scheduleशुक्रवार आश्विन १ गते, २०७८

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादान आजबाट शुरु

ramadan
काठमाडौं, २४ जेठ । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादान सोमवारबाट शुरु भएको छ । विश्वभरका करीव एक अर्व २० करोड मुसलमानले रमादानमा हरेक दिन व्रत बस्ने गर्दछन् ।

मध्यपूर्वका धार्मिक अधिकारीले आइतवार राति चन्द्रमा देखिएपछि रमादान शुरु भएको घोषणा गरेका हुन् । उनीहरुको घोषणासँगै इन्डोनेसिया,इरान, पाकिस्तान, यमन, लेवनान, सिरिया, कुवेत, जोर्डन, इजिप्ट, सिंगापुर, युएई, अफगानिस्तान तथा प्यालेस्टाइनसहित अन्य मुस्लिम देशका मानिसले व्रत शुरु गरेको समाचारमा बताइएको छ ।

औंसीमा चन्द्रमा देखिएपछि मुस्लिमहरुको चन्द्र महिना शुरु हुने गर्दछ । यो महिना २९ देखि ३० दिनको हुन्छ । कुनै कुनै देशमा खुला आँखाले हेरेर र कतै खगोलीय आधारमा दिन गनिने भएकोले दिनमा तलमाथि हुन गएको हो ।
आजभन्दा १४ सय वर्षअघि यही महिनामा नै पैगम्बर मोहम्मदले कुरानका प्रारम्भिक कुरा प्राप्त गरेको विश्वास गरिन्छ ।
व्रत र प्रार्थना
रमादान शुरु भएपछि इस्लाम धर्मावलम्बीले प्रार्थना गर्ने, व्रत बस्ने र सत्कर्म गर्ने गर्दछन् । यो अवधिमा व्रतालुहरु विहान सबेरै उठेर ‘सुहूर’ भन्ने भोजन ग्रहण गर्दछन् । सूर्यास्त भएपछि ‘इफ्तर’का लागि जम्मा भएर व्रतलाई तोड्ने गर्दछन् ।

रमादानभर मुस्लिम धर्मावलम्बीले साँझपख मस्जिदमा गई ‘तारावी’ भनिने प्रार्थना गर्दछन् भने दिउँसो फुर्सदका बेला कुरान पढेर र धार्मिक प्रवचन सुनेर समय बिताउँछन् । कुनै कुनै मुस्लिम देशमा काम गर्ने अवधिपनि घटाउनुपर्दछ भने प्रायः होटेल तथा रेष्टुरेण्टहरु दिउँसो बन्द गर्नुपर्दछ ।
रमादान अवधिभर हरेकदिन इस्लाम धर्मावलम्बीले सूर्योदयदेखि सूर्यास्तसम्म खाना, पानी तथा चुरोट सेवन गदैनन् भने यौन सम्पर्कबाट पनि टाढै रहन्छन् । तर बालबालिका, वृद्धवृद्धा, विरामी, गर्भवती महिला, सुत्केरी वा रजस्वाला भएकी महिला, र यात्रामा रहेका व्यक्तिले भने व्रत नबसे पनि हुन्छ ।
पैगम्बर मोहम्मदले झैं सूर्यास्तपछि प्रार्थना गरेपछि एक घुट्की पानी पिएर हरेक दिनको व्रत तोड्ने गरिन्छ । आफ्ना परिवारका सदस्य वा साथीभाईसँग बसेर तथा परोपकारी काम गरेर वा मस्जिद वा अन्य सार्वजनिक स्थानमा निशुल्क खाना बाँडेर व्रत तोड्ने आम प्रचलन रहेको पाइन्छ ।
अन्त्यमा केही दिन इद उल फितर मनाएर रमादानको समापन गरिन्छ ।

व्रत बस्नुको कारण
व्रत बस्दा अल्लाहसँग नजिक हुने विश्वास गरिन्छ भने आफूभन्दा कमजोरको पीडालाई देख्न वा बुझ्न यसले सहयोग गर्दछ भन्ने मान्यता रहेको छ ।आध्यात्मिकता, सत्कर्म तथा शुद्धतालाई जोड दिन रमादानमा व्रत बस्नुपर्ने आम विश्वास रहेको पाइन्छ ।

रमादानभर बसिने व्रतलाई इस्लाम धर्मको पाँचवटा खम्बा मध्ये एक मानिन्छ । अन्य खम्बामा आफू मुस्लिम भएको घोषणा, दैनिक प्रार्थना, परोपकार तथा हज पर्दछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय