आइसीपीको उदघाटन नेपाली पक्षद्वारा बहिष्कार
वीरगन्ज, २२ जेठ । वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ।
शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन् । नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको भन्सार जाँचचौकीको शुक्रबार उदघाटन गरिएको हो ।
नेपालतर्फको निर्माण कार्य भने अधुरै छ। दुवै तर्फको भौतिक संरचनाको निर्माण भारत सरकारले नै गर्दै आएको छ। नेपालतर्फको निर्माण कार्य अधुरै रहेका बेला भारतले आफनोतर्फको मात्र निर्माण कार्य सकेर एकलौटी रुपमा शुक्रबारदेखि आइसीपीको सञ्चालन गरेको हो।
भारतीय महावाणिज्य दूतावासकी वाणिज्यदूत अन्जु रन्जन, भारतीय ल्याण्ड कोट अथोरिटी चेयरमेन वाइ एस सेरावत र रक्सौल कस्टमका अधिकारी आर के सिंहले संयुक्त रुपमा आइसीपीको उदघाटन गरेका थिए। भारतीय सरकारको एकलौटी कदमप्रति रुष्ट भएको नै नेपाली पक्षले उदघाटन समारोह बहिष्कार गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।