scheduleबिहिवार आश्विन ३० गते, २०७६

विद्यार्थीलाई यार्सागुम्बा सङ्कलनमा रोक

भीमदत्तनगर, १८ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले सङ्कलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा सङ्कलन गर्न जान शिक्षक तथा विद्यार्थीलाई पूर्णरुपमा रोक लगाएको छ ।

Yarsa Gumbaविगत वर्षमा यार्सागुम्बा सङ्कलन आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुलाका ६० भन्दा बढी सरकारी विद्यालय बन्द गरी विद्यालय नै बन्द गरेर सङ्कलनमा जाने गरेका थिए । तर यसपटक शिक्षा कार्यालयले सरोकारावालसित आवश्यक समन्वय गरी यार्सा सङ्कलनका नाममा विद्यालय बन्द गर्न नपाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै विद्यार्थी र शिक्षकको यार्सा सङ्कलन कार्यमा विराम लागेको छ ।

दार्चुलाका जिल्ला शिक्षा अधिकारी डा बाबुराम ढुङ्गानाले यार्सा सङ्कलन गर्न जाँदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै सङ्कलनमा जान प्रतिबन्ध लगाएको बताए । ‘मनग्य कमाइ हुन्छ भन्दैमा विद्यार्थीलाई पढाइबाट वञ्चित गराएर यार्सा सङ्कलनमा लैजान पाइदैँन,’ उनले भने, ‘हामीले हरेक स्रोत केन्द्र र जिल्लाबाट विद्यालय बन्द भए–नभएको र विद्यार्थी यार्सा सङ्कलन गर्न गएकोबारे अनुगमन गरिहेका छौं ।’

विद्यार्थीको सट्टा उनीहरुका अभिभावकलाई यार्सा सङ्कलनमा जान शिक्षा अधिकारी ढुङ्गानाले सुझाव दिए । ‘महिनौसम्म यार्सा सङ्कलनमा जाँदा विद्यार्थीहरु बिरामी पर्ने गरेका पाइयो,’ उनले भने, ‘हामीले जिल्लामा सरोकारवाला निकायसित समन्वय गरेर उक्त प्रतिबन्धको निर्णय लिएका हौं ।’ गत वर्ष खण्डेश्वरी स्रोत केन्द्रअन्तर्गतका एकहजार ३०० बढी विद्यार्थी विद्यालय छाडेर यार्सा सङ्कलनमा गएको शिक्षा कार्यालयले जनाएको छ ।

उच्च हिमाली भेगमा पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलन सुदूरपश्चिममा दार्चुला र बझाङमा हुन्छ । यार्सा सङ्कलन क्षेत्र दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्रमा पर्छ भने बझाङमा जिल्ला वन अन्तर्गत रहेको छ । गतवर्ष दार्चुलामा यार्सा सङ्कलन गर्ने सर्वसाधारणको सङ्ख्या करिब ३० हजार तथा बझाङमा २० हजार पुगेको थियो । दार्चुलामा साढे आठ क्विन्टल र बझाङमा तीन क्विन्टल ८० किलो यार्सागुम्बा सङ्कलन भएको बताइएको छ ।

यार्सा व्यवस्थापनका लागि गठित परिषद्ले सङ्कलनमा जाने व्यक्तिबाट प्रवेश शुल्क प्रतिव्यक्ति रु ५०० लिने गरेको छ । अहिलेसम्म दार्चुलामा पाँच हजारदेखि ६ हजार सङ्कलकसम्म हिमाली भेग पुगेका बताइएको छ । जिल्लाका खण्डेश्वरी, ब्याँश, राप्ला, घुसा, सुनसेरा र सित्तोला गाविस तथा बझाङको काँडा गाविसको उच्च हिमाली भेगमा बर्सेनी जेठदेखि असार अन्तिमसम्ममा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ ।

गत वर्ष सङ्कलन गरिएको यार्सा व्यापारीले सङ्कलकबाट प्रतिकिलो १२ लाखदेखि १५ लाखमा खरिद गरेका थिए भने २० लाखदेखि २५ लाख सम्ममा बिक्री गरेका थिए । शेरबहादुर सिंह/रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage