scheduleबुधवार आश्विन ६ गते, २०७८

बर्दियाको बबई उपत्यकामा रमाउँदैछन् चितवनका गैंडा

बर्दिया, ७ असार । बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै छन् । उनको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको संकेत देखाउँछन् ।

Rhino
गैंडाको सिम्बोलिक तस्बिर विकिपिडियाबाट

निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा उनीसहित ८ जनाको टोली चितवनबाट ल्याइएका गैंडाको निगरानीमा छ । नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा अर्काे अनुगमन टोली दैनिक निगरानीमा खटिएको छ ।

गैंडाको घाँटीमा रेडियो कलर जडान गरिएको छ । त्यसमार्फत रेडियो सेटमा जानकारी आउँछ । सोही आधारमा नजिक गएर दैनिक रुपमा फाराम भर्ने र प्रोफाइल तयार गर्ने काममा समेत संरक्षणकर्मीहरु अहोरात्र खटिने गरेका छन् ।

गैंडालाई छुट्टाछुट्टै आइडी दिइएको छ । छुट्टाछुट्टै नामबाट सम्बोधन गरिन्छ । क्रियाकलाप टिपोट गरिन्छ । र्‍याफ्टिङबाट समेत अनुगमन गरिन्छ भने ३५ रक्षा पोष्टमध्ये ८ पोष्ट सोही क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ ।

एउटा भालेको नाम ‘दोकान कट्वा भाले’ राखिएको छ । गुठी इलाकामा रहेकाले अर्काे पोथीको नाम ‘गुठी’, दुवी आएकालाई ‘दुवी पोथी’, तिखा खाग भएकालाई ‘खाग तिखे भाले’ तथा अर्काे अर्ध बयस्कलाई ‘बच्चा पोथी’ भनेर नामकरण गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा भन्छन्, ‘कडा निगरानीका बीच डुल्दैछन् बबई उपत्यकामा चितवनका गैंडा । तिनीहरु खुसी साथ रमाइरहेका छन् ।’

विश्व वन्यजन्तु कोषलगायत विभिन्न संघसंस्थाको सहयोगमा चितवनबाट पाँच गैंडा स्थानान्तरण भएको थियो । एउटा गैंडाले गएको जेठ ९ गते बच्चा जन्माएको छ । यसले एकातर्फ हौसला थपिदिएको छ भने संरक्षणमा थप प्रभावकारिता अपनाउनुपर्ने अवस्थालाई औँल्याइदिएको छ ।

बबई उपत्यकाको बीच भएर बबई नदी बग्छ । त्यसको वारि र पारि खुला घाँसे मैदान छ । माथि चुरे र तल समथल भूभाग छ । चेपाङ पोष्टबाट छिरेपछि विशाल क्षेत्र ओगटेको फराकिलो र ठूलो ठाउँलाई बबई उपत्यका भनिन्छ ।

यही उपत्यकामा गएको फागुनको तेस्रो साता चितवनबाट लगेर पाँच वटा गैंडा स्थानान्तरण गरिएको थियो । चारवटा गैंडामा रेडियो कलर लगाइएको छ । अहिले एउटा बच्चा थपिएको छ । नेपाल र भारतमा मात्रै पाइने एक सिङ्गे गैंडा विश्वमै दुर्लभ प्रजातिमा पर्छ ।

त्यसैले गैंडाको वंश संरक्षणका लागि बर्दियामा गैंडा स्थानान्तरण गर्नुपरेको निकुञ्ज विभागको भनाइ छ । कुनै पनि महामारी वा प्राकृतिक प्रकोपबाट बचाउन पनि गैैंडाको स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको स्थानान्तरणका बेला नै विभागका महानिर्देशक फडिन्द्रराज खरेलले बताएका थिए ।

यसअघि सन् २०१५ को गैंडा अनुगमनमा नेपालमा ६०५ गैंडा रहेको देखिएकामा बर्दियामा मात्रै २९ गैंडा थिए । स्थानान्तरण र जन्मिएको बच्चासहित औपचारिक रुपमा यहाँ गैंडाको सङ्ख्या ३५ पुगेको छ ।

‘अहिले सबै गैंडा हाम्रो मनिटरिङमा छ,’ निकुञ्जको सुरक्षामा रहेको रणशार्दुल गणका गणपति राजेन्द्र पन्तले भने । उनका अनुसार उच्चतम प्रविधि प्रयोग गरी नेपाली सेना संरक्षणमा खटिएको छ ।

नौ सय ६८ वर्ग किलोमिटर रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । गैंडाको बासस्थानका हिसाबले चितवन निकुञ्ज पछिको पहिलो हो । बाघ संरक्षणका हिसाबले दोस्रो र हात्ती संरक्षणका हिसाबले नेपालकै पहिलो हो ।

गएको फागुनमा यहाँ चितवनबाट ५ वटा गैंडा स्थानान्तरण गरिएपछि बर्दिया निकुञ्जलाई संरक्षणमा ठूलो चुनौती थपिएको छ । वि.सं २०४२ देखि २०५९ को बीचमा ८३ वटा गैंडा स्थानान्तरण भएको थियो । विसं २०६५ मा बर्दियामा गैंडा शून्य भएको थियो । चोरी शिकारीका कारण सबै गैंडा मारिएपछि स्थानान्तरणका विषयमा फागुनमा चितवनका संरक्षणकर्मी आन्दोलित पनि भएका थिए ।

विरोधका बीच चितवनबाट पाँचवटा दुर्लभ एकसिङ्गे गैंडा बर्दिया लगेर छाडिएको थियो । अहिलेसम्म बर्दियामा चितवनका गैंडा कडा निगरानीबीच सुरक्षित छन् ।

चितवनका चराविज्ञ वासु बिंडारी विगतको जस्तै गैंडा मारिने डर भएकाले संरक्षणमा दवाव दिन आवश्यक भएको बताउनुहुन्छ । नेपालले आफ्नै ज्ञान र सिपबाट सन् १९८६ देखि गैंडा स्थानान्तरण सुरु गरेको थियो ।

 

चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी

गैंडा बर्दियामा छाडिएपछि अरु गैंडाहरुले छोटै समयमा गति लियो तर एउटा पोथी गैंडा अलि सुस्त देखियो । गर्भिणी गैंडा भएकाले सुस्त भएपछि कडा निगरानी गरेर टोली खटाइएको बर्दिया निकुञ्जमा प्रमुख रमेश थापा बताउँछन् ।

स्थानान्तरण गरेको गैडाले तीन महिनाको अन्तरालमै गएको जेठ ९ गते बच्चा जन्मायो । गुठी रेन्जपोष्ट नजिकै दक्षिणमा जेठ ९ गते बिहान गैंडाले बच्चा जन्माएको पाइएको गेमस्काउट राजेशले बताए ।

बच्चासहितको गैंडाको उनले पहिलो तस्वीर लिए । अहिले बच्चासहितको गैंडा सोही इलाकामा बस्छ । ‘आनीबानी हेर्दा भाले बच्चा जस्तो छ,’ रामले भने, ‘अझै छुट्याउन सकिएको छैन ।’

बच्चा जन्मिएको रात ठूलो आँधी तूफान आएको थियो । त्यसैले अहिले बोलाउँदा उनीहरु आँधी तूफान भनेर बोलाउँदै आएका छन् । तर निकुञ्जले गुठीमा जन्मिएकाले गुठी बच्चा भनेर बोलाउँदै आएपनि औपचारिक रुपमा नामकरण भएको छैन ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत शैलेन्द्र यादव अहिले गैंडाको यो माउ बच्चाले बर्दियाकै शान बढाएको बताउँछन् ।

चितवनमा डाट गरेर बेहोस पार्न प्राविधिक टोलीलाई हम्मेहम्मे भएपछि जुन गैंडा देखियो उसैलाई डाट गरेर पठाइएको थियो । डाटका बेला गर्भिणी भन्ने थाहा नभएपनि डाटपछि थाहा भएको चितवन निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिृकत नुरेन्द्र अर्याल बताउँछन् । नियमित अनुगमन गरेर गैंडाको अध्ययन भैरहेको छ । सबै गैंडा चितवन निकुञ्जको सुखेभार क्षेत्रबाट पठाइएको हो ।

 

बासस्थान संरक्षणमा निकुञ्जको ध्यान
गैंडालाई सबैभन्दा बढी मनपर्ने फल जङ्गलमा पाइने भेल्दरको फल हो । त्यसैले अहिले बर्दियामा दुई हजार भेल्दर रोपिएका छन् । गैंडाले मन पराउने त्यसका दाना दुई ट्याक्टर लगेर जङ्गलमा छरिएको छ । अहिले सोही क्षेत्रमा गैंडा रमाइरहेका छन् । तिनीहरुका लागि १२ वटा पानी पोखरी बनाइएको छ ।

बावियाचौरमा सोलार पम्पबाट पनि पानी तानेर सिमसार बनाइएको छ । विभिन्न क्षेत्रमा घाँसे मैदान बनाएर बासस्थान संरक्षणमा ध्यान दिएको निकुञ्ज प्रमुख थापा बताउँछन् ।

बर्दिया निकुञ्जको ६०० हेक्टरमा घाँसे मैदान व्यवस्थापन गरिएको छ । यहाँको शिवपुर, ठूलो सिर, सानो सिर, चित्तले, गुठी, रातमाटे, बाबियाचौर लगायत क्षेत्रमा घाँसैमैदान बनाइएको छ । नारायण ढुङ्गाना/रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय