिफिकेटको मूल्य खोज्दैछौँ । ताकि, पढेर निश्चित योग्यता हासिल गरेपछि व्यवसाय गरेर आत्मनिर्भर बन्न सकियोस् ।

अब हामी देखिने गरि काम गर्छौँ । बरु, सानै काम किन नहोउन् । समग्र शिक्षामा परिवर्तन नै हाम्रो रोडम्याप हो । एक बर्षभित्रै हामी विद्यार्थीलाई अनुभुति हुने गरी योजना सहित आउँछौँ ।

स्ववियु निर्वाचन नभएको एक दशक हुन लागिसक्यो । किन धकेलियो ? कहिले हुन्छ ?

स्ववियु आजको ज्वलन्त मुद्दा हो । पञ्चायतकालमा त्यति ठूलो संघर्षबाट प्राप्त स्ववियुको निर्वाचन गणतन्त्र आएपछिको ८ बर्षसम्म पनि हुन नसक्नु साह्रै लज्जाष्पद विषय हो । राजनीतिक संक्रमणका नाममा स्ववियु निर्वाचन पछाडी धकेलिएको छ, धकेलिनुहुन्न ।

स्ववियुमा कुन संगठनको जित र कुनको हार हुन्छ ? भन्ने विषय ठूलो होइन । स्ववियु जोगाउनुपर्छ । कुनै पनि बहानामा निर्वाचन रोकिनुहुन्न । पहिले टुंगिएकै विधिमा टेकेर चुनाव गराईहाल्नुपर्छ ।

चुनावको बेला मात्र संगठनले विद्यार्थी भर्ना गर्ने र चुनाबी परिणाम आफ्नो पक्षमा पार्ने गरेको देखिन्छ । जितेपछि तलब–भत्ता आउँछ भन्नु पनि छैन । त्यसरी चुनाब जित्नुपर्ने कारण के हो ?

मौसमी विद्यार्थी भर्ना गरेर जित–हार गराउनुहुन्न । विगतमा ज–जसले गरेपनि त्रुटि भएकै हो । नक्कली विद्यार्थीबाट स्ववियु जोगिँदैन । नियमित विद्यार्थीबाट स्ववियु र नियमित विद्यार्थीबाटै नेतृत्व हुनुपर्छ । स्ववियुलाई स्वच्छ बनाउनुपर्छ । स्ववियु अस्वस्थ भयो भन्ने कारण देखाएर विरोधीले स्ववियु ‘कोल्याप्स’ गराइदिने खतरा छ । स्ववियु नहुनु घाटा हो । यसतर्फ संगठनहरु समयमै सचेत हुनुपर्छ ।

शैक्षिक सरोकारवालाई के भन्न चाहनुहुन्छ ?

हाम्रो मुलुकको सार्वजनिक शिक्षा कमजोर र गुणस्तरहिनका रुपमा चित्रित छ । शैक्षिक सरोकारवाला र लगानी गर्ने राज्य पनि समृद्ध बनाउने अभियन्ता हुन् । विद्यार्थीको जवानी र राज्यको लगानी डुव्ने खाले शिक्षा हामीलाई चाहिँदैन । सार्वजनिक शिक्षण संस्था गुणस्तरिय भए निजीमा कोही पढ्न जाँदैनन् ।

हाम्रो र विकसित मुलुकको बीच उल्टो तरिका छ । विकसित मुलुकमा सरकारी शिक्षण संस्थामा नाम ननिस्के विद्यार्थी निजीमा जान्छन्, हाम्रोमा निजीमा ननिस्के सरकारीमा । तसर्थ, सार्वजनिक शिक्षण संस्थाको स्तरोेन्नतिमा लागौँ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage